डिजिटल दर्शकलाई वेब सिरिजको स्वाद

writer

युवराज भट्टराई

सोमबार, २७ जेठ २०७६


प्रायः वेब सिरिजमा प्रेमलाई केन्द्रमा राखेर शृंखला बुन्ने गरिएका छन्। डिजिटल प्लेटफर्ममा रमाउने पुस्ताको उमेरलाई ख्याल गरेर विषय छनोटमा ध्यान दिने गरिन्छ। प्रेम र हास्यव्यंग्य यस्ता सिरिजका विषयवस्तु हुने गरेका छन्। 


मनोरञ्जनका लागि केही वर्षयता युट्युब दर्शकको पहिलो रोजाइ बन्ने गरेको छ। संसारभरका मनोरञ्जन सामग्री एकै ठाउँमा पाइने यो प्लेटफर्ममा नेपालीले पनि प्रशस्तै समय बिताइरहेका हुन्छन्। कुनै समय गीत–संगीतका लागि प्रचलित यो प्लेटफर्म नेपालमा भने नेपाली कथानक फिल्म हेर्न पाइने थलोको रूपमा समेत परिचित छ। तर, आजभोलि यसको फराकिलो परिचयमा वेब सिरिज पनि थपिएका छन्। नेपालीले गीत–संगीत र फिल्मसँगै वेब सिरिजलाई पनि हेर्ने सूचीमा राख्न थालेका छन्। यही कारण पछिल्लो समय वेब सिरिज बनाउने क्रम ह्वात्तै बढेको छ। यसरी बनेका वेब सिरिजले मनोरञ्जनसँगै ब्रान्ड प्रवद्र्धन गर्ने उद्देश्य राख्ने गरेका छन्। 

पहिलो नेपाली वेब सिरिज 

नेपालमा वेब सिरिजको सुरुवात गर्नेमा नितिन चन्दको नाम सबैभन्दा पहिले आउँछ। उनले सबैभन्दा पहिला ‘रङ टाइम्स’को सिरिज बनाएका थिए। तर, नितिनका अनुसार सुरुमा उनले यसलाई वेब सिरिज नभई सर्ट फिल्मका रूपमा बनाएका थिए। तर, दर्शकले यसलाई अत्यधिक रुचाएर अरू भागको माग गर्न थालेपछि यसका अन्य भाग आएका थिए। ‘रङ टाइम्स’की कलाकार आश्मा गिरी भने यसैलाई नै वेब सिरिज भन्ने कि नभन्ने दुविधा रहेको बताउँछिन्। किनकि, यसमा सिरिजको जस्तो कथा नभई पात्र मात्र दोहोरिएका छन्। ‘सर्ट फिल्मका रूपमा निर्माण गरेपछि दर्शकले अर्को भाग पनि खोजेका कारण सिरिजको रूपमा यसलाई विकास गरिएको थियो,’ आश्माले भनिन्, ‘तसर्थ ‘रङ टाइम्स’लाई वेब सिरिज भन्ने÷नभन्ने बारेमा दुविधा नै छ।’

‘हाम्रो हाइस्कुल’, ‘ट्वान्टी फस्ट लभ’ र हाल प्रसारण भइरहेको ‘यू एन्ड आई’का लेखक तथा निर्देशक सरिन पोखरेल भने अन्तर्राष्ट्रिय मान्यताअनुरूप बनेको पहिलो वेब सिरिज ‘हाम्रो हाइस्कुल’ नै भएको बताउँछन्। ‘यसमा पात्र मात्र होइन, घटनाको पनि शृंखला थियो,’ उनले भने, ‘त्यसैले मलाई त यही नै नेपालको पहिलो वेब सिरिज होजस्तो लाग्छ।’ 

केन्द्रमा प्रेम 

वेब सिरिजको इतिहास धेरै लामो नभए पनि पछिल्लो समय यसको निर्माणले गति लिन थालेको छ। यसरी बनेका सिरिज केही युट्युबमा मात्र सीमित छन् भने केही टेलिभिजनबाट पनि प्रसारण भइरहेका छन्। जस्तो कि, सरिनको ‘यू एन्ड आई’ कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ भने अरू थुप्रै सिरिज पनि टेलिभिजनबाट प्रसारण हुने क्रममा रहेका छन्। 

‘रङ टाइम्स’, ‘यू एन्ड आई’, ‘हाम्रो हाइस्कुल’, ‘ट्वान्टी फस्ट लभ’, ‘लभ क्लोजअप’ लगायत वेब सिरिज युवा पुस्तामाझ निकै लोकप्रिय छन्। बढीजसो युट्युबमा प्रसारण हुने यस्ता सिरिजमा माया–प्रेम तथा हास्यव्यंग्यका विषयलाई प्रस्तुत गर्ने गरेको पाइन्छ। यस्ता सिरिजमा गायकदेखि अन्य विधामा स्थापित कलाकारले समेत अभिनय गरेका छन्। गायक स्वप्न सुमनले ‘लभ क्लोजअप’को सिरिजमा अभिनय गरेका छन् भने नृत्यकै कारण चर्चित ‘कार्टुन्ज क्रू’ समूहका आश्मा विश्वकर्मा, सरोज अधिकारीले पनि यस्ता सिरिजमा अभिनय गरिरहेका छन्।

प्रायः वेब सिरिजमा प्रेमलाई केन्द्रमा राखेर शृंखला बुन्ने गरिएका छन्। डिजिटल प्लेटफर्ममा रमाउने पुस्ताको उमेरलाई ख्याल गरेर विषय छनोटमा ध्यान दिने सरिनको बुझाइ छ। उनले बनाएका ‘ट्वान्टी फस्ट लभ’ र ‘यू एन्ड आई’ दुवै प्रेममाथि छन्। यही कारण दर्शक पनि पाएको उनको विश्वास छ। ‘नेपालमा प्रेमकथामाथि फिल्म पनि प्रशस्त बन्ने गरेका छन्,’ उनी भन्छन्, ‘तर, कहीँ न कहीँ डिजिटल दर्शकले ती कथामा आफूलाई पाउन सकेका छैनन्। सिरिजमा उनीहरूकै जीवनशैली र भाषालाई समावेश गर्ने गरेका छौँ। त्यसैले मैले निर्देशन गरेका दुवै सिरिज सफल छन्।’

भविष्य राम्रो छ 

दर्र्शकले रुचाएको विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्नसके वेब सिरिज निकै राम्रोसँग चल्ने सरिन बताउँछन्। भन्छन्, ‘विषयवस्तु छनोटदेखि हरेक कुरालाई ध्यानमा राखेर काम गर्दा वेब सिरिजमा पनि राम्रो भविष्य छ।’ वेब सिरिज राम्रो हुन कलाकार, विषयवस्तुसँगै प्राविधिक पक्ष पनि राम्रो हुनुपर्ने उनी बताउँछन्।  

‘डियर लभ’ वेब सिरिजका निर्देशक तथा निर्माता विवेक रसाइली नेपालमा वेब सिरिज ढिलो सुरु भए पनि तिनले चाँडै सफलता हात पारेको बताउँछन्। युवा पुस्ताको प्रेमको विषयलाई उठान गरिएको उक्त वेब सिरिजको ट्रेलर केही समयअघि मात्रै कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको थियो। आइफ्लिक्सबाट प्रसारण हुने प्रक्रियामा रहेको वेब सिरिजको ट्रेलरबाटै आफूले राम्रो प्रतिक्रिया पाएको रसाइली बताउँछन्। भन्छन्, ‘छिमेकी देश भारतको तुलनामा नेपालमा वेब सिरिज धेरै पछि मात्रै सुरु भएको हो। तर, पनि यसको लोकप्रियतालाई हेर्दा भविष्य राम्रो हुने देखिन्छ।’ प्रसारण गर्ने प्लेटफर्म हुनु र प्राविधिक उपकरणको पनि उपलब्धता बढ्नुले पनि वेब सिरिज बन्ने क्रम ह्वात्तै बढेको उनी तर्क गर्छन्। ‘दर्शकले रुचाउने वेब सिरिज बनाउन सकेमा व्यावसायिक रूपमा पनि अगाडि बढ्ने चान्स धेरै छ,’ उनी भन्छन्। 

स्पोन्सरदेखि आफूले प्रसारण गर्ने प्लेटर्फमबाट पनि कमाइ हुने भएकाले वेब सिरिजको लगानी फिल्म वा छोटो फिल्मको तुलनामा सुरक्षित हुने सम्भावना धेरै रहन्छ। अझ युट्युबबाट आउने रेभेन्यू वर्षौंसम्म पनि आइरहने हुँदा वेब सिरिजको लगानीमा निर्माताले सुरक्षित महसुस गर्ने गरेका छन्। सरिन भन्छन्, ‘नयाँ पुस्ताले गरेको कामलाई नयाँ पुस्ताले स्विकारेका छन्। स्पोन्सरदेखि एजेन्सीसम्मले पनि वेब सिरिजको निर्माणमा चासो देखाएको कारण भविष्यमा यसको बेग्लै बजार हुने सम्भावना छ।’ 

अहिलेको युवाका जीवनलाई पर्दामा बुन्न सके लगानीकर्ताको बाढी आउने सरिनको विश्वास छ। ‘युवा पुस्ताको हातहातमा इन्टरनेट र मोबाइल फोन छ,’ उनी भन्छन्, ‘इन्टरनेटमा उनीहरूको उपस्थिति पनि ज्यादै छ। जसले वेब सिरिजलाई मन पराइरहेका छन्। दर्शकको चाप ज्यादा भएपछि राम्रो स्पोन्सर पाइन्छ। एजुकेसनल पार्टनर, मिडिया पार्टनरजस्ता विभिन्न नाममा लगानीकर्ता जुट्छन्।’ त्यसबाहेक, टेलिभिजनमा प्रसारण हुँदा टेलिभिजनसँगै विज्ञापनबाट पनि राम्रो आम्दानी हुन्छ।

नितिन भने स्पोन्सर र युट्युबबाटै  आम्दानी भइरहेको बताउँछन। भन्छन्, ‘कर्पोरेट हाउसको विज्ञापनसँगै सिरिजको प्लेसमेन्टबाट केही आम्दानी भइरहेको छ। केही राम्रा वेब सिरिजलाई भने ठूलो प्लेटफर्म तथा ब्रान्डले पनि सहयोग गरिरहेका छन्।’ 

किन चाहियो टीभी च्यानल?

धेरैजसो सिरिज युट्युबबाट प्रसारण हुने गरेका छन्। त्यसबाहेक, पछिल्लो समय खुलेका आइफ्लिक्सजस्ता प्लेटफर्मले पनि वेब सिरिजको प्रसारणलाई केन्द्रमा राखेका छन्। तर, टेलिभिजनमा भने एकाधले मात्र प्रसारण हुने मौका पाएका छन्। विवेक रसाइलीले आफ्नो वेब सिरिजलाई टेलिभिजनमार्फत प्रसारण गर्ने सोचेका थिए। सोहीअनुसार केही टेलिभिजनमा प्रस्ताव पनि गरेका थिए। तर, उनको प्रस्तावलाई टेलिभिजन च्यानलले स्विकारेनन्। 

नितिन भने यस्ता सिरिज टेलिभिजनको लागि नै नभएको तर्क गर्छन्। उनले आफूले बनाएका सिरिज जानाजान टेलिभिजनबाट प्रसारण नगरेको बताए। भर्खरै मात्र ‘बाजी’को प्रसारण थालेका उनी भन्छन्, ‘वेब सिरिज नितान्त वेब युजरका लागि मात्र हो भन्ने मेरो मान्यता हो। टेलिभिजनमा पनि प्रसारण गर्ने हो भने त त्यो टेलिसिरियल भइहाल्यो नि !’

युवा पुस्ताको उपस्थिति र इन्टरनेटको पहुँच पनि न्यून हुने भएकाले वेब सिरिज टेलिभिजनमा प्रसारण गर्ने विषय नै नभएको नितिन बताउँछन्। भन्छन्, ‘यस्ता सिरिज टेलिभिजनमा प्रसारण हुने कुरा नै सान्र्दभिक हुँदैन।’ अन्य देशमा पनि यस्ता सिरिज इन्टरनेटको माध्यममा नै सीमित हुने भएकाले नेपालमा भने यसलाई टेलिभिजनमा प्रसारण गर्ने कुरा उठ्नु असान्दर्भिक भएको उनी तर्क गर्छन्। 

एकनासे विषयवस्तु 

प्रायः वेब सिरिजको विषयवस्तु कि प्रेम कि मित्रता वा हास्यव्यंग्य रहेको पाइन्छ। अन्य विषयवस्तुमा काम भएको देखिँदैन। लगभग दुई वर्षअघिदेखि सुरु भएको वेब सिरिजको ट्रेन्डलाई हेर्दा ती सिरिज यिनै विषयवस्तुलाई विभिन्न तरिकाबाट दोहो¥याउँदै प्रस्तुत गरिएका छन्। निर्देशक सरिन विषयवस्तुमा विविधता नआएको कुरालाई स्विकार्छन्। भन्छन्, ‘हाम्रोमा वेब सिरिज ढिलो सुरु भयो। त्यसमा पनि एउटै विषयवस्तुमाथि मात्रै बनिरहेका छन्।’ वेब सिरिज निर्माण गर्दा ‘कन्टेन्ट’लाई कलात्मक तथा आर्कषक ढंगबाट प्रस्तुत गर्न सके जुनसुकै विषयवस्तु पनि चल्ने उनी बताउँछन्। ‘बाल मनोविज्ञान, सामाजिक मुद्दामाथि वेब सिरिज बनेका छैनन्,’ उनी भन्छन्, ‘यस्ता विषयमाथि आर्टिस्टिक ढंगबाट काम गर्न सकियो भने दर्शकले पनि रुचाउँछन्, विषयवस्तुमा पनि विविधता आउँछ।’

वेब सिरिज अहिले नेपालमा प्रयोगकै विषय भएको बताउँछन्, नितिन। भन्छन्, ‘युवा नै सिरिजका मुख्य दर्शक हुन्। उनीहरूलाई कस्तो कन्टेन्ट मन पर्छ भन्ने बुझ्नै गाह्रो छ।’ नेपालमा भएका धेरैजसो दर्शकले ‘कोरियन ड्रामा’ र हास्यव्यंग्यका सिरिज खोज्ने भएकाले त्यस्तै सिरिज ज्यादा बनिरहेको उनी बताउँछन्। ‘कस्ता कन्टेन्ट दर्शकले खोजिरहेका छन्, त्यसमा ध्यान गएको छैन,’ उनी भन्छन्, ‘अनुसन्धान भएको छैन। पहिले जस्तो विषयवस्तुको सिरिज चल्यो, त्यस्तै चल्ला भन्ने होडबाजीमा सिरिज बनाउनाले पनि विषयवस्तुमा विविधता नआएको हो। जुन विधामा काम गरे पनि परिपक्व तरिकाले काम गर्ने हो भने दर्शकले पत्याउँछन्।’

तपाईको कमेन्ट