शरीरलाई विषमुक्त बनाउने स्पा

writer

सम्पूर्ण

शुक्रबार, २४ जेठ २०७६


विनोद श्रेष्ठ, निर्देशक
नमस्ते स्पा सेन्टर, ठमेल, काठमाडौँ 

काठमाडौँमा विभिन्न प्रकारका मसाज सेवा उपलब्ध गराउने व्यवस्थित स्पा खुल्ने क्रम बढ्दो छ। आधुनिक स्पा सेन्टर सञ्चालनमा आउन थालेपछि विदेशी पर्यटकसँगै नेपाली ग्राहक पनि स्पा आउन थालेका छन्। मानसिक थकान मेटाउन र सुन्दरता कायम राख्न स्पा धाउनेहरू छन्। विगत केही वर्षअघिसम्म तारे होटलमा सीमित यो सेवा अहिले सर्वसाधारणको पहुँचमा पनि पुग्न थालेको छ। 

नेपालमा तिब्बतको आम्ची, भारतको शिरोधरा, थाइल्यान्डको थाई मसाज प्रचलित छन्। नेपालको स्पा हाउसमा सउना, स्टिम र ज्याकुजी लोकप्रिय छन्। स्पाको माध्यमबाट शारीरिक थकान, मानसिक तनाव, शरीर दुखेको, नसा थिचिएको, भोक र निद्रा नलाग्ने समस्या कम गर्न सकिन्छ। 

शरीरको रक्तनलीमा टक्सिन जम्मा हुने र यसले रक्तसञ्चारमा अवरोध ल्याउने काम गर्छ। मसाजका माध्यमबाट शरीरका यस्ता टक्सिन हटाउन सकिन्छ। स्टिम बाथ, सउना र ज्याकुजीले पनि शरीरमा भएको टक्सिनलाई पसिनाको माध्यमबाट बाहिर निकाल्न सहयोग गर्छ। यस्ता बाथले शरीर न्यानो बनाउने र रक्तसञ्चार प्रभावकारी बनाउन मद्दत गर्छ। 

स्पा के हो ? 

ल्याटिन भाषाको ‘स्पा’ सेनिटास पर एक्वाको छोटकरी रूप हो। यसको अंग्रेजी अनुवाद ‘हेल्थ विद वाटर’ हुन्छ। पानीको माध्यमबाट उपचार गर्ने पद्धति नै स्पा हो। स्पालाई प्राकृतिक उपचार पद्धतिका रूपमा चिनिन्छ। स्पामा मसाज, स्टिम बाथ, सउना र ज्याकुजी सबै सेवा उपलब्ध हुनुपर्छ। 

स्टिम बाथ 

स्टिम बाथ बाफका माध्यमबाट शरीरमा पसिना निकालेर उपचार गरिने पद्धति हो। यसले शरीरमा भएको विषाक्त पदार्थलाई पसिनाका माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ। स्टिम बाथमा बसेर पसिना आएपछि नुहाउने गरिन्छ। 

सउना

तापका माध्यमले शरीरबाट पसिना निकालेर उपचार गर्ने पद्धति सउना बाथ हो। यसले पनि पसिनाका माध्यमबाट शरीरमा भएको टक्सिन बाहिर निकाल्न सहयोग गर्छ। यसमा तापका लागि विशेष प्रकारको चट्टान प्रयोग गरिन्छ। चट्टानमार्फत पूरै च्याम्बरलाई तातो बनाइन्छ। काठबाट निर्मित च्याम्बरमा तातो सहन सकुञ्जेल बसेपछि नुहाउने गरिन्छ। 

ज्याकुजी 

ज्याकुजी पानीको माध्यमद्वारा गरिने मसाज हो। तातो पानी भरिएको बाथटबमा बसेर शरीरमा पानीको फोहरा दिइन्छ। यसमा एकै पटक शरीरमा भएको टक्सिन निकाल्ने र शरीरलाई मसाज गर्ने काम हुन्छ। 

स्पामा परम्परागत नेपाली मसाज, अरोमाथेरापी, आयुर्वेदिक मसाज, स्टोन थेरापी, अक्कुप्रेसर, शिरोधरा, थाई मसाज, बडी स्क्रबलगायत मसाजसँग सम्बन्धित सेवा उपलब्ध हुन्छन्। स्पाले महिला तथा पुरुष दुवैका लागि फेसियल, स्किन ट्रिटमेन्ट, हेयर ट्रिटमेन्ट, ब्युटी ट्रिटमेन्ट, मेनिक्युर, पेडिक्युरजस्ता सेवा पनि उपलब्ध गराउँछन्। 

तपाईको कमेन्ट