रेड लाइट एरियाको अर्थतन्त्र

writer

सम्पूर्ण

शनिबार, १८ जेठ २०७६


विश्वभर यौन व्यवसायको अर्थतन्त्रको आकार झन्डै चार सय अर्ब डलर भएको अनुमान गरिन्छ। संसारभर साढे चार करोड यौनकर्मी रहेको बताइन्छ। अमेरिकामा मात्र वेश्यावृत्तिमा दैनिक ४० करोड डलर र वार्षिक १५ अर्ब डलर खर्च हुन्छ। चीनमा ५० लाख यौनकर्मी रहेको अनुमान छ। 


जीबी रोड, नयाँ दिल्ली, भारत 

नयाँ दिल्लीको केन्द्रमा रहेको जीबी रोडले नयाँ दिल्ली र पुरानो दिल्लीका रेल स्टेसनलाई जोड्छ। यो सडकमा चार–पाँचतले पुराना घर छन्। घरका दोस्रो र तेस्रो तलाका झ्यालमा महिलाहरू देखिन्छन्। २० वर्षे युवतीदेखि ७० वर्षका वृद्धासम्म सडकमा हिँड्ने मानिसलाई नियालिरहेका हुन्छन्। यो दिल्लीको सबैभन्दा ठूलो रेडलाइट एरिया हो।

बाटोमा हिँड्ने केही पुरुष रोकिएर माथि हेर्छन्, केही बेर नियाल्छन् र बाटो लाग्छन्। एउटी निकै उमेर खाइसकेकी महिला हिँडिरहेको पुरुषलाई बोलाउँछिन्। महिलासँगै एउटी युवती पनि देखिन्छिन्। हेर्दा सबैथोक शान्त देखिन्छ तर यो खतरनाक स्थान हो। जीबी रोडको सुरक्षामा खटिएका प्रहरी भन्छन्, ‘दिल्लीको सबैभन्दा खतरनाक ठाउँ यही हो। सिमानाभन्दा पनि खतरा।’ यहाँ हरेक दिन दर्जनौँ कुटपिटका घटना हुने उनको भनाइ छ। पिटाइ खाने प्रायः महिला हुन्छन्। विदेशीमाथि पनि उत्तिकै दुव्र्यवहार गरिन्छ। 

कोठी नम्बर ५५ र ६५ नेपाली युवतीका कारण प्रसिद्ध छ। साँघुरो र अँध्यारो सिँढी चढेर त्यहाँ पुग्दा मेकअप सामग्रीको गन्ध आउँछ। वरिपरि सारी लगाएका महिलाहरू उभिएका हुन्छन्। उनीहरूसँग मोलमोलाइ गरिरहेका पुरुष पनि देखिन्छन्। 

भित्र अझै धेरै महिला छन्। ४५ वर्षीया कल्याणी यहाँ बसेको ३० वर्ष भइसक्यो। भारतमा धेरै पैसा कमाइने हल्ला सुनेपछि उनी नेपाल छोडेर यता आएकी थिइन्। ‘म यहाँ आउँदा १५ वर्षकी थिएँ,’ उनी भन्छिन्, ‘यहाँ हरेक दिन नर्क भोग्नुपर्छ। मैले चाहे यो ठाउँ आजै छोड्न सक्छु। तर, घर पुगेर गर्ने केही छैन।’

१८ वर्षकी सुनी आफ्नै बुबाले बेचेपछि यहाँ आइपुगेकी हुन्। ‘म सानै हुँदा मेरो बाउले बेचेको रहेछ,’ उनी भन्छिन्, ‘म बाउलाई घृणा गर्छु।’ उनीकहाँ हरेक दिन पाँचदेखि १५ जनासम्म ग्राहक आउँछन्। ‘म नेपाल फर्किन चाहन्छु। तर, भागेको थाहा पाए भने मलाई मार्छन्,’ उनी डर पोख्छिन्। त्यसरी भाग्न खोज्दा अपांग हुने गरी थुप्रैलाई पिटिएको उनी आफैँले देखेकी छन्। 

२८ वर्षकी दर्शा पनि बुबाले नै बेचेपछि यहाँ आइपुगेकी हुन्। ‘बाउले किन बेच्यो, मलाई थाहा छैन,’ उनी भन्छिन्। उनका अनुसार कोठीमा रहेका अधिकांश महिला नेपालकै हुन्। तीमध्ये धेरैजसो परिवारबाटै बेचिएका वा दलालले झुक्याएर यहाँ ल्याइपुर्‍याएका छन्। ‘यहाँ कुनै कुराको आशा छैन। सबैले हार मानिसकेका छन्,’ उनी भन्छिन्। यौनकर्ममा लाग्न बाध्य पारिएकाहरूले सास अल्झाउनेबाहेक केही पाएका छैनन्। उनीहरूको चरम शोषण भएको छ। कुटपिटको त सीमै छैन। उनीहरूका लागि कानुन, राज्यको कुनै अस्तित्व छैन।

ग्राहकमध्ये एक हुन्, मध्यप्रदेशका २८ वर्षीय श्याम मोहन। उनी साथीहरूसँग यहाँ आएको बताउँछन्। ‘भारतमा यो ठाउँबारे थाहा नभएको पुरुष नै छैन,’ उनी भन्छन्। 
भारतको स्वास्थ्य मन्त्रालयले सन् २०१५ मा गरेको सर्वेक्षणअनुसार जीबी रोडमा करिब ३५ सय यौनकर्मी छन्। त्यसमध्ये धेरैलाई एचआईभी संक्रमण भइसकेको अनुमान छ। 

एम्स्टर्डम, नेदरल्यान्ड्स 

बेलायतका रिचर्ड हेम्स्लेले गएको दशकमा हरेक वर्ष एम्स्टर्डमको भ्रमण गरे। उनी साथीहरूसँग यहाँको रेडलाइट एरियामा रमाइलो गर्छन्। उनका साथीमध्ये एक जनाको विवाह हुँदै छ। त्यसैले उनीहरू अन्तिम पटक सँगै एम्स्टर्डमको मज्जा लिइरहेका छन्। 

‘यहाँ आफूलाई मन लागेको बेला मन लागेको काम गर्न पाइन्छ,’ ५३ वर्षीय हेम्स्ले भन्छन्। त्यसैकारण उनी बारम्बार यहाँ आइरहन्छन्। साथीहरूले उनलाई रेडलाइट बारमा पुर्‍याएका थिए, जहाँ ग्राहक चाहेको बेला एकै पटक पिउन, गाँजा तान्न र फुटबल हेर्न पाउँथे। 

पछिल्लो समय रेड लाइट एरियाले चर्चा पाएकै कारण यहाँ पर्यटकहरूको ओइरो लाग्ने गरेको छ। झट्ट सुन्दा यस्तो पर्यटनले एम्स्टर्डमलाई ठूलो फाइदा पुर्‍याएको होला जस्तो लाग्छ। तर, यथार्थमा त्यस्तो छैन। आम्दानी राम्रो भए पनि पर्यटकको अत्याधिक संख्याका कारण एम्स्र्टडमवासीको जिन्दगी नर्क बनेको छ। गत वर्ष यो स्थान ‘शहरी जंगल’ बनेको भन्दै सरकारी अधिकारीले नै नगर व्यवस्थापनको आलोचना गरे। 

‘शहर हेरिनसक्नु छ,’ २७ वर्षीया कर्मचारी सुजान बेल्जेनवर्ग भन्छिन्, ‘भद्रगोल, फोहोर, सडकभरि दिसा र छाद देखिन्छ।’ ब्वाइफ्रेन्डको घरसम्म पुग्न उनले रेडलाइट एरिया पार गर्नुपर्ने हुन्छ। ‘हामीले बिहानै काम गर्नुपर्ने हुन्छ, साह्रै दिक्क लाग्छ,’ उनी भन्छिन्। 

पछिल्लो समय एम्स्टर्डममा सप्ताहान्तमा मात्र होइन, हरेक रात पार्टी हुने गरेको उनी बताउँछिन्। यस्ता पार्टीका कारण असुरक्षित महसुस हुने गरेको उनको भनाइ छ। ‘अलिअघि एउटी अचेत बेलायती केटीलाई एक घण्टा एक्लै छोडियो। मैले उसलाई रुँघेर बसेँ। उसको प्यान्टसमेत खुस्केको थियो,’ उनी भन्छिन्, ‘पुलिस आइपुग्न एक घण्टा लाग्यो।’

शहरमा तैनाथ प्रहरीको संख्या सानो छ। उनीहरूले त्यति ठूलो संख्याका पर्यटक नियन्त्रण गर्न सक्दैनन्। प्रहरीलाई सकस छ। रात परेपछि लागुऔषध व्यापारीलाई लखेट्न, मानसिक रोगीलाई व्यवस्थापन गर्न र ग्राहक हिंस्रक हुन थालेपछि हटलाइनमा यौनकर्मीहरूको गुनासो सुन्नमा उनीहरू व्यस्त हुन्छन्। 

गएको दशकमा एम्स्टर्डममा पर्यटकको संख्या ६० प्रतिशतले बढेर वार्षिक झन्डै दुई करोड पुगेको छ। यसबाट वार्षिक झन्डै ७ अर्ब युरो आय हुने अनुमान गरिन्छ। तर, यो पैसाले संगठित अपराधलाई पनि जन्म दिएको छ। 

‘समस्या छ,’ स्थानीय नेतृ नेनिता ला रोज भन्छिन्, ‘कुनै समय हामी यहाँ जतिसक्दो धेरै मान्छे ल्याउन बल गथ्र्यौं। अहिले हाम्रो सफलताले हामीलाई नै घाटा लगाइराखेको छ।’ 

रेड लाइट डिस्ट्रिक्टमा पर्यटक भ्रमणमा प्रतिबन्ध लगाउने तयारी यो शहरले गरेको छ। पर्यटकहरूले यौनकर्मीलाई दुव्र्यवहार गरेको भन्दै नगरकी पहिलो महिला मेयर फेम्के हल्सेमाले यस्तो योजना अघि सारेकी हुन्। ८० प्रतिशत यौनकर्मीले अत्यधिक पर्यटकका कारण आफ्नो व्यवसाय धरापमा परेको बताएका छन् भने स्थानीयवासीले शहर बस्नलायक हुन छोडेको बताएका छन्। पर्यटकको भीडले आफूहरूसँग सेल्फी खिच्न चाहने तर पैसा खर्च गर्न नचाहने यौनकर्मीको दुखेसो छ। नगर परिषद्ले गत वर्ष रेड लाइट डिस्ट्रिक्टलाई नै सार्ने प्रस्ताव ल्याएका थिए। 

गेलाङ, सिंगापुर 
 

लिसा जाफर हरेक रातजसो सिंगापुरको रेडलाइट क्षेत्र गेलाङ पुग्छिन् र सडकमा उभिन्छिन्। उनी आधा घण्टा समयका लागि ५० सिंगापुर डलर तिर्ने पुरुषको पर्खाइमा हुन्छिन्। पाँच वर्षअघि उनको व्यवसाय उत्कर्षमा थियो। उनी पाँच घण्टामा दुई सय सिंगापुर डलर कमाउँथिन् र आफ्ना दुई बच्चा हेरविचार गर्न घरतिर लाग्थिन्। हप्तामा पाँच दिन काम गर्दा उनी चार हजार सिंगापुर डलर कमाउँथिन्। यसका लागि करसमेत तिर्नुपर्दैनथ्यो। तर, अहिले अवस्था यो छैन। सडकमा ग्राहक भेटिन छाडेका छन्। सिंगापुरमा वेश्यावृत्ति वैधानिक छ, तर यससँग सम्बन्धित अन्य कामकारबाहीलाई प्रतिबन्ध लगाइएको छ। वेश्यालय सञ्चालन गर्न, यौनकर्मीलाई भाडामा लगाउन, अनलाइन विज्ञापन गर्न, कुनै महिलालाई यौन पेशामा संलग्न गराउन आदिलाई अवैध घोषित गरिएको छ। यी कार्यले संगठित अपराधलाई बढाएकाले सरकारले कडा कानुन ल्याएको हो। तर, यसको मूल्य भने यौनकर्मीहरूले तिर्नुपरिरहेको छ। 

कानुनबाट बच्न उनीहरू एजेन्सीको आडमा यौन पेशामा संलग्न हुन्छन्। त्यसैले कमाइको ७० प्रतिशतसम्म एजेन्सीलाई बुझाउन बाध्य हुन्छन्। यौन व्यवसायलाई नियमन गर्न सरकारले लाइसेन्स लिएका वेश्यालयलाई मात्र सञ्चालन अनुमति दिएको छ। तर, यसका लागि प्रहरीलाई ठूलो घुस खुवाउनुपर्ने बाध्यता रहेको कतिपयको भनाइ छ। 

यसबाहेक पनि विश्वका थुप्रै रेडलाइट एरिया विख्यात र कुख्यात छन्। थाइल्यान्डको अर्थतन्त्रको तीन प्रतिशत हिस्सा यौन व्यवसायले ओगट्छ। पतायाजस्ता सेक्स टुरिजमको गन्तव्य यहाँ छन्। त्यस्तै, मेक्सिकोको तिहुआना, जापानको टोकियोस्थित काबुकिचो, फिलिपिन्सको एन्जेल्स सिटीस्थित वाकिङ स्ट्रिट, अमेरिकाको लस भेगासजस्ता ठाउँ वेश्यावृत्तिका लागि प्रसिद्ध छन्। 

यौन व्यवसायको अर्थतन्त्र
 

विश्वभर यौन व्यवसायको अर्थतन्त्रको आकार झन्डै चार सय अर्ब डलर पुग्ने अनुमान गरिन्छ। संसारभर साढे चार करोड यौनकर्मी रहेको अनुमान पनि गरिन्छ। अमेरिकामा मात्र वेश्यावृत्तिमा दैनिक ४० करोड डलर र वार्षिक १५ अर्ब डलर खर्च हुन्छ। चीनमा ५० लाख यौनकर्मी रहेको अनुमान छ। अमेरिकामा एक प्रतिशत पुरुषले वर्षमा कम्तीमा एक पटक यौनकर्मीसँग संसर्ग गरेको बताएका छन्। तर, पछिल्लो समय यौनकर्मी महिलाकहाँ धाउने पुरुषको संख्या घटिरहेको छ। एक शताब्दीअघि विवाहअघि शारीरिक सम्बन्ध राख्ने संस्कृति थिएन। कतिपय स्थानमा यसलाई अपराध मान्ने गरिन्थ्यो। त्यसैले पुरुषहरू यौनकर्मीकहाँ पुग्थे। महिलाहरू पनि केही हदसम्म रोजगारीको अवसर नपाएर यो पेशामा लाग्थे। तर, अहिले विकल्प बढेका छन्। त्यस्तै, व्यवस्थित यौन व्यवसायमा पनि सहजता आएको छ। इन्टरनेटले ग्राहक खोज्न सजिलो बनाइदिएको छ। तैपनि यौनकर्मीको दुःख भने कम भएको छैन। 

अझै पनि ठूलो संख्यामा महिलाहरू यो पेशामा लाग्न बाध्य छन्। नेपालजस्ता देशका चेलीबेटी फकाइफुल्याई कोठीमा बेचिन्छन्। कतिपय युद्धग्रस्त स्थानमा महिलालाई सामूहिक रूपमा यौनकार्यमा लगाइने गरेको छ। कहीँ आर्थिक समस्याका कारण त कहीँ लागुऔषधजस्ता कुलतमा लागेकालाई कोठीमालिकले वशमा पारेर उनीहरूलाई यौनकर्ममा लगाउने गरेका छन्। स्वेच्छाले यो पेशा रोज्नेको संख्या अत्यन्त कम छ। 

संसारैभरि यौनकर्मीको ठूलो शोषण हुँदै आएको छ। उनीहरूको ज्यालाको ठूलो हिस्सा कोठीमालिकले लिने गरेका छन्। कतिपय स्थानमा उनीहरूले एक पैसा पाउँदैनन्, उल्टै बन्दी बनाइन्छन्। त्यसमाथि वेश्यालयहरूको नियन्त्रण प्रायः आपराधिक समूहले गर्ने गरेको पाइन्छ। यौनकर्मीले दैनिकजसो शारीरिक र मानसिक हिंसाको सामना गर्नुपर्छ। ३६ प्रतिशत यौनकर्मीले आफ्ना ग्राहक हिंस्रक हुने गरेको बताएका छन्। 

नेपालमा पनि पछिल्लो समय पोखरामा रेडलाइट एरिया खुला गरिनुपर्ने आवाज उठ्न थालेको छ। तर, यसबाट हुने फाइदा र नोक्सानको हिसाब भने उनीहरूले गरेको देखिँदैन। यसबाट आर्थिक फाइदा हुने, पर्यटक बढ्नेजस्ता धेरैको अनुमान छ। तर, यसले यौनजन्य हिंसा, गैरकानुनी क्रियाकलापलाई अझ बढाउने विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन्। वैधानिकताको आडमा असहमतिमा हुने यौनजन्य व्यापार र मानव तस्करीलाई यसले बढावा दिन्छ। के पोखरामा जीबी रोडकै दृश्य दोहोर्‍याउने ? जतिसुकै व्यवस्थित गर्न खोजे पनि पोखराको रेडलाइट एरिया एम्सटर्डमजत्तिको पनि बन्ने छैन। 

अझ महत्त्वपूर्ण पक्ष के हो भने संसारकै पुरानो पेशा भनिने गरिएको वेश्यावृत्तिबाट ती महिला सबैभन्दा बढी मारमा पर्छन्, जो सबैभन्दा कमजोर र विकल्पविहीन छन्। विशेषज्ञहरू भन्छन्– वेश्यावृत्तिलाई दिइने वैधानिकताले पनि यो पेशामा रहेका महिलालाई माथि उठाउने होइन, अन्य महिलालाई पनि मानवीय स्तरबाट तल गिराउने काम गर्छ। 

(‘हफिङ्टन पोस्ट’ र ‘दी गार्जियन’को रिपोर्टमा आधारित। प्रस्तुतिः कवि आचार्य)

तपाईको कमेन्ट