रंगिन थाङ्काले नरंग्याएको जीवन

writer

उर्मिला स्याङ्तान

शनिबार, १८ जेठ २०७६


दैनिक ११ घण्टा थाङ्का लेख्ने काम गर्छन्, निमा। पर्यटकले चिनोका रूपमा लैजाने थाङ्का बनाउन कलाकारले दुई महिनादेखि एक वर्षसम्म परिश्रम गर्छन्। परिश्रमको फल भने अरूले नै खान्छन्। 


रामेछाप, दोरम्बाका निमा दोर्जे लामाले थाङ्का लेख्न थालेको २८ वर्ष भयो। ४५ वर्षीय उनको उमेर ढल्कँदै छ। तर, संघर्ष झनै जवान हुँदै छ। जीवनको सुरुवातमा जुन पेशा अंगालेका थिए, अहिले पनि त्यही पेशामा छन्। सँगै थाङ्का लेख्न सिकेका साथीहरू कोही थाङ्का पसलका साहू भए, कोही गुम्बाका लामा भए। कोही साथीले काडमाडौँमा घर बनाए। उनी चाहिँ अझै थाङ्का नै लेखिरहेका छन्। पेशाले नाम दिएको छ, थाङ्का मास्टर। विभिन्न देशका पयर्टकले थाङ्का किन्न आउँदा उनलाई थाङ्का मास्टर भन्दै फोटो खिच्छन्। 

आमा ठूली माया र बाबु पाल्देन लामाको जेठो छोरा निमाको बाल्यकाल घाँसदाउरा गरेर बित्यो। दुई घण्टाको उकालो–ओरालो हिँडेर पुगिने स्कुलमा बित्यो। उनले भीमेश्वर प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढे। बिहान घाँस र स्याउला काटेर दिउँसो पढ्न जान्थे। ‘गोजीमा भुटेको मकै हुन्थ्यो,’ उनी भन्छन्, ‘खुट्टामा चप्पल हुन्थेन। तैपनि, बाल्यकालका ती दिन रमाइला थिए।’ 

छिमेकीले थाङ्का लेखेको देखेपछि उनलाई पनि थाङ्का लेख्न रहर लाग्यो। केही दिन सिके। सिकेको केही समयपछि निमालाई सिकाउने मास्टर काठमाडौँ हिँडे। उनको सिक्ने इच्छा झन्–झन बढ्यो। १३ वर्षको उमेरमा थाङ्का लेख्ने रहरले उनलाई काडमाडौँसम्म डोर्‍यायो। 

२०४४ सालमा काडमाडौँको लागि घरबाट बुबासँगै निस्किए, निमा। तर, उनको यात्रा बनेपा आइपुग्दा रोकियो। केही हप्ता त्यहीँ दिनको १० रुपैयाँमा धान काटे। त्यसपछि काठमाडौँ आए। खोजी गर्नु थियो गाउँको उही छिमेकी मास्टर। ती मास्टर भक्तपुरमा बस्ने गरेको थाहा पाए। बुबाको पछि–पछि मास्टरको खोजीमा हिँडे। ‘बाटोमा हिँडेजति, देखेजति सबैलाई मास्टरबारे सोध्थेँ,’ उनी भन्छन्, ‘तर, मास्टर भेटिएनन्।’ मास्टर नभेटिँदा निराश भए पनि मनमा थाङ्का कलाकार बन्ने सपना जुर्मराइरहेको थियो। भक्तपुरका एक स्थानीयमार्फत भेटे अर्का थाङ्का मास्टर। उनी पनि रामेछापकै थिए। निमा खुशी हुँदै उनै मास्टरसँग थाङ्का सिक्न थाले। सिकाएबापत मास्टरको कोठामा काम गर्नुपथ्र्यो उनले। ‘मास्टरको कपडा धुने, खाना पकाउने, कोठा सफा गर्ने काम गर्थें,’ उनी सम्झिन्छन्।

पहिला कागजमा थाङ्का कोर्न सिके। थाङ्का कलामा निपुण हुन कम्तीमा आठ चरणको सिकाइ पार गर्नुपर्ने उनी बताउँछन्। सिक्न थालेको एक महिनापछि उनी रङ लाउन सक्ने भए। जुन थाङ्का लेखनको पहिलो चरण थियो। रङ लगाउन सिकेको छ महिनापछि मात्रै उनले तलब पाए। ‘त्यो छ महिना पार गर्न सिकारुलाई एकदमै गाह्रो हुन्छ,’ उनी सुनाउँछन्, ‘त्यसबीच कतिले थाङ्का सिक्न छाड्छन्।’ तर, निमाले छाडेनन्। ‘मलाई जसरी पनि थाङ्का कलाकार बन्नु थियो,’ उनी भन्छन्। छ महिना सिकेपछि उनी नजिकैको थाङ्का पसलमा काम गर्न थाले। त्यहाँ उनले पहिलो पटक तलब पाए, दुई सय रुपैयाँ। त्यो तलब लिएर उनी बर्खे बिदामा गाउँ गए। आफ्नो पहिलो तलब बुबाको हातमा राखेको उनलाई अझै सम्झना छ। 

गाउँमा खेती सकेर भक्तपुर आए। फेरि थाङ्का पसलमा काम गर्न थाले। पढाइ अपूरो थियो। उनले काम गर्ने पसलनजिकै एउटा स्कुल थियो। आफूजस्ता केटाकेटी स्कुल गएको देख्दा उनलाई पनि ‘जाऊँ जाऊँ’ लाग्यो। गाउँमा कक्षा पाँचसम्म पढेका उनी २०४७ सालमा कक्षा छमा भर्ना भए। ‘बिहान ६ देखि ८ बजेसम्म स्कुलमा हुन्थेँ, बाँकी समय थाङ्का लेख्थेँ,’ उनी भन्छन्। 

निमा मेहनती थिए। उनले थाङ्का लेखनका चरण सिक्दै गए। काम गरेको तीन वर्षपछि उनले थाङ्का लेखनको माथिल्लो चरण ‘चेन्जे’ गर्न सक्ने भए। त्यस बेला उनी मात्र १६ वर्षका थिए। उनी सम्झिन्छन्, ‘त्यति बेला कक्षा आठमा पढ्दै थिएँ। थाङ्का लेखेको कमाइले पढाई खर्च, खाजा खर्च निकाल्थेँ। खान र बस्न चाहिँ त्यही पसलमा व्यवस्था थियो। खाने र बस्ने खर्च साहूले तलबबाट काट्थ्यो।’

उनले काम गर्ने पसलमा विभिन्न देशका नागरिक आउँथे। पर्यटक लिएर गाइड आउँथे। उनीहरू विभिन्न भाषा बोल्थे। ‘पर्यटकलाई थाङ्का लेखिरहेका हामीलाई देखाउँदै गाइडले अंग्रेजीमा भन्थे– ‘दे आर अल अनएजुकेटेट एन्ड अर्फन।’ सँगै थाङ्का लेख्दै गरेका अरूले बुझ्दैन थिए। कक्षा आठ मात्रै पढेका उनले चाहिँ बुझ्थे। ‘टुहुरो भन्दा चित्त दुख्थ्यो,’ उनी सम्झिन्छन्, ‘तर, केही भन्न सक्दैन थिएँ। थाङ्का कलाकारलाई अशिक्षित र टुहुरो भनेको सुन्दा एकदमै रिस उठ्थ्यो।’ त्यस्ता घटनाबाट उनलाई अझै धेरै पढ्नुपर्छ भन्ने लाग्यो। सोच भए पनि उनले पढ्न सकेनन्। कक्षा आठमै पढाइमा पूर्णविराम लाग्यो। ‘स्वास्थ्यले साथ नदिँदा वार्षिक परीक्षा छुट्यो,’ उनी सुनाउँछन्, ‘त्यसपछि पढाइ रहरमै सीमित भयो।’ 

जेठो छोरा भएकाले उनको काँधमा घर जिम्मेवारी पनि थियो। बर्खे बिदामा खेती गर्न घर जान्थे। हिउँदमा अन्न बाली थन्क्याउन फेरि घर जान्थे। अरू समय त्यही थाङ्का लेखनमा व्यस्त हुन्थे। २०६० सालदेखि साहूले पसलमा खाना दिन छोडे। त्यसपछि त्यहाँको कमाइले जीवन चलाउन गाह्रो भयो। त्यो पसल छोडी उनले अर्काेमा काम गरे। लामो समयसम्म त्यहाँ काम गरे। जुन गाउँकै चिनजानको व्यक्तिको पसल थियो। त्यही भेटे, मइती घिसिङ। मइती निमाले काम गर्ने पसलनजिकै गलैँचा बुन्थिन्। तीन वर्षको प्रेम सम्बन्धपछि उनीहरूले बिहे गरे। समय बित्दै गयो। मइतीले छोरा जन्माइन्। जिम्मेवारी बढ्दै गयो।

बिहान ८ देखि बेलुकी ६ बजेसम्म काम गरेर मासिक २५ हजार रुपैयाँ कमाउँछन् निमा। भन्छन्, ‘महँगी बढेको छ। यति कमाइले घर चलाउन निकै गाह्रो हुन्छ।’ दिनहुँ थलीबाट काम गर्न बौद्ध आउँछन्। दैनिक ११ घण्टा काम गर्दा पनि उनको जीवन फेरिएको छैन। पर्यटकले देशको चिनोको रूपमा लग्ने थाङ्का बनाउन कलाकारले दुई महिनादेखि एक वर्षसम्म परिश्रम गर्छन्। ‘त्यो परिश्रमको फल कलाकारको हातमा एक प्रतिशत पनि पर्दैन,’ निमा भन्छन्, ‘सबै पैसा ठेकेदार, पसलको साहू र गाइडले लिन्छन्।’ 

निमाले थाङ्का लेख्न छाडेका छैनन्। हिजोआज बौद्धको एक पसलमा थाङ्का लेख्ने गर्छन्। पहिलाजस्तै विभिन्न देशका नागरिक पसलमा आउँछन्। थाङ्का मास्टरसँग फोटो खिच्छन्। विभिन्न भाषा बोल्ने गाइड पनि पर्यटकका साथमा हुन्छन्। ‘कतिपयले राम्रो व्यवहार गर्छन्, कोही भने अपमानजनक शब्द अझै प्रयोग गर्छन्,’ उनी गुनासो गर्छन्, ‘हामीलाई पहिला पनि हेप्थे, अहिले पनि।’ 

तपाईको कमेन्ट