अटोमा रमाएकी टंकी

गोपाल शर्मा
शनिबार, १८ जेठ २०७६
दाङ : २०७२ सालतिर तुलसीपुर उपमहानगरपालिकामा अटो रिक्सा सुरु हुँदा ‘हाँसको बथानमा बकुल्ला’ झैँ एक मात्र महिला अटो चालक थिइन्, ३५ वर्र्षीया टंकी नेपाली ‘टीका’। पुरुषको भीडमा आफूलाई स्थापित गर्न उनीसामु ठूलो चुनौती थियो। यात्रुले समेत पुरुषलाई नै पत्याउँथे। उनीहरूकै अटोमा बस्थे। ‘सुरुमा यात्रु पाउनै हम्मेहम्मे भयो,’ उनी भन्छिन्, ‘पुरुष चालकले चलाएको अटोमा बस्थे, यात्री। पछि मात्रै मेरो अटोमा बस्न थाले।’
तुलसीपुर ४, हलवारकी हुन्, टीका। दाङमा तीन पांग्रे अटो रिक्सा भित्रिएको केही समयपछि नै २ लाख ५० हजार रुपैयाँमा अटो किनेको उनी बताउँछिन्। ‘मैले अटो रिक्सा चलाउन थालेको तीन वर्ष भयो,’ उनी भन्छिन्। अटोबाट राम्रो आम्दानी भएको र तीन वर्षमा आफू आर्थिक रूपमा आत्मनिर्भर भएको उनी बताउँछिन्। ‘अटोले मलाई सबै पुर्याएको छ,’ उनी भन्छिन्।
आफ्नो किन्नुअघि उनले अरूको अटोमा काम गरेकी हुन्। ‘पहिले भाडामा अटो चलाउथेँ,’ उनी भन्छिन्, ‘पछि आफ्नै किनेँ।’ अटोको कमाइले आफ्नो घरव्यवहार धान्न पुगेको उनी बताउँछिन्। ‘छोराको पढाइखर्च, घरखर्च यही अटोले धानेको छ,’ उनी भन्छिन्, ‘कहिले दुई सयले पनि चित्त बुझाउनुपर्छ भने कहिले दिनको तीन हजार रुपैयाँसम्म कमाइ हुने गर्छ।’
महिलाले पनि पुरुषजस्तै काम गर्न सक्छन् भन्ने देखाउन आफूले पुरुषले गर्दै आएको काम गरेको उनी बताउँछिन्। ‘सवारी साधन चलाउँछु भन्ने कहिल्यै सोचेकी थिइनँ,’ उनी भन्छिन्, ‘हाम्रो समाजले महिला र पुरुष भनी विभेद गर्छ। त्यही विभेद चिर्न अटो चलाउन थालेकी हुँ।’ महिलाले अटो चलाएको देख्दा सुरुमा धेरैले खिसी गरेको उनी सुनाउँछिन्। ‘पहिला खिस्याउनेहरू पनि अहिले प्रशंसा गर्ने गर्छन्,’ उनी भन्छिन्। श्रीमान्को आम्दानी कुरेर बस्नुभन्दा आफ्नो कमाइले खुशी बनाउने उनी बताउँछिन्। ‘काम सानो–ठूलो हुँदैन,’ उनी भन्छिन्, ‘अरूको भर पर्नुभन्दा आफैँ केही गर्नु राम्रो हो।’ उनका श्रीमान् केही वर्षदेखि मलेसियामा छन्। टीकाले हरेक दिन यात्रीलाई तुलसीपुरका विभिन्न ठाउँमा पुर्याउँछिन्। ‘यात्रु भए घोराही, सल्यानको कपुरकोटसम्म पनि पुग्छु,’ उनी भन्छिन्,
अहिले जिल्लामा ४०–५० जना महिना अटो चालक रहेका छन्। अटो सवारी बढेपछि यो व्यवसायतर्फ महिलाहरूको आकर्षण बढेको अटो व्यवसायी समितिका नारायण बोहरा बताउँछन्। अरूको भर परेर जीवन निर्वाह गर्नुभन्दा आफ्नै व्यवसाय गरेर आत्मानिर्भर बन्ने प्रेरणा टीकाले अरू महिलालाई दिइरहेकी छिन्।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७