चिनियाँ ‘चराको गुँड’मा नेपाली नृत्य

writer

सम्पूर्ण

बुधबार, १५ जेठ २०७६


चीनको राजधानी बेइजिङमाअवस्थित ‘चराको गुँड’ नामले प्रख्यात राष्ट्रिय रंगशाला परिसरमा नेपाली कलाकारले नृत्य प्रस्तुत गरेका छन् । ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ कार्यक्रमअन्तर्गत आयोजित ‘एसियन सिभिलाइजेसन परेड’ कार्यक्रममा एसियाका १७ देशका कलाकारसँगै नेपाली कलाकार पनि त्यहाँ प्रस्तुत भएका हुन् । 

परेडमा नेपाली कलाकारले मारुनी, तामाङ सेलो, थारू, कौडा, गुरुङ, टप्पा, सन्थाल र धिमे नृत्य प्रस्तुत गरेका थिए । नेपाली नृत्यको नेतृत्व कुमारी नृत्यबाट गरिएको थियो । जसमा गायक दीपक वज्राचार्यको गीत ‘मन मगन’को संगीतलाई थिम बनाइएको थियो । सोही संगीतमा नौ वटै नृत्य प्रस्तुत गरिएका थिए ।

परेडमा चार्मिङ एसियाअन्तर्गत बंगलादेश, कम्बोडिया, भारत, जोर्डन, कजाखस्तान, लाओस, लेबनान हुँदै नेपाल प्रस्तुत भएका थिए । त्यसपछि फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्यान्ड, टर्की र भियतनामको प्रस्तुति रहेको थियो । त्यसैगरी, चार्मिङ चाइनाअन्तर्गत चीनको भित्री मंगोलिया, तिब्बत, युनान, क्विचाओलगायत विभिन्न प्रान्तबाट आएका चिनियाँ कलाकारको प्र्रस्तुति पनि रहेको थियो । 

‘एसियाका विभिन्न देशबाट आएका सहभागीका बीचमा नेपाली संस्कृति र सभ्यता चिनाउने ठूलो अवसर हो,’ टोली नेतृत्व गरिरहेका वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले भने, ‘त्यही भएर देशका विभिन्न ठाउँका कलाकारका साथै सांस्कृतिक विविधता झल्कने खालको प्रस्तुतिसहित सहभागी भएका हौँ ।’

नेपालबाट वल्र्ड कल्चरल नेटको संयोजनमा सहभागी भएको टोलीले पाँच दिनमा नौ वटा प्रदर्शन गरेको थियो । टोलीमा ३० जनाको सहभागिता रहेको थियो ।चीनको संस्कृति मन्त्रालयको आयोजनामा भएको परेडसँगै एसियाली खाना महोत्सव पनि आयोजना गरिएको थियो । 

तपाईको कमेन्ट