दुर्व्यवहारविरुद्ध चलिरहन्छ जसको कलम

writer

सृजना खड्का

आइतबार, २१ असोज २०७५


‘सुरुवात आफैँबाट गर्नुपर्छ, परिवर्तन सम्भव छ’ भन्छिन्, पत्रकार रूपा शर्मा ‘नेहा’।


पाल्पाको ध्रुवघाटमा जन्मिएकी हुन्, उनी। त्यहीँको सरकारी स्कुलबाट एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाडौँ आइन्। एकल आमाको काखमा हुर्किएकी हुन्, रूपा। आमाले उनलाई सधैँ आफ्नै बलबुतामा बाँच्नुपर्छ भनेर सिकाइन्। ‘बुबाले अर्को बिहे गरेपछि सामान्य गृहिणीबाट मेरी आमा नर्स बन्नुभयो,’ रूपाले भनिन्, ‘मलाई पनि मेरी आमाजस्तै आत्मनिर्भर र बलियो हुनु थियो।’ 


आफ्नो बाल्यकाल एकदमै दुःखमा बितेको बताउँछिन्, रूपा। ‘आमामाथि भएको हिंसा हेरेर हुर्किएँ,’ उनले भनिन्, ‘आमाको दुःखले धेरै कुरा सिकायो। त्यसैले ठूलो भएपछि त्यस्ता धेरै आमाहरूको पक्षमा काम गर्ने सपना देखेँ।’ स्नातक पढ्दापढ्दै उनले पत्रकारिताको तालिम लिइन्। त्यही तीनमहिने तालिमले उनको जीवन पत्रकारितातर्फ मोडियो। ‘पत्रकारितामा लागेपछि मानिसका दुःख, पीडा बाहिर ल्याउन पाइन्छ भनेर यतातिर लागेँ,’ उनले भनिन्, ‘त्यहीबाट महिलाका विभिन्न मुद्दामा आवाज उठाउन सुरु गरेँ।’ पत्रकारिता क्षेत्रमा काम गर्दा सुरुको एक वर्ष उनले बिनापारिश्रमिक काम गरिन्। ‘त्यसपछि मासिक दुई हजार रुपैयाँमा पाँच वर्ष काम गरेँ,’ उनले भनिन्, ‘जुनसुकै काम पनि लगनशील भएर गरे सफल भइन्छ भन्ने मलाई राम्रोसँग थाहा थियो।’


पत्रकारिताको माध्यमबाट महिला अधिकारका लागि क्रियाशील रूपा विगत १५ वर्षयता काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएममा समाचार तथा कार्यक्रम उत्पादकको रूपमा काम गर्दै आइरहेकी छिन्। टेलिभिजनमा पनि उनी सक्रिय भएकी छिन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘आजको चर्चा’ कार्यक्रम चलाउँछिन्। 


रूपाले पत्रकारितासँगै महिला अधिकारको क्षेत्रमा पनि काम गर्छिन्। ‘दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन, नेपाल’की अध्यक्ष उनी बालिका किशोरी तथा महिलामाथि हुने आन्तरिक बेचबिखन तथा बाह्य बेचबिखनविरुद्ध पनि क्रियाशील छिन्। ‘मैले पत्रकारिताको क्षेत्रबाट महिला सशक्तीकरण र लैंगिक हिंसा अन्त्यका लागि पुरुषको सहभागिताका विषयमा वकालत गर्दै आइरहेकी छु,’ उनले भनिन्। 


रेडियो कार्यक्रम, डकुमेन्ट्री तथा अनुसन्धानात्मक लेख–रचनामार्फत बालिका तथा किशोरीमाथि हुने आन्तरिक र बाह्य बेचबिखनका मुद्दामा काम गर्दै आइरहेकी छिन्। ‘मनोरञ्जनका क्षेत्र क्याबिन, डान्स बार, मसाज सेन्टर, दोहोरीभित्र बालिका तथा किशोरीहरूमाथि हुने यौन दुव्र्यवहारको क्षेत्रमा पनि काम गरेँ,’ उनले भनिन्, ‘त्यस्ता घटनालाई बाहिर ल्याउन रातभरि ठमेलका डान्स बारहरूमा गएर त्यहाँको वास्तविकता बुझ्थेँ।’ बालिकामाथि यौन दुव्र्यवहार गर्ने पुरुष कुन व्यवसायमा आबद्ध र कुन उमेर समूहका हुन्छन् भनेर पत्ता लगाउन आफैँ गोंगबुु, कलंकी र कोटेश्वरमा बसेर अनुसन्धान गरेको अनुभव पनि उनीसँग छ।

 

‘यौनकर्मी महिलाको विषयमा धेरै काम गरेँ,’ विगतलाई सम्झिँदै उनले भनिन्, ‘यौनकर्मी दिदीबहिनीले ‘मेरो कथा रेडियोमा पढिदिनुस् न’ भनेर चाङका चाङ चिठी लेखेर पठाउनुहुन्थ्यो।’ यौन पेशामा महिलाहरू रहरले नभइ बाध्यताले लागेको उनले बताइन्। ‘रातभर डान्सबारमा चुरोटको धुवाँ र रक्सीको गन्धमा बसेर काम गर्नु चानचुने थिएन,’ रूपाले भनिन्, ‘यसरी काम गर्दा मलाई चिनेजानेकाले नराम्रो दृष्टिकोणले हेर्थें।’ रिपोर्टिङका क्रममा निकै अप्ठ्यारा परिस्थिति भोग्नुपरेको उनी बताउँछिन्। ‘त्यो बेलामा यौनकर्मी खुलेर बोल्दैनथे,’ उनले भनिन्, ‘एउटा स्टोरीका लागि १० पटकसम्म धाउनुपर्थ्यो।’ 


१७ वर्षको पत्रकारिता जीवनमा आफूले तिनै दिदीबहिनीको कथा÷व्यथा कमाएको उनी बताउँछिन्। ‘धेरैले मेरो कारणले आफ्नो पेशा नै परिवर्तन गरे,’ उनले भनिन्, ‘आफूले गर्दा अरूको जीवनमा सकारात्मक परिवर्तन आउँदा धेरै खुशी लाग्दो रहेछ।’  विवाहको नाममा विदेशमा बेचबिखनमा परेका महिलाहरूको हितको लागि पनि उनले काम गरेकी छिन्। ‘नेपालका म्यारिज ब्युरो कम्पनी र सरकारको मिलोमतोमा त्यस्तो काम भएको थाहा पाएकी थिएँ,’ उनले भनिन्, ‘यस्तो सूचना बाहिर ल्याउँदा मलाई ज्यान मार्ने धम्कीसमेत आएको थियो। स्कुलबाट मेरो बच्चा अपहरणमा पर्दा होस्टेल वार्डेनको सहयोगमा बचायौँ।’ यो घटनापछि अरूको समाचार बनाउने रूपा आफैँ समाचार बन्न पुगिन्। घटनापश्चात् पनि उनले विवाहको नाममा हुने बेचबिखनको मुद्दा उठाइरहिन्। ‘महिला हिंसाकोे विषयमा वकालत गर्दा जागिरबाट निकाला गरिदिनेसम्मको धम्की खेप्नुप¥यो,’ उनले भनिन्, ‘रेस्टुरेन्टका साहुले नचिनेको नम्बरबाट फोन गरेर धम्काउने, तर्साउने गर्थे।’ 


महिला तथा बालबालिका मन्त्रालय अन्र्तगतको केन्द्रीय बालकल्याण समितिले उनको कामको सम्मान गर्दै बालिका तथा किशोरी बेचबिखनको सवालमा पत्रकरिताको क्षेत्रबाट उल्लेखनीय काम गरेबापत राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको छ। त्यस्तै, उनी सञ्चारिका समानता प्रोत्साहन पुरस्कार, मानव ओसारपसारविरुद्ध सञ्चार माध्यमबाट जनजागरण पुरस्कार, मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा राष्ट्रिय पत्रकारिता पुरस्कार र बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारजस्ता धेरै पुरस्कारबाट सम्मानित भएकी छिन्। रूपाले हिंसापीडित धेरै महिलालाई व्यक्तिगत रूपमा सहयोग गर्नुका साथै हाल एक दृष्टिविहीन युवालाई पत्रकारिता विषय पढ्न आर्थिक सहयोग गरिरहेकी छिन्।


पत्रकारितामा लागेपछि परिवारलाई समय दिन सकिँदैन भन्ने रूपालाई राम्रोसँग थाहा छ। ‘तर, समयको व्यवस्थापन गर्न सिक्नुपर्छ,’ उनले भनिन् ‘समय व्यवस्थापन ग¥यो भने जीवन आफैँ व्यवस्थित हुन्छ। समय व्यवस्थापन गरी अगाडि बढेको मानिस जीवनमा कहिल्यै असफल हुँदैन।’ नेपालमा महिला पत्रकारको अवस्था, बलात्कारबाट पीडित महिलाको अवस्थालगायत विषयमा अनुुसन्धानमा गरिरहेकी उनी विभिन्न अन्तर्राष्ट्रिय संस्थामा लैंगिक विशेषज्ञको रूपमा आबद्ध छिन्। 

तपाईको कमेन्ट