जवानीमै जीवन किन वैरी ?

writer

सम्पूर्ण

सोमबार, १३ जेठ २०७६


युवराज भट्टराई-अस्मिता खड्का
 


केस १

झापा, बिर्तामोडका शिशिर भण्डारी (नाम परिवर्तन) १९ वर्षका थिए। पारिवारिक कलहका कारण उनी सधैँजसो तनावमा हुन्थे। साथीभाइसँग राम्रो घुलमिल भए पनि उनी भित्रभित्रै डिप्रेसनको शिकार थिए। आफ्नो कुरा कसैलाई बताउन सकेका थिएनन्। गत मंसिरमा एक दिन उनले आफ्ना साथीभाइलाई पार्टी दिए।

त्यस दिन उनले भनेका थिए, ‘म भोलि मर्दै छु। तर, मर्नुअगाडि तिमीहरूलाई पार्टी दिन चाहन्छु।’ उनको कुरालाई साथीभाइले गम्भीरतापूर्वक लिएनन्। ख्यालठट्टा ठाने। घर फर्किंदा बाटोमा पर्ने पुलिस चौकीमा गएर समेत उनले चिनजानका एक जना हवलदारलाई भने ‘म भोलि मर्दै छु।’ त्यहाँ पनि उनको मजाक उडाइयो। भोलिपल्ट उनको शव घरको कोठामा झुण्डिएको अवस्थामा भेटियो। 

‘कसैले आफू मर्दै छु भन्ने कुरा बताउँदाबताउँदै पनि उसलाई सबैले उडाउँछन्,’ उक्त घटनाबारे जानकारी दिँदै मनोविद् गोपाल ढकालले भने, ‘जसकारण मानिसले आफूलाई झन् एक्लो महसुस गर्छ र आत्महत्याको बाटो अपनाउँछ।’ उनका अनुसार आत्महत्या गर्ने किशोर–किशोरीले अगाडि नै केही न केही संकेत दिइरहेका हुन्छन्, जसलाई बुझ्न आवश्यक हुन्छ।

आवेशमा आएर आत्महत्या गर्नेले खासै धेरै कुरा नबताए पनि योजनाबद्ध ढंगले आत्महत्या गर्ने सोच भएकाले अगाडि नै धेरै लक्षण देखाउने उनी बताउँछन्। ‘उनीहरू सहयोग खोजिरहेका हुन्छन्,’ ढकालले भने, ‘त्यसैले कतै न कतैबाट म आत्महत्या गर्दै छु भन्ने संकेत दिइरहेका हुन्छन्। यसलाई बुझ्न सके उनीहरूलाई बचाउन सकिन्छ।’


केस २

निलिमा शेर्पा (नाम परिवर्तन) काठमाडौँ, थलीमा बस्थिन्। कक्षा ११ मा पढ्थिन्। वैशाख २९ गतेदेखि उनको फाइनल परीक्षा थियो। तर, वैशाख २५ गते नै उनी जिन्दगीको परीक्षामा खरो उत्रिन सकिनन्। आफ्नै घरको भ¥याङमा सलले पासो लगाएर आत्महत्या गरिन्। प्रहरीका अनुसार त्यस दिन दिउँसो उनको घरमा कोही थिएनन्।

सबैसँग हाँसखेल गर्ने उनी आत्महत्या गर्नु केही दिनअघिदेखि भने चुपचाप थिइन्। कसैले ‘के भयो ?’ भनेर सोध्दा ‘केही पनि भएको छैन’ भन्दै टार्ने गरेकी थिइन्। बौद्ध प्रहरीका अनुसार उनको आत्महत्याको कारण अझै खुल्न सकेको छैन। प्रेमीसँगको झैझगडाका कारण आत्महत्या भएको प्रहरीको अनुमान छ। तर, परिवारबाट भने त्यस्तो कुनै जानकारी प्राप्त नभएको प्रहरी बताउँछ। 


केस ३

निखिल नगरकोटी (नाम परिवर्तन) को घर काठमाडौँ, आलापोट हो। घरको आर्थिक अवस्थाका कारण उनले धेरै पढ्न पाएनन्। कक्षा छसम्म पढेका उनले बीचैमा स्कुल छाडे। स्कुल छाडेपछि काठमाडौँ, थली–रत्नपार्क रुटमा चल्ने गाडीमा सहचालक भएर काम गर्न थाले। १७ वर्षीय उनले केही महिनाअघि आफू सुत्ने कोठाको सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरे। 

बौद्ध प्रहरीका अनुसार बेलुकाको खाना खाएपछि निखिल सुत्न गएका थिए। बिहान अबेरसम्म भाइ नउठेपछि उनका दाजु बोलाउन गए। कैयौँ पटक बोलाउँदा पनि उनी बोलेनन्। ढोका खोल्ने प्रयास गर्दा ढोका पनि खुलेन। उनका दाजुका अनुसार झ्यालबाट चिहाएर हेर्दा उनी पंखामा झुण्डिरहेका थिए। उनको परिवारका अनुसार निखिल प्रेम सम्बन्धमा थिए। घटनाको केही दिनअघि प्रेमिकासँग उनको  सम्बन्ध चिसिएको थियो। त्यही तनावमा उनले आत्महत्या गरेको परिवारले बताएको छ। प्रहरीले भने आत्महत्याको कारण खुल्न नसकेको बताएको छ। 


केस ४ 
 

गत वर्ष एलिना कुँवर (नाम परिवर्तन) ले आफ्नी कान्छी बहिनी गुमाइन्। १९ वर्षीया बहिनी मेलिनाले प्रेमीसँग ब्रेकअप भएपछि हातको नसा काटेर आत्महत्या गरेकी थिइन्। उनी काठमाडौँ, बागबजारको एक होस्टलमा बस्थिन्। होस्टलबाट बहिनीले आत्महत्या गरेको खबर प्रहरीले एलिनालाई दियो। ‘त्यो बेला म छाँगाबाट खसेजस्तै भएँ,’ उनले भनिन्। बहिनीको आत्महत्याका कारण एलिना स्वयं डिप्रेसनको शिकार बनेकी छिन्। अहिले उनी काठमाडाँै, सिनामंगलस्थित केएमसी अस्पतालमा नियमित काउन्सिलिङमा आइरहेको उनका चिकित्सक मनोविद् प्रा.डा. सुवासचन्द्र शर्मा बताउँछन्। 

डा. शर्मा ललितपुर, ठेचो बस्ने १६ वर्षीया दीपा रानाभाट (नाम परिवर्तन) लाई पनि काउन्सिलिङ गरिरहेका छन्। दीपाले गत वर्ष एसईईमा राम्रो अंक ल्याउन सकिनन्। ‘साइन्स पढ्नुपर्ने मान्छेले राम्रो अंक नल्याएको भन्दै परिवारले उनलाई अनेक गाली गर्दाे रहेछ,’ डा. शर्माले भने, ‘एक दिन कोठामा आत्महत्याको कोसिस गर्दै गर्दा उनलाई आमाले भेटिन्। हाल उनी उपचाररत छिन्।’ 


केस ५
 

मनोचिकित्सक प्रा.डा. रवि शाक्यले हालसालै हेरेको केसमा नौ वर्षको बच्चाले आत्महत्या प्रयास गरेका थिए। ती बालकका बुबा इन्जिनियर थिए। राति सारसौँदो सुतेका उनका बुबा बिहान ओछ्यानमा मृत भेटिएका थिए। पोस्टमार्टम गर्दा उनले आत्महत्या गरेको खुलेको थियो। श्रीमान्को कोठामा सुतेको अवस्थामा मृत्यु भएपछि त्यसको अपजश श्रीमतीलाई आइलाग्यो। ‘श्रीमान्ले आत्महत्या गर्दै छन् भन्ने पनि थाहा नपाउने हुस्सु श्रीमती’ भन्दै आफन्तले कुरा काट्न थाले। त्यसपछि ती महिलाले पनि आत्महत्या प्रयास गरिन्। यी दुवै घटना देखेका नौ वर्षका बालकले पनि छतबाट हाम्फालेका थिए। छतबाट हाम्फालेपछि उपचारका लागि अस्पताल ल्याइएका उनलाई पहिला झुक्किएर खसेको सोचिएको थियो। तर, पछि उपचारका क्रममा उनले मर्न खोजेको पाइयो। ‘बाबुले आत्महत्या गरिसकेको र आमाले आत्महत्या प्रयास गरेकाले ती बच्चामा त्यसको असर देखिएको थियो,’ डा. शाक्यले भने। 

परिवारमा कसैले आत्महत्या गरेको छ भने त्यस परिवारका अन्य सदस्य पनि जोखिममा हुने डा. शाक्यले बताए। ‘आमा वा बुबाले आत्महत्या गरेका छन् भने छोराछोरीले पनि आत्महत्या गर्ने जोखिम हुन्छ,’ उनले भने, ‘कतिपय अवस्थामा आत्महत्या नै गरेका घटना प्रशस्त पाइन्छन्।’ 

केस ६
 

काठमाडौँ, बानेश्वरका २७ वर्षीय जेनिस महर्जन (नाम परिवर्तन) को परिवार सम्पन्न छ। उनी कुलतमा फसे। दुव्र्यसनका कारण बिस्तारै उनमा मानसिक समस्या देखिन थाल्यो। आमाबुबा, श्रीमती र तीन वर्षीया छोरीसँग बस्दै आएका जेनिसले आफ्नो समस्या परिवारलाई बताउन सकेनन्। उनले आत्महत्या गर्ने सोचे। उनका बाबुका अनुसार उनले धेरै पहिलेदेखि सुसाइड नोट लेखेर राखेका रहेछन्। गत महिना जेनिसलाई कोठामा झुण्डिन लागेको अवस्थामा उनका बुबाले देखे र छिमेकीसँग हारगुहार गरेर छोरालाई बचाउन सफल भए। परिवारले उनलाई तुरुन्तै मनोपरामर्श केन्द्र लग्यो। मनोविद् गोपाल ढकालसँग परामर्श लिइरहेका उनले आफ्नो समस्या अरूलाई राख्न नसकेपछि आत्महत्या प्रयास गरेको बताएका थिए। अत्यधिक लागुपदार्थ सेवनका कारण उनमा यस्तो समस्या देखिएको मनोविद् ढकालले बताए। हाल उनलाई पुनःस्थापना केन्द्रमा राखिएको छ।

०००

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ५ हजार ३ सय ४६ ले विभिन्न विधिबाट आत्महत्या गरेको देखिन्छ। जसमध्ये झुण्डिएर ३ हजार ७ सय ८३, विष खाएर १ हजार ३ सय ७६, आगो लगाएर १५, औजार÷ हातहतियार प्रयोग गरेर नौ, हाम्फालेर ५०, करेन्ट लगाएर एक, डुबेर १२ जनाले आत्महत्या गरेका थिए। तीमध्ये ५७ प्रतिशत युवायुवती रहेको तथ्यांकले देखाउँछ। उक्त तथ्यांकअनुसार किशोर–किशोरी र युवा–युवतीको आत्महत्या दर क्रमश वृद्धि हुँदै गएको देखिन्छ।

 

आर्थिक वर्ष २०७५÷०७६ चैतसम्मको तथ्यांक हेर्ने हो भने ३ हजार ९ सय ८५ जनाले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार यसमा पनि अधिकांश युवा छन्। 

विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको तथ्यांकअनुसार ३५ वर्षभन्दा मुनिका मानिसले सबैभन्दा बढी आत्महत्या गर्ने गरेका छन् र यो क्रम बढ्दो छ। 

तथ्यांकमा गडबडी
 

नेपालको कानुनले आत्महत्यालाई अपराध मान्छ। प्राकृतिकबाहेक अन्य कुनै पनि कारणले मृत्यु हुनेको विवरणको अभिलेख राख्ने भनिए पनि आत्महत्याको सन्दर्भमा भने दुई वटा तथ्यांक रहेका छन्। 

 

किन गर्छन् आत्महत्या ?
 

मनोविद् ढकालका अनुसार आत्महत्या ठ्याक्कै यही कारणले हुन्छ भन्न सकिँदैन। ‘मान्छेलाई आत्महत्या गर्न बाध्य तुल्याउने धेरै कारण छन्,’ उनले भने, ‘यही कारण हो भन्न मिल्दैन। विशेष गरी, डिप्रेसन, एन्जाइटी, हर्मोन परिवर्तनलगायत समस्या भएकाले आत्महत्या गर्न सक्छन्।’ पछिल्लो समय प्रेम सम्बन्धका कारण पनि आत्महत्या बढेको उनको तर्क छ। ‘प्रेममा धोका पाएपछि आत्महत्या गर्नेको संख्या पनि बढ्दो छ,’ उनले भने।  

डा. शर्माले पनि प्रेम सम्बन्धलाई पछिल्लो समयमा बढ्दै गएको युवा–युवतीको आत्महत्याको प्रमुख कारण बताए। ‘जब कुनै व्यक्तिले आफ्नो परिवारबाट पाउनुपर्ने जति माया पाउँदैन, ऊ मायाको खोजीमा भौँतारिन्छ,’ उनले भने, ‘आफूले भेटेको मायामा पूर्ण समर्पित हुँदा कुनै कारणवश सम्बन्ध टुटेमा आत्महत्या गर्ने गरेको पाइन्छ।’ ब्रेकअपलाई सहज रूपमा लिन नसक्दा कतिपयले आत्महत्याको बाटो रोज्ने गरेको उनी बताउँछन्। 

लामो समयसम्म कुनै रोगको औषधि सेवन गर्नेको शरीरमा हर्मोनल चेन्ज हुने मनोविद् ढकालले बताए। ‘किशोर–किशोरीले कुनै रोगको औषधि लामो समयसम्म सेवन गरिरहेका छन् भने उनीहरूमा हर्मोनल चेन्ज हुन्छ,’ उनले भने, ‘यस्तो बेला कतिमा रोग निको हुँदैन कि भन्ने भावना आउँछ र डिप्रेसनमा गएर भविष्यमा आत्महत्या रोज्छन्।’ 

डा. शर्माका अनुसार पछिल्लो समय आत्महत्याको अर्काे एउटा कारण हो, सामाजिक सञ्जाल। ‘सामाजिक सञ्जालमा डुबेपछि युवाहरू परिवारसँग टाढिँदै जान्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा परिवार छोराछोरीलाई बुझ्दैन, छोराछोरीले परिवारलाई बुझ्दैनन्। यही दूरी आत्महत्याको कारण बन्न सक्छ।’ पछिल्लो समय देखासिकीका कारण पनि आत्महत्याको दर बढिरहेको उनको अनुभव छ। ‘प्रविधिको विकाससँगै नाम चलेका सेलिब्रिटीको आत्महत्याको खबर सबैतिर फैलिन्छ,’ उनले भने, ‘यसले सामान्य मान्छेमा पनि आत्महत्याको सोच पलाउन सक्छ।’

मनोविद् ढकालका अनुसार परिवारको कुनै सदस्य गुमाउँदा वा कुनै नसोचेको घटना एक्कासि हुँदा पनि किशोर–किशोरीले निराश भई आत्महत्याको प्रयास गर्छन्। केही महिनाअघि भरतपुरकी १९ वर्षीया एक जना किशोरीले त्यसै गरिन्। ‘घर आगलागी हुँदा उनले परिवारका सबै सदस्य गुमाइन्,’ मनोविद् ढकालले भने, ‘उनी कलेज गएको समय परेको हुनाले उनलाई केही भएन। तर, उक्त घटना भएको केही दिन बित्न नपाउँदै ती किशोरीले झुण्डिएर आत्महत्या गरिन्।’ ढकालका अनुसार यस्तो अवस्थामा युवा र किशोर–किशोरीमा निर्णय गर्न सक्ने क्षमता हुँदैन। ‘भविष्यमा के गर्ने ? कुन बाटो हिँड्ने ? भनेर निर्णय गर्न नसक्दा उनीहरूले आत्महत्याको बाटो रोज्न सक्छन्,’ उनले भने। 

युुवामाझ आत्महत्याको क्रम बढ्नुलाई उमेरसँगै हुने परिवर्तन र सामाजिक संरचनासँग जोडेर हेर्नुपर्ने मनोविद् ढकाल बताउँछन्। ‘आजभोलि सबैभन्दा धेरै किशोर–किशोरीले आत्महत्या गर्ने गरेका छन्,’ उनले भने, ‘यो अन्योलको उमेर हो। यो समयमा सही–गलतबारे मार्ग निर्देशन पाएनन् भने उनीहरूले आत्महत्याको बाटो रोज्न सक्छन्।’ 

हाल सुत्केरी महिलाले आत्महत्या गर्ने क्रम बढेको ढकालले बताए। ‘सानै उमेरमा बिहे गर्ने महिलामा यस्तो जोखिम बढी देखिन्छ,’ उनले भने, ‘पोस्ट म्याटर्नल डिप्रेसनका कारण पछिल्लो समयमा आत्महत्या बढ्दै गएको छ।’ बच्चा जन्माएको चारदेखि पाँच महिनामा सुरु हुने यस प्रकारको डिप्रेसनले आत्मबललाई कमजोर बनाउँदै लैजाने उनले बताए। ‘बच्चा पाएपछि जिम्मेवारी थपियो, अब केही गर्न सकिँदैन, बच्चालाई हुर्काउन सकिँदैनलगायत सोच आइरहने हुँदा पोस्ट म्याटर्नल डिप्रेसन हुन सक्छ,’ मनोविद् ढकालले भने।

डा. शाक्यका अनुसार आत्महत्या अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक एवं सामाजिक दुर्घटना हो। धार्मिक तथा सामाजिक दृष्टिले यसलाई पाप एवं अपराध आदि मानिँदै आए पनि आधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज मानिन्छ। ‘आत्महत्याको सोच तथा कोसिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संवेदनशील चिकित्सकीय विपद्का रूपमा हेरिन्छ,’ उनले भने। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार बर्सेनि करिब १० लाख मानिसले आत्महत्या गर्छन्। हरेक तीन सेकेन्डमा एक आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ। ‘यो संख्या समस्त प्राकृतिक तथा मानवनिर्मित प्रकोप, युद्ध, आतंककारी हमला, हत्या र हिंसाहरूबाट हुने वार्षिक मृत्युदरभन्दा पनि बढी हो,’ डा. शाक्यले भने, ‘महिलाभन्दा पुरुषले बढी आत्महत्या प्रयास  गर्छन्। खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरू नै बढी मर्ने गरेको पाइएको छ।’ 

युवालाई काउन्सिलिङ जरुरी 

किशोर–किशोरीले समस्याको समाधानका रूपमा आत्महत्यालाई लिने गरेको डा. शर्माले बताए। ‘कुनै कुरामा अचानक तनाव हुँदा उनीहरू निर्णय गर्न सक्दैनन् र आत्महत्याको प्रयास गर्छन्,’ उनले भने, ‘आवेशमा आएर गरिने धेरैजसो आत्महत्या असफल हुन्छन्। यसलाई मेडिकल भाषामा ‘प्यारा सुसाइड’ भनिन्छ।’ धेरैजसो प्यारा सुसाइड दिनको समयमा हुने अध्ययनहरूले देखाएको शर्माले बताए। ‘नसा काट्ने, फिनाइल पिउने, विष सेवन गर्ने, औषधिको ओभरडोज लिनेजस्ता क्रियाकलाप आत्महत्याको प्रयासमा पर्छन्,’ उनले भने, ‘जसमध्ये अधिकांश असफल हुन्छन्। प्यारा सुसाइड प्रयास गर्नेलाई काउन्सिलिङ आवश्यक पर्छ।’ एक पटक आवेशमा आएर आत्महत्याको प्रयास गरेका किशोर–किशोरीमा पुनः यस्तै जोखिम हुने उनले बताए। ‘एक पटक आवेशमा आत्महत्या गर्नेहरूमा प्रयास असफल भएपछि पनि मर्छु भन्ने भावनाको विकास भइसकेको हुन्छ,’ उनले भने, ‘यसकारण भविष्यमा पनि यसको जोखिम रहन्छ।’ एक पटक आत्महत्या प्रयास गरिसकेकालाई राम्रोसँग बुझ्न नसक्दा तथा राम्रोसँग नियमित काउन्सिलिङ हुन नसक्दा भविष्यमा फेरि त्यही बाटो समाउन सक्ने सम्भावना हुने उनले बताए। ‘उनीहरूमा भएको मर्छु भन्ने भावनालाई हटाउन सकेमा भविष्यमा आत्महत्या गर्ने जोखिम न्यून बन्न जान्छ,’ उनले भने, ‘यस्तो अवस्थामा जीवनप्रति उनीहरूको प्रेम बढाउन आवश्यक छ।’

कडा खालको मानसिक रोग भएकाले सुनियोजित आत्महत्या गर्ने डा. शर्माले बताए। ‘सुनियोजित आत्महत्या प्रयास गर्नेले बढीजसो रातको समय र एकान्त रोज्ने गर्छन्,’ उनले भने, ‘यसरी आत्महत्या प्रयास गर्नेलाई बचाउन निकै गाह्रो हुन्छ।’

काउन्सिलिङ र थेरापीको मद्दतले किशोर–किशोरीलाई आत्महत्याको जोखिमबाट बचाउन सकिने, तर नेपालमा त्यस किसिमको उपचारको विकास भइनसकेको डा. शर्माले बताए। ‘नेपालमा सुसाइड हेल्पलाइन, थेरापी लगायतको विकास भएको छैन,’ उनले भने, ‘यदि भएको भए यसले आत्महत्या गर्नेलाई बचाउन मद्दत गथ्र्यो। तर, हाम्रोमा कसैले आत्महत्या र मानसिक रोगको कुरा ग¥यो भने उसलाई ठट्टामा उडाउने गरिन्छ।’ 

सहयोगको खोजी
 

सामान्यतया आत्महत्याको अर्थ आफैँले आफूलाई मार्नु भन्ने आम बुझाइ छ। आत्महत्या यतिमा मात्र सीमित नरहेको मनोविद् ढकालले बताए। ‘कसैले आत्महत्याको प्रयास गर्नुको अर्थ ‘मलाई बचाऊ’ भनेर सहयोग माग्नु हो,’ उनले भने, ‘विभिन्न कारणले आफूमा भएको कुण्ठालाई पोख्न नपाउँदा उत्पन्न हुने तनावको कारण उनीहरू आत्महत्या रोज्छन्।’ यस्तो अवस्थामा व्यक्तिलाई सहयोगको आवश्यकता हुने उनले बताए। ‘आत्महत्या गर्नुअगाडि उसले सहयोग खोजिरहेको हुन्छ,’ उनले भने, ‘उसको मृत्यु नहुँदासम्म पनि उसमा बाँच्ने आश रहिरहन्छ। यो बेला उसलाई परिवार, समाज र आफन्तको सहयोग आवश्यक हुन्छ।’

डा. शर्मा पनि किशोर–किशोरीमा बढ्दै गएको आत्महत्यालाई सहयोगको माग भएको तर्क राख्छन्। ‘अरूबाट अपेक्षा गरिएको जस्तो साथ र सहयोग नपाउनाले कतिपयले आत्महत्याको बाटो रोज्छन्,’ उनले भने, ‘उमेरअनुसार उनीहरूमा भएको समस्यालाई बुझ्न सक्यो भने आत्महत्या कम गर्न सकिन्छ।’

डिप्रेसन भएको बिरामीलाई डाक्टरले नछुटाई सोध्ने प्रश्न हुन्– ‘तिमीलाई आत्महत्या गर्ने सोच आएको छ कि छैन ? सोच आएमा कसरी आत्महत्या गर्छौ ? किन मर्न चाहन्छौ ? के कुराले तिमीलाई मर्न मन लागिरहेको छ ?’ तर, यस्ता प्रश्न डाक्टरमा मात्रै सीमित रहेको डा. शर्माले बताए। ‘यस्ता सम्भावित प्रश्न घरपरिवार, साथीभाइ र समाजका हरेकले निराश किशोर–किशोरीलाई सोध्न आवश्यक छ,’ उनले भने, ‘जबसम्म आत्महत्याबारे खुलेर बोल्न सकिँदैन, आत्महत्याको जोखिम झन् बढ्दै जान्छ। यस्ता प्रश्न सोध्दा उनीहरूले केही मात्रामा भए पनि राहत पाइरहेका हुन्छन्।’ यसलाई चिकित्सा भाषामा ‘प्रोटेक्टिभ फ्याक्टर’ भनिन्छ।’ यसले आत्महत्या गर्न उक्साउने ‘रिस्क फ्याक्टर’ लाई कम गर्ने डा. शर्माले बताए। ‘रिस्क फ्याकटरलाई कम गर्न रचनात्मक कुराकानी गर्ने, ढाडस तथा उत्प्रेरणा दिने गर्नुपर्छ,’ उनले भने, ‘घरपरिवार र समाजले ‘रिस्क फ्याक्टर’ र ‘प्रोटेक्टिभ फ्याक्टर’लाई मात्र ध्यान दिने हो भने पनि धेरै हदसम्म आत्महत्या कम गर्न सकिन्छ।’ 

 


‘जोखिममा छन् युवा’ 

प्रा.डा. रवि शाक्य, मनोचिकित्सक

कुनै पनि मानव व्यवहारलाई एक मात्र स्पष्ट कारणबाट व्याख्या गर्न गाह्रो हुन्छ। आत्महत्यालाई पनि हालसम्मका विभिन्न वैज्ञानिक सिद्धान्तअनुरूप व्याख्या गरिएको छ। तर, कुनै पनि सिद्धान्त पूर्ण भने छैन। थुप्रै तत्त्व (जैविक, वंशाणुगत, सामाजिक र मनोवैज्ञानिक) को भूमिका हुने गरेको पाइएको छ। आत्महत्या प्रयास गर्नेमध्ये ९५ प्रतिशत मानसिक रोगले ग्रस्त भएको विश्वव्यापी तथ्यांक छ।

मानसिक रोगी भन्नाले पूरै विक्षिप्त, जथाभावी गरेर हिँड्ने मात्र नभई शारीरिक रूपमा पूरै स्वस्थ तर आफू र वरिपरिको वातावरणसँग मेलमिलाप नभई भित्रभित्रै पीडित हुने पनि जनाउँछ। आत्महत्याको ८० प्रतिशत कारण अस्वाभाविक उदासी र डिप्रेसनलाई मानिन्छ। त्यस्तै, सिजोफ्रेनिया, डिमेन्सिया, रक्सी तथा लागुपदार्थ दुव्यर्सन, व्यक्तित्वको गडबडी, बोर्डरलाइन पर्सनालिटी डिसअर्डर आदि मुख्य कारण हुन्।

डिप्रेसन अहिले विश्वको दोस्रो नम्बरमा रहेको स्वास्थ्य समस्या हो। सन् २०३० सम्ममा यो पहिलो नम्बरमा पुग्ने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरिसकेको छ। डिप्रेसनका समस्या भएकाले आत्महत्या बढी गर्ने भएकाले आगामी दशकमा आत्महत्या दर अझै बढ्ने देखिन्छ। 

नेपालमा थोरै अनुसन्धान, कमजोर रेकर्डिङ प्रणाली, आत्महत्या लुकाउने प्रवृत्ति आदिले गर्दा आधिकारिक तथ्यांकको कमी छ। नेपाल प्रहरीको उपलब्ध तथ्यांक अनुसार प्रतिवर्ष एक लाखमा ३.७ देखि १०.३ जनाले आत्महत्या गरेको पाइन्छ। आत्महत्याको दर गृहिणी, विद्यार्थी, मजदुर र बेरोजगारमा बढी भएको पाइन्छ। कुल मातृ मृत्युदरमध्येमा १६ प्रतिशत आत्महत्याले हुने गरेको पाइन्छ। मानव मृत्युको प्रमुख कारण आत्महत्या पनि भएकाले यसको रोकथाम हरेक समुदाय र अन्य सम्बद्ध सबै निकायको पनि दायित्व हो। 

पछिल्लो दशकमा विश्वका प्रायः देशमा बालबालिका तथा किशोर–किशोरीले आत्महत्या गर्ने क्रम बढ्दो छ। पहिला ४५ वर्षमाथिकालाई आत्महत्याको उच्च जोखिमको उमेर मानिन्थ्यो। अहिले यो ३० वर्षभन्दा मुनि झरेको छ। छसात वर्षका बच्चाले समेत आत्महत्या प्रयास गरेका घटना अस्पतालसम्म आइपुग्न थालेका छन्। कतिपय अवस्थामा मृत्युसमेत भएका घटना पनि छन्। चाइल्डहुड डिप्रेसन बढेसँगै कम उमेरकाको आत्महत्या दर पनि बढेको देखिन्छ। 

आत्महत्याबाट मृत्यु भइसकेपछि ‘साइकोलोजिकल अटप्सी’ गर्ने चलन नै हामीकहाँ छैन। विशेषज्ञ मनोचिकित्सकले मात्र गर्न सक्ने साइकोलोजिकल अटप्सी गर्ने हो भने कुनै व्यक्तिले आत्महत्या के कारणले गरेको भन्ने तथ्य पत्ता लगाउन मद्दत पुग्छ। ‘मानिस मरिसक्यो, अब अनुसन्धान गरेर के फाइदा ?’ भन्ने धारणाका कारण र विशेषज्ञ जनशक्तिको अभावमा साइकोलोजिकल अटप्सी हुने गरेको छैन। सामान्य अवस्थामा देखिने मानिसमा पनि गम्भीर खालको डिप्रेसन भएको हुन सक्छ। जुन कुरा विशेषज्ञ चिकित्सकबाहेक अरूलाई थाहा हुँदैन। ९९ प्रतिशत मानसिक रोगको समस्या सामान्य मानिसले चिन्न सक्दैनन्। 


आत्महत्यासम्बन्धी केही अन्धविश्वास 

अन्धविश्वासः साँच्चै आत्महत्या गर्नेले त्यसको कुरा गर्दैनन्। 
यथार्थः हरेक प्रयासअगाडि केही संकेत कुनै न कुनै रूपमा व्यक्त गर्छन्। 

अन्धविश्वासः दृढ संकल्प गरिसकेकालाई आत्महत्याबाट कसैले रोक्न सक्दैन। 
यथार्थः उचित ध्यान पु¥याएर उपचार गरेमा अधिकांश आत्महत्या रोक्न सकिन्छ। 

अन्धविश्वासः आत्महत्यासम्बन्धी कुराकानी, सोधपुछले व्यक्तिमा आत्महत्या गर्ने सोच बढाउँछ। 
यथार्थः कुराकानी, सोधपुछ र उचित मनोपरामर्शले स्थिति बुझ्न र रोकथामको बाटो पहिल्याउन मद्दत गर्छ। 

जोखिममा को–को 
–किशोर–किशोरी
–अविवाहित 
–बेरोजगार
–उच्च घरानाका व्यक्ति   
–हालसालै सम्बन्ध विच्छेद भएका व्यक्ति 
–दीर्घरोगी 
–लागुपदार्थ दुव्र्यसनी 
–परिवारमा कसैले आत्महत्या गरेको छ भने अन्य सदस्य पनि जोखिममा हुन्छन् 
–विगतमा आत्महत्या प्रयास गरिसकेको व्यक्ति
–निरन्तरको असफलताले पीडित व्यक्ति
–समाजबाट अलग्गिएको व्यक्ति
–असाधारण तनावबाट गुज्रिरहेको व्यक्ति 

आत्महत्याको जोखिमका चिन्ह 
–आत्महत्याबारे कुराकानी गर्नु, इच्छा व्यक्त गर्नु, योजना बनाउनु 
–सधैँ मृत्युबारे सोचिरहनु, मर्ने उपायबारे जानकारी खोज्नु वा कुराकानी गरिरहनु 
–मृत्युको इच्छा राख्नु वा मृत्यु हुन सक्ने खालका काममा अकारण जोखिम उठाउनु 
–आफू बेकार, असहाय वा निराश भएको व्यक्त गर्नु 
–आफ्ना साथीभाइसँग नबुझिँदो तरिकाले बिदाइ माग्नु, माफी माग्नु
–‘म नजन्मेको भए राम्रो हुन्थ्यो, म मरेपछि तिमीहरू पछुताउँछौ, अब कुनै उपाय नै छैन’ जस्ता भाव व्यक्त गर्नु 
–खूब दुःखी भइरहेको मान्छे अचानक शान्त वा खुशी हुनु 
–पहिलेका रुचिमा चासो नदेखाउनु 
–आफ्ना कामकाज, हिसाबकिताब, प्रिय वस्तुहरू विस्तारमा फछ्र्याैट गर्नु 

(मनोचिकित्सक प्रा.डा. रवि शाक्यका अनुसार)


 

तपाईको कमेन्ट