‘फाँसीले देशलाई पछाडि धकेल्छ’

writer

सम्पूर्ण

शनिबार, २० असोज २०७५



लामो समयदेखि महिला मानव अधिकारको क्षेत्रमा क्रियाशील छिन्, सुधा काफ्ले। समाजशास्त्र तथा कानुन विषयमा स्नाकोत्तर गरेकी उनले सरोगेसी, लिभिङ टुगेदर, बलात्कारलगायत मुद्दामा आवाज उठाउँदै आएकी छिन्। ‘सम्पूर्ण’ सँग उनले महिला अधिकार, महिलाविरुद्ध हुने हिंसालगायत विषयमा कुराकानी गरेकी छिन्।


 

पहिलाको मुलकी ऐनमा बलात्कारपीडितले एक महिनाभित्रमा प्रहरीमा जाहेरी दर्ता गरिसक्नुपर्ने उल्लेख थियो। जबकि, नयाँ मुलकी संहितामा एक वर्षसम्म प्रहरीमा जाहेरी दिन पाउने व्यवस्था छ। यसलाई कसरी हेर्नुहुन्छ ? 

यो ऐनको राम्रो पक्ष हो। एक महिनाको सीमित समयले गर्दा कतिपय बलात्कारपीडितले समयभित्र जाहेरी दिन नसक्दा उनीहरू सधैँ पीडित नै भएर बस्नुपर्ने अवस्था थियो। एक वर्षको हदम्यादमा जाहेरी बढ्ने स्थिति छ। 

 

आजभोलि बलात्कारका घटना यतिविधि किन बढेका होलान् ? 
बलात्कार मात्र होइन, बलात्कारपछि हत्या भएका घटना पनि समाचारमा धेरै आइरहेका छन्। कञ्चनपुरको घटनाको छानबिन हुन नपाउँदै पोखरामा अर्को बलात्कारपछि हत्याको घटना भयो। कानुन, कानुनी संयन्त्र, पुलिस प्रशासन कमजोर भएकाले यस्तो भएको हो कि जस्तो लाग्छ।

 

महिला अधिकारकर्मी बलात्कारीलाई फाँसी दिनुपर्छ भन्छन्, तपाईंलाई के लाग्छ ? 

पीडित र उसको परिवारका दृष्टिकोणबाट हेर्दा फाँसीको सजायको माग गर्नु स्वाभाविक हो। तर, फाँसीको सजाय नै तोक्दा हाम्रो कानुन पद्धति पछाडि पर्छ जस्तो लाग्छ। फाँसीले हाम्रो देशलाई पछाडि धकेल्छ। किनकि, हामीले धेरै मानव अधिकारसम्बन्धी सन्धि– अभिसन्धिमा हस्ताक्षर गरिसकेका छौँ। बलात्कारीलाई आजीवन कैदको सजाय फाँसीभन्दा पनि कष्टकर हुन्छ। कहिलेकाहीँ अपराधी उम्केर निर्दोषले सजाय भोग्छ। त्यसैले यसलाई संवेदनशील ढंगबाट हेर्नुपर्छ। 

 

महिलाहरूको पहिले र अहिलेको अवस्थामा के फरक पाउनुहुन्छ ?

पहिला–पहिला महिलाका मुद्दा बाहिरै आउँदैन थिए। आइहाले पनि त्यसलाई समाजमै मिलाइन्थ्यिो। बलात्कारजस्ता फौजदारी अपराधका घटना त मिलेमतोमा सुल्झाइन्थे। तर, अहिले प्रहरी चनाखो भएको छ। अनुुसन्धानको प्रकृतिमा सुधार आएको छ। तर, अपराधीले पाउने राजनीतिक संरक्षणका कारण उनीहरूको मनोबल बढिरहेको देखिन्छ। 

 

महिला मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ ? 

नेपाल विविधताले भरिपूर्ण देश हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विविध संस्कृति र फरक भौगोलिक संरचना छ। प्रशस्त भौतिक पूर्वाधार तथा साक्षरता भएको ठाउँ र दुर्गम ठाउँमा हुने महिलाविरुद्ध हिंसाको अनुपात पक्कै पनि फरक हुन्छ। समाज जस्तो भए पनि महिला मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्छ। घटनालाई शून्य सहिष्णुतामा राखेर कारबाही गरेको खण्डमा सकारात्मक परिणाम आउनेछ।

 

भर्खरै आएका पाँच वटा कोडलाई कसरी देशभरिका जनतासामु पुर्यायाउन सकिन्छ ? 

हरेक संघीय इकाईले आफ्ना जनतालाई कसरी नयाँ कानुनबारे जानकारी दिने भन्ने कुरा सोच्नुपर्छ र योजना बनाउनुपर्छ। त्यसका लागि संघअन्तर्गतको स्थानीय निकायलाई तालिम दिने, कानुनसम्बन्धी पुस्तक वितरण गर्ने, सार्वजनिक बहस गराउने, टीभी, रेडियो, पत्रपत्रिकालगायत सञ्चारमाध्यमको सहयोग लिन सकिन्छ। 

 

नयाँ मुलकी संहितामा गरिएको महिलालाई सम्पत्तिमा समान अधिकारको व्यवस्था कत्तिको प्रभावकारी हुने देख्नुभएको छ ?

हरेक आमाबाबुले सम्पत्तिमा छोरीलाई छोरासरह अधिकार दिने परिपाटी भएको खण्डमा छोरीको जग नै बलियो हुन्छ। ऊ आमाबाबुको घरबाटै स्वतन्त्र र सक्षम हुने अवस्था आउँछ। समानता जन्मघरबाटै सुरु हुनुपर्छ। 

 

जेजति कानुन आए पनि समाजमा महिलामाथि हुने हिंसाका घटना रोकिएका छैनन् ?

कानुन आएर मात्र समस्या समाधान हुने होइन, मान्छेको सोचमा पनि सकारात्मक परिवर्तन आउन आवश्यक छ। अपराधीलाई राजनीतिक संरक्षण दिने, बलात्कारपछि हत्याजस्ता जघन्य अपराधलाई पनि हल्का ढंगले लिने परिपाटीले अपराधीको हौसला बढेको हो। अपराधीलाई कडा कारबाही गरी कानुनको दायरामा ल्याउनुका साथै सामाजिक बेइज्जती गरिएको खण्डमा यस्ता घटनामा कमी आउन सक्छ।

 

बलात्कारको घटनामा कमी ल्याउन के गर्नुपर्छ जस्तो लाग्छ ? 
‘ल एन्ड अर्डर’ कायम भएको राज्यमा बलात्कारपछि हत्याजस्ता जघन्य अपराध हुनु नै दुर्भाग्यपूर्ण कुरा हो। यो मानवताविरोधी र समाजविरोधी घटना भएकाले अहिलेको मुलुकी फौजदारी संहिताले जन्मकैदको व्यवस्था गरेको छ भने जबर्जस्ती करणी गर्ने नियतले आक्रमण गरेको हो भन्ने मनासिब विश्वास भई वा जबर्जस्ती करणी गर्दाको बखत वा गरिसकेपछि पीडितबाट तत्काल कुनै काम भएमा दोषी मान्न नसकिने भन्ने व्यवस्था गरिएको छ। तर, यस्ता कानुनी व्यवस्थाबारे बालबालिकालाई थाहा नहुन सक्छ। सामान्य कानुनी कुरा कक्षा पाँचदेखि नै पाठ्यक्रममा राखिएको खण्डमा उनीहरूमा चेतनाको विकास हुन जान्छ। अर्कोतिर, अस्ति भर्खरै रामेछापको आफूलाई जबर्जस्ती करणी गर्न खोज्ने हजुरबुबा पर्नेलाई १३ वर्षीया बालिकाले रड प्रहार गरी हत्या गरिन्। यस्ता घटनालाई मिडियाले पनि बढीभन्दा बढी स्थान दिनुपर्याे। कसैले आफूमाथि जबर्जस्ती आक्रमण गर्न आएमा आत्मरक्षाका उपाय के–के हुन सक्छन् भन्ने कुरा सडक नाटक गाउँ–गाउँमा देखाएको खण्डमा सायद यस्ता घटनामा केही कमी आउन सक्छ। 

तपाईको कमेन्ट

अन्य समाचार