सार्थक र रमाइलो ‘जात्रै जात्रा’

writer

सामीप्यराज तिमल्सेना

शुक्रबार, १० जेठ २०७६


चुस्त पटकथा र निर्देशनले ‘जात्रै जात्रा’ लाई सार्थक सिक्वेलको पहिलो पंक्तिमा खडा गरेका छन्। विपिन, रवीन्द्र र रवीन्द्रसिंहले तीन वर्षपछि पनि पहिलो भागमा समातेको लय छोडेका छैनन्।


फिल्म सिक्वेल ‘म्यानिकिन’ जस्तै मानिन्छन्। हेर्दा चिटिक्क तर आत्माविहीन। आवरण त मनमोहक हुन्छ तर प्राण नै नभएपछि आकर्षक हुनुको के अर्थ ? तथापि, फिल्मलाई केवल व्यापार मान्नेका लागि सिक्वेल पैसा कमाउने सबैभन्दा सुरक्षित माध्यम हो।  पहिलो भागमा मेहनत गर्‍यो, बाँकी भागमा त्यसको ब्याज खायो ! ‘बाहुबली’ र ‘ग्याङ्स अफ वासेपुर’ बलिउडमा अपवाद हुन्, जो एकैपटक खिचिएका थिए तर आउँदा सिक्वेलजसरी आए। हलिउडका स्टुडियोले आजभोलि एकैचोटि ‘ट्रिलोजी’सम्मको ‘ब्लुप्रिन्ट’ तयार गर्छन् र सुटिङमा जान्छन्।  

नेपाल यो अभ्यासमा छैन। अघिल्लो फिल्मको नाममा धडाधड फिल्म बन्छन् र रिलिज हुन्छन् तर पहिलोसँग दोस्रोको गोरु बेचेको साइनो पनि हुँदैन। न ‘भिजुअल स्टाइल’ मिल्छ, न कथा। न पहिलो भागका कुनै कलाकार दोहोरिन्छन्। एकाध वर्षअघि यस्ता फिल्मलाई पनि नेपाली फिल्मकर्मी ‘सिक्वेल’ भन्थे। भर्खर–भर्खर उनीहरूलाई थाहा हुँदै छ, नामको ब्याज मात्र खान आएका त्यस्ता फिल्मलाई सिक्वेल होइन, ‘सिरिज’ भनिन्छ। गत शुक्रबारबाट नेपालका हलमा सिरिज र सिक्वेल दुवै लागेका  छन्। तीन वर्षअघि रिलिज भएको ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ र उही समयमा रिलिज भएको ‘वीर विक्रम’को दोस्रो भाग ‘वीरविक्रम २’ हलमा फ्रेस रिलिज हुन्।  

छुस्स–छुस्स ‘ब्ल्याक ह्युमर’

तीन वर्षअघि रिलिज भएको ‘जात्रा’ दर्शकका लागि मात्र होइन, उद्योगकै लागि ‘सरप्राइज’ थियो। सुन्दर दृश्यका लागि कहिले लन्डन त कहिले थाइल्यान्ड चहार्ने फिल्मकर्मीको प्रवृत्तिबीच नवप्रवेशी प्रदीप भट्टराईले असनकै न्ह्योखा टोललाई सकेसम्म सुन्दर बनाएर प्रस्तुत गरेका थिए। कमेडीको नयाँ बान्की त छँदै थियो। टाउको ठाडो पारेर हिँड्न नसक्ने गल्लीमा उनले उस्तै अवस्थाका तीन पात्रलाई नैतिकताको रोटेपिङमा घुमाउँदै छरितो कथा पेश गरेका थिए।

विश्व सिनेमासँग परिचितका लागि कथा र प्रस्तुति आफ्नो थिएन, तर पात्र र तिनले भोग्ने परिवेश आफ्नै थियो। अचानक बोरामा भेटिएको पैसा पच पारेर फणीन्द्र तिम्सिना (विपिन कार्की), मुन्ना (रवीन्द्र झा) र जोयस (रवीन्द्रसिंह बानियाँ) गरिबीबाट मुक्ति चाहन्थे। तर, पैसा  पचाउन त परको कुरा, उल्टै भेटिएको तीन करोडमध्ये २ करोड ८० लाख नक्कली परेपछि उनीहरू जेलको हावा खान पुगे। ‘जात्रै जात्रा’को कथा जेलको ‘वाइड सट’बाट सुरु हुन्छ, जब तीनै जना तीन जेलमुक्त हुन्छन्।

उनीहरूको दुर्गति यस्तो छ कि सँगै छुट्ने नेतालाई फूलमाला लिएर काँधमा बोकेर लैजाने मानिसको ताँती छ तर उनीहरूलाई लिन न कोही साथीभाइ आएका छन्, न परिवार।  उनीहरू जेलबाट निस्कँदाको पहिलो दृश्यले नै निर्देशकले फिल्मको ‘इन्टेन्ट’ स्थापित गरेका छन्। सामाजिक विसंगतिलाई व्यंग्य गर्ने आशय। छुस्स–छुस्स  आउने श्याम व्यंग्यको यस्तो मात्रा फिल्मभरि देख्न पाइन्छ। यसका लागि निर्देशकले कहिले दृश्यको सहारा लिएका छन् त कहिले संवादको। 

चुस्त पटकथा र निर्देशन 

‘जात्रै जात्रा’को जात्रा त्यतिबेला सुरु हुन्छ, जब जीविकाका लागि फणीन्द्रले ट्याक्सी चलाउने क्रममा १० केजी सुन भेट्छ। पैसाकै कारण श्रीमती  (वर्षा राउत)  र छोरा इमान (अविरसिंह खड्का) लाई गुमाउन लागेको फणीन्द्रमा पहिलेजस्तो दुविधा छैन। तीन वर्ष जेल बस्दा नै समाजमा प्रतिष्ठित हुन पैसा चाहिन्छ भन्ने बुझेको उसले भेटिएको सुन पचाएर विखण्डित परिवार एक बनाउने सपना देख्छ। तर, दावा (दयाहाङ राई) को आँखा छलेर त्यो सुन पचाउन सजिलो छैन। किनकि, दावाको पहिलो शंका फणीन्द्रमै छ। अझ त्यसमाथि बिलबिनाको सुन यत्तिकै बेच्न सजिलो पनि छैन। यसपछि सुन बेचेर धनी हुने फणीन्द्रको सपनामा पालैसँग जोडिन्छन्, मुन्ना, जोयस र सम्पदा । तर, के सुनका लागि जे गर्न पनि तयार दावा र उसको ग्याङले १० केजी सुन पचाउन देला ? सवा दुई घण्टा लामो फिल्म यही प्रश्नको पटाक्षेपसँगै सकिन्छ। 

‘रअ सेटिङ’, निम्छरा पात्र र ‘सिचुएसनल कमेडी’ ‘जात्रा’का विशेषता थिए। फणी, मुन्ना र जोयसको चरित्रले तमाम भुइँमान्छेको संघर्षलाई प्रतिनिधित्व गर्थे।  सिक्वेलमा असनको जस्तो सेटिङ स्थापित छैन तर पात्र र सिचुएसनल कमेडी यथावत् छन्। यी दुईसँगै चुस्त पटकथा र निर्देशनले ‘जात्रै जात्रा’ लाई सार्थक सिक्वेलको पहिलो पंक्तिमा खडा गरेका छन्। यसभन्दा अघि नेपालमा ‘लुट २’ ‘प्रोपर’ सिक्वेलका रूपमा बजारमा आएको थियो, तर पहिलोको तुलनामा यो फिल्म कुम–कुम त के घुँडासम्म पनि थिएन। 

‘जात्रै जात्रा’को सबैभन्दा सबल पक्ष, पहिलो भागको आत्माबाट विचलित नहुनु हो।  हो, पहिलोको तुलनामा निर्माताले क्यानभास रंगिन बनाउने प्रयत्न गरेका छन्, तर त्यसले कथाको बहावमा नकारात्मक प्रभाव पार्दैनन्।  यसका लागि विपिन, रवीन्द्र र रवीन्द्रसिंह बधाईका हकदार छन्। तीन वर्षपछि पनि उनीहरूले पहिलो भागमा समातेको लय छोडेका छैनन्। बजारसँग कुम मिलाउन निर्माताले दुइटा गीत पनि थपेका छन् तर तिनको प्रयोग यथोचित ठाउँमा गरिएको छ। 

‘जेम’ विपिन 

नेपाली फिल्ममा मधेशी चरित्रलाई प्रस्तुत गर्ने तरिका अति ‘स्टेरियोटाइप्ड’ छ। उनीहरूले बोल्ने लवजलाई नै मनोरञ्जनको उद्देश्य बनाएर थुप्रै चरित्र लेखिएका छन्। तर, ‘जात्रा’ यो मामलामा ‘ब्रेकथ्रू’ थियो। लेखक÷निर्देशक प्रदीप भट्टराईले मुन्नाका रूपमा यस्तो चरित्र सिर्जेका थिए, जो बच्चाजस्तै अबोध त छ तर वयस्कजस्तो निडर। बिन्दास पनि उस्तै ! रवीन्द्र झाले पहिलो भागमै यो चरित्रमा प्राण भरेका थिए। दोस्रोमा पनि उनी बीसको उन्नाइस छैनन्। 

फिल्मले त्यतिबेला दर्शकको संवेदनासँग अन्तरक्रिया गर्छ, जब निर्देशक र कलाकारको तालमेल मिल्छ। ‘जात्रा’ सफल हुनमा कलाकार र निर्देशकको तारतम्यले ठूलो भूमिका खेलेको थियो। दोस्रो भागमा पनि त्यो जुगलबन्दी महसुस गर्न सकिन्छ। पहिलो भागमा फणीन्द्रको रूपमा वाहवाही पाएका विपिन कार्कीले फेरि एक पटक आफू अभिनयमा ‘जेम’ भएको प्रमाणित गरेका छन्। ‘एक्सटर्नल डिस्गाइज मेथड’ प्रयोग गर्दै हरेक फिल्ममा फरक–फरक गेटअप र लवजमा प्रस्तुत हुने उनले गरिब श्रीमान् र बाबुको भूमिकालाई हरेक फ्रेममा जीवन्त बनाएका छन्। तामझामभन्दा पनि अभिनयको बलले पर्दामा टिकिराख्ने विपिनजस्तै कलाकारको खाँचो छ अहिले उद्योगलाई। 

‘कस्तो फिल्म बनाउने’लाई जवाफ 

दुई घघडान कलाकारका बीचमा पनि हराएका छैनन्, रवीन्द्रसिंह बानियाँ र वर्षा राउत। बर्षा खुबी भएकी कलाकार हुन् तर भूमिका छनोटमा पर्याप्त संवेदनशील हुन सकेकी छैनन्। त्यसैले उनको अभिनय–ग्राफमा प्रशस्त उतारचढाव देखिन्छ। तर, जात्राका दुवै भागमा उनले आँत भरिने अभिनय गरेकी छिन्। 

यो सिक्वेलमा दयाहाङ राई पनि थपिएका छन्। फिल्ममा उनको भूमिका सोचेजस्तो दमदार छैन। त्यसैले अभिनय पनि उल्लेख्य छैन। तर, फिल्मको अन्त्यतिर उनले फिल्ममा रहनुको सार्थकता पुष्टि गरेका छन्। फिल्ममा रहेका अन्य सहायक पात्र प्रकाश घिमिरे, अंशु महर्जन, कालु राना आदिले पनि राम्रो अभिनय गरेका छन्। 

मह सञ्चारमा लामो समय मुख्य सहायक निर्देशकका रूपमा दीक्षित प्रदीपलाई कमेडीको कखरा राम्ररी थाहा छ, तर उनले त्यो ज्ञान ‘शत्रु गते’ जस्तोमा खन्याउने कि ‘जात्रा’ जस्तोमा ? सचेत हुनुपर्छ। किनकि, ‘शत्रु गते’मा जस्तो कमेडी बजारमा  छ्यापछ्याप्ती पाइन्छ तर ‘जात्रा’ उनको मौलिक सिर्जना हो। 

‘कस्तो फिल्म बनाउने ? नेपाली फिल्ममेकरका अगाडि अहिले तेर्सिएकोे सबैभन्दा ठूलो प्रश्न हो यो। प्रदीपले ‘जात्रा’ का दुई भागबाट सालाखाला यसको उत्तर दिएका छन्। कस्तो फिल्म बनाउने त ? यस्तो फिल्म, जसले आफ्नै कथा र परिवेश प्रस्तुत गरोस्। र, त्यहाँ मनोरञ्जनको पनि कमी नहोस्।     

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि