डेढ सय घरलाई दूध खुवाउँछन् जो

writer

सृजना खड्का

सोमबार, ०६ जेठ २०७६


गाईले बाल्टिनभरि दूध दिएको दिन कृष्ण बस्नेतलाई मज्जाले निन्द्रा पर्छ। काठमाडौँ, काँडाघारीको प्रहरी चौकीनजिकै बस्नेतको गोठ छ। त्यहाँ उनका ११ वटा गाई छन्। काँडाघारी नजिकैको हरहर महादेव, वीरेन्द्र चोक र सनसिटी वरपरका घरमा दूध पुर्‍याउने जिम्मा उनको परिवारले लिएको छ। 

‘२०६० सालमा उपचारका लागि रामेछाप, बाम्तीबाट काठमाडौँ आएँ,’ उनले सम्झिए, ‘खुट्टा चलाउनै भएन। खुट्टाको हड्डी खिइएको रहेछ। गाउँमा गएर उकाली÷ओराली र हलो÷जुवा गर्न नसक्ने भएँ। त्यसपछि यतै बसेर केही गर्ने सोच बनाएँ।’ उनी काठमाडौँ छिरेको अहिले १५ वर्ष लाग्यो। ‘काठमाडाँै आएपछि सुरुमा होटल व्यवसाय आँटेँ,’ उनले भने, ‘धेरै लगानी गर्न सक्ने स्थिति थिएन। २७ हजारमा होटल किनेर सात वर्ष चलायौँ।’ 

एक दिन बस्नेतले गाई पाल्ने सोच बनाए। ‘सुरुमा नौ हजारमा एउटा गाई ल्याएँ,’ उनले सम्झिए, ‘नौ माना दूध दिन्छ भनेर ल्याएको थिएँ। राम्रो स्याहार पुगेपछि बिहान १० माना, बेलुका १० माना दूध दिन थाल्यो। एउटै गाईबाट महिनाको १०÷१५ हजार आम्दानी हुन थाल्यो।’ गाईबाट राम्रो आम्दानी हुने देखेर उनी र उनको परिवारले यही पेशा अँगाल्ने सोच बनाए। ‘त्यही एउटा गाईको दूध बेचेर आएको पैसाले अर्को गाई किन्यौँ,’ उनले भने, ‘अर्कोबाट अर्को गर्दागर्दा अहिले ११ वटा पुगे। बिहान बेलुका गरेर सय लिटर दूध दुहुन्छाँै। एक लिटरको ८० रुपैयाँको दरले घर–घरमा पुर्‍याउने गरेका छाँँै। महिनाको अढाई लाख आम्दानी हुन्छ। केही दानापानीमा खर्च हुन्छ, बाँकी आफ्नै हो।’

होटल व्यवसायभन्दा उनलाई गाईपालन ठीक लागेको छ। ‘होटलभन्दा त यही गाईकै चाकरी बेस छ,’ उनले भने, ‘कमसे कम हल्लाखल्लाबाट त मुक्त भइएको छ।’ 
यहाँसम्म आइपुग्नका लागि श्रीमती मञ्जुको ठूलो हात भएको बस्नेतको भनाइ छ। त्यसमा छोरीहरू रुक्मिणी, रस्मिता र छोरा रञ्जितले पनि  भरथेग गरेका छन्। 

बस्नेतको दैनिकी बिहान २ बजेर ४० मिनेटबाट सुरु हुन्छ। ‘उठेर हातमुख धुँदा ३ बज्छ,’ उनले भने, ‘मैले एउटा गाई दुहेपछि मञ्जु उठ्छिन्। खोले–पानी गर्ने जिम्मा उनको भागमा पर्छ। ४ बजे छोराछोरी सबै उठ्छन्। कोही आमालाई सघाउँछन्। माइली छोरी मैले दूध दोहेर ल्याएपछि बट्टामा हाल्न थाल्छे।’ बस्नेत परिवार बिहान ४ बजेर ५० मिनेटमा दूध बाँड्न निस्कन्छ।

‘जाडो महिनामा त दूध पुर्‍याएर घरमा आएर चिया पिइसक्दा पनि उज्यालो हुँदैन,’ उनले भने, ‘ज्यानले जाडो÷गर्मी केही भन्दैन। काम गर्न थालेपछि जस्तो जाडोमा पनि पसिना निस्किन्छ। त्यसमाथि जाडो माहिना मलाई मन पर्छ। गर्मीमा भन्दा जाडोमा गाईलाई सञ्चो हुन्छ। दूध घटाउँदैन। एकनासले दिन्छ।’ 

बिहान बेलुका गरेर बस्नेत परिवारले १ सय ५० घरमा दूध पुर्‍याउँछ। यही काममै आफ्नो र परिवारको हात बसिसकेको उनी बताउँछन्। ‘छोराछोरी कोही पनि काम गर्न लजाउँदैनन्,’ बस्नेतले भने, ‘सबैले केही न केही काममा सघाइरहेकै हुन्छन्। सबैको साथ नपाएको भए यो काम गर्न सम्भव थिएन।’ दुःखसुख गरेर परिवार एकैठाउँमा बस्न पाएकोमा उनीहरू खुशी छन्।

‘यो उमेरसम्म आइपुग्दा मैले कहिल्यै पनि जागिर खाइनँ,’ उनले भने, ‘तैपनि, अहिलेसम्म पुगेकै छ। के खाऊँ? के लाऊँ? भन्ने दिन आएको छैन। परिवारलाई छाडेर विदेश जाने सोच त कहिल्यै पनि आएन।’ गाईपालनबाटै खानलाउन र छोराछोरी पढाउन पुगेकोमा उनी सन्तुष्ट छन्, खुशी छन्। 


 

तपाईको कमेन्ट

मुख्य समाचार