कामलाई ईश्वर मान्ने शिव

writer

रचना श्रेष्ठ

सोमबार, ०६ जेठ २०७६


काभ्रे, कोशीपारिका शिव बन्जारा तीन सिफ्टमा काम गर्छन्। साइकलमा बिहान ग्राहकको घर–घरमा पत्रिका पुर्‍याउँछन्। दिउँसो टिचिङ हस्पिटलअगाडि फुटपाथमा पत्रपत्रिका फिँजाएर बेच्छन् र साँझपख भारतीय पत्रपत्रिका ग्राहकसम्म पुर्‍याउँछन्। ३४ वर्षीय बन्जाराले १० वर्षयता यही काम गर्दै आएका छन् ।

कुनै पनि कामलाई ठूलो–सानो ठान्दैनन्, बन्जारा। ‘घरको आर्थिक अवस्था कमजोर थियो,’ उनी भन्छन्, ‘बुबा कामको खोजीमा तराईतिर जानुभयो। गाउँमा हाम्रो बिल्लीबाठ नै भयो ।’ गाउँमा जिउन गाह्रो भएपछि उनी परिवारसहित काठमाडौँ छिरे। चार जना दाजुभाइ, दिदीबहिनीमा उनी जेठा हुन्। ‘घरको जेठो छोरा भएकाले परिवारको जिम्मेवारी मेरो काँधमा आयो,’ उनी भन्छन्। उनका दुई जना बहिनी र एक भाइ छन्। 

गाउँबाट काठमाडौँ आउँदाको क्षणलाई उनी अहिले पनि झलझली सम्झिन्छन्। ‘गाउँबाट पहिलो चोटि साह्रै गाह्रो भयो,’ उनी भन्छन्, ‘काठमाडौँमा आफ्नो भनेको एक जना चिनजानका काका मात्र थिए। उहाँसँगै बस्यौँ ।’ काकाकाकीकोमा बस्दा मनमा पीडा हुने बन्जारा बताउँछन्। ‘अप्ठ्यारो लाग्थ्यो,’ उनी भन्छन्, ‘काम नपाउँदासम्म उहाँहरूले कमाएर ल्याएको खायो, बस्यो। लाजै लाग्थ्यो। दुःखको बेलामा काकाकाकीको लगाएको गुनलाई कहिल्यै बिर्सन सक्दिनँ ।’ 

सुरुमा बन्जाराले ज्यामी काम गरे। पढ्ने इच्छा भएकाले चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयमा भर्ना भए। ‘काम गर्दै पढ्ने सोच बनाएँ,’ उनी भन्छन्, ‘बिहान ६ बजेदेखि ९ बजेसम्म काम गर्थें अनि स्कुल जान्थेँ, पढ्थेँ ।’

साथीभाइले ज्यामी काम छोडेर पत्रिका बेच्ने सल्लाह दिएपछि उनी यतातिर लागे। ‘सात÷आठ वर्षजति स्टेसनरीमा काम गरेर किताब, कापी, कलमको लागि खर्च जुटाउँथेँ,’ उनी भन्छन्। 

पत्रिका बेच्न जाँदा ‘ह्या ! बच्चाले नि पत्रिका बेच्छ’ भनेर मान्छेहरूले खिसीटिउरी गरेको उनी सुनाउँछन्। ‘तर, म काम गर्न हिच्किचाउँदैनथेँ,’ उनी भन्छन्। स्कुलमा ढिलो आउँदा सर÷मिसबाट धेरै पटक गाली खाएका थिए, बन्जाराले। ‘स्कुलमा ढिलो पुग्दा सर÷मिसको गाली खानुपथ्र्यो,’ उनी भन्छन्, ‘के गरेर हिँड्छस्? भन्नुहुन्थ्यो। काम गर्दै पढ्दैछु भनेपछि बुझ्नुहुन्थ्यो ।’ 

बन्जाराले आफू मात्र पढेनन्, भाइबहिनीलाई पनि पढाए। ‘मैले काम गर्दै आफू पनि पढे र भाइबहिनीलाई पनि पढाएँ,’ उनी भन्छन्। त्यतिखेर उनले महिनामा सात सयजति कमाउँथे। काम गरेको ठाउँबाट किताब, कलम फ्री पाइने उनी बताउँछन्। कामको चक्करमा उनको पढाइ बिग्रियो। जेनतेन उनले एलएलसी पास गरे। ‘तीन पटक एसएलसी परीक्षा दिनुपर्‍यो,’ उनी भन्छन्, ‘तर, मैले हरेस खाइनँ। एसएलसी त जसरी भए पनि पास गर्छु भन्ने आँटले चौथो पटकमा बल्लतल्ल पास गरेँ ।’ 

बन्जाराले १० वर्षजति स्टेसनरीमा काम गरे। त्यसपछि पत्रिकाको आफ्नै व्यवसाय सुरु गरे। ‘बिस्तारै ग्राहक बनाउँदै गएँ,’ उनी भन्छन्,  ‘मान्छेहरूसँग संगत बढ्न थाल्यो। काम पनि बढ्न थाल्यो ।’

उनी बिहानै साढे ४ बजे न्युरोड पुग्छन्। दुईतीन सयजति पत्रिका जम्मा गर्छन्। बिहान १० बजेसम्म ग्राहकलाई बाँडिसक्छन्। त्यसपछि लाग्छन् महाराजगञ्जतिर। टिचिङ हस्पिटलअगाडि फुटपाथमा पत्रपत्रिका फिँजाएर तीनचार घण्टा व्यापार गर्छन्। ‘मैले यताबाट दिनमा छुट्टै दुईतीन सयजति कमाउँछु,’ उनी भन्छन्। साँझपख उनले भारतीय पत्रपत्रिका ग्राहकको पुर्‍याउँछन्। ‘यसबाट मैले महिनामा १४÷१५ हजार कमाउँछु,’ उनी भन्छन्, ‘जेहोस् इन्डियन पत्रिकामा फाइदा नै छ ।’

बन्जारा पत्रिका बेचेर आफूलाई गरिखान पुगेको बताउँछन्। परिवारसहित धुम्बाराहीमा बस्ने उनी घरभाडा तिर्न, घरखर्च चलाउन तीन सिफ्टमा काम गर्नुपर्ने बाध्यता रहेको सुनाउँछन्। ‘यसरी काम नगरे त खानलाउनै पुग्दैन,’ उनी भन्छन्, ‘महिनामा लगभग ३० हजारजति कमाइन्छ। घरभाडा र घरखर्चमै ठिक्क हुन्छ। एक सुको बचत हुँदैन ।’ 

यही कामबाट बन्जाराले आफ्नो बिहे गरे। ‘यसै कामबाट आफ्नो बिहे गरेँ, जेठी बहिनी अन्माएँ,’ उनी भन्छन्, ‘यसैमा सन्तोष लाग्छ ।’ कान्छी बहिनी बैंकमा जागिर गर्ने उनी बताउँछन्। ‘कान्छी बहिनीले बैंकमा जागिर गर्न थालेपछि जीवन सहज भएको छ,’ उनी भन्छन्। 

जुनसुकै मानिसले पनि गन्तव्यसम्म पुग्न संघर्ष गर्नैपर्ने उनको भनाइ छ। इन्टरनेटको जमानामा पत्रिका बेचेर जीविका चलाउन गाह्रो भएको उनी सुनाउँछन्। ‘नेटले गर्दा पत्रिका बेच्न धौधौ परेको छ,’ उनी भन्छन्, ‘तर, एउटामा आम्दानी भएन भनेर चुप लागेर चाहिँ बस्दिनँ। परिआए जे पनि गर्न सक्छु। कुनै पनि काम सानो–ठूलो हुँदैन। सबै कामको आ–आफ्नै महत्त्व हुन्छ। मेरा निम्ति काम नै ईश्वर हो ।’ 

तपाईको कमेन्ट