माटोबाट  प्रगतिको बाटोतिर

writer

भगीरथ अवस्थी

सोमबार, ०६ जेठ २०७६


उनले तरकारी खेतीबाटै धनगढीमा दुई कट्ठा घडेरी जोडेकी छिन्। भर्खरै मात्र एक लाख रुपैयाँको प्याजको बेर्ना बिक्री गरिन्। तरकारीकै आम्दानीबाट छोराछोरीलाई पढाएकी छिन्। 

तरकारी खेतीबाट यसरी प्रगति गर्ने कृषक हुन्, जयन्ती बिजले। अहिले उनको २० रोपनी जमिनमा लटरम्म तरकारी फलेका छन्। पाटन नगरपालिका, किचार खालीडाँडाकी २१ वर्षीया जयन्ती नमुना कृषक भएकी छिन् ।

स्कुल पढ्दापढ्दै १६ वर्षको उमेरमा उनको बिहे भयो। बिहेपछि पनि उनले पढाइ अगाडि बढाइन्। सँगसँगै तरकारी खेती पनि गरिन्। परम्परागत खेतीबाट जीवन धान्न गाह्रो भएपछि उनका ससुरा हरिसिंह बिजलेले १० वर्षअघि तरकारी खेती सुरु गरेका थिए। सुरुमा बिजले परिवारले तरकारी खेतीबाट वर्षको २०–२२ हजार रुपैयाँ आम्दानी गथ्र्यो। अहिले त्यो आम्दानी बढेर १० लाखभन्दा बढी भएको छ। यसमा जयन्ती ठूलो हात छ। भन्छिन्, ‘घरपरिवारले तरकारी खेती सुरु गरेका थिए। मैले त्यसलाई व्यावसायिक रूपमा अघि बढाएकी हुँ ।’

जयन्ती अहिले स्नातक तहमा अध्ययन गरिरहेकी छिन्। पढेका मान्छेले खेती–किसानी गर्नु हुँदैन भन्ने आम मान्यता तोड्न आफू तरकारी खेतीमा लागेको जयन्ती बताउँछिन्। ‘हामीजस्ता पढेलेखेकाले पनि कृषिमा लाग्नुपर्छ,’ उनी भन्छिन्, ‘कृषि कर्मबाट घरपरिवार चलाउने मात्र होइन, जिन्दगी नै बदल्न सकिन्छ भन्ने विश्वास छ ।’ अहिले जयन्तीको बारीमा आलु, बन्दागोभी, मुला, काउली, खुर्सानीलगायत तरकारी फलिरहेका छन्। उनी तरकारी बजारसम्म पुर्‍याउने काम गर्छिन् र पैसाको कारोबार आफैँ सम्हाल्छिन्। 

गहुँ र मकै खेती मात्रै गर्दा बिजले परिवारलाई मुश्किलले छ महिना खान पुग्थ्यो। तर, अहिले तरकारी खेतीमा लागेपछि यो परिवारका सुखका दिन सुरु भएका छन्। ससुरा हरिसिंह भन्छन्, ‘बुहारीका कारण तरकारी खेती सप्रिएको छ। अहिले हामीलाई कुनै दुःख छैन ।’ जयन्तीका श्रीमान् कोरियामा छन्। उनी पनि डेढ वर्षभित्र स्वदेश फर्केर कृषि पेशालाई अघि बढाउने सुरसारमा छन्। 

बिजलेको परिवारले थालनी गरेको व्यावसायिक तरकारी खेतीको सिको गर्दै अहिले किचारका ३५ परिवारले तरकारी खेती गर्न थालेका छन्। गाउँमा कैलपाल महिला कृषक समूह गठन गरेर आफूहरू तरकारी खेतीमा लागेको किचारकी दुरा भण्डारी बताउँछिन्। भन्छिन्, ‘जयन्तीको परिवारले तरकारी खेतीबाट पाएको सफलताले हामीलाई पनि धेरै कुरा सिकाएको छ। अहिले गाउँका सबै परिवारले तरकारी खेती गरेका छन्। 

व्यावसायिक तरकारी खेतीलाई अघि बढाउनका लागि समूहमा छलफलसमेत हुने गरेको समूहकी कोषाध्यक्ष जयन्ती बताउँछिन्। ‘हामी समूहमा नयाँ प्रविधि, अनुदान, तालिम र बजारीकरणका कुरा गर्छौं। छलफलले हाम्रो क्षमता बढाएको छ ।’ 

पछिल्लो समय तरकारी खेतीमा महिलाको आकर्षण बढ्दै गएको छ। ‘जयन्तीजस्ता नमुना महिला कृषकहरू अहिले गाउँगाउँमा उदाइरहेका छन्,’ जिल्ला कृषि विकास कार्यालय, बैतडीका जेटीए महेश अवस्थी भन्छन्, ‘ग्रामीण क्षेत्रमा पहिलेको तुलनामा कृषि पेशाबाट महिलाको दैनिकी फेरिएको छ। सधैँभरि घरको चुलोचौकोमा सीमित महिलाहरू अब आर्थिक तथा सामाजिक क्रियाकलापमा सरिक भएका छन् ।’

जिल्ला कृषि विकास कार्यालय, बैतडीका सूचना अधिकृत कर्णबहादुर चन्दका अनुसार बैतडीमा रहेका २ सय ७ कृषि समूहमध्ये ५३ वटा महिला कृषक समूह छन्। ‘सुरुमा महिला कृषक समूह नै थिएनन्,’ चन्द भन्छन्, ‘गएको चारपाँच वर्षयता व्यावसायिक तरकारी खेतीमा महिलाको आकर्षण बढेको छ। यसले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ ।’

सामूहिक रूपमा तरकारी खेतीमा आबद्ध हुँदा तरकारी खेतीका लागि आवश्यक सीप सिकिएको जयन्ती बताउँछिन्। भन्छिन्, ‘हामी तरकारी खेतीलाई अझै बढाउन चाहन्छौँ,’ उनी भन्छिन्, ‘महिलाले सबै काम गर्न सक्छन् भन्ने पाठ समुदायलाई पढाउनु छ ।’ 

आफ्नो समूहका सदस्यहरूको प्रयासबाट अन्य ठाउँका महिलाले पनि सिको गर्न सके महिलामाथि हुने विभिन्न प्रकारका हिंसा न्यूनीकरण हुने जयन्ती बताउँछिन्। ‘हामी महिलाले आत्मनिर्भर नहुँदा विभिन्न हिंसा खेप्नुपर्ने अवस्था छ। यो अवस्थाको अन्त्य गर्न व्यावसायिक तरकारी खेती अचुक उपाय हो ।’ 

तपाईको कमेन्ट