गाईबाट प्रगतितर्फ

writer

निरु पाण्डे

शुक्रबार, ०३ जेठ २०७६


‘लगनशील हुनुपर्छ। काम गर्दा त्यसको गहिराइमा पुग्नुपर्छ। आफूले गरेको काममा सन्तुष्ट हुनुपर्छ। त्यसपछि मात्र सफलता हात लाग्छ।’ 

यही सोचले अघि बढिरहेकी छिन्, चितवन, भरतपुर–६, गीतानगरकी विमला भट्ट। ४८ वर्षीया उनी गाईपालनमा व्यस्त छिन्। ‘मान्छेले परिश्रम गर्न सक्नुपर्छ, पैसा कमाउन विदेश जानुपर्दैन,’ विमला भन्छिन्, ‘देशमै पनि धेरैथोक गर्न सकिन्छ।’ 

गाईपालनमा उनले लामो समय बिताइसकेकी छिन्। उनले गाई पाल्न थालेको २२ वर्ष भइसक्यो। ‘गाईपालन गर्नुअघि स्वयंसेविका भएर गाउँमा सामाजिक कार्यमा सक्रिय थिएँ,’ उनी भन्छिन्, ‘खासै कमाइ थिएन। घरको आर्थिक स्थिति कमजोर भएपछि श्रीमान् वैदेशिक रोजगारीमा हिँडेँ। परिवारको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आइलाग्यो।’ 

दुई साना छोरालाई दूध खुवाउन नौ हजार रुपैयाँ ऋण गरेर उनले गाई किनिन्। ‘छोराहरूलाई खुवाएर पनि दूध बढी हुन थाल्यो,’ उनी भन्छिन्, ‘बाँकी रहेको दूध यत्तिकै खेर जानुभन्दा बेच्नु ठीक लाग्यो। दूध बेच्न थालेँ।’ दूध बेचेर अलिकति आम्दानी हुन थालेपछि उनी उत्साहित भइन्। अलि–अलि पैसा बचत गर्न थालिन्। केही पैसा जम्मा भएपछि उनले आफूसँग भएको गाई १५ हजार रुपैयाँमा बेचिदिइन्।

‘बचत गरेको पैसा र गाई बेचेर आएको पैसाले दुइटा गाई किनेँ,’ उनी भन्छिन्, ‘गर्दै गएपछि काम रमाइलो लाग्न थाल्यो। यसमै रम्दै गएँ। केही वर्षमै १४ वटा गाई थपेँ।’ गाई थपेसँगै काम पनि बढ्यो। घर, खेतीपाती, गाई, सन्तान सबैलाई एकसाथ सम्हाल्न गाह्रो हुन थाल्यो। त्यसपछि उनले छोराहरूलाई होस्टेलमा राखिन्। ‘मेरो दिनचर्या बिहान ३ बजेबाट सुरु भएर राति १२ बजे सकिन्थ्यो,’ उनी भन्छिन्, ‘म एक्लैले १५ वटा गाईको हेरचाह गर्थें। खेतीपाती, घरव्यवहार सबै काम भ्याउँदा मुस्किलले चार घण्टा सुत्थेँ।’ 

दिन बित्दै गए। उनको गाईपालन व्यवसाय फस्टाउँदै गयो। एउटा गाईबाट सुरु गरेकी उनको गोठ फार्ममा अहिले २८ वटा गाई छन्। उनलाई काममा श्रीमान् र जेठो छोराले सहयोग गर्छन्। ‘गाईको संख्या बढेपछि कामको चाप पनि बढेको छ,’ उनी भन्छिन्, ‘श्रीमान् नेपाल फर्किनुभयो। अहिले मलाई श्रीमान् र जेठो छोराले काममा सघाउँछन्। दुई जना कामदार पनि राखेका छौँ।’ आफ्नो अधिकांश समय गाईकै काममा बित्ने उनी बताउँछिन्। 

विमला फार्मबाट दुई सय लिटर गाईको दूध बिक्री गर्छिन्। जसबाट मासिक ६० देखि ७० हजार रुपैयाँ आम्दानी हुने उनी बताउँछिन्। ‘२० हजारजति गाईमै खर्च हुन्छ,’ उनी भन्छिन्, ‘बाँकी आफ्नै कमाइ हो।’ दूध मात्र होइन, पनिर र घिउसमेत बेच्ने गरेकी छिन्।

गाईपालन गरेरै आफूले पाँच कट्ठा जग्गा जोडेको उनी सुनाउँछिन्। ‘अस्थायी टहरा थियो मेरो,’ उनी भन्छिन्, ‘गाईको दूधबाट कमाएको पैसाले साढे दुई तलाको पक्की घर बनाएँ।’ छोराहरूको पढाइखर्च दूध व्यवसायबाट धानेको उनी बताउँछिन्। ‘जेठो छोराको त बिहे पनि गरिसकेँ,’ उनी भन्छिन्, ‘कान्छो छोरा अहिले पनि पढ्दै छ। यसै कामबाट उसको पढाइखर्च जुटाएकी छु।’ गाईले आफूलाई पालेको उनी बताउँछिन्। ‘मैले गाईलाई होइन, गाईले मलाई पालेको छ,’ उनी भन्छिन्।

‘यता होस् वा उता, जहाँ गरे नि उही दुःख हो, उही परिश्रम,’ उनी थप्छिन्, ‘विदेश जानुभन्दा परिवारसँग बसेर दुःख गर्नु ठीक हुन्छ।’ 

तपाईको कमेन्ट