हरि अधिकारीका कविता

writer

सम्पूर्ण

शुक्रबार, ०३ जेठ २०७६


संसद्मा एक दिन

एक जना बोलिरहेछ
अर्को उँघिरहेछ
र तेस्रो थुक्दै छ सूर्ति साँघुरा कुर्सीहरूको कापमा,

बहस पनि भइरहेछ,
विषय छन् अनेक–
संसद् एउटा ठुलो फिकदानी हो कि होइन ?
कोही सोध्छ ।
संसद् दुविधामा छ त्यो फिकदानी हो कि कन्टेनर ?

संसद् चलिरहेको छ
सत्ताको डबलीमा तेलकासाको खेल भइरहेको छ
एउटा दुब्लो पातलो, भोको र नांगो मान्छेलाई
बीचमा राखेर सांसद्हरू
खेल्दै छन् त्यसलाई कसले पहिले छुने भन्ने खेल,

संसद्बाहिरको दुनियाँ पनि हिँडिरहेको छ
चर्किएका कहताराहरू लिएर मान्छेहरू
संसद् भवनतिर एकनाससित हेरिरहेका छन्
संसद् चलिरहेको छ ।


हरि अधिकारी कुनै नाम होइन

हरि अधिकारी कुनै नाम होइन, 
ऊ अखबारहरूको छातीमा गलैँचा
ओछ्याएर घाम ताप्न सक्दैन
चिनाउनु परे भने हुन्छ ऊ कविता पनि लेख्छ
के कहिलेकाहीँ छापिएको छ ? आलोचनाका पुस्तकहरूमा
हो, छापिएको छ फोटोबाहेक
नखुल्ने गरी वतन र शैक्षिक योग्यता ।

वतन उसको यतै कतै हो
घर ? भए त्यहाँ अवश्य छैन ‘कुकुरदेखि बच’ लेखिएको सूचनापाटी
एउटा सडक छ चिल्लो र सफा
पराईको बगैँचामा पुगेर हराउलाजस्तो
हरि अधिकारीको ठेगाना त्यही सडकसित गाँसिएको छ ।

हुन सक्छ हरि अधिकारी एउटा गतिलै कविको नाम होस्
एकपटक उसको हाकिमले पनि उसको कविता पढेको थियो
र, बुझेको–नबुझेको बीचमा अल्मलिएको थियो
हुन त हाकिमले पनि गरेको थियो एमए तारा गुरुको शिष्यत्वमा
कविता टिप्पणी र आदेशहरू भन्दा पनि रकमी हुन सक्छ ?
हाकिमले सोच्यो, हाकिम कहिलेकाहीँ सोच्ने गर्छ !

दिन आधा मरिसकेपछि सचिवालयको एउटा गह्रौँ क्षणमा,
हाकिमले हरि अधिकारीको निधारमा हलुका ठट्टाको
मार्तोल ठोक्दै गरेको थियो घोषणा–
तपाईंहरूलाई थाहा छ के ? हाम्रो हरिजी कविता गर्नुहुन्छ !
मिस रेमिङ्टनका मसिना पालिसदार औँलाहरू अडिएका थिए –
टक्क !
त्यो एउटा लयबद्ध अडान थियो । र, धेरैवटा आँखाहरू,
उचालिएका थिए कविको अनुहारतिर
फ्याँकेर युधीर थापालाई टेबुलको ड्रअरभित्र,
जसरी आइमाईहरू धुनुपर्ने पेटिकोट ओछ्यानमा फ्याँक्छन् ।

हरि अधिकारी के गरोस् ?
हाँसेजस्तै भयो, चोरझेँ निहुरियो र झोक्रायो
त्यो उसको स्थायी मुद्रा हो ।

हरि अधिकारी कुनै नाम होइन
धेरै धेरै नाम होइनहरूको हूलमा
कसैको सडान्ध लाश बोकेर मुर्दाहरूको बस्तीबाट
उसको यात्रा जारी छ अनामको अज्ञाततर्फ यात्रा
तर ऊ बहुला घोडा पनि होइन
पीठ लागेको खच्चड ? उपमाको कुनै अभाव छैन जे भने पनि
हरि अधिकारी कुनै नाम होइन
भने हुन्छ ऊ कविता पनि लेख्दछ ।


सानो शहरका साना मान्छेहरू

सानो शहरमा बस्छन्, साना मान्छेहरू
मसिना हुन्छन् अभिलाषा तिनका
देख्छन् सपना भाँच्चिएका कुच्चिएका टुक्राटाक्री,
मुठारिएका पखेटाले उड्न खोज्छन्, सक्दैनन्,
पछारिन्छन्
र आफ्नै मुटुवरिपरि रुमल्लिइरहन्छन् ।

सानो शहरका साना मान्छेहरू
साना–साना सुखका टुक्राहरूलाई खोजिरहेका हुन्छन्
हाट बजारमा, मेला–जात्रामा, हिँड्दा–हिँड्दै,
सधैँ सुस्ताउने गरेको वरको छहारीमा
र भेटैपिच्छे प्रणाम गर्ने गरेको मानिसको नजरमा ।

आफूजस्तै साने मान्छेको निम्तोमा भक्कुमार मातेर
एक्कैछिन भए पनि आफ्नो मालिक आफैँ भएर
सानो शहरका साना मान्छेहरू
विपनाका कठोर चट्टानहरूलाई बेहोसीको कुमले
फुटाल्छन् ।

चुहिएको झुपडी, फाटेको चोलोबाट च्याउने स्त्रीको
छाती,
पोलियोग्रस्त सन्तान,
धेरै रिन, शून्य धन र हताश मन,
यी सबैमाथि
गहिरो तन्द्राको च्यादर ओढाइदिएर
यी साना, कमजोर तर बाँच्न सिपालु मान्छेहरू
निर्धक्क निदाउन सक्छन् ।


मलाई चिन्नुहोस्, महाशय !

मलाई चिन्नुहोस्, महाशय !
राम्ररी नियालेर हेर्नुहोस् र भन्नुहोस् !
म, पालकी उठाउन निहुरिएका ती हज्जारौँ
शिरहरूमध्ये एउटा हुँ कि होइन ?

म, त्यो थपडी हुँ कि होइन ?
जो तपाईंको सवारी–पथमा उभिएर युगौँदेखि
बजिरहेको छ,

र, म आफ्नै आन्द्राको सारंगी रेटेर
तपाईंले गाउने विजयगीतमा धुन भरिरहेको
भोको गाइनेको छोरो हुँ कि होइन ?

आफ्नो दरबारको अग्लो बुर्जाबाट निहुरिएर हेर्नुहोस् त
महाशय ! एकपटक
मेरो करङमाथि नै त उभिएको छैन ?
तपाईंको सम्पूर्ण व्यवस्था र तागत ?

राम्ररी हेर्नुहोस् मलाई र भन्नुहोस् !
तपाईंले नै बलात्कार गरेको गरिब छोरीको
अभागी बुबासँग मेरो अनुहार मिल्छ कि मिल्दैन ?

मलाई चिन्नुहोस्, महाशय !
मेरो रगतलाई आफ्नो जिभ्रोको टुप्पामा राखेर
एकपटक
चाख्नुहोस् र भन्नुहोस् !
तपाईंले पिउने गर्नुभएको मदिरासँग
यसको स्वाद मिल्छ कि मिल्दैन ?तपाईंले लिने आनन्दलाई नांगै पारेर छाम्नुहोस् 
एकपटक 
र भन्नुहोस् !
त्यहाँ मेरो मुटुबाट उठेको हिक्काको अनुगँुज त
मन्द मन्द सुनिएको छैन ?


बलात्कार

युद्धविरामपछिको
कुरुक्षेत्रजस्तै सुनसान
एउटा दरिद्र मानवबस्तीको एक छेउमा
चकमन्नताको मटमैलो बर्काे ओढेर
सुतिरहेको त्यो स्त्रीदेह
झट्ट हेर्दा
साबुत नै देखिन्थ्यो ।

ओठहरू झन्डै उस्तै थिए
कोमल र रसिला
रक्ताभ गालामा कुनै पनि कविले
खोज्न सक्थ्यो अझै
जीवनको मोहक जादु ।

तर वातावरण थियो असहज
वरिपरि फैलिएको थियो–
मृत्युको साक्षी भएर आउने
अत्यन्तै चिसो र चिथोर्न खोज्ने बाक्लो अन्धकार ।

त्यही नै बेला
झट्ट हेर्दा साबुतै देखिने
तर मरिसकेको त्यो स्त्रीअनुहारमा
मुस्कानको मसिनु धर्साे कोरिएको देखियो ।

त्यसका साथै भत्कियो उसको मुहार
र उसको आँखामा फैलियो
आतंकको असहनीय राप ।

उसको कमनीय शरीरका पत्रहरूमा
गाडिएका भेटिए
तीखा दाँतका सयौँ सिउँडीहरू ।

केही पर पीँधैदेखि काटिएका
उसको छातीका लाम्टाहरू त्यसरी नै
छटपटाइरहेका थिए
जसरी केही दिनअघि बर्मा लगाएर उधिनेका
ऊजस्तै अर्की स्त्रीको तिघ्राका मांसपेशीहरू
धेरैबेरसम्म
निःशब्द रोइरहेका थिए ।

झट्ट हेर्दा साबुत देखिने
तर मरिसकेकी त्यो स्त्री,
कसैलाई प्रेमले अँगालो मार्न नपाउँदै
भाँचिएका हातहरू,
मानवताको विशाल यात्रामा सहभागी हुन नपाउँदै
चिसो भएको गर्भाशय,
र जीवनको मीठो लय गुन्गुनाउन नपाउँदै
अवरुद्ध भएको कण्ठमा अनूदित भएर
पल्टेकी थिई नांगैै, बाँझो खेतको बीचमा
उभ्याउँदै मान्छे, ईश्वर र मानवीय सभ्यतालाई
युगको कठघरामा ।

तपाईको कमेन्ट

मुख्य समाचार