पूर्वमा ‘घरबास’ लहर

writer

गोपाल दाहाल

शुक्रबार, ०३ जेठ २०७६


पूर्वका पहाडी र ग्रामीण क्षेत्रमा अहिले होम–स्टेको लहरै चलेको छ। झापाको दमकमा धिमाल समुदायले, इलामको सलकपुरमा तामाङ समुदायले यस्तै घरबास चलाएका छन्। इलामका अन्तु, बालन गाउँ, धनकुटाका डाँडाबजार, राजारानी, नाम्जे, तेह्रथुमको खाम्लालुङ, आठराई, ताप्लेजुङ, संखुवासभा, उदयपुर आदि ठाउँमा पनि घरबास सञ्चालन भएका छन्। 


सुनसरीको विष्णुपादुका मन्दिरनजिकै छ, तामाङ बस्ती ‘मानेडाँडा’। पातलो यो गाउँमा साना–साना चिटिक्क परेका घर छन्। अचेल मानेडाँडाका महिला आफ्ना तिनै पुराना घरलाई सफा गर्न, वरिपरि फूल रोप्न व्यस्त छन्। किनकि, अचेल मानेडाँडामा ‘घरबास’ सुरु भएको छ।

घरबास अर्थात् ‘होम–स्टे’ अर्थात् पाहुनालाई घरमै बास दिने, गाउँकै फलफूल, तरकारी चखाउने, आफ्नै मौलिक नाचगान देखाउने। मानेडाँडाका नौ घरका महिलाले घरबास सुरु गरेपछि अचेल इटहरी, धरानलगायत पूर्व शहरका मान्छे मानेडाँडा पुग्छन्। त्यहीँ उत्पादन भएका साग, गुन्द्रुक, मकै खान्छन्। अनि, धरान, इटहरीलगायत ठाउँ दृश्यावलोकन गर्छन्। 

धनकुटाको नाम्जेका मगर समुदायले झन्डै एक दशकदेखि यसरी नै घरबास चलाइरहेका छन्। घरमा बास बस्न आउने पाहुनालाई नाम्जेकै अग्र्यानिक खाना खुवाइन्छ। मगर जातिको हुर्रा नाच देखाइन्छ र पाहुनालाई पनि सँगै नचाइन्छ। नाम्जेको पूरै गाउँ मिलेर सामुदायिक घरबास चलाएका छन्। 

पहिला रहरका भरमा सुरु भएको घरबास अहिले पूर्वका गाउँ–गाउँमा सुरु भइरहेका छन्। पूर्वका विशेष गरी पहाडी र ग्रामीण क्षेत्रमा अहिले घरबासको लहरै चलेको छ। झापाको दमकमा धिमाल समुदायले, इलामको सलकपुरमा तामाङ समुदायले यस्तै घरबास चलाएका छन्। इलामका अन्तु, बालन गाउँ, धनकुटाका डाँडाबजार, राजारानी, नाम्जे, तेह्रथुमको खाम्लालुङ, आठराई, ताप्लेजुङ, संखुवासभा, उदयपुरलगायत ठाउँमा पनि घरबास सञ्चालन भएका छन्। धनकुटाको छिन्ताङका राई समुदाय पनि होम–स्टे सुरु गर्ने तयारीमा छ। 

२०५४ सालमा स्याङ्जाको सिरुवारीबाट होम–स्टे सुरु भएको मानिन्छ। पूर्वमा भने करिब १५ वर्षअघि इलामको अन्तुबाट घरबास सुरु भएको पूर्वका पर्यटनकर्मी वासुदेव बराल बताउँछन्।  उनी भन्छन्, ‘अहिले अन्तु, नाम्जेजस्ता ठाउँमा केही दिन पहिल्यै बुकिङ गरेर जानुपर्छ। पूर्वमा पनि गाउँठाउँ घुम्ने संस्कारको विकास भइरहेको छ।’

पर्यटन कार्यालयको तथ्यांकअनुसार पूर्वमा २८ वटा घरबास समूह दर्ता भएका छन्। तर, यो केही वर्षअघिको तथ्यांक हो। पूर्वका गाउँमा नेपालका विभिन्न ठाउँसँगै भारतका बंगाल, बिहार, सिक्किम, दार्जिलिङदेखि पर्यटक आउने गर्छन्। यही वर्ष पूर्वका धेरै जिल्लामा घरबास खुलेका छन्। पूर्वको पर्यटकीयस्थल भेडेटार नजिकैको देवीथान गाउँमा केही साताअघि मात्र स्थानीय समुदायले घरबास सुरु गरे। देवीथानमा घरबास सुरु गरेका युवा गणेश थापा भन्छन्, ‘यहाँबाट हिमालदेखि तराईका फाँट राम्ररी देखिन्छ। यहीँका उत्पादन पाहुनालाई खुवाउन सकिन्छ। यस्तो सुन्दर ठाउँ छाडेर विदेश जान वा शहर झर्न मन लागेन।’

स्वरोजगारीको माध्यम

अहिले सञ्चालनमा आएका घरबासमा युवा पुस्ता आकर्षित देखिन्छन्। कतिपय विदेशमा रोजगारी गरेर फर्किएका र कोही शहरमा बसेर फर्किएकाहरू आफ्नै घरमा घरबास चलाइरहेका छन्। शहरियाहरू स्वस्थ रहने बहानामा गाउँ घुम्न थालेपछि विशेष गरी शहर नजिकैका ग्रामीण बस्तीमा धमाधम घरबास सुरु भएका छन्।

यसले घरमै बसेर स्थानीयले सामान्य आम्दानी गरिरहेका छन्। त्यसैले पनि युवा र महिला घरबास सञ्चालन गर्न अघि सरेका छन्। विदेशबाट फर्केका सुनसरी, विष्णुपादुकाका सरोज तामाङ घरमै श्रीमतीले सुरु गरेको घरबासमा सहयोग गर्छन्। उनी अब विदेश नजाने योजनामा छन्। भन्छन्, ‘घरमै परिवारसँग बस्न पाइने, बारीमा उत्पादन भएका चिजबिजको पनि सदुपयोग हुने, आम्दानी पनि हुने रहेछ। अब विदेशको साटो देशमै मेहनत गर्ने सोचेको छु।’

गाउँका युवा र महिला सक्रिय भएर घरबास चलाउन थालेपछि स्थानीय सरकारले पनि चासो देखाउन थालेका छन्। धरान उपमहानगरपालिकाले त धरान आसपासका नौ वटा गाउँमा घरबास सुरु गर्ने योजना नै ल्याएको छ। उपमहानगरको पर्यटन विकास समितिका संयोजक किशोर थुलुङका अनुसार घरबास सुरु गर्ने गाउँ पहिचान गरेर तालिम दिइएको छ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी घरबासले युवा र महिलालाई घरमै स्वरोजगार बनाएकाले उपमहानगरले सहयोग गर्ने गरेको बताउँछिन्। भन्छिन्, ‘खोज्न जाने हाम्रो वरिपरि रमाइलो गन्तव्य रहेछन्। त्यसबाट आम्दानी पनि हुने, गाउँ घुम्नेको स्वास्थ्य पनि राम्रो हुने भएकाले हामीले योजना बनाएरै काम गरिरहेका छौँ।’

अस्तव्यस्त बन्दै गएको शहरिया जीवन, धुलोधुवाँ र फोहोरमा रुमल्लिएको दैनिकीबीच फुर्सद निकालेर केही समयका लागि भए पनि मुक्त हुन अचेल शहरका मान्छे गाउँ चहार्न चाहन्छन्। उनीहरू गाउँमा गएर बास बस्ने, त्यहाँका फलफूल, सागसब्जी खाने र वरपरको दृश्यावलोकन गर्ने गर्छन्। इटहरीका विमल पोखरेल फुर्सद हुनेबित्तिकै घरबास खोज्दै गाउँतिर उक्लिन्छन्।

एक निजी कम्पनीमा काम गर्ने विमललाई दैनिक कामको बोझले दिक्क लाग्छ। बिदा हुनेबित्तिकै उनी कहिले नाम्जे पुग्छन् त कहिले कुन गाउँ। उनी सुनाउँछन्, ‘घरबासमा जाँदा गाउँका आफन्तकै घरमा पाहुना गएजस्तो लाग्छ। एक दिन त्यहाँ बसेर फर्किंदा फ्रेस भइन्छ।’

संस्कृति संरक्षण हुँदै

घरबास सुरु हुन थालेपछि अचेल स्थानीय बिर्सिंदै गएका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको धमाधम खोजी गरिरहेका छन्। रमाइला गन्तव्य, गुफा, पोखरीको संरक्षणमा स्थानीय जुट्न थालेका छन्। विष्णुपादुकामा हालै सुरु भएको कोकाहा होम–स्टेमा पर्यटकलाई तामाङ संस्कृतिअनुसार डम्फु बजाएर स्वागत गरिन्छ।

डम्फु टोलीका संयोजक मंगलसिंह तामाङ भन्छन्, ‘हामी पाहुनालाई हाम्रो रीतिअनुसार स्वागत सत्कार गर्छौं। यसो गर्दा युवा पुस्ताले बिर्सिंदै गएको आफ्नो संस्कार–संस्कृति पनि सिक्ने र बुझ्ने अवसर पाएका छन्।’

करिब एक दशकदेखि घरबास चलाइरहेको नाम्जे सामुदायिक होम–स्टेका अध्यक्ष अनिल रानाका अनुसार शहरिया युवा पुस्ता समूह बनाएर घरबास आइपुग्छन्। उनीहरू भुटेको मकैसँग साँधेको गुन्द्रुक, मुलाको चानाको खाजा मन पराउँछन्। खानामा कोदोको ढिँडो र लोकल कुखुराको झोल खोज्छन्। राति भएपछि स्थानीय समुदायले मगरको मौलिक नाच हुर्रा देखाउँछन्। राना भन्छन्, ‘घरबास सुरु भएपछि हाम्रा मौलिक संस्कार–संस्कृतिमा युवाले पनि चासो दिन थालेका छन्।’

स्वस्थ र सस्तो

घरबासमा घर र आफ्नो बारीकै उत्पादन प्रयोग हुने भएकाले यसमा मिसावट हुँदैन र स्वास्थ्यका दृष्टिले स्वस्थ हुन्छ। त्यस्तै, घरबासमा बस्न र खान पनि होटलभन्दा धेरै सस्तो हुन्छ। ठाउँ हेरी यस्ता घरबासमा एक रात बसेको र खाएको एक हजारदेखि १५ सयले पुग्छ।

धनकुटाको डाँडाबजारमा घरबास चलाउँदै आएका पूर्वशिक्षक कृष्ण ब्लोन भन्छन्, ‘स्वास्थ्यका लागि पनि बेला–बेला घरबासमा जानु राम्रो हुन्छ। पूर्वका धेरैजसो घरबासमा अग्र्यानिक उत्पादन प्रयोग हुने गरेका छन्। खर्चको हिसाबले पनि यो धेरै नै सस्तो पर्छ।’

पूर्वमा बढ्दो घरबासको लहरलाई व्यवस्थित गर्दै एकरूपता ल्याउन र पर्यटकलाई आकर्षित गर्न स्थानीय तहले योजना बनाएर काम गर्नुपर्ने वासुदेव बराल बताउँछन्। स्थानीय तहका वार्ड–वार्डले आ–आफ्ना ठाउँमा भएका ऐतिहासिक स्थल, रमणीय गन्तव्यको खोजी गर्ने र प्रचार–प्रसार गर्ने अनि समुदायलाई प्राविधिक सहयोग गर्ने हो भने घरबासबाट गाउँघरमै आम्दानी गर्न सकिने उनको भनाइ छ।

उनका अनुसार भारतीय पर्यटक पूर्वका घरबासमा आउने गरेका छन्। स्थानीय तहले योजनाबद्ध काम गर्नसके भारतीय पर्यटक भित्रिने उनी बताउँछन्। भन्छन्, ‘स्थानीय तहले बुझ्न थालिसकेका छन्। पूर्वमा केही वर्षभित्र घरबासले आन्तरिक तथा बाह्य पर्यटकबाट राम्रो आम्दानी गर्न सक्छ भन्ने आशा छ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि