‘आँखामा लाइट पारेर मलाई जिस्काइयो’

writer

आशक्ति फुयाल

शुक्रबार, ०३ जेठ २०७६


सन्तोष पन्त, अभिनेता

सानैदेखि फिल्म लाइनमा लागेँ। स्कुल पढ्दाताका नाटकमा भाग लिन्थेँ। एक पटक बालकलाकारका रूपमा राम्रो अभिनय गर्दा राजा महेन्द्रबाट सुनको तक्मा पाएँ। त्यतिखेर मेरो उमेर सात वर्ष थियो। जसले गर्दा फिल्म क्षेत्रमा जान थप प्रोत्साहित भएँ। 

२०४० सालमा रिलिज भएको ‘बदलिँदो आकाश’ मेरोे पहिलो फिल्म हो। त्यो फिल्मका निर्र्देशक लक्ष्मीनाथ शर्मासँग मेरो राम्रो चिनजान थियो। उहाँले मेरो अभिनय नियाल्नुभएको रहेछ। उहाँले फिल्म अफर गरेपछि म दंग परेँ। पहिलो फिल्म, त्यसमाथि चिनेका निर्देशकले विश्वास गरेर दिएको फिल्ममा काम गर्न सकिएन भने के भन्नुहोला भनेर खूब डराएको पनि थिएँ।

फिल्ममा मेरो भूमिका गाउँले मारवाडीको थियो। जुनसुकै चरित्रमा पनि सजिलै ढल्न सक्ने भएकाले मलाई यो क्यारेक्टरमा लिइएको थियो। फिल्ममा नीर शाह, शिव श्रेष्ठ र म मुख्य भूमिकामा थियौँ। तीन वर्षको उमेरदेखि क्यामरा फेस गरिरहेकाले सुटिङमा गाह्रो भएन। तर, क्यामराम्यान श्याम र किशोर ढकालले मलाई अत्याइदिनुभयो। पहिलो सट लिँदा दिनको १२ बजेको थियो। क्यामराको फ्ल्यास लाइट आँखामा बेस्कन ठोकिने गरी हानिदिनुभयो। मैले एकदमै बाक्लो र पावर भएको चस्मा लगाएको थिएँ। त्यस्तो लाइट बालेर, चस्मा खोलेर मलाई  डाइलग भन भन्नुभयो। जति कोसिस गरे पनि मैले त्यस्तो कडा लाइटमा आँखै खोल्न सकिनँ। लाइटले सीधै मेरो आँखामा हान्थ्यो। म कसरी चस्मा निकालेर डाइलग भन्न सक्थेँ। तनाव भयो। म रातो भएको देखेर क्यामराम्यान शिवले ‘नडराऊ, हामीले मजाक गरेको’ भन्नुभयो। एकदुई सट लिएपछि मात्र थाहा पाएँ, उहाँहरूले मलाई जिस्काउनुभएको रहेछ। 

त्यसपछि मलाई कुनै पनि सिन गर्न गाह्रो भएन। सबै सिन फुर्तीसाथ गर्थें। दुईतीन टेकमै सिन ओके हुन्थे। तर, कुनै–कुनै बेला लाइट नमिल्दा, प्राविधिक समस्या आदिका कारण धेरै टेक लिनुपर्ने अवस्था पनि आउँथ्यो। सेटमा सधैँ भलाद्मी भएर बस्थेँ। सबै जना ‘बोल न हो, सन्तोष’ भन्दै जिस्काउँथे। फिल्म खेल्दा २२ वर्षको थिएँ। 

फिल्मको सुटिङ चितवनमा भएको थियो। त्यो बेला अहिलेजस्तो मेकअप हुन्थेन। बाक्लो मेकअप हुन्थ्यो। चरित्रको माग र निर्देशकले भनेजस्तो मेकअप गर्नुपथ्र्यो। मारवाडीको भूमिका भएकाले धोती, कुर्ता लगाउनुपथ्र्यो। चितवनको गर्मीमा त्यो खुकुलो पहिरनले मलाई निकै राहत दिएको थियो। धोती लगाउन भने अलि गाह्रो हुन्थ्यो। 

फिल्म रिलिज भएपछि सबैले मेरो अभिनयको प्रशंसा गरे। त्यसपछि थुप्रै फिल्मका अफर आए।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट