‘करोडपति’ जैन सम्मानित

writer

सम्पूर्ण

बुधबार, ०१ जेठ २०७६


एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको फ्रेन्चाइज सो ‘को बन्छ करोडपति ?’ कार्यक्रममा पहिलो पटक एक करोड रुपैयाँ विजेता राजीव जैनलाई अन्नपूर्ण मिडिया नेटवर्कले सम्मान गरेको छ । उनलाई काठमाडौँ, तीनकुनेस्थित नेटवर्कको कार्यालयमा सम्मान गरिएको हो ।
नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रबन्ध निर्देशक लक्ष्मी पौडेल, अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक हरिबहादुर थापा लगायतले जैनलाई खादा र बुकेले सम्मान गरे ।
आफूजस्तो सामान्य मान्छेले हट सिटसम्म पुग्नु र एक करोड जित्नु ठूलो कुरा भएको जैनले बताए । ‘हट सिट किन भनिन्छ भन्ने कुरा त्यहाँ पुगेपछि मात्र थाहा पाएँ,’ उनले भने, ‘त्यहाँ बस्दा जानेकै कुराको उत्तर दिन पनि असहज हुँदो रहेछ ।’ जितेको एक करोड रुपैयाँले पहिला नेपाल अनि विश्व भ्रमण गर्ने योजना रहेको उनले बताए । 
एक करोड रुपैयाँ मात्र नजितेर जैनले बौद्धिक करोडपतिको उपाधिसमेत जितेको नेटवर्कका अध्यक्ष क्याप्टेन थापाले बताए । ‘देश–विदेशमा रहेका नेपालीले यस कार्यक्रमलाई माया गरेका छन्,’ क्याप्टेन थापाले भने, ‘त्यसैले यसलाई सबै नेपालीको हातेमालो भन्न सकिन्छ ।’ अन्नपूर्ण नेटवर्कका तर्फबाट उनले जैनलाई शुभकामना दिए ।
‘हू वान्ट्स टू बी अ मिलिनियर ?’ लाई नेपाली संस्करणमा प्रसारण गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेका नेटवर्कका प्रबन्ध निर्देशक लक्ष्मी पौडेलले जैनले एक करोड जितेपछि आफूहरू सफल भएको बताए । ‘सुरुमा नेपालमा यस्तो खाले कार्यक्रम सफल हुन्छ कि हुँदैन भन्नेमा अन्योल थियो,’ पौडेलले भने, ‘अहिले कसैले एक करोड जित्दा हामी सफल भएछौँ भन्ने लागेको छ ।’

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि