‘सुटिङमा साँच्चिकै रोएँ’

writer

मेनुका कोइराला

मङ्गलबार, ३१ बैशाख २०७६


करुणा श्रेष्ठ, अभिनेत्री

म मिडियामा काम गर्थें। म्युजिक भिडियोमा पनि काम गर्थें। रामशरण पाठक सरले मेरो म्युजिक भिडियो हेर्नुभएको रहेछ। उहाँलाई म फिल्मका लागि एकदमै मिल्ने पात्र लागेछु। अमृत ढुंगानाले ‘फिल्मको अफर आएको छ, गर्छौ ?’ भनेर सोध्नुभयो। ‘फिल्मको स्क्रिप्ट पढेर क्यारेक्टर मन पर्‍यो भने मात्र अफर स्वीकार गर्छु’ भनेँ। स्क्रिप्ट मन परेपछि फिल्मका लागि ‘हुन्छ’ भनँे। ‘१०० कडा १०’ मेरो डेब्यू फिल्म हो।

क्यामरा फेस गर्नु मेरो लागि नौलो थिएन, कुरा अभिनयको थियो। गोपाल दाहाल सरसँग एक महिना एक्टिङ क्लास लिएँ। फिल्ममा मेरो साधारण केटीको भूमिका छ। सुटिङमा धेरै कुरा सिक्ने मौका पाएँ। अमृत ढुंगाना, राजाराम पौडेल, मनोज गजुरेलजस्ता कलाकारसँग काम गर्ने मौका पाएँ। फिल्मको सुटिङ काठमाडौँ, पोखरा, पाँचथर, सिन्धुलीको बगरमा भएको थियो। 
टिम एकदमै राम्रो थियो। सबैले धेरै कुरा सिकाउनुभयो। सुटिङताका हामी एउटा परिवार भएर बस्यौँ। सुटिङमा राजाराम दाइ खूब रमाइलो गर्नुहुन्थ्यो। पाँचथरमा सुटिङ हुँदाको समय कहिल्यै बिर्सिन सक्दिनँ। त्यहाँ एकदमै गर्मी थियो। काठमाडौँभन्दा बढी गर्मी हुने रहेछ। त्यहाँ सुटिङ गर्दाताका मेरो वजन पाँच केजी घटेछ।

फिल्ममा अमृत र मेरो बिहे भएपछि अमृतको घरमा हामीलाई नभिœयाएको दृश्य छ। घरमा नभिœयाएपछि हामी होटलमा जान्छौँ। होटेलमा पुगेपछि मेरो एकदमै रुने सिन थियो। पहिलादेखि नै म रुनुपर्छ भनेर सोचिरहेकी थिएँ। घरबाट टाढा भएको पनि धेरै समय भइसकेको थियो। होटेल पुगेपछि म साँच्चिकै रोएछु। मेकअप बिग्ररिएर फेरि रिटेक गर्नुपरेको थियो। धेरै सिनमा रिटेक खाइयो।

फिल्म रिलिज भएपछि सबैबाट राम्रो प्रतिक्रिया पाएँ। साथीहरूले मभन्दा फिल्मको क्यारेक्टर निकै भिन्न भएको प्रतिक्रिया दिए। फिल्ममा डान्सभन्दा एक्टिङ गर्न गाह्रो लागेको थियो। 

आगामी दिनमा पनि फिल्ममै काम गर्ने सोच बनाएकी छु। अहिले डान्स र एक्टिङको कार्यशालामा व्यस्त छु। पहिला अभिनय एक महिना मात्र सिकेर फिल्म खेलेको थिएँ, अब राम्रोसँग सिकेर फिल्ममा काम गर्ने सोच बनाएकी छु।     

तपाईको कमेन्ट