चीन दीर्घकालका लागि सोच्छ

वेई येन
शुक्रबार, १९ असोज २०७५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २४ देखि लागू हुने गरी दुई सय अर्ब डलरबराबरको चिनियाँ सामानमा नयाँ कर लगाए। त्यसबाहेक चीनले अमेरिकाको माग पूरा गरेन भने थप २ सय ६७ अर्ब डलरको सामान, अर्थात् चीनबाट आयात हुने सम्पूर्ण सामानमा कर लगाउने चेतावनी दिए।
यसैबीच अमेरिकी ट्रेजरी सेक्रेटरी स्टिभ मन्चिनले आफ्ना चिनियाँ समकक्षीलाई व्यापारबारे अर्को चरणको वार्ताका लागि वासिंगटन निम्त्याएका छन्। तर, वार्तामा सहभागी हुने चीनको इच्छा देखिन्न। सँगसँगै प्रशंसा र बेइज्जती गर्नेसँग वार्ता कसरी गर्ने ? यो दबाबका विपरीत अमेरिकी मागसामु चीनले घुँडा टेक्ने सम्भावना कम छ। सामान्यतः चीनले प्रतिक्रियास्वरूप सौदाबाजीको शक्ति प्राप्त गर्न व्यापार युद्धलाई लम्ब्याउने प्रयास गर्नेछ।
अहिलेलाई अमेरिकाको हात माथि परेको छ। उसको अर्थतन्त्र तीव्र गतिमा वृद्धि भइरहेको छ। सेयर बजार हालसम्मकै उच्च बनेको छ, बेरोजगारी दर अहिलेसम्मकै कम छ भने पुँजी लगानी बलियो भएको छ। यद्यपि, लगानीकर्ताको मन साह्रै चञ्चल हुन्छ। त्यसैले नयाँ करले अहिलेको उत्साहलाई तत्काल बदलिदिन सक्छ।
दुई सय अर्ब डलरबराबरको चिनियाँ सामानमा लगाइएको १० प्रतिशत करले ४० प्रतिशत उपभोग्य सामानको मूल्यवृद्धि गर्नेछ र यसको सबैभन्दा नकारात्मक प्रभाव किनमेलको अवधि अर्थात् क्रिसमसको समयमा पर्नेछ। व्यवसाय पनि यसबाट प्रभावित हुनेछन्। चीनमा सञ्चालित अमेरिकी कम्पनीबारे सांघाई र बेइजिङस्थित अमेरिकन च्याम्बर्स अफ कमर्सले एक सर्वेक्षण गरेको थियो। सर्वेक्षणअनुसार यसअघि लगाइएको ५० अर्ब डलर करले चीनमा रहेका अमेरिकी कम्पनीमध्ये ६० प्रतिशतमा नकारात्मक असर परिसकेको छ। अब थपिएको करले ७४ प्रतिशतलाई असर गर्ने अनुमान छ। अहिले अमेरिकी कम्पनीहरू पनि नयाँ लगानीका लागि पर्ख र हेरको रणनीति अपनाइरहेका छन्।
ट्रम्पले आफ्ना सबै मागका अगाडि चीनलाई घुँडा टेकाउन चिनियाँ सामानमा कठोर शुल्क लगाएका हुन्। उनी बौद्धिक सम्पत्तिको संरक्षणलगायत मागमा चीनलाई आफ्नो कुरा मान्न बाध्य बनाउन चाहन्छन्। चीनलाई विश्व व्यापार संगठनमा आबद्ध गर्न २० वर्षअघि बनाइएको व्यापार नियम संशोधन गर्ने यो उपयुक्त समय पनि हुनसक्छ। त्यसबेलाका कतिपय नियम आजको चीनको अर्थतन्त्रअनुसार अमिल्दो पनि हुनसक्छन्।
तथापि, चीनलाई बाध्य पार्ने कोसिसमा ट्रम्पले जुन उपाय अवलम्बन गरेका छन्, त्यो आत्मघाती साबित हुनेछ। चीनलाई धम्क्याउने यो शैलीले एक शताब्दीअघि विदेशी शक्तिद्वारा चीन जसरी अपमानित भएको थियो, त्यसैलाई सम्झाउँछ। त्यसबेला चीन कमजोर थियो र सरकार भ्रष्ट थियो। अहिलेको अवस्था बिलकुल भिन्न छ। अब चीन कमजोर छैन र भ्रष्टाचार पनि नियन्त्रित छ।
अहिले चीन पछि हट्ने हो भने यो २१ औँ शताब्दीमा बाँकी रहेको अन्तिम पश्चिमा शक्तिबाट अपमानित हुनेछ। त्यसो हुँदा चीनको राष्ट्रिय मनोविज्ञानबाट उपनिवेशकालीन बेइज्जतीलाई बिर्सने सारा प्रयास खेर जानेछ। कन्फ्युसियाली समाजका सर्वोच्च नेता सी जिनपिङ पनि जनताको आँखामा अमेरिकाबाट अपमानित हुन चाहँदैनन्। त्यस्तो स्थिति चिनियाँ नेतृत्व र जनताका लागि पूर्ण रूपमा अस्वीकार्य हुनेछ।
वास्तवमा भन्ने हो भने व्यापार युद्धले विदेशी हस्तक्षेपको प्रतिरोध गर्ने चीनको संकल्पलाई सुदृढ गर्नसक्छ। त्यस्तै आफूलाई ‘चिनियाँ सपनाको संरक्षक’ मान्ने वर्तमान नेतृत्वको साहसलाई पनि व्यापार युद्धले बढाउन सक्छ।
चिनियाँ जनता र पश्चिमाहरू उसै गरी चल्दैनन्। चिनियाँहरू हरेक चिजमा सन्तुलन खोज्छन्। आर्किटेक्चर, खाद्य संस्कृति, बोली–व्यवहार, सम्बन्ध र राजनीतिजस्ता हरेक पक्षमा यसको उदाहरण पाउन सकिन्छ। उनीहरू लडाइँको जोखिम मोल्नुभन्दा बातचित गर्ने बाटो रोज्छन्। त्यसैले चिनियाँहरू ‘विजेताले सबैथोक हत्याउने’ होइन, ‘दुवैको जीत हुने’ समाधान रोज्छन्। विमतिलाई भन्दा पहिले साझा समस्या समाधान गर्न खोज्छन्।
अहिलेको समय पनि चीनको पक्षमा छ। चिनियाँहरू दीर्घकालका लागि सोच्छन् र इतिहासको राम्रो अध्ययन गर्छन्। उनीहरू दशकको हिसाबले होइन, शताब्दीको हिसाबले सोच्छन्। ट्रम्प भने केवल दुई वर्षका लागि सोच्छन्।
ढिलाइलाई युद्ध रणनीतिका रूपमा प्रयोग गर्न चिनियाँहरू माहिर छन्। माओले जापानी आक्रमणविरुद्ध दीर्घकालीन युद्ध लडेँझैँ वा सुन त्सुले ‘दी आर्ट अफ वार’ मा भनेझैँ क्रुर शक्तिलाई पराजित गर्न लचकता अपनाउन चिनियाँ सिपालु छन्।
दुश्मन अत्यन्त बलियो भयो भने चिनियाँहरू पछि हटेर गुरिल्ला युद्ध सुरु गर्नेछन्। अमेरिकी आपूर्ति शृंखला तोड्न चीनले अहिले यस्तै चाल चलेको छ।
ट्रम्पको संसार एकदम फरक छ। यो संसारमा जटिल समस्याको सरल समाधान खोजिन्छ। त्यसैले सबैभन्दा बलियोले मात्रै जित्न सक्छ। ट्रम्पले विगतमा यही शैलीमा आफ्नो व्यापार साम्राज्य चलाए र अहिले यही शैलीमा सरकार पनि चलाइरहेका छन्। विजेताले सबथोक हत्याउँछ, हरूवासँग आत्मसमर्पण गर्नुको विकल्प हुँदैन।
यतिखेर सहजबुद्धिलाई आधार मान्ने हो भने व्यापार युद्धमा चीन हार्ने देखिन्छ। चिनियाँ सेयरबजारमा आएको नाटकीय गिरावट र कमजोर चिनियाँ मुद्राजस्ता सूचकलाई हेर्ने हो भने पनि हार्न लागेको चीन चाँडै पछि हट्न सक्छ। तर, यस्तो सम्भावना क्षीण छ। किनभने चिनियाँहरू दीर्घकालीन सोच राख्छन्। प्रतिकूल परिस्थिति अनुकूल बनुुञ्जेल उनीहरू पर्खिन जान्दछन्। त्यसमाथि इतिहासले पनि पुष्टि गरिसकेको छ, जब संकट आइपर्छ, यो देश छिन्नभिन्न हुँदैन, झन् एकजुट हुन्छ।
बिगत दुई दशकमा चीनले सन् १९९७ को एसियाली आर्थिक संकट र २००८ को विश्वव्यापी आर्थिक संकटलाई चतुरताका साथ व्यवस्थापन गरेको थियो। दुवै पटक सुरुवाती झड्कापछि चिनियाँ अर्थतन्त्रले आफ्नो विस्तारलाई निरन्तरता दिएको थियो। त्यसै गरी, वर्तमान व्यापार युद्धले पनि अन्ततः चीनलाई नै बलियो बनाउनेछ।
अमेरिका चीनसँग दीर्घकालीन व्यापार युद्धमा प्रवेश ग¥यो भने उसले चीनलाई भन्दा आफैँलाई बढी घाटा लगाउनेछ। अमेरिकी कर्पोरेसनहरूको आय घट्नेछ, नागरिकले महँगीको सामना गर्नुपर्नेछ। त्यस्तो अवस्थामा अमेरिकी सेयरबजार गिर्नेछ। त्यसपछि दुई देशबीच शक्ति सन्तुलन कायम हुनेछ। त्यसबेला मात्रै चीनले गम्भीर रूपमा सौदाबाजी गर्नेछ। यस्तो खालको व्यवहार चिनियाँ संस्कृति र परम्परामा अन्तर्निहित छ। एक पटक फेरि चीनले यही व्यवहार प्रदर्शन गर्दै छ।
(‘साउथ चाइना मर्निङ पोस्ट’बाट। ‘फ्रम द ग्रेट वाल टु वाल स्ट्रिट’ किताबका लेखक येन पेपरडाइन युनिभर्सिटीका सहप्राध्यापक हुन्।)
अनुवादः खगेन्द्र गिरी
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७