नेपाली फिल्मकर्मीका आठ गलत तर्क

writer

दीपेन्द्र लामा

मङ्गलबार, ३१ बैशाख २०७६


नेपाली फिल्मकर्मी मिडियामा छाइरहन रुचाउँछन्। फिल्म रिलिज हुने बेला उनीहरू अझ बढी सक्रिय हुन्छन्। आफ्नो कुरा मिडियामा राख्ने स्वतन्त्रता सबैलाई छ। फिल्मकर्मीले पनि स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ। तर, उनीहरूले मिडियामा राखेका कुरा कति जायज छन् ? तिनको मूल्यांकन गर्न जरुरी छ।

फिल्मकर्मीको पहिलो कर्तव्य राम्रो फिल्म बनाउनु हो। तर, उनीहरू फिल्मलाई राम्रो बनाउनेभन्दा पनि मिडियालाई आफ्नो गफ सुनाउनेतिर लोभ देखाउँछन्। विडम्बना के छ भने, उनीहरूका फिल्म जति कमजोर हुन्छन्, तीभन्दा कमजोर हुन्छन् उनीहरूका गफ। मिडियामा छाइरहने नेपाली फिल्मकर्मीका गलत तर्कले दर्शक र पाठकलाई दिग्भ्रमित पार्ने सम्भावना धेरै छ। त्यसैले त्यस्ता आठ गलत तर्कको पहिचान यहाँ गरिएको छ। 

‘दर्शक नै सबैभन्दा ठूला समीक्षक हुन्’

फिल्म चल्नु नराम्रो होइन। नेपालमा १० प्रतिशत फिल्मले पनि लगानी नउठाइरहेको अवस्थामा कुनै फिल्म चल्छ भने त्यो सकारात्मक हो। आफ्नो मात्र होइन, अरूको फिल्मले पैसा कमाउँदासमेत फिल्मकर्मी खुशी हुनुपर्छ।

आफ्नो स्वादअनुसारको एउटा स्तरीय फिल्म बनेको रहेछ भने दर्शकले हेरिदिन्छन्, अथवा मन पराइदिन्छन्। तर, दर्शक आए भन्दैमा कुनै पनि फिल्म उत्कृष्ट हुँदैन। त्यसमा पनि कमी–कमजोरी हुन्छन्। यो कुरालाई मनन गर्नुपर्छ।

हाम्रा अधिकांश फिल्मकर्मी चाहिँ भन्ने गर्छन्, ‘दर्शक नै सबैभन्दा ठूला समीक्षक हुन्।’ यो तर्क सरासर गलत हो। दर्शक पनि समीक्षक हुन्। तर, सबै दर्शकले फिल्मको प्राविधिक, दार्शनिक र कलात्मक पाटो केलाउन सक्दैनन्। त्यसका लागि परिपक्व समीक्षक वा विशेषज्ञ नै चाहिन्छ।

‘यो विशुद्ध मनोरञ्जन दिने उद्देश्यले बनाइएको फिल्म हो’

आफ्नो फिल्मलाई चिनाउने क्रममा धेरैजसो फिल्मकर्मी भन्ने गर्छन्, ‘यो विशुद्ध मनोरञ्जन दिने उद्देश्यले बनाइएको फिल्म हो।’ फिल्मको उद्देश्य मनोरञ्जन दिनु नै हो। त्यसैले यो भनाइ झट्ट सुन्दा सत्य नै लाग्छ।

तर, नेपाली फिल्मकर्मीको यो भनाइमा गलत बुझाइ लुकेको छ। मनोरञ्जनका विविध आयाम छन्। धेरैजसो फिल्मकर्मीले आइटम डान्स, फाइट, कमेडी र रोमान्सलाई मात्र मनोरञ्जनका रूपमा बुझेका छन्। उल्लिखित चार वटै तत्त्व नभए पनि फिल्मलाई मनोरञ्जक बनाउन सकिन्छ। 

दर्शकको मस्तिष्कसँग अन्तरक्रिया गर्ने जुनसुकै खुराक मनोरञ्जनका माध्यम हुन्। यो कुरालाई कमैले बुझेका छन्। त्यही भएर त कथाले नमागे पनि आइटम डान्स, फाइट, कमेडीलाई जबर्जस्ती समावेश गरिन्छ।

‘समीक्षकका लागि फिल्म बनाइएको होइन’

फिल्म रिलिज भएपछि समीक्षक र पत्रकारले समीक्षा लेख्नु स्वाभाविक हो। फिल्म मात्र होइन, पुस्तक, गीत, नाटक, रेस्टुरेन्ट, खेल आदि सबै विधाको समीक्षा गर्ने चलन छ। त्यसैले फिल्म मात्र एक्लो विधा होइन, जसको समीक्षा गरिन्छ।

नेपाली फिल्मकर्मी चाहिँ आफ्नो बारेमा एउटै पनि नराम्रो कुरा सुन्न चाहँदैनन्। समीक्षकले गल्ती औँल्याइदिँदा उनीहरू रिस पोखिहाल्छन्। र, जवाफ दिन्छन्, ‘यो फिल्म समीक्षकका लागि बनाइएको होइन, दर्शकका लागि बनाइएको हो।’

यो गलत तर्क हो। समीक्षक पनि दर्शक नै हो। विश्लेषक र विशेषज्ञ पनि दर्शक नै हुन्। फिल्म हेर्न आउने भीड मात्र होइन, फिल्ममाथि आएका समीक्षालाई पनि स्वागत गर्नुपर्छ। कि त, फिल्म रिलिज गर्नु नै भएन।

‘डकुमेन्ट्री टाइपको फिल्म होइन’

नेपाली फिल्मकर्मीले गलत रूपमा प्रयोग गर्ने शब्द ‘डकुमेन्ट्री टाइपको फिल्म’ पनि हो। कसैले ‘तपाईंको फिल्म तर्कसंगत छैन, यथार्थपरक छैन’ भनेर टिप्पणी गर्‍यो भने फिल्मकर्मीसँग रेडिमेड जवाफ हुन्छ, ‘यो डकुमेन्ट्री टाइपको फिल्म होइन।’

गीत, नृत्य र मारधाड नभएको फिल्मलाई पनि ‘डकुमेन्ट्री टाइपको’ भनेर बुझ्छन् उनीहरू। यी बुझाइ गलत हुन्। वास्तवमा जस्तोसुकै फिल्म भए पनि त्यो तर्कसंगत हुनैपर्छ, यथार्थपरक हुनैपर्छ। डकुमेन्ट्री मात्रै यथार्थपरक हुनुपर्छ भन्ने होइन।

त्यस्तै गीत, नृत्य र मारधाड भएका डकुमेन्ट्री पनि हुन्छन्। र, फिक्सन फिल्मभन्दा मनोरञ्जक पनि हुन्छन् डकुमेन्ट्री। जसले डकुमेन्ट्रीलाई पट्यारलाग्दो हुन्छ भन्ने ठान्छन्, उनीहरूले संसारका अवार्ड विजेता डकुमेन्ट्रीहरू हेर्न आवश्यक छ। नेपाल टेलिभिजनमा प्रसारण हुने ‘वृत्तचित्र’का आधारमा डकुमेन्ट्री विधालाई मूल्यांकन गर्न मिल्दैन।

‘कुनै कम्प्रोमाइज गरेका छैनौँ’
 

‘फिल्म राम्रो बनाउन कुनै कम्प्रोमाइज गरेका छैनौँ’ भन्दै फुर्ती लगाउने फिल्मकर्मीको कुनै कमी छैन। यस्तो दाबीमाथि विश्वास गर्दै दर्शकले पनि फिल्मप्रति धेरै अपेक्षा राख्छन्। तर, जब हलमा पुग्छन्, निराश भएर फर्किन्छन्। 

फिल्म हेर्दा हरेक दृश्यमा कम्प्रोमाइज गरिएको पाइन्छ। मुख्य कलाकारलाई लाखौँ तिरेर खेलाउँछन्। सहायक कलाकारमा चाहिँ कम्प्रोमाइज गरिन्छ। अभिनय गर्न नसक्नेलाई उभ्याइएको हुन्छ।

सबैभन्दा ठूलो कम्प्रोमाइज त फिल्मको स्क्रिप्टमा हुन्छ। स्क्रिप्ट हतारमा लेखिन्छ। सस्तोमा लेख्ने लेखकलाई लिइन्छ। उस्तै परे विदेशी फिल्मको नक्कल गरिन्छ। तैपनि निर्माता–निर्देशक भनिरहेका हुन्छन्, ‘हामीले कुनै कम्प्रोमाइज गरेका छैनौँ।’

‘सन्देशमूलक फिल्म बनाएका छौँ’

कतिपय निर्माता–निर्देशकलाई के भ्रम छ भने शिक्षामूलक फिल्म छुट्टै हुन्छ। उनीहरूले सन्देशमूलक भन्न खोजेका फिल्म वास्तवमा शिक्षामूलक हुन्। आफ्नो फिल्मले शिक्षा अर्थात् सन्देश प्रदान गर्छ भनेर उनीहरू दाबी गर्छन्। त्यसैले आफ्नो फिल्म अरूको भन्दा विशेष हो भन्ने उनीहरूको तर्क हुने गर्छ।

यो पनि गलत हो। शिक्षामूलक भनेर बनाइएको मात्र होइन, अरू सबै खाले फिल्ममा शिक्षा हुन्छ। हरेक फिल्म हेरेर दर्शकले सकारात्मक ज्ञान अर्थात् शिक्षा लिन सक्छन्। फिल्मले दर्शकलाई जीवन बुझ्न सहयोग गर्छ। र, यो नै सबैभन्दा ठूलो शिक्षा हो। त्यसैले कसैले पनि आफ्नो फिल्म मात्र शिक्षामूलक हो भनेर दाबी गर्न मिल्दैन। 

‘अरूसँग जुध्नु परेकोले फिल्म चलेन’

फिल्म नचल्नुका धेरै कारण हुन्छन्। प्रमोसनको अभाव, राम्रो डेटको अभाव र फिल्म आपैmँमा कमजोर भएर पनि नचल्न सक्छ। सबैभन्दा ठूलो कारण चाहिँ फिल्म कमजोर भएर नै हो, नचल्ने।

पछिल्लो समय धेरै निर्माताले आफ्नो फिल्म अरूसँग जुध्नु परेकाले नचलेको भन्दै खण्डन गर्दै आएका छन्। एकसाथ तीन वटासम्म नेपाली फिल्म रिलिज हुने गर्छ। त्यसैले उनीहरूलाई बहाना पनि राम्रै मिलिरहेको छ। यसरी आफ्नो फिल्मका कमी–कमजोरी केलाउनुको सट्टा अरूलाई दोष दिनु गलत हो।

दर्शकले हेर्न चाह्यो भने एकसाथ जति वटा फिल्म रिलिज हुँदा पनि फरक पर्दैन। ठूला–ठूला फिल्म जुधे पनि दुवै चलेका उदाहरण प्रशस्त छन्। फिल्म जुध्दा आंशिक असर त पर्छ। तर, दर्शकले फिल्म नै नहेर्ने भन्ने चाहिँ हुँदैन। 

‘फ्लप फिल्मलाई अवार्ड दिइनु हुँदैन’

जब अवार्डको सिजन सुरु हुन्छ, फिल्मकर्मीका अनौठा अभिव्यक्ति सार्वजनिक हुन थाल्छन्। फिल्म रिलिज हुने बेला ‘दर्शक हलमा आउनु नै सबैभन्दा ठूलो अवार्ड हो’ भन्दै उनीहरू पब्लिसिटीमा उत्रिन्छन्। मानौँ, उनीहरूलाई अवार्डको कुनै पर्वाह छैन।

तर, पछि आयोजना हुने अवार्ड कार्यक्रममा आफ्नो फिल्मलाई जिताउन अनेक दौडधूप गर्छन्। कमजोर तर्क दिन्छन्। एउटा कमजोर तर्क हो, ‘हिट फिल्मलाई नै अवार्ड दिइनुपर्छ, फ्लप फिल्मलाई दिइनु हुँदैन।’

फिल्म चल्नु र राम्रो हुनु फरक कुरा हुन्। हो, कहिलेकाहीँ राम्रा फिल्मले पनि पैसा कमाउँछन्। तर, पैसा कमाउने सबै फिल्म राम्रा नै हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन। त्यही भएर त संसारका सबै अवार्डमा फिल्मको मूल्यांकन त्यसको बक्सअफिस कलेक्सनका आधारमा गरिँदैन। फिल्म कति कलात्मक छ भन्ने कुरा विशेषज्ञहरूले लेखाजोखा गर्छन् र बक्सअफिसमा फ्लप फिल्मले पनि कहिलेकाहीँ उत्कृष्टताको अवार्ड पाउन सक्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार