स्वाद न ब्यादको  ‘दाल भात तरकारी’

writer

राजेन्द्र रिमाल

मङ्गलबार, ३१ बैशाख २०७६


धेरैले ‘दाल भात तरकारी’ मा नाटकीयता बढी भयो भन्ने टिप्पणी गरेको पाइन्छ। तर, यहाँ नाटकीयता भन्नु नाटककै अपमान हुन्छ। सिंगो नाट्य क्षेत्रलाई नै गाली हुन्छ। यो फिल्म प्रहसनभन्दा गएगुज्रेको छ। 


नेपाली प्रहसन र हास्यव्यंग्यको दुनियाँमा सफल नाम हो, ‘मह’। यो नाम टेलिभिजनसम्म असलै थियो, मीठो थियो। तर, जब फिल्ममा यसले पदार्पण ग¥यो, ‘मह’ तीतो हुने क्रम सुरु भयो। त्यो तीतोलाई अघिल्ला प्रहसन र टेलिभिजनको मीठोका कारण दर्शकले पचाउँदै आएका थिए। त्यसैको फलस्वरूप आज स्वाद न ब्यादको ‘दाल भात तरकारी’ खान बाध्य पारिँदैछ, दर्शकलाई। यो साता रिलिज भएको मह सञ्चारको नयाँ फिल्म ‘दाल भात तरकारी’ वास्तवमै खल्लो न खल्लो छ। 

बारम्बार भनिँदै आएको कुरा हो, नेपाली फिल्मको समस्या कथामा छ, कथावाचनमा छ, कथ्य शैलीमा छ। यही समूहको अघिल्ला फिल्ममा पनि यस्तै आलोचना हुँदै आएको हो। तर, ‘आफ्नो बानी को छोड्छ, अर्काको बानी को लिन्छ’ भनेजस्तो गरी फेरि उही ढर्रामा फिल्म बनाउनु भनेको दर्शकको अपमान गर्नु हो। आलोचनालाई शिक्षाका रूपमा लिने सामथ्र्य हरेकसँग हुँदैन भन्ने तथ्यलाई ‘दाल भात तरकारी’ ले पुष्टि गरेको छ। 

‘दाल, भात तरकारी’ काठमाडौँको कुनै एउटा घरबाट सुरु हुन्छ र लगभग ७० प्रतिशत फिल्म त्यही सेटमा सकिन्छ। फिल्ममा कथा नै छैन। मूल खाँबो नै नभएपछि घर कस्तो हुन्छ ? अनुमान गर्न सकिन्छ। फिल्म ‘दाल भात तरकारी’ ले जे प्रस्तुत गर्न खोजेको छ, त्यो हेर्दा नेपाली फिल्ममेकरले यतिबिघ्न खेलाँची कसरी गर्न सकेका होलान् भनेर जिब्रो टोक्नुपर्ने अवस्था छ। 

फिल्मको कथा अमेरिका जाने हुटहुटी भएको दम्पतीमा केन्द्रित छ। तर, त्यसमा कुनै कथा छैन। फिल्मलाई अघि बढाउन जे–जे हर्कत गरिएका छन्, तिनमा कुनै तर्कले काम गर्दैन। फिल्मलाई हास्य भनिएको छ। तर, हास्य जे पायो त्यही गर्ने विधा हो र ? त्यहाँ कुनै तर्क चाहिन्न र ? वास्तवमा तर्कले नै कथा र कथावाचनलाई विश्वसनीय बनाउने हो। 

धेरैले ‘दाल भात तरकारी’ मा नाटकीयता बढी भयो भन्ने टिप्पणी गरेको पाइन्छ। तर, यहाँ नाटकीयता भन्नु नाटककै अपमान हुन्छ। सिंगो नाट्य क्षेत्रलाई नै गाली हुन्छ। यो फिल्म प्रहसनभन्दा गएगुज्रेको छ। 

फिल्ममा कलाकारको भीड छ, तर चरित्र छैन। कलाकारलाई जसरी चारित्रीकरण गर्न खोजिएको छ, त्यो बकवास लाग्छ। हरिवंश आचार्य फिल्मभरि जबर्जस्ती हसाँउन खोजिरहन्छन् तर उनको जीउ बंग्याएर, अनुहार खुम्च्याएर, ओठ लेपारेर हसाँउने प्रयत्न निष्फल भएको छ। केही समययताका उनका टेलिसिरियल र फिल्ममा उही चरित्र बारम्बार दोहोरिएका छन्। यो दर्शकको शोषणको पराकाष्ठा हो। विगतको लोकप्रियताकै कारण आज जे पायो त्यही गर्ने छुट उनलाई नहुनुपर्ने हो। 

‘दाल भात तरकारी’मार्फत कमब्याक गरेकी निरुता सिंह फिल्मभरि चिच्याइरहेकी छन्। कर्कश लाग्ने गरी उनी किन त्यसरी चिच्याएकी हुन् ? फिल्मभरि थाहा हुँदैन। 

एउटा प्रहसनको सेटमा एकपछि अर्को ‘कमिक’ कलाकार आएजस्तै गरी ‘दाल भात तरकारी’ को सेटमा कलाकारहरू आइपुग्छन्। उनीहरूलाई आउनलाई न कुनै कारण चाहिएको छ, न त्यहाँ बस्नलाई कुनै तर्कको आवश्यकता परेको छ। अनि, न जानका लागि कुनै परिस्थिति चाहिएको छ। उनीहरू हठात् आउँछन्, जान्छन्। चरित्रहरूको सम्बन्ध कलाकारको मुखबाटै बोलाइएको छ, तर उनीहरूको सम्बन्ध स्थापित नै भएको छैन। 

फिल्मको सुरुको एकतिहाई समय एउटै सेटमा सकिएको छ, जुन हेर्नु दर्शकका लागि अत्यन्तै कष्टकर छ। फिल्ममा पुष्प खड्का र आँचल शर्माको कुनै स्थान  छैन। नयाँ संघर्षरत कलाकारका लागि यस्तो फिल्मले करिअर नै धराशायी बनाउने सम्भावना रहन्छ। पुष्पका लागि यो जोखिमको विषय हो। त्यस्तै, आँचल  सम्भावना भएकी कलाकार त हुन्, तर यस्तै जे पायो त्यही फिल्म र जे पायो त्यही चरित्रमा काम गरिरहने हो भने उनलाई पनि ‘राम राम’ मात्र भन्न सकिन्छ। उनीहरूमा स्थापित ब्यानर ‘मह सञ्चार’ सँग काम गर्ने लालसा मात्र देखियो। 

वसुन्धरा भुसाल, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, रविन तामाङ, शिशिर वाङ्देल, वर्षा राउत, विल्सनविक्रम राई आदि कलाकारहरूको भीड त छ, तर उचित चारित्रीकरण नहुँदा उनीहरू फिल्ममा स्थापित नै हुँदैनन्। फिल्मका धेरै कलाकारको नाम निर्माताको सूचीमा पनि पढ्न पाइन्छ। त्यसैले निर्माताका लागि जबर्जस्ती निकालिएको भूमिकाका कारण पनि फिल्म कमजोर भएको छर्लंग हुन्छ। यी नामलाई विगतको उनीहरूको लोकप्रियतालाई ‘क्यास’ गर्न मात्र अनुबन्ध गरिएको बुभ्mन गाह्रो छैन। फिल्ममा प्रियंका कार्की पनि भएको कुरा फिल्म हेरिसक्दा बिर्सिसकिन्छ। पछिल्लो समय उनको करिअर आइटम डान्सरमै सीमित हुँदै गएको हो कि भन्ने भान पर्न थालेको छ। उनी बेलैमा सचेत भएको राम्रो हो। 

फिल्मका लेखक हरिवंश आचार्य हुन्। उनको लेखन स्तरहीन छ। त्यस्तै फिल्मको प्रस्तुति किरण केसीले गरेका छन्। उनले के प्रस्तुत गर्न खोजेका हुन् भन्नेमा उनी आफैँ प्रष्ट छैनन्। 

अघिल्लो फिल्म ‘शत्रु गते’ बाट ‘दाल भात तरकारी’ सम्म आइपुग्दा उही गल्ती बारम्बार दोहोरिएका छन्। निर्देशकका रूपमा सुदन केसीबाट खासै अपेक्षा गर्न सकिँदैन। 

केही समयअघि लेखक र निर्माता हरिवंश आचार्यले व्यावसायिक दबाबका कारण यसो गर्न परेको बताइरहेका थिए। तर, नेपाली निर्माता र निर्देशकहरूले के हेक्का राख्न जरुरी छ भने दुनियाँका अरू फिल्ममेकरलाई पनि व्यावसायिक दबाब हुन्छ। तर त्यसो भनेर उनीहरू व्यावसायिक धर्मबाट च्युत नै चाहिँ हुँदैनन्। 


 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि