केरा खाएर विरोध प्रदर्शन

writer

सम्पूर्ण

शुक्रबार, २७ बैशाख २०७६


पोल्यान्डको राजधानी वार्सास्थित राष्ट्रिय संग्रहालयअगाडि गत सोमबार केही मानिस केरा खाइरहेका थिए। सयौँको भीडले यत्तिकै केरा खाएको थिएन, केरा खाएर विरोध प्रदर्शन गरिरहेको थियो। संग्रहालयले एउटा भिडियो कलाकृतिलाई हटाएपछि सेन्सरसिपको विरोधमा उनीहरूले केरा खाएका थिए। 

केरा नै किन खाए त ? किनभने, सन् १९७३ मा प्रसिद्ध कलाकार नटालिया एलएलले बनाएको कलात्मक भिडियो ‘कन्ज्युमर आर्ट’लाई संग्रहालयले आफ्नो संग्रहबाट हालसालै हटाएको थियो। उक्त भिडियोमा एक जना युवती केरा खाइरहेकी थिइन्। 

संग्रहालयका नवनियुक्त प्रबन्धक जेर्जी मिजिओलेकले भिडियो अनुचित र भद्दा भएको बताउँदै यसलाई संग्रहालयबाट हटाएका थिए। यसको विरोधमा फेसबुक तथा ट्वीटरमा पोलिस कलापारखीले केरा खाएको तस्बिर राखेर विरोध प्रदर्शन गरिरहेका थिए। सोमबार संग्रहालयअगाडि सयौँले केरा खाएर यही विरोधलाई निरन्तरता दिएका थिए। 

मिजिओलेकले गत हप्ता एक अनलाइन पोर्टलसँग भनेका थिए, ‘नटालियाको कलात्मक भिडियोले युवा पुस्तामा नराम्रो प्रभाव छोड्न सक्छ। त्यसैले संग्रहालयबाट यसलाई हटाइएको हो।’

अभिनेत्री म्यागालेना सिएलेकाले फेसबुकमा केरासहित आफ्नो तस्बिर पोस्ट गरेकी थिइन्। उनले ‘दी एसोसिएटेड प्रेस’सँग भनिन्, ‘हामी कलाकारमाथि थोपरिएको कुनै पनि विचारधारात्मक तथा राजनीतिक सीमाको विरोध गर्छौँ। कलाकार सिर्जना गर्नका लागि स्वतन्त्र हुनुपर्छ।’ 

सन् १९७० को दशकमा कम्युनिस्ट शासनअन्तर्गतको पोल्यान्डमा खाद्य संकट थियो। ‘कन्ज्युमर आर्ट’ नामक कलात्मक भिडियोले त्यही खाद्य संकटमाथि आलोचनात्मक टिप्पणी गरेको थियो।  

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि