डकर्मी दिदी

writer

रचना श्रेष्ठ

बिहिबार, २६ बैशाख २०७६


तस्बिरः मनोज नेपाल

काभ्रे, पाँचखाल, पीपलटारकी २५ वर्षीया शारदा दनुवार डकर्मी हुन्। उनले घर बनाउन थालेको दुई वर्षभन्दा बढी भइसक्यो। यसअघि उनले खेतीपाती गर्थिन्। ‘एसएलसीसम्म जसोतसो गरी पढेँ,’ उनले भनिन्, ‘घरको आर्थिक अवस्था कमजोर भएकाले पढ्न पाइनँ।’ 

दुई वर्षअघि एउटा संस्थाबाट उनले डकर्मीको तालिम लिएकी हुन्। छ महिनासम्म तालिम लिइन्। तालिम लिए पनि काम गर्न चाहिँ उनलाई निकै गाह्रो भयो। ‘घर बनाउने ठाउँमा जाँदा गाउँका दिदीबहिनीले ‘तैँले के नै गर्न सक्छेस् र !’ भन्थे,’ शारदा भन्छिन्, ‘पुरुषहरूले सिकाउँदै नसिकाउने, हेप्ने गर्थे। पुरुषसरह काम गर्नुपर्ने भनेर घरपरिवारले पनि काम गर्नुपर्दैन भन्थे।’ 
तालिमपछि गाउँबाट उनी मात्र एक जना महिला थिइन्, जो पुरस्कृत भइन्। ‘त्यसपछि मेरो हौसल अझ बढ्यो,’ उनी भन्छिन्। 
उनले केही महिना ज्यामी काम गरेर डकर्मीको काम गर्न थालिन्। सुरु–सुरुमा काम गर्न अलि गाह्रो भएको उनी बताउँछिन्। ‘सुरु–सुरुमा काम गर्दा सिमेन्टले हात खान्थ्यो,’ उनी भन्छिन्, ‘पाँच वटै औँला प्वाल परेर तरर्र रगत बग्थ्यो।’ 
दुई वर्षमा उनले दर्जनौँ घर बनाइसकिन्। अहिले दिनको १५ सय रुपैयाँ ज्याला पाउने उनी बताउँछिन्। उनलाई धेरैले डकर्मी दिदी भन्छन्।  

गोर्खा, खोप्लाङकी ४४ वर्षीया मनु तामाङ पनि डकर्मी हुन्। १० वर्षसम्म ज्यामी काम गरेकी उनी दुई वर्षयता डकर्मी काम गर्छिन्। दुुई वर्षमा दर्जनजति घर बनाएको उनी बताउँछिन्।

‘मेरा श्रीमान् पनि डकर्मी हुन्,’ उनी भन्छिन्, ‘बिहेपछि काममा श्रीमान्लाई साथ दिन थालेँ। काम गर्दागर्दै सिकियो।’ काम गर्न सजिलो नरहेको उनी बताउँछिन्। ‘महिलाले गाह्रो काम गर्न सक्दैनन् भनेर हेप्ने, पेल्ने धेरै छन्,’ उनी गुनासो पोख्छिन्, ‘पहिला काम गर्ने ठाउँमा धेरैजसो पुरुष हुन्थे। आफूले नजानेको काम सोध्दा सिकाउनै मान्दैनथे।’

मनुले जग हाल्नेदेखि घरमा रङ लगाउने काम गर्छिन्। ‘सुरुमा ज्यामी काम गर्दा डेढ सय रुपैयाँ पाउँथेँ,’ उनी भन्छिन्, ‘अहिले ठेक्कामा काम गर्छु। दिनको १५ सयजति कमाइन्छ।’ श्रीमान्–श्रीमती दुवैले मिलीजुली घरव्यवहार धानेको उनी बताउँछिन्।

काठमाडौँ, बालाजु बस्ने ४४ वर्षीया मञ्जु निरौलालाई पनि डकर्मी बन्न सहज भएन। श्रीमान्ले दोस्रो विवाह गरेपछि उनी एक्ली भइन्। ‘एक्लो भए पनि बाँच्नका लागि केही न केही सीप त चाहिन्छ भनेर घर बनाउने काममा लागेँ,’ उनी भन्छिन्, ‘१० वर्षजति ज्यामी काम गरेँ। डकर्मी काम गर्न थालेको एक वर्ष मात्रै भयो।’ 

सुरुमा ज्यामी काममा दिनको जम्मा ९० रुपैयाँ ज्याला पाउने उनी बताउँछिन्। ‘सुरुमा ९० रुपैयाँ मात्र पाउँथेँ,’ उनी भन्छिन्, ‘अहिले त दिनको हजारदेखि ११ सयसम्म कमाउँछु।’ ज्यामी काम गर्दा आफूलाई डकर्मी काममा खूब चासो लाग्ने उनी बताउँछिन्। ‘डकर्मीले के–के गर्छन् भनी चियाइ–चियाइ हेर्थें,’ मन्जु भन्छिन्, ‘पछि लुकी–लुकी आफैँले पनि वाल लगाउने, प्लास्टर गर्ने गर्थें।’ 

डकर्मी काममा गर्छु भनेर अघि सर्दा ‘महिलाले यस्तो काम गर्न सक्दैन’ भनेर पुरुषहरूले पछाडि धकेल्ने गरेको उनी बताउँछिन्। ‘म पनि मिस्त्री काम गर्छु भन्थेँ,’ उनी सुनाउँछिन्, ‘तिमीलाई आउँदैन’ भनेर मलाई काम छुनै दिन्थेनन्।’ 

ज्यामी काममा बल र डकर्मी काममा दिमाग बढी लगाउनुपर्ने मन्जुको अनुभव छ। ‘एक पटक साहूलाई झुक्याएर अघि सरेर काम गरेर देखाएपछि सबै जना छक्क परे,’ उनी भन्छिन्। त्यसपछि उनले डकर्मी काम गर्न थालिन्। अहिले उनी आफैँले ठेक्का लिई काम गर्छिन्। तर, मिस्त्रीको काम गरे पनि ज्याला भने ज्यामीकै पाउने गरेको उनी गुनासो गर्छिन्।

काठमाडौँ, नैकाप बस्ने ३४ वर्षीया ज्ञानु दवाडी पाँच वर्षयता डकर्मी काममा सक्रिय छिन्। उनी भन्छिन्, ‘महिलाले पुरुष सरहको काम गर्‍यो भने होच्याउने, जिस्काउने गर्दा रहेछन्।’

‘मैले ईख लिएर डकर्मी काम सिकेँ,’ उनी थप्छिन्, ‘गर्न सके जे पनि सकिँदो रहेछ। वाल लगाउने, झ्याल, ढोका राख्ने सबै काम गर्न सक्छु।’ ज्ञानु पनि ठेक्कामा काम गर्छिन्। ठेक्कापट्टाको काममा आम्दानीको ठेगान नहुने उनी बताउँछिन्।

अहिलेसम्म आफूले तीन÷चार तले घर बनाइसकेको उनी सुनाउँछिन्। अविवाहित ज्ञानु आफ्नी ६३ वर्षीया आमासँग बस्छिन्। आमाकै लागि बिहे नगरेको उनी बताउँछिन्। ‘मेरो बाँच्ने आधार नै मेरी आमा हो,’ उनी भन्छिन्, ‘आमालाई एक्लो छोडी कहाँ जान सक्छु र?’ 

तपाईको कमेन्ट