किन बदनाम हुँदैछ बर्दी?

writer

गोपाल दाहाल

शुक्रबार, १९ असोज २०७५


 

‘नेपाल राज्यमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधानप्रति पूर्णतया निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता, ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय, पक्षपात, लोभ, माया वा द्वेषभाव नराखी पालन गर्नेछु...’ 

 

नेपाल प्रहरीमा भर्ना हुने हरेकले देश र जनताको नाममा यस्तो शपथ लिएका हुन्छन्। अपराध रोकथाम गर्नु, अपराधीलाई कारबाहीको दायरामा ल्याउनु र आम नागरिकका लागि शान्तिपूर्ण र सुरक्षित वातावरण बनाउनु प्रहरीको काम हो। त्यसैका लागि उनीहरूले जागिर पाएका हुन्। तर, केही वर्षदेखिका घटनाक्रम नियाल्ने हो भने देश र जनताका नाममा सुरक्षा दिने कसम खाएका प्रहरी नै घुस, असुली, तस्करी, अपहरण, बलात्कारदेखि हत्यासम्मका जघन्य अपराधमा संलग्न भएका घटनाको संख्या बढिरहेको छ। 

 

घुस्याहा प्रहरी
२०७५ भदौ ३० गते काठमाडौँको कोटेश्वर, काँडाघारी र ठिमी क्षेत्रका प्रहरी अधिकारी असईद्वय सुवास ढुंगाना र गोपाल श्रेष्ठ, हवलदारहरू उमेश यादव, दीपक भारती र अमन चौधरी, जवानहरू दीपेन्द्र कुँवर, मुकेश पटेल, रत्न रिजाल र मानसिंह रोका मनोहरा खोलाबाट ढुंगा, गिटी र बालुवा निकाल्ने ठेकेदारबाट लिएको घुससहित पक्राउ परे। प्रहरीले नै ठेकेदारहरूबाट पैसा असुल्ने गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ‘स्टिङ अपरेसन’ गरेर उनीहरूलाई पक्राउ गरेको थियो। अख्तियारको अनुसन्धानमा उनीहरूले पाँच हजारदेखि ४५ हजार रुपैयाँसम्म घुस लिएको भेटियो।

 

पक्राउ परेकाको बयानका आधारमा असोज ११ गते काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत सई गोविन्द खरेल पनि पक्राउ परे। उनीहरूमाथि कारबाही अघि बढाइएको छ।
यो त हालैको ताजा घटना भयो। नेपाल प्रहरीका यस्ता घुसकाण्ड खोतल्ने हो भने देशैभरि जस्तो भेटिन्छ। अख्तियार र नेपाल प्रहरीले पक्राउ गरेका प्रहरी कर्मचारीको विवरण बढ्दो छ।

घुससहित पक्राउ परेका धनुषाको लक्ष्मीनिया अस्थायी प्रहरी चौकीका जवान मनोज परसैला।

२०७५ भाद्र २४ गते अख्तियार टोलीले बर्दियाको मैनापोखरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महतालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गर्‍यो। त्यसै गरी, महोत्तरीस्थित इलाका प्रहरी कार्यालय रामगोपालपुरका सई रामबाबुप्रसाद यादव भारततिरबाट नेपाल भित्रिने समान र लागुऔषध पक्राउ गर्नुको साटो घुस लिएर छाडिदिन्थे। उनको घुस धन्दाबारे उजुरी परेपछि २०७५ भदौ २७ मा अख्तियारको बर्दिवासस्थित क्षेत्रीय कार्यालयले पाँच हजार घुस रकमसहित उनलाई पक्राउ गर्‍यो।

 

गएको वर्ष माघमा अख्तियारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रेशम खड्कालाई तीन लाख रुपैयाँ घुस रकमसहित बालाजुबाट पक्राउ ग¥यो। बुटवलमा कार्यरत रहँदा खड्काले एक जना सेवाग्राहीको लेनदेनको केसमा १ करोड ३० लाखको कागज गराइदिएका थिए। तर, त्यो कागज उनले सेवाग्राहीलाई दिएनन्, आफैँसँग राखे। सेवाग्राहीलाई कागज दिनका लागि उनले तीन लाख घुस मागेका थिए। पीडितले अख्तियारमा उजुरी गरेपछि उनी पक्राउ परे। २०७४ सालको माघमै धनुषाको लक्ष्मीनिया अस्थायी प्रहरी चौकीका जवान मनोज परसैला १० हजार घुससहित पक्राउ परे। सेवाग्राहीलाई मदिराको लाइलेन्स बनाइदिन्छु भनेर पैसा लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो। त्यसै गरी, २०७४  माघ १८ मा भक्तपुरको दधिकोट प्रहरी चौकीका जवान उमेशकुमार थापा सेवाग्राहीबाट लिएको १८ हजार रुपैयाँ घुससहित पक्राउ परे।

 

मोटरसाइकल दुर्घटनाको उजुरी मिलाइदिने भनेर पैसा लिँदालिँदै उनलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। 
२०७४ मंसिर ५ गते  बसपार्क क्षेत्रका होटलहरूमा धम्क्याएर पैसा लिँदालिँदै महानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख इन्स्पेक्टर हरिहर सुनुवार रंगेहात पक्राउ परे। उनलाई अख्तियारको टोलीले ५० हजार लिँदै गर्दा पक्राउ गरेको थियो। कैयौँ घुसकाण्ड सार्वजनिक हुँदैनन्। केही वर्षयता सार्वजनिक भएका केही मात्र घटना नियाल्दा पनि नेपाल प्रहरीभित्र घुसकाण्ड भुसको आगो झैँ फैलिरहेको भेटिन्छ। अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगाल भन्छन् ‘पैसाको लोभमा पर्दा प्रहरीहरू घुसकाण्डमा फस्ने गरेका छन्।’ 

 

प्रहरी नै अपहरणकारी 

एक महिनाअघि नेपालगञ्जमा एक जना युवतीलाई प्रयोग गरेर व्यापारीको अपहरण गरी फिरौती लिएको आरोपमा दुई प्रहरी पक्राउ परे। २०७५ भदौ ५ गते व्यापारी सोनु अन्सारीलाई प्रहरी जवान ओमप्रसाद आचार्य र जगदीश बोहोराले श्रोती हमालको सहयोगमा होटलमा बन्दी अवस्थामा राखे। उनीहरूले सोनु र श्रोतीको फोटो खिचे र फेसबुकमा हालेर बदनाम गरिदिने धम्की दिँदै बार्गेनिङ सुरु गरे। ती दुई प्रहरी जवानले सोनुसँग १० लाख रुपैयाँ मागेका थिए। अन्तिममा पाँच लाख बुझाएपछि उनी मुक्त भए। भदौ २० गते प्रहरीले तीनै जनालाई पक्राउ गर्‍यो। उनीहरूविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ।

 

काठमाडौँमा पनि प्रहरीले नै अपहरण गरेका घटना बेला–बेला बाहिर आउँछन्। २०७३ माघ १ गते सादा पोशाकमा रहेका महानगरीय प्रहरी अपराध महाशाखाका सई संवत तामाङ र महानगरीय प्रहरी वृत्तका सई सूर्यबहादुर थापाले धुम्बाराहीमा टाइगर ओभरसिज प्रालि सञ्चालन गर्ने बद्री राईलाई कोटेश्वरमा बोलाएर अपहरण गरे। तामाङ र थापाले राजकुमार गुरुङ र अर्जुनबहादुर लामासँग मिलेर व्यवसायी राईलाई सिनामंगलको एउटा घरमा बन्धक बनाएर राखे। उनीहरूले राईको साथमा रहेको २ लाख ३० हजार रुपैयाँ खोसे अनि नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकका चार वटा चेकमा २५ लाखका दरले फागुन १० देखि १४ सम्मको मिति राखेर एक करोड रुपैयाँ लेखे। त्यसपछि २५ लाखको तमसुक बनाएर सही गराए र उनलाई छाडे। अपहरणमुक्त भएपछि राईले महाशाखामा उजुरी गरेका थिए। घटनाको दुई महिनापछि चैत ४ गते महानगरीय प्रहरी अपराध महाशाखाले तामाङ र थापालाई पक्राउ गर्‍यो। 

 

त्यसै गरी, २०७२ चैत २३ गते वीरगञ्जका सुन व्यापारी राजेश साहलाई अपहरण गरेर होटेलमा राखी चार लाख फिरौती लिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै कार्यालयका जवान अरविन्दकुमार सिंह र हवलदार विनय सिंहलाई पक्राउ ग¥यो। अन्य अपहरणकारीसँग मिलेर व्यापारी साहलाई अपहरण गर्ने उनीहरूसहित पाँच जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत पर्साले ५ लाख ५० हजार जरिवाना र नौ वर्षको कैद सजाय सुनायो। 

 

२०६८ फागुन २२ मा महिला अपहरण गरेर फिरौती मागेको अभियोगमा प्रहरी प्रधान कार्यालयको भण्डार शाखाका हवलदार होमबहादुर तामाङ र केन्द्रीय अनुसन्धान ब्युरोका हवलदार कमल राई पक्राउ परे। उनीहरूले कुबेतबाट फर्किएकी सिन्धुपाल्चोककी सोममाया तामाङलाई अपहरण गरेर दुई लाख फिरौती मागेका थिए। कुबेतमा भिसाको म्याद सकिए पनि काम गरेपछि छ महिना जेल बसेर आएकी उनलाई होटलमा लगेर उनीहरूले पटक–पटक बलात्कार पनि गरेका थिए। सर्वसाधारण नागरिक अपहरणमा पर्दा वा उनीहरूमाथि जोखिम आइपर्दा सुरक्षा दिने जिम्मेवारी पाएका प्रहरीहरू नै अपहरण गरेर फिरौती उठाउन थालेपछि जनता सशंकित भएका छन्। 

 

प्रहरी नै बलात्कारी 
बलात्कारका घटनामा प्रहरीहरू पटक–पटक मुछिने गरेका छन्। कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रहरीलाई बदनामीको दाग लगाउने पछिल्लो घटना हो। निर्मला बलात्कार तथा हत्याकाण्डमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान भइरहेको छ। निर्मला बलात्कार र हत्याकाण्डको अनुसन्धान नगरेको, प्रमाण नष्ट गरेको, निर्दोषलाई अपराध स्वीकार्न दबाब दिँदै यातना दिएकोजस्ता घटनापछि एसपी विष्टलाई नै बलात्कारी र हत्याराको आरोपसमेत लाग्यो। गृहमन्त्री रामबहादुर थापाले समेत घटनामा प्रहरीको गल्ती भेटिएको बताए।

 

एसपी विष्टको डीएनए परीक्षणसमेत गरियो। यद्यपि, उनको डीएनए नमिलेको रिपोर्ट सार्वजनिक भएको छ तर प्रहरीको डीएनए परीक्षण प्रहरीकै प्रयोगशालामा गरिएपछि आम जनताले कैफियत भएको आशंका गरेका थिए। त्यसलाई चिर्न प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले असोज १५ मा डीएनएको नमुना राष्ट्रिय प्रयोगशाला र नेपाल प्रहरीको प्रयोगशाला दुवैमा परीक्षण गरेको भन्दै विज्ञप्ति जारी गरे। प्रवक्ता थापाले फेसबुक र ट्वीटरमा विज्ञप्ति हालेपछि धेरै सर्वसाधारणले ‘प्रमाण नष्ट गर्ने प्रहरीप्रति कसरी र किन विश्वास गर्ने?’ भनेर प्रश्न गरेका छन्। 

 

बलात्कारका घटनामा प्रहरीले मिलेमतो गरेर दोषी उम्काउने गरेका घटना त पहिलादेखि नै सार्वजनिक भईरहेका हुन्। पछिल्लो समय त प्रहरी नै बलात्कारी बनेका घटना पनि बाहिर आइरहेका छन्।बलात्कारमा संलग्न प्रहरीको चर्चा गर्दा प्रहरीबाटै प्रहरी महिला त्यो पनि प्रहरी कार्यालयभित्रै सामूहिक बलात्कारमा परेको घटना बिर्सन सकिँदैन। २०६६ असोज ११ गते जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत जवान सुन्तली धामी प्रहरी चौकीभित्र बलात्कृत भइन्। बलात्कारीहरू उनकै सहकर्मी थिए।

 

सुन्तलीलाई नशालु पदार्थ हालेको मासु खुवाएर असई दानसिंह भण्डारी, हवलदारहरू वीरेन्द्रसिंह बम, विरादत्त बडु, करवीर थलान र जवानहरू नरिमान महत्तरा र जगदीश पाण्डेले पालैपालो बलात्कार गरेपछि सुन्तली बेहोस भइन्। होस खुलेपछि उनीहरूविरुद्ध जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन मानेन। घटना सार्वजनिक भएपछि देशैभरबाट आवाज उठ्यो। त्यसपछि मात्र उनीहरू कारबाहीमा परे। 

 

सुन्तली धामीको घटना टुंगो नलाग्दै त्यसै वर्षको चैत ६ गते जनकपुरमा पनि प्रहरी चौकीभित्रै एक महिला बलात्कृत भइन्। यो घटनाको विषयमा अध्ययन गर्न गृह मन्त्रालयले उच्चस्तरीय जाँचबुझ कमिटी बनायो भने सद्भावना पार्टी (आनन्दीदेवी) ले अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्‍यो। तत्कालीन संसदीय दलका नेता सरिता गिरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०६६ चैत ६ गते भारतका सञ्जय कुमार र शबनमले जयनगरको बाटो हुँदै जनकपुर आएर मन्दिरमा विवाह गरेका थिए। चार जना प्रहरीले उनीहरूलाई पक्राउ गरेर चौकी पु¥याए। त्यसपछि उनीहरूसँग भएको भारु २५ हजार खोसेर केटा र केटीलाई अलग–अलग राखे। प्रहरीहरूले चौकीभित्रै युवतीलाई पटक–पटक बलात्कार गरेका थिए। यो घटनाले त्यसबेला ठूलो आन्दोलनको रूप लिएको थियो।

 

प्रहरीले बलात्कार गरेका कतिपय घटना त्यति चर्चामा आउँदैनन्। काभ्रे, पनौती नगरपालिका–५ मा एक बालिकालाई बलात्कार गरेको अभियोग प्रमाणित भएपछि धनुषा जिल्ला प्रहरी कार्यालयले हवलदार शम्भु राउत अहिरलाई २०७३ कात्तिक १८ गते बर्खास्त नै ग¥यो। मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको अभियोगमा २०७३ असोज ८ मा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा भान्सेका रूपमा कार्यरत गौरसिंह फराल पक्राउ परे। मानसिक सन्तुलन गुमाएकी महिलालाई धनगढी क्याम्पस चोकको झाडीमा बलात्कार गरेको देखेपछि स्थानीय बासिन्दाले फराललाई पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए।

 

प्रहरी अधिकारीहरू बलात्कारी जोगाएर कमाउ धन्दामा लागेका उदाहरण त प्रशस्त छन्। २०७४ माघ ७ गते काठमाडौँ, दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा सामूहिक बलात्कारमा परेकी युवती बलात्कार गर्नेविरुद्ध उजुरी लिएर प्रहरी कार्यालय गइन् तर प्रहरीले उजुरी दर्ता गरेन। बरु प्रहरीले नै ती युवतीलाई मिलापत्र गर्न दबाब दियो। बलात्कारीसँग मिलेर अपराध लुकाउने दरबारमार्ग वृत्तका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी पक्राउ परे। वृत्तका प्रहरी प्रमुख डीएसपी तिलक भारती अनुसन्धानका लागि काठमाडौँ परिसर तानिए भने अभियुक्त भगाएको आरोपमा सई चन्द्र भण्डारी निलम्बनमा परे। 

 

२०७४ पुस १६ गते सुनसरीको इटहरीस्थित रोयल रिसोर्टमा १४ वर्षीया किशोरीलाई वाइन खुवाएर दुई युवाले बलात्कार गरे। घटना प्रहरीसम्म पुगे पनि प्रहरीले दोषीलाई कारबाही गरेन। बरु बिचौलिया र प्रहरी मिलेर बलात्कारीसँग २७ लाख रुपैयाँ लिएर घटना लुकाए। एक महिनापछि संघीय प्रहरी इकाई धरानले प्रहरीकै मिलेमतोमा घटना लुकाइएको पत्तो पायो। छानबिन समितिले सुनसरीका तत्कालीन एसपी विद्यानन्द माझी र इटहरीका इन्स्पेक्टर चिरञ्जीवी दाहालले बिचौलियासँग मिलेर घटना लुकाएको प्रतिवेदन बनायो।

 

त्यही आधारमा एसपी माझी र इन्स्पेक्टर दाहालसहित अन्य तीन जना प्रहरीका जुनियर अधिकृत निलम्बित भए। तर, बिचौलियासँग मिलेमतो गर्ने उनै एसपी माझीलाई २०७५ भदौ १९ गते ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान गरेको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट ‘प्रबल जनसेवाश्री’ पदक वितरण गरियो। प्रहरीहरू आफैँ बलात्कारमा संलग्न हुने र बलात्कारीलाई बचाउने काममा बदनाम बनिरहेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले २०७५ असोज १० गते कान्तिपुर दैनिकमा लेखेको लेखमा ‘नेपालका अधिकांश प्रहरी महिला र गरिबमैत्री छैनन्’ भनेर आरोप लगाएकी छिन्।

 

जुवाडे प्रहरी 
२०७४ कात्तिक ७ गते जुवा खेलिरहेका बेला वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत जवान गोपीकृष्ण नेपालसहित बुटवलको देवीनगरका चार जना र तिलोत्तमा नगरपालिका, सिमानगरका पाँच जना पक्राउ परे। उनीहरूलाई जुवा ऐन २०२० अनुसार कारबाही गरियो।
२०७४ पुस २७ गते सुर्खेत जिल्ला ट्राफिक प्रहरी कार्यालयभित्र दिउँसै हवलदारहरू नरेश खत्री, प्रवीण थापा र जवान ज्ञानबहादुर विक तास खेलिरहेको भिडियो सार्वजनिक भयो। प्रहरी पोशाकमै तास खेलिरहेको भिडियो सुर्खेतका अटो व्यवसायी विनोदसिंह विष्टले खिचेका थिए। ग्यारेजमा काम गर्ने मजदुरलाई प्रहरीले पक्राउ गरेपछि त्यसबारे बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका विष्टले जिल्ला ट्राफिक प्रहरी हवलदार नरेश खत्रीलाई भेटन खोज्दा ‘उहाँ विशेष कामले कार्यालय बाहिर गएको’ जानकारी पाए। विष्ट कार्यालयभित्रै गएर हेर्दा हवलदार त तास खेलिहरेका भेटिए। उनले त्यो भिडियो सार्वजनिक गरिदिए। भिडियो बाहिरिएपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले उनीहरूलाई कारबाही गर्‍यो।

स्रोतका अनुसार धेरै जिल्लामा प्रहरी कार्यालयभित्रै जुवा–तास लेखिन्छ। बाहिर पनि जुवातास खेल्नेमा प्रहरीहरू अगाडि नै भएको बताइन्छ तर जुवातास खेल्नेलाई पक्राउ गर्ने निकाय प्रहरी नै हो। त्यसैले हत्तपत्त प्रहरीहरू पक्राउ पर्दैनन्। आफू खेल्ने मात्र होइन, विभिन्न शहरमा व्यावसायिक रूपमा जुवाका खाल चलाउनेहरूसँग सेटिङ मिलाएर पैसा लिने गरेको भन्दै प्रहरीको आलोचना हुने गरेको छ। केही समयअघि चितवनमा प्रहरीले जुवाअड्डा छापा मारेर २१ जना जुवाडे पक्राउ गरेको थियो। घटनाको अनुसन्धान गर्दा घुमुवा असई कमल परियारले जुवाअड्डाबाट पैसा लिने गरेको सार्वजनिक भएको थियो। 

 

प्रहरी नै तस्करीमा
गत माघ पहिलो साता यूएईबाट नेपाल भित्रिएको साढे ३३ किलो सुन एयरपोर्टबाट बाहिर निकाल्ने क्रममा हराएपछि सुन तस्करहरूको खैलाबैला सुरु भयो। यही केसले मोरङका सनम शाक्यको हत्या भयो भने सुन काण्डमा संलग्न सानु वन र प्रेमलाल चौधरीको मृत्यु भयो।

 

यो घटनाको अनुसन्धान अघि बढ्दै जाँदा प्रहरी अधिकारीहरू नै सुन तस्करीमा संलग्न भएका प्रमाण भेटिए। प्रहरीकै मिलेमतोमा तस्करहरूले ३८ क्विन्टल सुन भिœयाएको पत्ता लाग्यो। सुन तस्करीमा संलग्न भएको अभियोगमा नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, तत्कालीन अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सञ्जेललगायत पक्राउ परे।

 

सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएपछि फरार रहेका प्रहरी अधिकारीहरू पनि उपस्थित भए। उनीहरूलाई जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै अहिले उच्च अदालतले धमाधम छाडिरहेको छ। प्रहरी अधिकारीहरू तस्करीमा कतिसम्म डुबेर लागेका छन् भन्ने कुरा यही घटनाले बाहिर ल्याइदियो। ‘यो घटनाले समग्र नेपाल प्रहरीको शिर निहुर्‍यायो,’ पूर्व डीआईजी हेमन्त मल्लले भने।

साढे ३३ किलो सुन काण्डमा पक्राउ परेका एसएसपी श्याम खत्री २०७३ पुस २१ मा दुबईबाट आएको ३३ केजी सुन काण्डमा पनि मुछिएका थिए। सुन तस्करीमा सघाएको आरोपमा माघ २३ गते एसएसपी खत्री पनि पक्राउ परे। उनी पछि दुई लाख धरौटीमा छुटेका थिए तर फेरि अर्को काण्डमा मुछिए। यीबाहेक प्रहरीहरू तस्करीमा मुछिएका र तस्करसँग मिलेका घटना धेरै छन्।
२०७४ माघ १९ विमानस्थलबाट सुन पास गराएको आरोपमा विमानस्थलमै कार्यरत असई कुल बहादुर राईलाई सीआईबीले पक्राउ ग¥यो। उनले कतारबाट ल्याएको २० तोला सुन पास गराएका थिए। 

 

त्यसै गरी, २०७३ चैत ६ गते सुनसरीको धरान–२० विष्णुपादुकाबाट मध्यरातमा काठ तस्करी गरेको आरोपमा सामुदायिक वनका उपभोक्ताहरूले विष्णुपादुकास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज हवलदार खेमबहादुर कुँवर र जवान गंगा लिम्बूलाई अन्य तस्करी गर्नेहरूसँगै पक्राउ ग¥यो। उनीहरूलाई सेक्टर वन कार्यालयमा बुझाइयो। उनीहरूलाई वन ऐन २०४९ तथा नियमावली २०५१ अनुसार अवैध रूपमा वन पैदावार ओसारपसारको मुद्दा चलाइयो।  धेरै अघिदेखि तस्करी धन्दामा प्रहरीहरू नै मुछिने गरेको सार्वजनिक भएको थियो। तस्करीका कुनै घटनामा प्रहरी आफैँ संलग्न हुने र कुनैमा तस्करसँग मिलेमतो गर्ने गरेका घटना बारम्बार बाहिरिन्छन्।

 

प्रहरी नै लुटेरा
२०७३ वैशाख ६ गते सप्तरी, राजविराजस्थित रुपनी मोडबाट सादा पोसाकमा रहेका असई रामजी चौधरी, जवानहरू ललित झा, पप्पु यादव र चन्दन यादवले व्यापारीबाट २० तोला सुन, पाँच केजी चाँदी र ११ थान सुनका सिक्री खोसे र आपसमा बाँडे। 

 

प्रहरीबाटै सुनचाँदी खोसिएपछि सप्तरी सुनचाँदी उद्योग व्यवसायी संघका अध्यक्ष राजेशकुमार साहले त्यो सुनचाँदी ‘राजविराजस्थित न्यू राज्यलक्ष्मी ज्वेलर्सका लागि खरिद गरेर ल्याउँदै गरेको र सुनचाँदी प्रोप्राइटर शत्रुघन साहको रहेको’ भनेर क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएपछि छानबिन गर्दा प्रहरीहरूले बदमासी गरेको थाहा भयो। प्रहरीले उनीहरूलाई कारबाही गर्‍यो।

 

२०७३ चैत १५ गते धनुषा प्रहरीले भारतीय नागरिक जिवछ यादवबाट दुई लाख रुपैयाँ लुटेको आरोपमा हवलदार धर्मेन्द्र पासवानलाई पक्राउ गर्‍यो। विशेष गरी, सीमा क्षेत्रका प्रहरीहरूमाथि चोरी र लुटपाटमा संलग्न हुने गरेको आरोप लाग्ने गरेको छ। यस्तै गलत धन्दामा संलग्न भएपछि प्रहरी संगठनबाट कारबाहीमा परेका हरेशिव यादव त प्रहरीकै इन्काउन्टरमा मारिएको घटना पनि छ। २०६९ साउन ७ गते धनुषाको दुहवीमा यादव मारिएका थिए। प्रहरीका अनुसार उनी त्यसबेला समाजमा आतंक मच्याएका भूमिगत समूहमा लागेर लुटपाट गर्दै हिँड्थे। गस्तीमा गएका प्रहरीमाथि नै गोली चलाएपछि प्रहरीले उनलाई इन्काउन्टर गरेको थियो। उनको समूहले २०६९ जेठ १६ मा नेपाल रेल्वेका प्रबन्धक सुरेश यादवको हत्या गरेको थियो। उनले समूह बनाएरै लुटपाट, डकैती धन्दा चलाएका थिए। 

 

त्यसो त २०६७ सालमा धनुषामा कार्यरत डीएसपी रूपकुमार न्यौपानेले भूमिगत सशस्त्र समूहसँग साँठगाँठ गरेको प्रमाण भेटिएपछि तत्कालीन एसपी (हालका प्रहरी महानिरीक्षक) सर्वेन्द्र खनालले प्रमाणहरू जुटाएर कारबाही चलाएका थिए। उनलाई लागेको आरोप प्रमाणित भएपछि गृह मन्त्रालयले न्यौपानेलाई एक तह घटाएर इन्स्पेक्टरमा झारेको थियो। उनले पछि राजीनामा दिए।

 

प्रहरी नै हत्यारा
२०७३ माघ २१ गते जाजरकोटको भेरीमालिका नगरपालिका– ४ की राधिका सुनारको हत्या भयो। हत्याको अनुसन्धान गर्दा प्रहरीले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत हवलदार कमल सुनारले घरदेखि दुई किलोमिटर टाढा पासागाढा खोलामा बलात्कारपछि खुकुरी प्रहार गरी राधिकाको हत्या गरेको निष्कर्ष निकाल्यो। जिल्ला अदालत जाजरकोटका न्यायाधीश लीलाराज अधिकारीको इजलासले सुनारलाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो।

 

२०७५ जेठ २३ गते ओखलढुंगाको मानेभञ्ज्याङकी शर्मिला राईमाथि प्रहरी हवलदार अमर सिंह राईले हत्या गर्ने उद्देश्यले खुकुरी हाने। उनको टाउको र दुवै हातमा गहिरो चोट लाग्यो। हवलदार राईलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाही चलायो। 
२०७१ फागुन २८ गते अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत असई धनवीरसिंह धामीले रानीवन उपस्वास्थ्य चौकीमा कार्यरत अनमी कलादेवी जैसीलाई बलात्कारपछि हत्या गरे। 

 

प्रहरीले हत्या गरेको घटनामा सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाले आफ्नै श्रीमती हत्या गरेको घटना धेरै चर्चामा आयो। २०६८ साल पुस २७ गते उनले आफ्नी श्रीमती गीता ढकालको घरमै हत्या गरेर शव लुकाएका थिए। पछि मकवानपुरको पालुङनजिक शव जलाएर फर्किंदै गर्दा उनी पक्राउ परे। उनलाई प्रहरीले सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्‍यो। उनी जेल पठाइए। 

प्रहरी किन अपराधी बन्छन्?
शान्ति–सुव्यवस्था कायम गर्नुपर्ने प्रहरी संगठनका केही सदस्य नै अपराधमा संलग्न भएका छन्। अख्तियार प्रवक्ता रामेश्वर दंगाल भन्छन्, ‘अरूलाई अपराध गर्नु हुँदैन भनेर सिकाउनुपर्ने, कारबाही गर्नुपर्ने मान्छे आफैँले त्यस्ता काम नगरिदिए देश अर्कै हुन्थ्यो।’ 
प्रहरीमा भर्ना हुनेहरूलाई आचरण व्यवहार सुधार, अनुसन्धानलाई कसरी ‘स्किलफुल’ बनाउने, आम नागरिकसँग गरिने व्यवहार, मानवअधिकार के हो, कसरी संरक्षण गर्न सकिन्छ जस्ता विभिन्न तालिम दिइन्छन्। कस्तो काम अपराध हो र त्यसो गरे के सजायको व्यवस्था छ भन्ने कुरा पनि उनीहरूलाई पढाइएकै हुन्छ।

 

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीको भनाइमा नेपाल प्रहरीमा जति विभिन्न प्रकारका तालिम अरूतिर सायदै दिइन्छन्। सबै थाहा हुँदाहुँदै पनि प्रहरीहरू किन अपराधकर्ममा लागिरहेका छन् त ? प्रवक्ता थापा भन्छन्, ‘७५ हजारको संगठनभित्र केही प्रतिशतले अपराध गरेको आधारमा संगठनसँग जोड्न मिल्दैन। त्यो उनीहरूको व्यक्तिगत कुरा हो।’
पूर्व डीआइजी हेमन्त मल्ल सुन काण्डलगायत ठूला अपराधमा प्रहरी नै मुछिँदा समग्र प्रहरी संगठनलाई असर परेको बताउँछन्। ‘यस्ता घटनाले प्रहरीप्रति जनताको विश्वास घटेको छ भने प्रहरी–प्रहरीबीचमै पनि अविश्वासको वातावरण सिर्जना भएको छ,’ मल्ल भन्छन्, ‘तर, हरेक पेशा–व्यवसायमा आपराधिक मानसिकताका मान्छे हुन्छन्। अपराध गरेपछि उसलाई त्यो पेशा–व्यवसायमा आबद्ध व्यक्तिभन्दा अपराधीकै रूपमा लिनुपर्छ।’ 

 

वर्षमा २२ सयलाई कारबाही 
प्रहरी संगठनको प्रमुख भएको एक महिनापछि २०७५ जेठ १७ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘नमुना संगठन’ बनाउने घोषणा गर्दै दश बुँदे प्राथमिकता सार्वजनिक गरेका थिए। प्रहरीलाई लाग्दै आएको भ्रष्टाचार, अनियमिताको दाग मेटाउने पनि खनालले उद्घोष गरेका थिए। त्यसका लागि उनले सांगठनिक शुद्धीकरण र भ्रष्टाचारमाथि शून्य सहनशीलता अपनाउने, प्रहरी कर्मचारीको व्यावसायिकता, पारदर्शिता, निष्ठा र नागरिकमैत्री बनाउन जोड दिने योजना सुनाएका थिए। उनी महानिरिक्षक बनेपछि हालसम्म करिब पाँच सय प्रहरी कारबाहीमा परे। 

 

नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने पनि गलत काम गर्नेको संख्या ठूलै देखिन्छ। प्रहरीले २०७४ साउन १ देखि २०७५ असार ३० सम्ममा २ हजार २ सय ६५ प्रहरीलाई विभिन्न किसिमका कारबाही गरेको छ। यो भनेको दैनिक करिब छ जना प्रहरी कारबाहीमा पर्नु हो।प्रहरीको तथ्यांकअनुसार २ सय ७२ जनालाई नोकरीबाट हटाइएको छ भने आठ जनालाई बर्खास्त गरिएको छ।

 

त्यस्तै, १ हजार २ सय २७ लाई नसिहत, १ सय ८९ जनालाई ग्रेड रोक्का, १५ जनालाई प्रतिकूल राय, ३४ जनालाई ग्रेड घटुवा, ९१ जनालाई पदोन्नति रोक्का, १० जनालाई पद घटुवा, २ सय १७ जनालाई तल्लो टाइम स्केलमा घटुवा, २ सय २ जनालाई निलम्बनको कारबाही गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ वैशाखपछि हालसम्म ४ सय ९५ जनालाई विभिन्न कारबाही गरिएको छ। यसरी कारबाहीमा पर्नेमा कार्यालय सहायकदेखि एसएसपीसम्म छन्। 

 

यो पनि : ‘प्रहरी संगठन सुधारतिर उन्मुख छ’

 

तपाईको कमेन्ट