गोलभेँडाले बनायो सम्पन्न

गोविन्द देवकोटा
बिहिबार, २६ बैशाख २०७६
बाँके, सीतापुरका गेहनालाल मुराउ जतिबेला पनि आफ्नो तरकारी बारी व्यस्त हुन्छन्। ६८ वर्षीय मुराउ तरकारी बारी आफ्ना लागि स्वर्ग भएको बताउँछन्। चाउरिएको अनुहार, सेताम्मे कपाल र दाह्री पनि फुलेर सेतै भएको छ, मुराउको। यो उमेरमा पनि सक्रिय भई खेतबारीमै व्यस्त छन्, उनी।
घरमा खोज्न जाने जोकोहीले उनलाई बारीमै काम गरिराखेको अवस्थामा भेट्छ। ‘खेती गर्ने उपाय बताइदिनुस्’ भन्दै आफूलाई धेरै मानिस भेट्न आउने उनी बताउँछन्।
२००६ सालमा बाराको बरमपुरीमा जन्मिएका मुराउले सानै उमेरमा आमाबुबा गुमाएका थिए। ‘सानैमा अनाथ भएँ,’ उनी भन्छन्, ‘म दुई वर्षको हुँदा आमाबुबा बित्नुभयो। उहाँहरू कस्तो हुनुहुन्थ्यो केही याद छैन। मलाई छिमेकी र आफन्तले हुर्काएका हुन्। बाल्यकाल अरूको मजदुरी गरेरै बित्यो।’
घरजग्गा केही नभएकाले बाराका विभिन्न ठाउँमा काम गर्दै गुजारा चलाए मुराउले। ‘मसँग सम्पत्ति केही थिएन, गाउँघरमा मजदुरी गरेर पेट पाल्थेँ,’ उनी भन्छन्, ‘काम गरेकै घरमा खाने–बस्ने गर्थें। काम सिक्दा निकै दुःख पाइयो। कहिलेकाहीँ काम बिग्रदा साहूले पूरै ज्याला काटिदिन्थे। एक सुको पाइँदैनथ्यो।’
२०२६ सालमा त्यहीँकी दीपारानी मुराउसँग उनको विवाह भयो। एकबाट दुई भएपछि छाक टार्न झनै गाह्रो भएको उनी बताउँछन्। ‘आफ्नो घरबार केही थिएन,’ उनी भन्छन्, ‘बिहेपछि समस्या नै पर्यो।
त्यसपछि घर बनाउने मजदुरी गर्न थालेँ।’ बारामा जति दुःख गर्दा पनि खासै कमाइ नभएपछि उनी दुई सन्तान र श्रीमतीसहित कामको खोजीमा हिँडे। त्यतिबेला नेपालगञ्जको राँझा विमानस्थल निर्माण कार्य चलिरहेको थियो। त्यहीँ मुराउले मजदुरी गर्न थाले।
राँझामा काम गर्ने क्रममा उनले आफन्तकी छोरी बाँकेमा बिहे गरी आएको सुने र भेट्ने इच्छा गरे। आफन्त भेट्न खजुराको सीगाउँ पुगेका मुराउले त्यहीँ काम गर्ने सोच बनाए। ‘खेतमा काम गर्ने कामदार चाहिएको रहेछ,’ उनी भन्छन्, ‘मैले पनि खेती गर्ने सुर गरेँ। केही समय अरूको खेतमा काम गरेँ।
पछि आफैँ केही गर्ने सोचले खेत नै भाडामा लिएर खेती गर्न थालेँ।’ गोलभेँडा खेतीले फाइदा पुर्याएपछि उनले त्यहाँ स्थायी रूपमा बस्ने निधो गरे। अरूका बाँझा बारी ठेक्कामा लिने र गोलभेँडा खेती गर्ने मुराउले अहिले वार्षिक करोड रुपैयाँ बराबरको गोलभेँडा उत्पादन गर्छन्। ‘गोलभेँडा खेतीबाट राम्रो आम्दानी भएपछि आफ्नै घर बनाएँ,’ उनी भन्छन्।
चार हजार प्रतिबिघा जमिन ठेक्कामा गोलभेँडा खेती गरेका मुराउले १० बिघा जमिन जोडेका छन्। भाडामा खेती गरी जम्मा गरेको रकमले बुहारी गीताकुमारी मुराउको नाममा सुरुमा छ बिगा जमिन खरिद गरेको उनी बताउँछन्। ‘त्यतिखेर २५ हजार रुपैयाँ कट्ठा जमिनको भाउ थियो,’ उनी भन्छन्। अहिले १५ बिघा जमिनमा गोलभेँडा लगाएका छन्, मुराउले।
जसमा पाँच बिघा जमिन अझै भाडामा लिएका छन्। आफूले बर्सेनि करिब ४० लाख रुपैयाँसम्म बचाउने उनी बताउँछन्। मुराउको १७ जनाको परिवार छ। परिवारका सबै सदस्य खेतीपाती नै गर्छन्।
धैर्य र मेहनतले आफू सफल हुन सकेको उनी बताउँछन्। ‘यताउता डुल्नुभन्दा एकै काममा मेहनत र धैर्य गरियो भने सफलता अवश्य हात लाग्छ,’ उनी भन्छन्। नेपाली युवा विदेश पलायन भएको देख्दा आफूलाई दुःख लाग्ने उनी बताउँछन्। ‘किन जाने विदेश ?’ उनी भन्छन्, ‘आफ्नो सुन फलाउने भूमि बाँझो छाडेर विदेश जानु हुन्न।’
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७