गाउँमै खुशी, गाउँमै सुखी

writer

शिवराज भट्ट

बिहिबार, २६ बैशाख २०७६


अछाम : सुदूरपश्चिम, अछामका धेरैजसो पुरुष काम गर्न छिमेकी देश भारत जान्छन्। त्यहाँ घामपानी नभनी दुःख गर्छन्। आफ्नो परिवारका लागि दुई छाक खाना र एकसरो लुगाफाटोको जोहो गर्छन्। गाउँमा बसेर परिवार पाल्नै नसकिने उनीहरूको सोच छ। तर, त्यही गाउँमा अपवादका रूपमा देखिएका छन्, नरेश बोगटी।

नरेश खुद्रा व्यापारी हुन्। उनले होटल पनि सञ्चालन गरेका छन्। दैनिक उपभोग्य सामग्रीदेखि खानपिन र बासको व्यवस्था उनले गर्छन्। सडकछेउमा रहेको उनको होटलमा आवतजावत गर्ने गाडीका यात्रीदेखि चालकले खाना–खाजा खाने गर्छन्।

मध्यरातसम्म पनि होटलमै व्यस्त हुन्छन्, उनी। ‘रातको केही घण्टाबाहेक दिनभरि व्यस्त नै हुन्छु,’ उनी भन्छन्, ‘बिहान झिसमिसेमै गुरुजी र यात्रीहरूलाई तात्तातो चिया खुवाउनुपर्छ। राति अबेरसम्म गाडीको चहलपहल रहन्छ। खाना–खाजा खुवाउनैप¥यो यात्रीहरूलाई।’

२८ वर्षीय नरेश गाउँका सफल व्यापारी हुन्। अझै युवा व्यापारी हुन्। ‘गाउँमा केही गर्न सकिँदैन’ भन्नेहरूका लागि उनी उदाहरण बनेका छन्। चौरपाटी गाउँपालिका, मार्कुस्थित सिलगडी–साँफेबगर सडकखण्डको छेउमै छ, उनको किराना पसल तथा होटल। आफ्नो मेहनत र लगनले सफल भएका नरेश भारत नगएका होइनन्।

उनका बुबा भारतमा जागिर गर्छन्। छ वर्षको उमेरमा नरेश पहिलो पटक बुबासँग भारत गएका थिए। परिवारको भरणपोषणका लागि बुबाले गरेको दुःखलाई उनी नजिकबाट हेरे। ठूलो भएपछि आफूले पनि केही महिना त्यहाँ काम गरे।

काम गर्दैगर्दा ‘दुःख गर्नु नै छ भने अर्काको देशमा किन गरूँ, आफ्नै देशमा गर्छु’ भन्ने सोच पलाएको नरेश बताउँछन्। ‘अरूको देशमा काम गर्नुभन्दा आफ्नै देशमा आफ्ना मान्छेबीच दुःख गर्छु भन्ने लाग्यो,’ उनी भन्छन्, ‘गाउँमै व्यापार गर्ने योजनासहित भारतबाट फर्किएँ।’

व्यापारका लागि आफूले बुबासँग २४ हजार रुपैयाँ मागेको उनी बताउँछन्। ‘बुबासँग २४ हजार मागेर गाउँ फर्किएँ,’ उनी भन्छन्, ‘२४ हजारमा खोलेको खुद्रा पसलले अहिले राम्रै व्यापार गरिरहेको छ।’ नरेशले पसल थापेको सात वर्ष भयो। ‘पसलकै आम्दानीबाट होटल पनि खोल्न सकेँ,’ उनी थप्छन्।

सँगैका साथी कोही भारतमा छन् त कोही गाउँमै बेरोजगार भएर हल्लिरहेका छन्। तर, नरेशलाई भने भ्याइ–नभ्याइ छ। ‘कामबाट एक मिनेट पनि फुर्सद पाइँदैन,’ उनी भन्छन्, ‘एक्लैले नसकेर अहिले श्रीमतीले पनि सघाउँछिन्। कामको चापले गर्दा कहिलेकाहीँ राति राम्रोसँग सुत्न पनि पाइँदैन।’

सुरुमा खाना र खाजा पकाउने काम मात्र गरेका नरेशले बिस्तारै ग्राहकको बास बस्ने व्यवस्था पनि मिलाए। ‘ग्राहक बस्नका लागि तीन कोठा बनाएँ,’ उनी भन्छन्, ‘गाउँमा आउने सरकारी÷गैरसरकारी संघसंस्थाका कर्मचारी अहिले मेरै होटलमा खाने र बस्ने गर्छन्।’ 

स्थानीय परिकारका लागि प्रख्यात छ उनको होटल। दूध, दही, मासुका विभिन्न परिकार उनले ग्राहकलाई खुवाउँछन्। एकहप्ते ‘साना होटल तथा आवास व्यवस्थापन तालिम’मा सहभागी भएपछि आफूले धेरै कुरा सिकेको उनी बताउँछन्। ‘खाना–खाजा बनाउने तरिकादेखि होटल व्यवस्थापन गर्ने तरिकासम्म तालिममा सिकियो,’ उनी भन्छन्, ‘अहिले काम गर्न धेरै सजिलो भएको छ।’

नरेशको लोभलाग्दो प्रगति देखेर गाउँले छक्क छन्, नरेश भने दंग छन्। ‘जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ गाउँमै पनि राम्रो व्यवसाय गर्न सकिन्छ,’ उनी भन्छन्। 
 

तपाईको कमेन्ट

मुख्य समाचार