अखबार बेच्नु जसको नशा हो

writer

रचना श्रेष्ठ

बिहिबार, २६ बैशाख २०७६


जीवनमा उनले धेरै कष्ट सहेका छन्। मेहनत नगरी जीवन चलाउन मुुश्किल छ भन्ने विचारका साथ अगाडि बढिरहेका छन्, धादिङ, जीवनपुुरका ५३ वर्षीय मुुकुुन्द ढकाल। उनी पत्रिका विक्रेता हुन्। २३ वर्षदेखि यो काम गरिरहेका छन्। ‘२०५१ सालदेखि पत्रिका बेच्ने काम सुरु गरेँ,’ ढकाल सम्झन्छन्, ‘त्यो बेलादेखि अहिलेसम्म पत्रिका बेचेरै जीवन धानिराखेको छुु।’

उनी अहिले काठमाडौँ, मैतीदेवीमा बस्छन्। बिहान ५ बजे न्युरोडमा पुुग्छन्। पत्रिका ‘कलेक्सन’ गरेर आफ्नो दैनिकी सुुरु गर्छन्। १२ बजेसम्म पत्रिका बेच्ने काम गर्छन्। उनले आफ्नै लगानीमा ग्राहक बनाएका छन्। संघसंस्था, पसले आदि गरेर उनका चार सयजति ग्राहक छन्। 

आजभन्दा २३ वर्षअगाडि ढकाल डुुलेरै पत्रिका बेच्ने काम गर्थे। ‘तीन वर्षसम्म त बसपार्कमा बस चढी–चढी कराएरै बेचेँ,’ उनी सम्झन्छन्। त्यतिबेला दिनको दुई÷तीन सय कमाइ हुने उनी बताउँछन्। 

घरायसी समस्याले गर्दा उनले पढ्न पाएनन्। उनले यहाँ मात्र नभई भारतसम्म पुुगेर दुुःख झेलिसकेका छन्। त्यहाँ उनी होटलतिर काम गर्थे। होटलमै खाना खान आउने एकजना ग्राहकले भनेको उनी सम्झिन्छन्, ‘तिमी अब पेपर बेच। धेरै मेहनत पनि गर्न पर्दैन। तिम्रो हातमा आफ्नै कमाइ हुनेछ।’ त्यसपछि उनले भारतमै पत्रिका बेच्न थालेको उनी सुनाउँछन्।
‘बसपार्कबाटै मैले पत्रिका बेच्न सुुरु गरेँ,’ उनी भन्छन्, ‘यहाँ नेपालमा आएर पनि बसपार्कबाटै पत्रिका बेच्न थालेँ। 

त्यतिबेला डुलेरै उनले बजारमा आउने सबै पत्रिका बेचे। ‘फुर्सदको समय हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘पत्रिका, म्यागजिन भए पनि पढ्ने मान्छे भेटिन्थे। तर, अहिले इन्टरनेटको जमानामा पहिलेको भन्दा कम पत्रिका पढ्छन्। हामी पत्रिका बेच्नेलाई पनि गाह्रै छ।’

पत्रिका बेच्दाका दुःख उनीसँग टन्नै छन्। २०५७ सालमा उनले पत्रिका बेच्दै गर्दा कुटाइ पनि खाएका छन्। मेहनत गरेर जोडेको सम्पत्ति साइकल हराउँदा उनी दुुःखी भएका थिए। ‘त्यतिबेला जाबो यस्तो काम पनि गर्छन् भन्ने विचार मनमा पलाएको थियो,’ उनी भन्छन्, ‘कस्टोमरले  ठग्ने, भाग्ने, छल्ने जस्ता परिस्थितिलाई पनि मैले झेलेको छुु।’

जीवनमा जति समस्या आइपरे पनि हिम्मत हारेनन् उनले। पत्रिका बेचेरै उनी अहिले मासिक २०÷२५ हजार रुपैयाँ आम्दानी गर्छन्। 

पत्रिका बेचेरै जीवन धान्न भने मुुश्किल हुने उनको गुनासो छ। ग्राहकबाहेक थप पत्रिका बिक्री हुँदा भने उनी खुुशी हुन्छन्। नयाँ व्यक्तिले पत्रिका बेचेर गुजारा चलाउँछु भन्यो भने गाह्रो हुने उनको भनाइ छ। ‘पत्रिका बेच्ने पुरानो मान्छेलाई त टिक्न धौधौ छ,’ उनी भन्छन्, ‘नयाँलाई त झन् मुश्किल हुन्छ।’ 

लामो समयदेखि यही काम गर्दै आएका उनलाई आफूले गरेको कामको भने मोह छ। ‘यसलाई चटक्कै छोडेर अर्को काम गर्न सक्दिनँ,’ उनी भन्छन्, ‘अरूलाई अखबार पढ्ने नशा हुन्छ, मलाई भने अखबार बेच्ने नशा छ।’ 

ढकालकी श्रीमती स्कुल पढाउँछिन्। छोरो ७ कक्षामा पढ्छन्। श्रीमती, छोरो र आमासहित उनको सानो र सुुखी परिवार छ। भन्छन्, ‘कमाइ सामान्य भए पनि जीवन आनन्दले चलिरहेको छ।’ 

तपाईको कमेन्ट