कमेरोटारका ‘दूध बाजे’

writer

सृजना खड्का

बिहिबार, २६ बैशाख २०७६


‘अहिलेका युवाले काम गर्न नजानेर विदेश जानुपरेको हो। उनीहरू विदेश गएर बल्लतल्ल महिनाको २५-३० हजार कमाउँछन्, म घरमा बसी–बसी गाईबाट ५०-६० हजार कमाउँछु। आजभोलिका युवा नजिकको पैसा देख्दैनन्, टाढा–टाढा दुःख खोज्दै हिँड्छन्।’  –विष्णुबहादुर बस्नेत ‘दूध बाजे’ 


‘कुनै पनि काम गर्दा त्यसको गहिराइमा पुग्नुपर्छ। भित्रसम्म भिज्नुपर्छ, मेहनत गर्नुपर्छ, सन्तोक मान्नुपर्छ। योबाहेक खुशी र सुखी हुन अरू केही गर्नुपर्दैन।

मध्यपुर, थिमी, कमेरोटारका ६७ वर्षीय विष्णुबहादुर बस्नेतले जिन्दगीबाट सिकेको पाठ यत्ति हो। 

पेशाले दूध व्यापारी हुन्, उनी। कमेरोटारका ‘दूध बाजे’ भनेर उनलाई धेरैले चिन्ने गरेका छन्। 

सोलुखुम्बु घर भएका बस्नेतसँग अहिले छवटा गाई छन्। ती गाईले दिनमा ३० देखि ३५ लिटर दूध दिने उनी बताउँछन्। जाडो होस् वा गर्मी, ‘दूध बाजे’को दैनिकी बिहान ५ बजेबाट सुरु हुन्छ। उठेपछि सबैभन्दा पहिला उनी दूध दुहुन्छन्। ६ बजेदेखि आफ्नो टोलछिमेकका घर–घरमा दूध बाँड्दै हिँड्छन्। ‘बिहान २५–३० घर घुम्छु। यति घरमा डुल्दा दुई घण्टाजति लाग्छ,’ उनी भन्छन्, ‘बेलुका पनि यसै गरी दुई घण्टै लगाएर त्यति नै घरमा दूध बाँड्छु।’ 

दूध बाजेका लागि उनका गाई नै सबथोक हुन्। ‘आफ्नो त बिहान उठेदेखि ओछ्यानमा नपल्टेसम्म ध्यानजति गाईमै हुन्छ,’ उनी भन्छन्, ‘गाई पालेको १७ वर्ष भइसक्यो। अब त यसै काममा रस बसिसक्यो। गरिआएको काम छाड्न मनले मान्दैन।’  
बिहान उठेदेखि बेलुका नसुतेसम्म उनको समय तिनै गाईको स्याहार–सुसारमा बित्छ। ‘अझै पनि ज्यानले सकुञ्जेल, रोगव्याधिले नभेटुञ्जेल यही काम गर्नेछु,’ बस्नेत भन्छन्, ‘गाईको स्याहारमा यति डुब्छु कि कहिलेकाहीँ त खाना खानै बिर्सिन्छु।’ 

वरिपरिका सबैले उनलाई चिन्छन्। काम गर्ने उनको जोशजाँगर देखेर सबैजना दंग पर्छन्। ठूलाले उनलाई ‘बस्नेत बाजे’ भनेर बोलाउँछन्। साना केटाकेटीले त उनको नामै ‘दूध बाजे’ राखिदिएका छन्। ‘१० वर्षअघि नेपाल प्रहरीका एक जना असईका जुम्ल्याहा सन्तान थिए। आमाको दूध नपुगेर  मेरो गाईको दूध खाएरै ती बालक हुर्किए,’ उनी भन्छन्, ‘मेरा गाईको दूध कति बच्चाले खाए हिसाबै छैन। कति त कलेज पढ्ने भइसके।’ 

अहिले उनले गाईबाट मासिक ५० देखि ६० हजार आम्दानी गर्छन्। ‘२० हजारजति गाईमै खर्च हुन्छ। बाँकी आफ्नो कमाइ भनौँ न,’ उनी भन्छन्, ‘एउटै मात्र गाई बेच्यो भने पनि ५० देखि ६० हजार आउँछ। तर, गाई भर्खर ब्याएको र १०-१२ लिटर दूध दिने हुनुपर्छ।’ 

दिउँसो तीन-चार घण्टा उनी गाई चराएरै बिताउँछन्। ‘त्यसबाहेक दिनमा दुई भारी घाँस काट्नुपर्छ। वर्षाको बेला चाहिँ पराल किनेर खुवाउँछु। दानापानी र गाई बिरामी पर्दा बढी खर्च लाग्छ,’ बस्नेत भन्छन्, ‘गाईबाट सबैलाई राम्रो हुन्छ भन्ने छैन। तर, मलाई गाईबाट कहिल्यै नराम्रो भएन। मेहनत गरे कहिल्यै दुःखी हुनु पर्दैन।’

उनलाई आफूले पालेका गाई आमाजस्तै लाग्छन्। भन्छन्, ‘गाईबाटै यत्रो आम्दानी भएको छ। कुनै रोगले छोएको छैन। उमेर ढल्के पनि जति काम ग¥यो उति तगडा भइने रहेछ।’ अहिलेका युवाले काम गर्न नजानेर-नबुझेर विदेश जानुपरेको उनी बताउँछन्। ‘उनीहरू विदेश गएर बल्लतल्ल २५-३० हजार कमाउँछन्, म घरमा बसी–बसी ५०-६० हजार कमाउँछु। आजभोलिका युवा नजिकको पैसा देख्दैनन्। टाढा–टाढा दुःख खोज्दै हिँड्छन्,’ उनी भन्छन्। 

गाईपालन गरेरै आफूले घडेरी किनेको उनी सुनाउँछन्। अस्थायी टहरा हुँदै दूधबाटै कमाएको पैसाले साढे तीन तला घरसमेत बनाइसके दूध बाजेले। भन्छन्, ‘धेरथोर पैसा छोराहरूले नि सहयोग गरे। उनीहरूको बिहेवारी र घरखर्चको पैसा पनि यही दूध बेचेको पैसाले धान्यो।’ बस्नेतको परिवारमा श्रीमती, पाँच छोरा, एक छोरी, बुहारी र नातिनातिना छन्।

श्रीमती र छोराहरूले आफूलाई बुढेसकालमा दुःख नगर भन्ने गरेको उनी बताउँछन्। ‘श्रीमती र छोराछोरीले दुःख नगर भन्छन्। तर, वर्षौंदेखि गरिआएको कामको चटक्कै माया मार्न सकिँदैन,’ उनी भन्छन्, ‘सकेसम्म आफैँ मेहनत गरी खाऊँ जस्तो लाग्छ। हातगोडा चलुञ्जेल अरूलाई दुःख दिन मन लाग्दैन।’

तपाईको कमेन्ट