सिलाई पेशाबाटै खलोप्रथाको अन्त्य

writer

भगीरथ अवस्थी

बिहिबार, २६ बैशाख २०७६


बैतडी : जिल्लाको उत्तरपूर्वी पुरचौंडी नगरपालिका ८ मल्लादेही उपरगाउँका अमर औजी बुवा बाजेले अँगालेको सिलाई पेशाबाटै आफ्नो घरपरिवार धानीरहेका छन्। 

बुवाबाजेको जस्तै उनले पनि सानै उमेरदेखि सिलाई पेशा सिके अनि सानो छँदादेखि नै खलोप्रथामा सिलाई गर्न थाले। उनि भन्छन् ‘हामीमा परम्परागत रुपमा सीप थियो तर आफ्नो सीप बापत घरघरमा घुमेर अन्न मागेर ल्याउनु पथ्र्यो। यो मलाई सानैदेखि चित्त बुझेको थिएन। 
आफ्नो सीपलाई कसरी व्यवसायिक बनाउन सकिन्छ भनेर मैले सोच्ने गरेको थियो। अहिले म व्यवसायिक रुपमा सिलाई गर्न थालेको छु खलो प्रथाको पनि अन्त्य भएको छ।’  

शुरुमा औजी परिवारमा आर्थिक अवस्था निकै दयनीय थियो। आफूसंग भएको सीपलाई व्यवसायिक नबनाउँदा सम्म प्रगति हुने नदेखेपछि उनले सिलाई पेशालाई व्यवसायिक रुपमा अघि बढाए।

उनि भन्छन् ‘धेरै जसोले सिलाई पेशालाई हेलाको दृष्टिले हेर्ने गर्दथे। तर यो पेशा अहिले मेराका लागि सम्मानको अवसर भएको छ। मलाई अहिले कामको भ्याईनभ्याई छ।’

२०६३ सालमा गरिबि निवारण कोषको कार्यक्रमबाट  १५ हजार ऋण लिएर मेसिन र अन्य औजारहरु किनेको औजीले बताए। ‘शुरुमा एकै हातेमेसिन थियो घरमा बुवा र म एकै मेसिनमा पालो सिलाई गर्ने गर्दथ्र्यौं। मेसिन किनेपछि मैले पैसा लिएर मात्रै कपडा सिलाई गर्न थाले।

’उनी भन्छन् ‘अहिले मैले पुरचौडी नगरपालिकाको हाट र रेसीमा गरेर दुईओटा पसल सञ्चालन गरेको छु। पसलमा ५ जनाले रोजगारी पनि पाएका छन्।सुशील मोर्डन सिलाई सेन्टर दर्ता नै गरेर काम गरिहेको छु।’ 

खलोप्रथामा सिलाई गर्ने अमर औजीले पछिल्लो समयमा व्यवसायिक रुपमा सिलाई गर्न थालेपछि तराईमा समेत सिलाई पेशाबाट पैसा कमाएर घडेरी किनेको बताए। उनि भन्छन् ‘सिलाई पेशाबाटै मैले मासिक ३० हजारको हाराहारीमा बचत गर्छु। छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन सफल भएको छु।’ 

व्यवसायिक रुपमा सिलाई पेशा गर्नथालेपछि सामाजिक रुपमा पनि अघि बढेको औजीले बताए। उनि भन्छन् ‘खलोप्रथामा काम गर्दा जातीय विभेद पनि हुने गरेको थियो। तर मैले व्यवसायिक रुपमा सिलाई पेशामा आवद्ध भएपछि जातीय विभेद पनि कम हुँदै गएको छ। मेरो सामाजिक हैसियत पनि बढेको छ।’

सिलाई पेशाबाट राम्रो आम्दानी गरेको भन्दै गरिबि निवारणकोषले आफूलाई उत्कृष्ट उद्यमीको रुपमा पुरस्कृत गरेको औजीले बताउँछन्। उनि भन्छन् ‘अहिले म सामुदायिक संस्थामा पनि आवद्ध छु। आफ्नै सीपबाट आत्मनिर्भर हुँदा धेरै आनन्द हुँदो रहेछ।’

आफूसंग भएको सीपको प्रयोग गरेमा आत्मनिर्भर बन्न सकिने औजीको भनाई छ। ‘स्वदेशमै थुप्रै सम्भावाना छन्। रोजगारीका लागि विदेश जानुपर्छ भन्ने केही छैन्। आफ्नो सीपको सदुपयोग गरेमा स्वदेशमै बसेर राम्रोसंग परिवार पाल्न सकिन्छ।’उनि भन्छन्, ‘सीप कुनै पनि सानो हुँदैन। तर सीपको सदुपयोग गर्नुपर्छ।’

अमर औजीको सिलाई पसलमा आजभोली निकै भीड हुने गरेको पुरचौडी नगरपालिकाका स्थानीय लालबहादुर भण्डारी बताउँछन्। उनि भन्छन् ‘हाम्रो क्षेत्रमा व्यवसायिक रुपमा सिलाई पेशा अमर औजीले शुरु गर्नुभएको हो। सिलाई पेशाबाट पनि व्यवसायिक बन्न सकिन्छ भन्ने उदाहरण उहाँले स्थापित गर्नुभएको छ। उहाँको व्यवसायिकताबाट अरुले पनि केही सिक्नु आवश्यक छ।’

अमर औजीले व्यवसायिक रुपमा सिलाई पेशा गरेर अरुलाई पनि आत्मनिर्भर बन्ने बाटो देखाएको पुरचौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगी बताउँछन्। उनि भन्छन् ‘हाम्रो समाजमा सिलाई पेशा गरेर कमाउन सकिन्छ भन्ने हेक्का नै थिएन। अमर औजीको यो प्रयासले सिलाई पेशाबाटै राम्रो कमाई गर्न सकिन्छ भन्ने प्रष्ट पारेको छ। अरु यूवाहरुलाई यो पेशातर्फ आकर्षणका लागि यो प्रयास सिकाइ हुन सक्छ।’

उनि थप्छन् ‘हाम्रो समाजमा पहिला लुगा सिलाए बापत अन्न दिने चलन थियो। अमर औजीको यो प्रयासले सिलाई पेशा व्यवसायिक बन्न सक्छ। यसबाट मानिस आत्मनिर्भर हुन सक्छ भन्ने कुरा सबैले थाहा पाएका छन्।’

पैसा कमाउनका लागि अरुको देशको जानुभन्दा स्वदेशमै मिहनेत गर्नुपर्ने औजीको तर्क छ। उनि भन्छन् ‘दलित समुदायका नागरिकमा थुप्रै किसिमका व्यवसायिक सीप छन्। तर तिनको व्यवसायिकताको बिषयमा नबुझ्दा समस्या भईरहेको छ। आफूमा भएको सीपको सदुपयोग गरेमा दलित समुदायका नागरिक आत्मनिर्भर बन्न सक्छन्। हाम्रो समुदाय सीपको खानी हो। तर ती सीपको सदुपयोग हुन सकिरहेको छैन्।’

तपाईको कमेन्ट