चोर्नुभन्दा फिल्म नबनाउनु राम्रो

writer

दीपेन्द्र लामा

शनिबार, २१ बैशाख २०७६


निर्देशक उज्ज्वल घिमिरेको पछिल्लो फिल्म ‘लभ स्टेसन’ले निकै आलोचना खेप्यो। पत्रकार, समीक्षक मात्र होइन, अरू फिल्मकर्मीले समेत खुलेरै फिल्मलाई गाली गरे। दुइटा टर्किस फिल्मको हुबहु नक्कल गरेर बनाइएको खुलासा भएपछि फिल्म आलोचित बनेको हो।

फिल्ममा लेखकका रूपमा सुवाससिंह बस्न्यात र निर्देशक घिमिरेको नाम उल्लेख गरिएको छ। दुई जनाको नाम देख्दा धेरैले पटकथामा निकै मेहनत गरिएको छ कि भन्ने विश्वास लिएका थिए। तर, टर्कीका दुई फिल्म ‘सेभिम्ली तेह्लीकेली’ र ‘हेर सेई अस्कतान’कै पटकथालाई जोडजाड गरेर ‘लभ स्टेसन’ बनाइएको रहेछ। 

कलाको एउटा उद्देश्य अरूलाई रचनात्मक हुन प्रेरित गर्नु हो। फिल्म पनि कलाको एक माध्यम हो। त्यसैले हरेक फिल्मले अरूलाई रचनात्मक बन्न प्रेरित गर्नैपर्छ। र, फिल्मको निर्माण पनि रचनात्मक प्रक्रियाबाट गरिनुपर्छ।

फिल्म निर्देशकलाई स्रष्टाकै रूपमा सम्मान गरिन्छ। कुनै पनि वस्तुको सृष्टि गर्नेलाई स्रष्टा भनिन्छ। तर, निर्देशक उज्ज्वल घिमिरे मात्र होइन, धेरै नेपाली निर्देशकले स्रष्टाको यो महत्तालाई बुझेको देखिँदैन। 

केही महिनाअघि कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’को नक्कल गरी बनाइएका ‘कोहलपुर एक्सप्रेस’ र ‘झमकबहादुर’ नामक दुइटा फिल्म रिलिज भए। त्यस्तै, ‘डन्ट ब्रिद’को फोटोकपीका रूपमा ‘शेरबहादुर’ पनि बनेको थियो। तर, यी तीन वटै फिल्मका निर्देशकले कतै पनि आलोचकसँग झगडा गरेको देखिएन।

उज्ज्वल घिमिरेले चाहिँ चोरेर फिल्म बनाउनु कुनै अपराध होइन भन्ने शैलीका समाचार आफ्नो फेसबुकमा पोस्ट गरे। केही अन्तर्वार्तामा उनले तर्क पनि दिए, ‘नेपालमा राम्रा लेखक छैनन्, त्यसैले प्रभावित भएर फिल्म बनाएँ।’ उनको स्पष्टीकरण आइरहँदा आलोचकहरू झन् भड्किए।

वास्तवमा आफूबाट चोरी नभएको दाबी गर्नु उनको पहिलो गल्ती थियो भने नक्कल गरेर फिल्म बनाउन पाउनुपर्छ भन्ने तर्क दिनु अर्को गल्ती। उनले आफूहरूबाट गल्ती भएकोमा माफी माग्दै भविष्यमा गल्ती नदोहोरिने बताएका भए सबैले सहानुभूति राख्थे। अथवा ‘लभ स्टेसन’ फिल्मभित्रै फलाना फिल्मबाट प्रभावित भनेर लेखिदिएको भए पनि कसैले टाउको दुखाउने थिएनन्। 
उनले चाहिँ कसैले थाहा पाउनेछैनन् भन्ने विश्वासका साथ ‘पे्रmम टू फ्रेम’ नक्कल गरेर फिल्म तयार पारे। युट्युब र अनलाइनको जमाना हो यो। यस्तो चोरी सधैँभर लुकेर रहन सक्दैन। त्यही भएर यो समयमा चोरी गरेर फिल्म नबनाउनु नै बुद्धिमानी हो।

मान्छेलाई सकारात्मकतातर्पm उन्मुख गराउनु पनि कलाको प्रेरणा हो। सकारात्मकता अर्थात् नैतिक रूपमा गलत भनिएका कामदेखि टाढा। तर, यहाँ त फिल्म निर्देशक आपैmँले गर्न नहुने काम गरेपछि के भन्नु ?

नयाँ रचना गरियो भने न स्रष्टा हुने हो। यसै गरी चोरीमा पल्किने हो भने भविष्यमा नेपाली फिल्म निर्देशक र चोर एकअर्काको पयार्यवाची शब्द हुन के बेर ? यसतर्पm सबैले बेलैमा सजग हुनुपर्ने देखिन्छ। र, चोरेर फिल्म बनाउने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्छ।

अर्को सर्जकलाई सम्मान गर्नु एउटा सर्जकको धर्म हो। सर्जकलाई सम्मान गर्नु भनेको उसको सिर्जनालाई पनि सम्मान र संरक्षण गर्नु हो। त्यसैले संसारका जुनसुकै कुनामा बनेका फिल्मलाई नेपाली फिल्मकर्मीले सम्मान गर्नुपर्छ। बाहिरका फिल्मको बिनाअनुमति नक्कल गरेर अपमानित गर्नु हुँदैन। 

फिल्म भनेको बौद्धिक सम्पत्ति हो। त्यसमा श्रम, सीप, सिर्जनात्मकता र ठूलो लागनी परेको हुन्छ। त्यसैले अरूको बौद्धिक सम्पत्तिलाई त्यत्तिकै प्रयोग गर्न पाइँदैन। कानुनले पनि दिँदैन। 

संसारमा बौद्धिक सम्पत्तिको सुरक्षाका लागि दर्जनौँ ऐन–कानुन बनेका छन्। नेपालमै प्रतिलिपि अधिकार ऐनको व्यवस्था छ। र, फिल्मलाई समेत यो ऐनले सम्बोधन गर्छ।

यो ऐनले नेपाली कृतिको मात्र संरक्षण गर्दैन, अन्तर्राष्ट्रिय कृतिको पनि संरक्षण गर्छ। विश्व व्यापार संगठन (डब्लूटीओ)का सदस्य राष्ट्रमा उत्पादित सामग्रीको अनधिकृत नक्कल गरेर नेपालमा बिक्रीवितरण गर्न नपाइने प्रावधान यसमा छ। 

नेपालले वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन (विपो) को समेत सदस्यता लिएको छ। यसमा सदस्य हुनु भनेको सबै सदस्य राष्ट्रका बौद्धिक सम्पत्तिको सुरक्षाप्रति प्रतिबद्धता जनाउनु हो। नेपालको सरकारी निकाय ‘प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय’ अहिले गीत–संगीतको रोयल्टी संकलनमा मात्र सक्रिय देखिन्छ। जबकि, यसले चाह्यो भने नेपालमा बिनाअनुमति नक्कल गरिएका फिल्ममाथि पनि कारबाही गर्न सक्छ।

‘लभ स्टेसन’का निर्देशक उज्ज्वल घिमिरेको अर्को गल्ती भनेको जिम्मेवारीबाट पन्छिनु हो। निर्देशकको जिम्मेवारी भनेको कथा खोज्नु हो। आपैmँले खोज्न नसकेको अवस्थामा अरू लेखकलाई खोज्न लगाउनुपर्छ। तर, उनले कथा खोज्न त खोजे, विदेशी फिल्ममा खोजे। मानौँ, नेपालमा कथै छैन। उनको काम गर्ने शैली हेर्दा बुझ्न सकिन्छ, उनका नजरमा नेपालमा रोचक कथाको अभाव छ। 

भर्खरै, बाह्रखरी अनलाइनले गरेको कथा लेखन प्रतियोगितामा सयौँ कथाकारको आवेदन परेको थियो। केही कथा आकर्षक नगदसहित पुरस्कृत पनि भए। उनले यो समाचार पढेनछन् कि कुन्नि ? 

सबै निर्देशकले कथा लेख्छन् भन्ने छैन। उनले पनि लेख्न जान्नैपर्छ भन्ने जरुरी छैन। तर, निर्देशकलाई कुन लेखकले कस्तो लेख्छ, त्यो चाहिँ थाहा हुनुपर्छ। र, उपलब्ध लेखकमध्ये उत्कृष्टलाई कथा लेख्न लगाउन सक्नुपर्छ। घिमिरेले यसो त गरेनन् नै। बरु, उल्टै ‘नेपालमा राम्रा लेखक छैनन्’ भनेर घोषणा गरिदिए। यो भनेको अरूको उपस्थिति र पहिचानलाई अस्वीकार गर्नु हो। नेपालका राम्रा लेखकको अपमान हो।

उनले उत्कृष्ट लागेर छनोट गरेको टर्किस फिल्मको कथा धेरैले ‘लभ स्टेसन’मा हेरे। तर, त्यो कतैबाट पनि उत्कृष्ट लाग्दैन। घिसिपिटी नै छ। यो वर्ष रिलिज भएका नेपाली फिल्मका कथाभन्दा पनि निकै कमजोर छ ‘लभ स्टेसन’को कथा। उनलाई प्रश्न, ‘के यस्तै हो उत्कृष्ट कथा ? नेपाली लेखकले यति पनि लेख्न सक्दैनन् र ?’

चोर्नु र प्रभावित हुनु फरक कुरा हुन्। तर, निर्देशक घिमिरेले ‘लभ स्टेसन’ प्रकरणमा दुवै एउटै हो भन्ने खालको तर्क गरेका छन्। फिल्मको कथा, सिक्वेन्स, सिन र सटसमेत चोरेको पाइएको छ, ‘लभ स्टेसन’मा। यो प्रभावित भएको होइन, सरासर चोरिएको हो।

प्रभावित भएर फिल्म बनाउँदा कस्तो हुन्छ भन्ने कुराको सबैभन्दा ठूलो उदाहरण तुलसी घिमिरेको ‘चिनो’ हो। बलिउडको ‘शोले’बाट प्रभावित भएर ‘चिनो’ बनाइएको थियो। त्यसमा ‘लभ स्टेसन’मा जस्तो सिक्वेन्स, सिन र सटसमेत चोरिएको थिएन। ‘शोले’को थिमबाट प्रभावित भएर कथा लेखिएको थियो। 

त्यसैले ‘चिनो’लाई चोरीको आरोप कहिल्यै लागेन। फिल्मलाई अहिले पनि सम्मानकै नजरले हेरिन्छ। त्यसैले चोरी गर्ने र प्रभावित हुनेलाई एउटै दर्जामा राख्न मिल्दैन। अर्काको सम्पत्ति चोर्नु अपराध नै हो, चाहे त्यो भौतिक होस् वा बौद्धिक। त्यसैले चोर्नुभन्दा फिल्म नबनाउनु नै राम्रो !

तपाईको कमेन्ट

मुख्य समाचार