गाँजामाथि संसारैभरि बहस

writer

सम्पूर्ण

शनिबार, २१ बैशाख २०७६


मान्छेको दिमाग २५ वर्षको उमेरसम्म विकास भइरहेको हुन्छ। त्यसभन्दा कम उमेरमा गाँजाको नियमित प्रभावले दिमागको विकासमा नकारात्मक असर पुर्‍याउँछ। 


उरुग्वेको राजधानी मोन्टेभिडिओको बाहिरपट्टि सानो बस्तीमा रहेको एउटा औषधि पसलबाहिर हरेक दिन दिउँसो लामो लाइन लाग्ने गर्छ। औषधि पसल यति सानो छ कि एक पटकमा एक जनालाई मात्र भित्र पस्न दिइन्छ। पालो कुर्न साह्रै दिक्कलाग्दो छ। तर, लाइनमा उभिएका अधिकांश तन्नेरीको अनुहारमा पर्खाइको पीडा देखिँदैन। उनीहरु या त सडकमा उभिएका हुन्छन्, या दुईतीन जनाको समूहमा सिँढीमा बसेर गफ चुटिरहेका हुन्छन्। 

औषधि पसलभित्र हरियो कोट लगाएका एक जना केमिस्टले उनीहरुलाई फिंगरप्रिन्ट स्क्यानरमा हाजिर गराउँछन्। यो विद्युतीय उपकरण केन्द्र सरकारको कम्प्युटरमा जोडिएको छ। स्क्यानरमा औँला राख्नेबित्तिकै कम्प्युटरले उनीहरुलाई सरकारी रासनको गाँजा दिने अनुमति दिन्छ या अस्वीकार गर्छ। यो गाँजा राज्यको नियन्त्रणमा उत्पादन गरिएको उच्च गुणस्तरीय हुनाले यसले कडा नशा दिन्छ। 

‘सडकमा अवैध गाँजा किन्दा २५ ग्रामको झण्डै सय डलर पर्छ,’ लाइनमा उभिएका एक युवा लुसियानोले भने, ‘त्यो गाँजामा कीटनाशक औषधि, बियाँ र बोक्रा पनि मिसिएको हुन्छ। तर, यहाँ त्यति नै गाँजा किन्न ३० डलर भए पुग्छ। यहाँको गाँजाको गुणस्तर पनि ग्यारेन्टी गरिएको हुन्छ। पाँच–पाँच ग्रामको प्याकेटमा दिइन्छ।’ 

सन् २०१७ को जुलाईमा उरुग्वेले देशभरि नै गाँजालाई वैधानिक बनायो। मनोरञ्जनात्मक उद्देश्यले गाँजा प्रयोगलाई वैधानिक बनाउने उरुग्वे पहिलो देश पनि बन्यो। ‘यो परिवर्तन निकै महत्त्वपूर्ण छ,’ गास्टन रोड्रिगेज लेपेरा भन्छन्। उनी सरकारका लागि गाँजा उत्पादन गर्ने दुई निजी कम्पनीमध्येको एक सिम्बायोसिसका शेयरधनी हुन्। ‘गाँजा वैध बनाउने विषयमा उरुग्वेलाई कसैको समर्थन थिएन,’ उनले भने, ‘त्यसैले समस्या परेको थियो। धेरैले यस्तो प्रणालीले काम गर्दैन भनेका थिए। तर, अहिले काम चलिरहेको छ।’ 

मात्र ३४ लाख जनसंख्या भएको उरुग्वे दक्षिण अमेरिकाको दुई भीमकाय राष्ट्र ब्राजिल र अर्जेन्टिनाको बीचमा छ। ब्राजिलमा २१ करोड र अर्जेन्टिनामा सवा चार करोड जनसंख्या छ। उरुग्वे उदार नीति अपनाउनमा दक्षिण अमेरिकामा मात्र होइन, विश्वमै अग्रस्थानमा छ। यो देशले महिलालाई अदालतको अनुमति लिएर पतिलाई सम्बन्धविच्छेद दिने अधिकार सन् १९१३ मै दिएको थियो। यहाँ गर्भपतन २०१२ मा वैध गराइएको थियो। क्युबाबाहेक महिलालाई गर्भपतनको अधिकार दिने उरुग्वे ल्याटिन अमेरिकाको एक मात्र मुलुक हो। 

तर, गाँजा वैध बनाउने प्रक्रियामा उरुग्वेले धेरै अवरोध सामना गर्नुपर्‍यो। मुलुकमा रहेका ११ सय फार्मेसीमध्ये १२ वटाले मात्रै गाँजा पूर्ति गर्ने सेवा दिन मञ्जुरी दिएका छन्। उरुग्वेमा दर्ता भएका गाँजा प्रयोगकर्ता १७ हजारभन्दा बढी छन्। त्यसैकारण फार्मेसीमा लामो लाइन लाग्ने गर्छ। सस्तो मूल्य र कम नाफाका कारण पनि औषधि पसलहरु यसमा अनिच्छुक देखिएका हुन्। गाँजासम्बन्धी व्यापारका खाता बैंकले चलाउन पनि मानिरहेका छैनन्।

फार्मेसीबाट गाँजा किन्न नचाहनेका लागि घरमै छ वटासम्म गाँजाको बोट हुर्काउने अनुमति पनि सरकारले दिएको छ। अन्यथा, ४५ सदस्यसम्मको ‘गाँजा क्लब’ को सदस्य बन्न पाइन्छ। जहाँ महिनाको ४० ग्रामसम्म गाँजा किन्न सकिन्छ। यद्यपि, पर्यटकलाई भने गाँजा बेच्न पाइँदैन। यो नियमले उनीहरुलाई रोकेको छैन। एक व्यक्तिलाई महिनामा दिइने ४० ग्राम गाँजा उबारेर नै पर्यटकलाई बेच्ने गरिएको छ। निकै कडा र गुणस्तरीय हुनाले थोरै गाँजाले पनि धेरै समय धान्ने गरेको छ। 

जहाँ गाँजा खुला छ

संसारका लगभग सबैजसो देशमा मनोरञ्जनका लागि गाँजा सेवन प्रतिबन्धित छ। यद्यपि, थुप्रैले यसलाई अपराधको सूचीबाट भने हटाउन थालेका छन्। सन् २०१८ मा क्यानडा गाँजा खुला गर्ने दोस्रो मुलुक बन्यो। क्यानडामा गाँजाको औषधीय प्रयोग त सन् २००१ देखि नै वैध थियो। अब आनन्दका लागि पनि धुवाँ उडाउन पाइने भएको छ। 

विश्वका थुप्रै स्थानमा गाँजा सेवन गर्नु, बोक्नु र बेच्नु अपराध मानिँदैन। अमेरिकाका ४६ राज्यमा गाँजा बिक्री वैधानिक भए पनि संघीय स्तरमा भने यो अवैधानिक नै छ। ती राज्यध्ये पनि अधिकांशमा औषधीय प्रयोगका लागि मात्र गाँजा खुला छ। अमेरिकामा महान्यायाधिवक्ताको कार्यालय तथा संसदीय समितिहरुले यसका लागि ‘लबिङ’ गरिरहेका छन्।

सीमित स्थानमा मात्रै आनन्दका लागि गाँजा सेवन गर्न पाइन्छ। पेरुमा गाँजाको व्यापार गर्न पाइन्न। तर, व्यक्तिगत प्रयोगका लागि बोक्न पाइन्छ। त्यस्तै, स्पेनमा पनि आफ्नो प्रयोगका लागि मात्र गाँजा उत्पादन गरे त्यसलाई अपराध मानिँदैन। किनबेच गर्न पाइँदैन तर देशमा आठ सयभन्दा बढी गाँजा क्लब छन्। जसको सदस्य बन्न ठूलो मेहनत गर्नुपर्दैन।  
नेदरल्यान्ड्समा कानुनी हिसाबले गाँजा अवैध छ। तर, गाँजा प्रयोगकर्ताप्रति सरकारी अधिकारीहरु आँखा चिम्लिने गर्छन्। गाँजा बेच्नु अवैधानिक हो तर त्यसमा सजाय हुँदैन। त्यसैले पसलहरुले निश्चित नियम मानुञ्जेल अधिकारीहरुले उनीहरुलाई चलाउँदैनन्। गत सेप्टेम्बरमा दक्षिण अफ्रिकाको संवैधानिक अदालतले गाँजालाई वैधानिक घोषणा गरिदियो। त्यसयता मानिसले व्यक्तिगत प्रयोग गर्न पाएका छन्। 

अमेरिकाको नेतृत्वमा लागुऔषधविरुद्ध चलाइएको अभियान असफल भएपछि यसरी विभिन्न देशले आ–आफ्नै कानुन बनाउन थालेका हुन्। यसबारे सबैभन्दा पहिले ल्याटिन अमेरिकी मुलुकका राष्ट्रपतिहरुले चर्चा प्रारम्भ गरेका थिए।

अमेरिकाभित्रका केही राज्यले गाँजा खुकुलो पार्नेबित्तिकै त्यसको असर अन्यत्र पनि देखिन थालेको थियो। ‘कोलम्बोको एउटा गाउँमा गाँजा खेती गर्नु अपराध हो भनेर कुनै किसानलाई कसरी बुझाउने ? जबकि कोलोराडोको गाँजा व्यापारी भने मालामाल भइरहेको छ ?’ कोलम्बियाका राष्ट्रपति हुआँ म्यानुएल सान्तोसले सन् २०१६ मा लेखेका थिए। 

गाँजाका जोखिम 

आजभोलि गाँजाको विरोध गर्ने व्यक्ति पाउन मुस्किल छ। अमेरिकामा त ६३ प्रतिशत मानिस गाँजा वैध बनाउनुपर्ने पक्षमा छन्। थुप्रैले गाँजालाई जिन्दगीको वरदानका रूपमा चित्रण गर्ने गरेका छन्। कतिपय यसलाई हानिरहित र अझ फाइदाजनक पदार्थका रूपमा व्याख्या गर्छन्। स्वास्थ्यमा यसले कुनै फाइदा नगरे पनि आर्थिक फाइदा गर्ने तर्क कतिपयको छ। 

प्रायःजसो गाँजा खुला गर्नुपर्छ भन्नेहरु गाँजाको फाइदा बखान गर्ने गर्छन्। यसले यौन क्षमता बढाउने, पीडा घटाउनेलगायत फाइदा गिन्ती गराइने चलन छ। अझ कतिपयले त गाँजाको लत लाग्दैन भन्ने गरेको पनि सुनिन्छ।

तर, यो कुरा पूरै सत्य होइन। सुन्दा यो कुरा सकारात्मक सुनिन्छ। तर, यसका बेफाइदा पनि छन्। गाँजा वैधानिक बनाउनुपर्छ भन्ने पक्षका तर्क प्रायः विगतका विभेदपूर्ण लागुऔषध कानुनको प्रतिक्रियामा जन्मेका हुन्। त्यसैले यो राजनीतिक माग बनेको छ। तर गाँजाको आम प्रयोगबाट समुदाय, व्यक्ति र अझ किशोरकिशोरीमा कस्तो असर पर्छ भन्नेबारे अध्ययन भएको देखिँदैन। 

विज्ञान के भन्छ ?

गाँजाको सेवनले नियमित र दिक्कलाग्दो कामलाई पनि रसिलो र नाटकीय बनाउँछ। जब तपाईं गाँजाको नशामा हुनुहुन्छ, स्कुल जानु, साथीभाइसँग घुम्नु, काम गर्नु वा सोफामा बसिरहनु पनि आनन्ददायक बन्न पुग्छ। दिमागमा असर गर्ने अन्य पदार्थले जस्तै गाँजामा रहेको टेट्राहाइड्रोकानाबिनोल नामक पदार्थले पनि दिमागमा पहिले नै उत्पन्न भइरहेको रसायनको मात्रा बढाइदिन्छ।

गाँजाको प्रयोग गर्दै जाँदा यसले हाम्रो दिमागको स्वाभाविक काम गर्ने क्षमता घटाउँछ। वयस्कमा त यसको असर केही कम देखिन्छ तर किशोरावस्थाका व्यक्तिमा यसले स्थायी प्रभाव पार्छ। गाँजाको प्रयोग गर्ने किशोरकिशोरीको संख्या बढ्दै गइरहेको अध्ययनहरुले देखाएका छन्। यस सन्दर्भमा तिनमा पर्ने असरबारे सोच्न जरुरी छ। 

के छन् खतरा ?

क्यानडामा पनि गाँजा खुला गर्ने निर्णयसँगै वैज्ञानिक र चिकित्सकहरुले यसको सम्भावित जोखिमबारे चेतावनी दिएका छन्। थुप्रै मानिसले गाँजाको सुरक्षित सेवन गर्छन्। तर, केहीमा यसबाट गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ। 
सबैभन्दा ठूलो चिन्ताको विषय भनेको यसको लत हो। गाँजाको लत लागिसकेपछि खुशी रहन गाँजा खाइरहनुपर्ने बाध्यता कतिपयमा सिर्जना हुन सक्छ। 

टोरन्टोकी ३३ वर्षीया भानेसा मार्कोव आफैँले यो समस्या भोगिन्। १५ वर्षको उमेरमा उनले गाँजा सेवन सुरु गरेकी थिइन्। स्कुलमा छउञ्जेल उनी साथीभाइसँग हप्तामा एकदुई पटक गाँजा तान्ने गर्थिन्। तर, स्कुल सकिएपछि उनी दैनिक तान्न थालिन्। ‘हेर्दा म स्वाभाविक जीवन बिताइरहेकी थिएँ,’ उनले भनिन्, ‘राम्रो जागिर थियो। तर, घरमा हुँदा म जतिबेला पनि गाँजा खाइरहेकी हुन्थेँ। अत्यधिक सेवनले मेरो स्वास्थ्य बर्बाद भयो।’

२० नाघेपछि मार्कोवलाई एन्जाइटीले सताउन थाल्यो। डिप्रेसनजस्ता समस्यासँग जुध्न थालिन्। त्यसपछि उनी डाक्टरकहाँ गइन्। डाक्टरले उनलाई गाँजा सेवन रोक्न सल्लाह दिँदा सुरुमा उनले मानिनन्। अन्ततः तीन वर्षअघि उनले गाँजा नछोडी सुख पाइनन्। कतिपयमा गाँजाले एन्जाइटी बढाउने गर्छ। 

२५ वर्षसम्म दिमाग विकास भइरहेको हुन्छ। त्यसभन्दा कम उमेरमा गाँजाको नियमित प्रभावले दिमागको विकासमा नकारात्मक असर पुर्‍याउँछ। कम उमेरका प्रयोगकर्ताको दिमागको फ्रन्टल कर्टेक्समा क्षति पुग्ने गर्छ। दिमागको यो क्षेत्र निर्णय क्षमतासँग सम्बन्धित हुन्छ। गाँजाको नियमित प्रयोगले सामान्य अवस्थामा मुड खराब हुने समस्या देखिने गरेको छ। 

गाँजाले मानव स्वास्थ्यमा पार्ने दीर्घ असरबारे अझै अध्ययन हुन बाँकी नै छ। वास्तवमा गाँजा वैधानिक बनाउनुपर्छ कि पर्दैन भन्ने प्रश्न नै गलत छ। सही प्रश्न के हो भने यसले मानिसको स्वास्थ्यमा कस्तो असर गर्छ ? त्यसको खोजी गर्नुपर्छ। उरुग्वेमा त प्रारम्भिक चरणमा गाँजाको खुलापनले काम गरेको छ। तर, यसले अन्यत्र काम गर्छ कि गर्दैन, अथवा यसले दीर्घकालीन अवस्थामा कस्तो असर गर्छ, हेर्न बाँकी नै छ।

नेपालमा पनि गाँजाको प्रतिबन्ध फुकुवा गर्नुपर्ने आवाज उठिरहेको छ। यस विषयमा कानुन परिवर्तन हुनुपर्ने माग राख्न थालिएको छ। हतारमा कानुन बनाउनुअघि गाँजा खुला गर्दा हुने नाफा र त्यसले निम्त्याउने जोखिमको तुलना गरेर हेर्नुपर्छ। त्यसपछि मात्रै यो दिशामा अघि बढ्नु बुद्धिमानी हुनेछ। 

–एजेन्सीको सहयोगमा कवि आचार्य

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि