पथरीमा मृत्यु शृंखला शव भेटिन्छ, कारण भेटिँदैन

writer

गोपाल दाहाल

शुक्रबार, २० बैशाख २०७६


पथरी क्षेत्रमा शृंखलाबद्ध रूपमा शव भेटिन थालेपछि स्थानीय बासिन्दा डराएका छन्। स्थानीय प्रहरी कार्यालयले पथरीवासीलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको उनीहरूको भनाइ छ। 


 मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा बस्ने २९ वर्षीया रूपा भनिने रीना बस्नेतले २०७५ पुस २३ गते आफ्नो फेसबुक आईडी ‘रीना खड्का बस्नेत’मा झोलुङ्गे पुलमा उभिएको फोटो पोस्ट गर्दै लेखिन्– ‘आकाशमा उड्ने काग कहिले तल झरेर मर्छ, त्यसकै प्रतीक्षामा छु।’

रीनाले छोरा साइमनलाई ट्याग गरेर त्यस्तो स्ट्याटस लेखेको १ सय ३ दिनपछि अर्थात् २०७६ वैशाख ७ गते बिहान उनी डेरा गरी बसेको घरको भुइँमा मर्निङ वाक गर्नेहरूले उनको नग्न शव देखे। घरको तीन तलामाथि रीनाको कोठा थियो। कोठामा १४ वर्षीय छोरा साइमन र रीना बस्थे।

कोठामा बियरको बोतल र रीनाका भित्री पहिरन भेटिए। त्यसैको तल भुइँमा भित्री वस्त्रसमेत नलगाइएको घोप्टो परेको अवस्थामा शव भेटिएपछि विभिन्न चर्चा परिचर्चा सुरु भयो। कसैले ‘बियरले मातेर माथिबाट लडेको’ अड्कल गरे। कसैले ‘माथिबाट झारेर मारिएको’ शंका गरे। धेरैजसो स्थानीयले ‘बलात्कारपछि हत्या गरिएको’ दाबी गरे।

अघिल्लो साँझ छोरासँगै पथरीमा आयोजित सांगीतिक कार्यक्रम हेर्न गएकी रीना रातको ११ बजेतिर घर फर्किएकी थिइन्। छोरा साइमनले प्रहरीलाई दिएको बयानअनुसार त्यस दिन कमल नेपाल नामका व्यक्तिबाट रीनाको मोबाइलमा पटक–पटक फोन आएको थियो। तर, रीनाले फोन नउठाई काटेकी थिइन्।

राति घर फर्किंदा पसलबाट बियर बोकेर आएकी रीनाले बियर खाइन्। छोरा त्यत्तिकै निदाए। बिहान बिउँझिँदा उनले मान्छेहरूले घेरिरहेको आमाको शव देखे। टाउकोमा चोट देखिएको शवको छेउमा रगत बगेको थियो। खुट्टामा बालुवा लागेको थियो।  ‘बाहिरी र भित्री वस्त्र कोठामै भेटिएको, खुट्टामा बालुवा देखिएको, शव नांगो रहेको’ अवस्थालाई आधार बनाउँदै स्थानीयले ‘बलात्कारपछि हत्या गरेर फालिएको’ दाबी चर्को बनाए।

उनका श्रीमान् सन्तोष बस्नेत भने वैदेशिक रोजगारीका लागि दुबईमा थिए। रीना पथरीमा श्रीमान्, आफू र छोराको नामका पहिलो अक्षरबाट नाम राखिएको ‘एसआरएस कस्मेटिक एन्ड गिफ्ट हाउस’ सञ्चालन गर्थिन्। शव भेटिएकै दिन पथरी उद्योग वाणिय संघले उनको मृत्युलाई लिएर विज्ञप्ति जारी ग¥यो।

विज्ञप्तिमा ‘यो घटनाले अपराधीहरू सक्रिय हुँदै गएको पुष्टि भएको’ उल्लेख गरिएको थियो। संघका अध्यक्ष दीपक बस्नेत र महासचिव अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा ‘दिनानुदिन बढ्दै गएको चन्दा आतंकदेखि रहस्यमय मृत्यू हुँदासम्म स्थानीय प्रशासनबाट कुनै पनि किसिमको शान्ति सुरक्षा महसुस हुन नसकेको’ भन्दै चाँडोभन्दा चाँडो अपराधी पत्ता लगाउन माग गरिएको थियो।

तर, प्रहरी प्रशासनले न स्थानीयको मागअनुसार अपराधी पत्ता लगाउन सक्यो, न त घटनाको स्पष्ट कारण भन्न सक्यो। अहिलेसम्म रीनाको हत्या, भवितव्य वा आत्महत्या के हो ? रहस्यकै रूपमा छ।

लगातार भेटिन्छन् शव 
पथरीमा शव भेटिने तर अपराधी वा कारण पत्ता नलागेको घटना यो मात्र थिएन। यसअघि फागुन १६ गते राति स्थानीय सिक्का बार एन्ड लाउन्जमा साथीहरूसँग रमाइलो गर्न गएका पथरी शनिश्चरे–७ का २७ वर्षीय षडराज तामाङको पनि त्यही बारनजिकै भुइँमा घोप्टो परेको शव फेला परेको थियो।

साथीहरूसँग गएका षडराजको सडकछेउमा रक्ताम्मे शव भेटिएपछि उनको परिवारले हत्या भएको दाबी गर्दै किटानी जाहेरी दियो। तर, प्रहरीले जाहेरी लिएन। प्रहरी निरीक्षक कमल बजगाईंले आरोपीहरूलाई पक्राउ गर्नुको साटो आर्थिक चलखेल गरेर पक्राउ परेकालाई पनि छाडेको भन्दै तामाङको परिवारले पत्रकार सम्मेलन ग¥यो।

‘हत्यारा पत्ता नलागेसम्म दाहसंस्कार नगर्ने’ अड्डी कसेका आफन्तले शव सड्न थालेपछि तीन सातापछि संस्कार गरे। शंकास्पद केहीलाई ल्याएर अनुसन्धान गरेको प्रहरीले परिवारको दाबीअनुसार अपराधी पनि पत्ता लगाएन, घटनाको कारण पनि स्पष्ट पारेन। तामाङको मृत्यु रहस्यमै रहेका बेला रीनाको उस्तै प्रकृतिको घटना भएको थियो।

षडराजको मृत्यु हुनुभन्दा अघि फागुन ३ गते पथरी बजारबाट तीन किलोमिटर पश्चिमको जंगलमा पर्ने मोरङ्गे खोलामा ५२ वर्षीया सावित्रा खतिवडाको शव फेला परेको थियो। झापा मेचीनगरको धुलाबारी घर भई काठमाडौँ बस्दै आएकी खतिवडाको शव पात टिप्न गएका स्थानीयले देखेका थिए।

शव भेटिएपछि पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले सञ्चारमाध्यममा ‘खतिवडाको कसैले हत्या गरेको हुन सक्ने’ बताएका थिए। तर, प्रहरीले घटनामा संलग्न कोही पनि पक्राउ गर्न सकेन।

यसअघि पनि पथरीमा शंकास्पद रूपमा शव भेटिएका थिए। सुस्त मनस्थितिकी रमा बरालको पथरी बजारकै पीपलबोटचोकमा शव भेटिएको थियो। पथरी नजिकैको श्रीजंघा वन क्षेत्रमा केही वर्षअघि पथरी शनिश्चरे–१ का २५ वर्षीय गोविन्द दर्नालको शव भेटिएको थियो।

पथरी नजिकैको कानेपोखरी जंगलमा एक भारतीय महिलाको शव पनि भेटिएको थियो भने पथरी क्षेत्रमै परिचय नखुलेका अर्का व्यक्तिको पनि शव भेटिएको थियो। तर, यी घटनामा न कोही पक्राउ परे, न प्रहरीले कुनै कारण पत्ता लगायो। अधिकांश घटनामा प्रहरी चुकेपछि स्थानीय आक्रोशित बने। स्थानीयले पोस्टमार्टम रिपोर्टको पनि विश्वास गरेनन्।

प्रहरीप्रति अविश्वासले आन्दोलन

पथरी क्षेत्रमा शृंखलाबद्ध रूपमा शव भेटिन थालेपछि स्थानीय डराएका छन्। स्थानीय प्रहरी कार्यालयले पथरीवासीलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको स्थानीयको भनाइ छ। षडराज तामाङ मृत्यु घटनामा अनुसन्धान गर्न सक्रियता नदेखाएपछि प्रहरी निरीक्षक कमल बजगाईंप्रति स्थानीय नकारात्मक बने। प्रहरीमाथि ‘अपराधीसँग मिलेमतो गरेको’ आरोपसमेत लाग्यो।

षडराज मृत्यु घटना सेलाउन नपाउँदै रीनाको उस्तै प्रकृतिको मृत्यु भएपछि पनि प्रहरीले स्थानीयलाई ‘घटनाको सत्यतथ्य पत्ता लाग्ने’ विषयमा आश्वस्त पार्न सकेन। स्थानीयले ‘रीनाको हत्या भएको’ आशंका गरिरहेका बेला प्रहरी निरीक्षक बजगाईंले अनुसन्धान नै नभई ‘माथिबाट झरेर मृत्यु भएको’ प्रतिक्रिया दिएपछि स्थानीय झनै आक्रोशित भए। प्रहरी निरीक्षक बजगाईंको स्थानीय व्यवसायीसँग पहिल्यैदेखि त्यति राम्रो सम्बन्ध थिएन।

रीनाको शव भेटिएकै दिन पथरी उद्योग वाणिज्य संघले ‘दिनानुदिन आपरधिक घटना हुँदासम्म प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम गर्न नसकेको’ र ‘सुरक्षामा हेलचेक्य्राइँ बढदै गए कडा कदम चाल्न बाध्य हुने’ भन्दै विज्ञप्ति निकाले पनि स्थानीयको आक्रोश झनै बढ्यो।

संघकै पूर्वउपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर आन्दोलन सुरु भयो। वैशाख ९ र १० गते स्थानीयले गरेको आन्दोलनले बजार  र यातायात बन्द भयो, सडकमै टायर बालेर सुरक्षाको माग गरियो। पथरीबजार तनावग्रस्त बन्यो। प्रहरी कार्यालय र नगरपालिका कार्यालयका अगाडि प्रहरीविरुद्ध नाराबाजी भयो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्दा पाँच जना घाइते भए। पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलासमेत प्रहरीको काम चित्तबुझ्दो नभएको भन्दै महिला जनप्रतिनिधि लिएर प्रहरी कार्यालय पुगिन्। स्थानीय संघ–संस्था पनि आन्दोलनमा होमिए।

राजनीतिक दलका स्थानीय नेताले समेत प्रहरीको कामप्रति असन्तुष्टि जनाए। स्थानीयले सुरक्षा माग गर्दै नगरप्रमुख दिलिपकुमार राईलाई ज्ञापनपत्र बुझाए। नगरप्रमुख राईले पनि प्रहरीको फितलो अनुसन्धानका कारण आपराधिक क्रियाकलाप बढेको प्रतिक्रिया दिए।

प्रदेश सांसद् सूयर्माराज राईले प्रदेशसभामा पथरी क्षेत्रमा शान्ति सुरक्षा कमजोर भएको भन्दै डिएसपीको कमान्डमा प्रहरी राख्नुपर्ने आवाज उठाए। उनले प्रहरी अधिकारीमाथि नै छानबिन गर्नुपर्ने माग गरे। उनले शृंखलाबद्ध घटनाले पथरी क्षेत्रमा भयको वातावरण सिर्जना गरेको भन्दै प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताउँदै घटना ढाकछोपको प्रयास भएको आशंका गरे।

सुरक्षा गोष्ठीका लागि विराटनगर आएका गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की लगायतलाई भेटेर मेयर दिलिपकुमार राईले सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाए।

त्यसपछि इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंलाई ‘सक्रियतापूर्वक अनुसन्धान कार्य अघि नबढाएको’ भन्दै त्यहाँबाट हटाइएर उनको ठाउँमा सुवास भट्टराईलाई जिम्मेवारी दिइयो। जिल्ला प्रहरी कार्यालयले डीएसपी नवराज ढुंगाना नेतृत्वको टोलीलाई अनुसन्धानको जिम्मा दियो। टोलीले अहिले पनि अनुसन्धान गरिरहेको छ।

‘बजारिएर मृत्यु’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोस्टमार्टम रिपोर्टमा अग्लो ठाउँबाट बजारिएर छाती र टाउकोमा गम्भीर चोट लाग्दा रीनाको मृत्यु भएको जनाइएको छ। तर, यो रिपोर्टप्रति स्थानीय आन्दोलनकारी अझै विश्वस्त बन्न सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसी स्थानीयबाट विभिन्न शंका भए पनि पोस्टमार्टम रिपोर्टले छाती र टाउकोको चोटले मृत्यु भएको देखिएको र भिसेरा रिपोर्ट आएपछि अझ प्रष्ट हुने बताउँछन्। भन्छन्, ‘अनुमानका भरमा विभिन्न कुरा आएका हुन् तर प्रहरीले अनुमान होइन, प्रमाणको आधारमा मात्र काम गर्छ।’

एसपी केसीका अनुसार प्रहरीले रीना मृत्युका विषयमा करिब ३० जनालाई सोधपुछ गरेको छ। त्यसमध्ये तीन जनालाई झुटो बोलेको पत्ता लगाउने पोलिग्राफ टेस्ट गरेको छ। उनी भन्छन्, ‘अझै अनुसन्धान जारी छ। अनुसन्धानको प्रमाणका आधारमा यथार्थ बाहिर आउँछ।’

युट्युब र अनलाइनको त्रास 

रीना मृत्यु घटनाको समाचार सार्वजनिक भएपछि काठमाडौँदेखि युट्युबर र अनलाइन सञ्चालन गर्नेहरू पथरी आइपुगे। अनि, उनका छोरा, छिमेकी, स्थानीय लगायतको अन्तरवार्ता लिए। देश र विदेशबाट सञ्चालित युट्युब च्यानलहरूले ‘रीना हत्याकाण्ड’ जस्ता शीर्षक राखेर घटनालाई सनसनीपूर्ण बनाए।

युट्युबमा ‘भाइरल’ बनाउने र भ्युज कमाउने नाममा अतिरञ्जित कुरा आउँदा भ्रम सिर्जना भएको भन्दै मोरङ प्रहरीले विज्ञप्ति नै जारी गरेर भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी दियो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ कतिपय अनलाइन र युट्युबले अनुसन्धानै नसकिएको घटनामा हत्या नै भएको दाबीसमेत गरेको बताउँछन्। भन्छन्, ‘युट्युब र विभिन्न अनलाइनमा आएका जथाभावी कुराले भ्रम छर्ने काम गरेपछि त्यस्तालाई निगरानी गरेका छौँ।’

एसपी केसी पनि यो घटनामा केही मिडियाले जिम्मेवारीपूर्ण भूमिका नखेल्दा आन्दोलन भएको बताउँछन्। ‘मिडियाले जसले जे भन्यो, त्यही नलेखेर यथार्थ खोजेको भए स्थानीय बासिन्दा भ्रममा पर्ने थिएनन् कि ?’ उनी भन्छन्।

नौ दिनपछि दाहसंस्कार

रीनाको शव भेटिएपछि आन्दोलनमा उत्रिएका स्थानीय र आफन्तले हत्या भएको दाबी गर्दै अपराधी पत्ता नलागेसम्म दाहसंस्कार गर्न मानेका थिएनन्। तर, घटनाको नौ दिनपछि गत आइतबार आफन्तले चतरास्थित सप्तकोशीमा उनको दाहसंस्कार गरे।

आन्दोलनका क्रममा टाउकोमा प्रहार गरेर हत्या गरिएको दाबी गर्दै आएका रीनाका जेठाजु दुर्गा बस्नेत पछिल्लो समय प्रहरीको अनुसन्धानबाट सत्यतथ्य पत्ता लाग्नेमा आशावादी रहेको बताउँछन्। आफन्तले रीनाको दाहसंस्कार गरे पनि आन्दोलनमा उत्रिएकाहरू भने दाहसंस्कारमा सहभागी भएनन्। उनीहरूले रीनाका आफन्तले न्यायको लडाइँमा साथ नदिएको भन्दै संघर्ष समिति विघटन गरिएको छ। उनीहरू भने दोषी पत्ता नलागेसम्म शव नबुझ्ने पक्षमा थिए।

बेलबारीमा अर्को मृत्यु

पूर्व–पश्चिम राजमार्गले छोएको मोरङको उत्तरी क्षेत्रमा पछिल्लो समय शंकास्पद मृत्यु र हत्याका घटना भइरहेका छन्। त्यही राजमार्गमा पर्ने पथरीबाट झण्डै २० किलोमिटर पश्चिममा रहेको बेलबारीमा गत फागुन १७ गते स्थानीय नेता योगेन्द्र गुरुङले आफ्नी २६ वर्षीया प्रेमिका रमिला राईको हत्या गरे। २६ दिनपछि राईको शव सप्तकोशी नदीमा फेला प¥यो। अहिले गुरुङ जेलमा छन्।

रमिला हत्याको चर्चा सेलाउन नपाउँदै वैशाख ५ गते बेलबारी–६ कसेनीकी २७ वर्षीया मुना भनिने सिर्जना राईको मृत्यु भयो। यो घटनाले अहिले बेलबारीमा नयाँ खालको चर्चा–परिचर्चा सुरु भएको छ। 

बिरामी भएको भनेर अस्पताल लगिएकी सिर्जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएपछि पोस्टमार्टम गरिएको थियो। माइतीपक्षले सिर्जना बिरामी भएको थाहा नभएको, अस्पताल लगिएपछि मात्र खबर गरिएको र पोस्टमार्टम गरिएकाले हत्या भएको दाबी ग¥यो।

सिर्जनाकी दिदी बिर्सनाले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिइन्। उनले मदिरा सेवन गरेर बहिनीमाथि उनको पतिले कुटपिट गर्ने गरेको र कुटाइका कारण मृत्यु भएको हुन सक्ने बताइन्।

सिर्जनाका काका तथा बेलबारी–६ का वडाअध्यक्ष उदयबहादुर राईले समेत हत्याको आशंका गरेपछि सिर्जनाका पति पर्वत राईसहित उनको परिवारले पत्रकार सम्मेलन गरेर सिर्जनाले अत्यधिक मदिरा पिउने गरेको र उनलाई जन्डिस भएको दाबी गर्दै भने, ‘सिर्जनाले पेट दुख्यो भनेपछि उपचारका लागि लगेका थियौँ। उपचारकै क्रममा मृत्यु भयो। तर, शोकमा परेका बेला माइतीपक्षले हाम्रो चरित्र हत्या गर्न खोजे।’ 

पति र परिवारले पत्रकार सम्मेलन गरेपछि सिर्जनाका काका तथा वडाअध्यक्ष राईले वडा समितिको लेटरप्याडमा विज्ञप्ति जारी गरेर ‘डाक्टर र त्यहीँ भएका प्रहरीले शरीरमा चोट देखेपछि पोस्टमार्टम नगरी शव आफन्तलाई नबुझाउने भनेकाले आफूले चासो लिएको’ भनेका छन्।

सिर्जनाको मृत्यु घटनामा परिवार र माइतीपक्षको फरक राजनीतिक आस्थाका कारण पनि विवादले चर्को रूप लिएको स्थानीय बताउँछन्। माइतीपक्ष तत्कालीन एमालेमा आबद्ध थिए भने श्रीमान्को परिवार भने कांग्रेसमा आबद्ध थियो।

कांग्रेसको गढ भनिने सो वडामा गत स्थानीय निर्वाचनमा एमालेबाट सिर्जनाका काका उदयबहादुरको प्यानल विजयी भएको थियो। त्यसयता दुई परिवारको सम्बन्ध राम्रो थिएन। पर्वत र उनका सालाबीच कुटाकुटसमेत भएको थियो। सिर्जना र पर्वतको छ वर्षअघि प्रेमविवाह भएको थियो।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर रामकुमार राईले शवको पोस्टमार्टम भए पनि भिसेरा रिपोर्ट नआएकाले हत्या हो वा मृत्यु भन्ने प्रष्ट नभएको बताए। प्रहरीले सोधपुछ गर्दा पति पर्वतले लडेर चोट लागेको बताएका छन्। पोस्टमार्टम रिपोर्ट आइसके पनि प्रहरीले सार्वजनिक गरेको छैन। इन्स्पेक्टर राई भन्छन्, ‘भिसेरा रिपोर्ट नआएसम्म पोस्टमार्टम रिपोर्टले मात्र सबै कुरा नखुल्ने भएकाले सार्वजनिक नगरिएको हो।’

उत्तरी मोरङका पूर्व–पश्चिम राजमार्ग पछिल्लो समय ‘मृत्युमार्ग’ बनिरहेको भन्दै स्थानीयवासी त्रसित छन्। एसपी मनोजकुमार केसी भने यस्ता घटना अन्यत्र पनि हुने भएकाले यसलाई स्वाभाविक मान्छन्। ‘यस्ता घटना यहाँ मात्र भएका होइनन्,’ उनी भन्छन्, ‘यहाँको बढी हल्लाखल्ला भएको मात्र हो। प्रहरीले सबैको अनुसन्धान गरेको छ। सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ।’                                                                                         

तपाईको कमेन्ट

छुटाउनु भयो कि