कलाकार होइन  निर्देशकको नाम बिक्नुपर्छ

writer

दीपेन्द्र लामा

सोमबार, १६ बैशाख २०७६


अमेरिकी निर्देशक क्लिन्ट इस्टवुड

मिडियामा निर्देशकभन्दा कलाकारको बढी ‘कभरेज’ हुने गर्छ। कलाकारको ग्ल्यामरमै रुमल्लिएको छ मिडिया। मिडिया मात्र होइन, फिल्म क्षेत्रका अरू सरोकारवालाको व्यवहार पनि उस्तै छ। मानौँ, फिल्म भनेको कलाकारले मात्रै बनाएका हुन्, निर्देशकको कुनै भूमिका छैन।

नेपालमा कलाकारका फ्यान भेटिन्छन्। तर, निर्देशकका फ्यान खासै भेटिँदैनन्। दर्शक पनि निर्देशक होइन, कलाकारको फोटो वा नाम हेरेर फिल्मको टिकट काट्छन्। मिडियाले समाचार बनाउँदासमेत निर्देशकलाई ओझेलमा पार्दै फलाना कलाकारको फिल्म भनेर उल्लेख गरिदिन्छन्।
‘स्टार’ कलाकारको अभिनय छ भने सबैले फिल्मप्रति आत्मीय व्यवहार देखाउँछन्। त्यसमा ‘निर्देशक को’ भनेर सोध्दा पनि सोध्दैनन्। तर, निर्देशक जतिसुकै खारिएको किन नहोस्, ‘स्टार’ कलाकार संलग्न छैनन् भने त्यस्ता फिल्ममाथि कसैले पनि चासो राख्दैनन्।

जबकि, कलाकारले चाहँदैमा फिल्म राम्रो बन्न सक्दैन। कलाकारले जति मिहेनत गरे पनि निर्देशकसँग सीप छैन भने फिल्म राम्रो बन्दैन। यो ध्रुवसत्य कुरा हो। यसको उदाहरण राजेश हमाल नै हुन्। उनी प्रतिभाशाली कलाकार वा ठूला ‘स्टार’ कहलिए। तर, उनका फिल्म राम्रा बन्न सकेनन्।

हमालले जत्तिकै मिहेनत उनका निर्देशकले गरेका भए अथवा उनको जत्तिकै व्यक्तित्व उनका निर्देशकमा भएको भए त्यो कालखण्डमा धेरै राम्रा फिल्म बन्थे। त्यतिबेला कलाकार होइन, निर्देशकले गर्दा फिल्म राम्रो बन्छ भन्नेतर्पm कसैको ध्यान गएन। धेरैजसोले हमाललाई खेलाए, हमालमाथि ध्यानकेन्द्रित गरे तर फिल्म चाहिँ फितलो बनाए।

२०७५ सालमा रिलिज भएका फिल्मको ‘बक्सअफिस रिपोर्ट’लाई अध्ययन गर्ने हो भने पनि छर्लंग हुन्छ कि ‘स्टार’कै कारण फिल्म चल्ने ग्यारेन्टी हुँदैन। ‘स्टार’ भनिएका अनमोल केसीको ‘क्याप्टेन’ र प्रदीप खड्काका ‘रोज’ तथा ‘लभ स्टेसन’ चलेनन्। तिनका फिल्मले लगानीसमेत उठाउन सकेनन्।

दर्शकले फिल्ममा ‘कन्टेन्ट’ नै खोज्छन्। र, फिल्मलाई खँदिलो, पोषिलो बनाउने काम निर्देशकले नै गर्छन्। कलाकार त्यसको एउटा हिस्सा मात्र हो।

तैपनि, ठूलो जमात ‘स्टार’ कलाकारकै पछि लाग्छन्। फिल्ममा खेलाउन मरिहत्ते गर्छन्। जति माग्यो त्यति नै पारिश्रमिक दिन तयार हुन्छन्। यसमा केही कारण छन्। 

पहिलो कारण, निर्देशकलाई आफ्नो क्षमतामाथि भरोसा नहुनु। आफूले बनाएको फिल्म राम्रो हुन्छ वा हुँदैन, ऊ आपैmँ द्विविधामा छ। ‘स्टार’लाई नलिएर फिल्म चलेन भने त्यसको अपजस आफूमाथि नै आउँछ भन्ने कुराले ऊ डराउँछ। त्यसैले एउटा ‘स्टार’लाई खेलाइदियो, फिल्म चले ठीकै, नचले ‘स्टार’लाई नै दोष दिएर आफू उम्किन्छु भन्ने उसको दाउ हुन्छ।

निर्मातालाई लगानीका लागि ‘कन्भिन्स’ गर्न पनि ‘स्टार’को सहारा लिइने गरिन्छ। लगानीकर्ताले निर्देशकभन्दा कलाकारमाथि बढी विश्वास गर्छन्। जुन प्रोजेक्टमा ‘स्टार’ छ, त्यसमा मात्र लगानी गर्ने मनसाय निर्माताको हुन्छ। विचरा निर्देशकले के गरोस् ? ‘फलानो ‘स्टार’लाई खेलाउने, त्यसो गर्दा न्यूनतम यति करोड व्यापार त पक्का गर्छ’ भन्दै निर्देशक आफैँ लगानीकर्ताकहाँ पुग्ने गर्छन्। 

निर्माताले ‘स्टार’ खोज्नुको कारण पनि जायज छ। फिल्मको काम सकिएपछि रिलिजका लागि निर्माताले वितरकसँग सम्पर्क बढाउँछ। त्यतिबेला वितरक तथा हलवालाले फिल्ममा ‘निर्देशक को हो’ भनेर सोध्दैनन्, ‘हिरो’कै बारेमा सोध्छन्। ‘स्टार’ भएन भने वितरकले ‘रिलिज डेट’ दिँदैनन्। फिल्म लिनै मान्दैनन्। निर्माताको फोन नै उठाउँदैनन्। हलवालाले पनि त्यस्ता फिल्म लगाउन खासै जाँगर चलाउँदैनन्।

बेलायतका अल्फ्रेड हिचकक, जापानका आकिरा कुरोसावा, भारतका सत्यजित रे, इरानका माजिद माजिदी र चीनका झाङ यिमु केही त्यस्ता निर्देशक हुन्, जसको नाम संसारभर बिक्छ। फिल्मका गम्भीर पारखीहरू उनीहरूका फिल्म खोजी–खोजी हेर्छन्।

अरू पनि थुप्रै निर्देशक छन्, जसको नामबाट फिल्मले दर्शक बटुल्छ। नेपालमा भने यस्ता निर्देशकको उपस्थिति छैन। हामीकहाँ नाम चलेका निर्देशक त छन्, तर उनीहरू आफ्नो निर्देशनमा सधैँ सन्तुलित र परिपक्व लाग्दैनन्। कुनै फिल्म राम्रै बनाउँछन्, कुनै नराम्रो। एक किसिमको स्थायित्व देखिँदैन।

यही कारणले पनि नेपालमा निर्देशकको नाम ‘ब्रान्ड’का रूपमा स्थापित भइसकेको छैन। केही निर्देशकका फिल्म चलेका पनि छन्। तिनले पैसा कमाएका पनि छन्। तर, ती फिल्मबाट गम्भीर दर्शक सन्तुष्ट छैनन्।

आफूलाई ‘ब्रान्ड’ बनाउन नेपाली निर्देशकले धेरै मिहेनत गर्न जरुरी छ। सरोकारवालाले पनि निर्देशकको काम कसरी राम्रो हुन्छ, त्यता ध्यान दिनुपर्छ। सकेसम्म निर्देशककै नामबाट फिल्म बिक्ने अवस्था सिर्जना हुनुपर्छ। निर्देशकको कामबाट दर्शक लोभिनुपर्छ। दर्शकको प्राथमिकतामा कलाकार होइन, निर्देशक पर्न सकून्।

फिल्म भनेको निर्देशकको अभिव्यक्ति हो। कलाकार हेरफेर गर्दा फिल्ममा खासै फरक पर्दैन। तर, निर्देशक फेरियो भने फिल्म नै अर्को बन्न सक्छ।

निर्देशकले कलाकारलाई ‘ब्रेक’ दिने हो, कलाकारले निर्देशकलाई होइन। सधैँ ‘स्टार’को पछि लाग्यो भने नयाँ कलाकार जन्मिँदा पनि जन्मिँदैन। त्यसैले फिल्ममा सधैं ‘स्टार’ कलाकार खोज्ने प्रवृत्ति राम्रो होइन। बरु, निर्देशकले कस्तो काम गरेछन्, त्यसको स्वाद लिनु बुद्धिमानी हो।

‘स्टार’ कलाकारको आयु छोटो हुन्छ। नेपालमा हरेक ‘स्टार’ पाँच–सात वर्ष मात्र टिकेका पाइन्छन्। ‘हिरोइन’ शैलीका अभिनेत्रीको करिअर झन् छोटो हुन्छ। निर्देशक चाहिँ राम्रो फिल्म बनाइरहे आजीवन टिक्न सक्छन्। जस्तै, ८८ वर्षका क्लिन्ट इस्टवुड अहिले पनि फिल्म निर्देशन गर्दै छन्।

हाम्रोजस्तो सानो बजार भएको ठाउँमा निर्देशकको नामले फिल्म चल्दा फाइदा छ। निर्देशकका भरमा फिल्म चल्यो भने फिल्मको बजेट रातारात बढ्दैन। एक करोड रुपैयाँमा फिल्म बन्ने अवस्था हुँदाहुँदै दुई करोड रुपैयाँसम्म खर्च हुनुको एउटा कारण ‘स्टार’ कलाकारले महँगो पारिश्रमिक लिनु पनि हो।

सबै जना ‘स्टार’लाई लिन हानथाप गर्दा कलाकारले आफ्नो भाउ बढाउनु अस्वाभाविक होइन। कुन निर्देशक राम्रो होइन कि कुन फिल्ममा पारिश्रमिक राम्रो छ, त्यो बुझेर कलाकारले फिल्म खेल्ने गर्छन्। पैसामुखी बन्न खोज्दा धेरै ‘स्टार’ बेलाबेला पछारिएका पनि छन्।
निर्देशककै नामले फिल्म चल्न थालेमा महँगा ‘स्टार’को माग घट्नेछ। त्यसपछि कलाकारको पारिश्रमिक वैज्ञानिक आधारमा तय हुनेछ। यसले फिल्मको बजेटलाई स्थिर बनाउँछ। बजेट बढ्दैन। 

हिट निर्देशकले बढी पारिश्रमिक मागे के गर्ने ? धेरैले यस्तो प्रश्न गर्न सक्छन्। वास्तवमा कलाकारलाई बढी पैसा दिनुभन्दा निर्देशकलाई दिनु न्यायसंगत हुनेछ। निर्देशकलाई पनि सहनिर्माताकै रूपमा प्रोजेक्टमा सहभागी गराउन सकिन्छ। फिल्मले कमाएमा निर्देशकले पैसा पाउँछन्, नकमाएमा पाउँदैनन्।

निर्देशकको नाम हेरेर फिल्म छनोट गर्ने दर्शकले फरक–फरक स्वादमा रमाउने अवसर पाउनेछन्। किनभने, एउटै निर्देशकले समेत हरेक फिल्ममा फरक शैलीमा काम गरेका हुन्छन्। एउटै कलाकारको पछि लाग्दा चाहिँ दर्शक एकैखाले अभिनयको ‘ओभरडोज’ले निराश बन्नुपर्ने हुन सक्छ। त्यसैले नेपाली फिल्मको असली प्रगति त्यतिबेला हुनेछ, जतिबेला फिल्ममा ‘स्टार’ होइन, निर्देशकको नाम बिक्न थाल्छ।

 

तपाईको कमेन्ट

मुख्य समाचार