‘पुसको झरीमा रुझेर  काम गरियो’

writer

निरु पाण्डे

सोमबार, १६ बैशाख २०७६


सुहाना थापा, अभिनेत्री

भर्खरै रिलिज भएको ‘ए मेरो हजुर–३’ मेरो डेब्यू फिल्म हो । आमा झरना थापाले निर्देशन र बुबा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मबाट मैले आफ्नो करिअर सुरु गरे । फिल्म क्षेत्र मेरा लागि नौलो हो ।

तर, मेरा आमाले यस क्षेत्रमा लामो समय बिताइसक्नुभएको छ । उहाँलाई सानैदेखि टीभीको पर्दामा हेर्दै आएकी छु । उहाँकै साथ र सहयोगका कारण मलाई क्यामरा फेस गर्न त्यति गाह्रो भएन । फिल्ममा मैले धेरै मेहनत गरेँ । फिल्मबाट राम्रो प्रतिक्रिया पनि पाइरहेकी छु । 

फिल्ममा अनमोल केसी, सलोन बस्नेत, रवीन्द्र झा, सरोज खनाल, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् । एक स्टार गायक र उसको प्रशंसकबीच हुने पे्रम सम्बन्ध तथा त्यसबीच आइपर्ने उतारचढावलाई फिल्ममा देखाइएको छ ।

फिल्ममा अनमोलको फ्यानको भूमिका निर्वाह गर्न पाउँदा खुशी लाग्यो । अरू कलाकारले पनि धेरै सहयोग गरे । विशेष गरी मेरो आमाले । मैले नजान्दा उहाँले ‘यसरी गर’ भनेर सम्झाउनुहुन्थ्यो । बाबाले पनि सहयोग गर्नुहुन्थ्यो । उहाँहरूकै कारण मैले फिल्ममा काम गर्ने मौका पाएँ ।

फिल्मका सबै कलाकारसँग चिनजान भएकाले काम गर्न अप्ठ्यारो भएन । तर, पुसको जाडोमा पानी परेको बेला रातभर भिजेर सुटिङ गर्दा चाहिँ गाह्रो भयो । जाडोले रुनै मन लाग्यो । तर, आफूलाई सम्हाल्दै जस्तोसुकै कामलाई चुनौतीको रूपमा लिनुपर्छ भन्दै अघि बढेँ । पहिलो पटक भएर होला सुटिङ गर्दा एकदमै रमाइलो भयो । काठमाडौँ, पोखराको कास्कीकोट र न्युयोर्कमा फिल्मको सुटिङ भयो । 

सुटिङमा मैले खूब रमाइलो गरे । विद्यार्थी भएकाले सुटिङसँगै पढाइ पनि मेरो प्राथमिकतामा पर्छ । राम्रो फिल्मको अफर पाएँ भने सक्रिय भएर अभिनयमा लाग्नेछु ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट