त्यो तीन मिनेट

writer

सृजना खड्का

मङ्गलबार, १० बैशाख २०७६


मिथिला शर्मा, अभिनेत्री

फिल्म ‘विश्वास’बाट नेपाली फिल्ममा डेब्यू गरेकी थिएँ। यस फिल्मका निर्देशक चेतन कार्की हुनुहुन्थ्यो। यो २०४२÷४३ सालतिरको कुरा हो। एक पटक चेतन दाइ महिन्द्र पुलिस क्लबमा आउनुभएको थियो।

उहाँ त्यहाँ वरिष्ठ संगीतकार गोपाल योञ्जनसँग त्यही फिल्मका लागि संगीतका बारेमा कुरा गर्न आउनुभएको रहेछ।  त्यही बेला चेतन दाइसँग मेरो भेट भयो। त्यहाँ विभिन्न कार्यक्रमका लागि हामी रिहर्सल गरिरहेका हुन्थ्यौँ। उहाँले मलाई पनि त्यस फिल्ममा काम गराउने इच्छा व्यक्त गर्नुभयो। 

‘बाछी भन्छ बाँबाँ, बाखरीले म्याँ, बिरालोले म्याउँ म्याउँ, म त भन्छु माँ’ बोलको गीत चेतन दाइले लेख्नुभएको रहेछ। त्यसमा गोपाल सरले संगीत भर्नुभएको थियो र गायिका विमला राईले गाउनुभएको थियो। त्यही गीतमा मैले शिक्षिकाको भूमिका निर्वाह गर्ने कुरा पक्कापक्की भयो।
फिल्मको सुटिङ पोखराको एसओएस स्कुल र पोखराकै छोरेपाटनमा भएको थियो।

त्यो फिल्म खेल्दा म १६ वर्षकी थिएँ। गीतमा मेरो रोल मात्र तीन मिनेटको थियो। तर, त्यही तीन मिनेटको गीत मेरो जीवनका लागि सबैभन्दा अविस्मरणीय क्षण रह्यो। त्यस गीतमा मैले मेरो साथी विमला राईको सारी लगाएकी थिएँ। मेकअपका लागि भारतबाट मान्छे ल्याइन्थ्यो। त्यो फिल्ममा सन्तु तामाङ भन्ने एक जना भाइले मेकअप असिस्टेन्टको काम गरेका थिए। कपाल चाहिँ सुधा आन्टीले बनाइदिनुभएको थियो।

फिल्ममा शिव श्रेष्ठ, रोशी कार्की, राजश्री क्षत्री, अर्जुनजंग शाही आदि कलाकार हुनुहुन्थ्यो। क्यामरापर्सन मञ्जुर श्रेष्ठ हुनुहुन्थो। वसन्तजंग रायमाझी नृत्यनिर्देशक हुनुहुन्थ्यो। तर, मैले गरेको त्यो गीतको निर्देशन चेतन दाइले नै गर्नुभएको थियो। त्यस फिल्मको सहायक नृत्य निर्देशन गर्ने मौका मैले पाएकी थिएँ। लामो समय फिल्डमा खटिएर काम गर्नुपर्दा घामले डढेर मुखको एक पत्र छाला निस्किएको थियो।

फिल्मको सम्पूर्ण तयारी सकिएपछि प्रदर्शन भयो। तीन घण्टाको फिल्ममा दर्शकले मलाई मुश्किलले तीन मिनेट देख्नुभयो। त्यही तीन मिनेटको रोल पनि त्यो बेला एकदमै हिट भयो। मेरो कामलाई धेरै दर्शकले मन पराइदिनुभयो। लामो रोल मात्र होइन, सानो रोलबाट पनि दर्शकमाझ आफ्नो छाप छाड्न सकिन्छ भन्ने कुरा मैले त्यहीबाट बुझेँ। त्यो कुरालाई म स्वयंले प्रमाणित गरेँ।

त्यही तीन मिनेटको भूमिकाले मलाई फिल्म क्षेत्रमा यति लामो यात्रासम्म स्थापित ग¥यो। कलाकारिता क्षेत्रमा काम गर्ने हिम्मत, हौसला र आत्मविश्वास ममा त्यही फिल्मबाट जाग्यो। जसकारण आजको दिनसम्म पनि यस क्षेत्रमा निरन्तर लागिरहेकी छु। ‘विश्वास’ फिल्मले दर्शकमाझ दिलाएको सम्मान र मायालाई आत्मसात् गर्दै जीवनको अन्तिम क्षणसम्म पनि कला क्षेत्रमा हुनेछु। 
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट