मेरो छोरो ‘मिल्का’

writer

रचना श्रेष्ठ

मङ्गलबार, १० बैशाख २०७६


नम्रता सापकोटा, अभिनेत्री

सानैदेखि घरपालुवा जनावरसँग लगाव थियो। हाम्रो घरमा कुकुर कि बिरालो भइ नै रहन्छ। अहिले पनि छ। अहिले हाम्रो घरमा कुकुर छ। मैले उसको नाम ‘मिल्का सापकोटा’ राखेकी छु। तर, मिल्का कुकुर नभई मेरा लागि छोराजस्तै हो। उसलाई म दशैँमा टीका पनि लगाइदिन्छु। 

अहिले ऊ चार वर्षको भयो। खैरो रङको मेरो छोरोलाई म धेरै माया गर्छु। सुटिङमा हुँदा मात्रै ऊ मेरो साथमा हुँदैन। तर, जब म घरमा हुन्छु, मिल्का जतिखेर पनि मसँगै हुन्छ। मसँगै खेल्छ, चल्छ। 

एउटा आमाले बच्चालाई जसरी स्याहारसुसार गर्छ, त्यसरी नै म उसको रेखदेख गर्छु। जे खान्छु, उसलाई पनि त्यही खान दिन्छु। जहाँ जान्छु, उसलाई पनि आफूसँगै लैजान्छु। घरमा अरूसँग पनि घुलमिल हुन्छ ऊ। शान्त स्वभावको मिल्कालाई बाहिरतिर घुमाउन लैजान्छु।

मर्निङ वाकतिर वा कतै रमाइलो शान्त ठाउँमा घुमाउन लैजाने गरेकी छु। धेरै भीडभाड भएको ठाउँमा त खासै लैजादिनँ। कहिलेकाहीँ कुनै कार्यक्रम हुँदा साथीभाइको ग्रुपमा भनै लैजान्छु।  

उसले धेरैजसो उसिनेको आलु र रोटी खान्छ। भात, अण्डा, फलफूल पनि खान्छ। तर, मासु चाहिँ खान दिन्नँ। गर्मीमा त कपडा लगाइदिन्नँ तर जाडोमा उसलाई न्यानो लुगा लगाइदिन्छु। हप्तामा एकचोटि नुहाइदिन्छु। ‘ड्राई बाथ पाउडर’ चाहिँ सधैँ लगाइदिने गरेकी छु।  

कुनै बेला ‘मुड अफ’ भएर रिसाइराखेको बेला मिल्का मेरो अगाडि आउँछ। अनि, मेरो मुख टुलुटुलु हेरेर बस्छ। मेरो मुड उसले बुझ्छ। उसको त्यही बानी मलाई असाध्यै राम्रो लाग्छ। घरमा पाहुना आउँदा पनि ऊ मेरो मुख हेरेर बस्छ। मसँग बसेर टीभी हेर्छ। 

सुटिङबाट घर फर्किंदा गेटमै आएर बस्छ। म आएको देखेर उफ्रिन्छ, खुशी हुन्छ। सुटिङबाट थाकेर घर पुग्दा उसलाई देख्नेबित्तिकै सबै थकान मेटिन्छ। मिल्काको लागि मैले छुट्टै घर बनाइदिएको छैन। हामी बस्ने घरभित्रै बस्छ र सुत्छ। 

कहिलेकाहीँ ऊ बिरामी हुँदा मलाई एकदमै नरमाइलो लाग्छ। सामान्य बिरामी हुँदा त घरमै डाक्टर बोलाएर उपचार गराउँछु। तर, उसलाई निकै गाह्रो भएपछि अस्पताल लग्ने गरेकी छु। मिल्काको हेरचाहमा कुनै कमी हुन दिएकी छैन। धेरै माया गरेर पालेकी छु, मेरो छोरो मिल्कालाई। 

तपाईको कमेन्ट