‘पगसँग जिस्किन मज्जा लाग्छ’

writer

सम्पूर्ण

मङ्गलबार, १० बैशाख २०७६


सलिनमान बनियाँ, अभिनेता

मेरो घरमा अहिले पग प्रजातिको एउटा कुकुर छ। त्यसको नाम हामीले ‘पग’ नै राखिदिएका छौँ। उसको जीउ सेतो छ। मुख भने कालो छ। मेरो दिदी सलोनाले उसलाई तीन वर्षअगाडि घरमा ल्याउनुभएको थियो। घरमा उसलाई सबैले प्यारो गर्छन्। उसलाई हामी आफ्नो परिवारको सदस्य मान्छाँै।

मलाई फुर्सदको बेलामा पगसँग चल्न र जिस्किन एकदमै मज्जा लाग्छ। उसलाई घरबाहिर खासै लैजाने गरेका छैनौँ। प्रायः ऊ र म कौसीमा बसेर खेल्छौँ। घरको मान्छे बाहिर गएर आएपछि ऊ खुशीले उफ्रिने÷कराउने गर्छ। उसलाई कसैले गाली ग¥यो भने बुझिहाल्छ।

मान्छे जसरी नै चित्त दुखाउँछ। आँखाभरि आँशु पार्छ। गाली गर्ने मान्छेलाई नै ‘बेक्कार गाली गरेछु’ भन्ने बनाउँछ। उसले चित्त दुखाउँछ भनेर हामी कसैले पनि उसलाई हत्तपत्त गाली गर्दैनौँ। 

पग भुइँमा पटक्कै बस्न मन पराउँदैन। हामीसँगै ओछ्यानमा बस्छ र त्यहीँ सुत्छ। घरमा उसको ख्याल जसले राख्छ, जसले उसलाई माया गर्छ, उसैको पछिपछि लाग्छ। उसैको काखमा गएर बस्छ।

मिल्क बोन उसलाई एकदमै मन पर्ने खानेकुरा हो। मिल्क बोन खान पाएको दिन मख्ख पर्छ। पगले हामीले अह्राएको कुरा मान्छ। उसको त्यो बानी मलाई एकदमै मन पर्छ। कहिलेकाहीँ अह्राएको टेरेन भने उसलाई मन पर्ने खानेकुरा दिनुपर्छ।

त्यसपछि जे भने पनि खुरुखुरु मान्छ। उसले घरमा आएका कसैलाई पनि टोक्ने÷कराउने गर्दैन। घरमा आएका कसैलाई कुकुर मन नपर्ने अथवा डर लाग्ने भए उसलाई रुममा थुनेर राख्ने गरेका छाँै। हामीले उसलाई कहिल्यै पनि साङ्लोले बाँध्ने गरेका छैनौँ। 

पगभन्दा पहिला हामीसँग अमेरिकन एस्किमो प्रजातिको कुकुर ‘टोफी’ थियो।टोफी डरलाग्दो र टोक्ने खालको थियो। घरमा आउने पाहुनाहरू ऊसँग एकदमै डराउँथे।  २०७२ सालमा गएको भूकम्पको दिन ऊ म¥यो। त्यो दिन हामी सबैजना उसलाई साङ्लोले बाँधेर मामाघर गएका थियौँ।

भूकम्प गएको बेला डरले धेरै छट्पटाएछ। त्यही बेलामा घाँटीको साङ्लो कस्सिएर मरेछ। टोफीको सट्टा पग अहिले हामीसँग छ। तैपनि, मलाई भने बेलाबेला टोफीको याद आइरहन्छ।

तपाईको कमेन्ट