‘कुकुरलाई थर पनि दिएका छौँ’

writer

सृजना खड्का

मङ्गलबार, १० बैशाख २०७६


भुवन चन्द, अभिनेत्री

मलाई सानैदेखि कुकुर पाल्ने सोख थियो। माइतीमा हुँदा क्विन बाबा नाम गरेको एउटा कुकुर थियो। त्यो मेरो एकदमै मन पर्ने कुकुर थियो। एक दिन क्विन बाबा असनमा हरायो। तीन÷चार महिनासम्म भेटिएन। एक दिन बाटोमा हिँडिरहेको बेला मैले उसलाई देखेँ। उसले पनि मलाई देख्यो। देख्नेबित्तिकै ऊ मतिर झम्टिएर आयो। त्यो बेलादेखि कुकुरसँग मेरो छुट्टै खालको आत्मीयता छ।

मेरो कुकुर पाल्ने सोख अहिले पनि उस्तै छ। म मात्र होइन, मेरा श्रीमान् पनि कुकुर पाल्न सोखिन हुनुहुन्छ। हामीसँग सुरुमा छोरी चन्द नाम गरेको कुकुर थियो। डेढ वर्षअघि बित्यो। उसको फोटोलाई फ्रेममा सजाएर माला लगाएर बैठक कोठामा टाँसेका छौँ। छोरी चन्दपछि अहिले हामीसँग चार कुकुर छन्।

हामीसँग भएका कुकुरको हामीले फुच्चुु चन्द, कालु चन्द, जोगी चन्द, बिंगो चन्द नाम राखिदिएका छौँ। हामीले आफ्नो थर पनि उनीहरूलाई दिएका छाँै। किनभने, उनीहरू हाम्रा सन्तान समान छन्। हामीसँग भएकामध्ये कालु र जोगी छोरी चन्दका बच्चा हुन्। बिंगो चाहिँ मलाई कान्छी छोरी शिरुषले उपहार दिएकी हुन्। फुच्चु पनि आमाको मुख हेर्ने दिनमा उपहार पाएकी हुँ। 

घरमा आउने पाहुना तथा आफन्त हाम्रो घरको माहोल देखेर दंग पर्छन्। ‘यो घरमा त कुकुर बनेर जन्मिनुपर्ने रहेछ’ भनेर बेलाबखतमा हाँसो पनि गर्छन्। 

दिनको तीन पटक उनीहरूलाई खानेकुरा खुवाउँछाँै। बे्रकफास्टमा दूध र बिस्कुट, दिउँसोको खानामा मासु र भात दिन्छौँ। हड्डी कहिल्यै खुवाउने गरेका छैनौँ। जहिल्यै मासु–मासु छानेर खुुवाउँछौँ। बेलुका डग फुड दिन्छौँ। त्यस्तै, जाडोमा चिसो लाग्छ भनेर हिटर बालेर उनीहरूको कोठा तताइदिन्छाँै।  

हामीले पालेका कुकुरले अहिलेसम्म कसैलाई टोकेका छैनन्। कुकुर बिरामी भए ठूलो चिन्ता पर्छ। एक चोटि कालु एकदमै बिरामी भयो। हामीले त बाँच्ला भन्ने आश मारिसकेका थियौँ। उपचारपछि निको भयो। कुकुरलाई केही हुनेबित्तिकै हामी दौडेर उपचार गर्न लगिहाल्छौँ। जति पैसा लागे पनि पर्वाह गर्दैनौँ। 

चारै कुकुरको व्यवहार फरक–फरक खालको छ। बिंगो कसैले आफूलाई चलाएको मन पराउँदैन, झनक्क रिसाउँछ। एकदमै मुडी खालको छ। चारैमा कालु बेस्ट छ। उसको व्यवहार सबैभन्दा राम्रो छ। शान्त स्वभावको छ। हत्तपत्त भुक्दैन। उसलाई नुहाउन सबैभन्दा सजिलो छ।

फुच्चु पनि ज्ञानी र सन्तोकी खालको छ। उसलाई सानैबेलादेखि मैले आफ्नो ओछ्यानमा सुताएँ। त्यसकारण अहिले पनि ऊ मसँगै सुत्छ। जोगी चाहिँ घरमा जो आए पनि भुक्छ। घरमा आउने पाहुनाहरू ऊदेखि निकै डराउँछन्। बिंगो पनि शान्त स्वभावको छ। कसैलाई भुक्दैन। तर, पानी भनेपछि एकदमै डराउँछ। नुहाउनुपर्छ भनेर फोहोरदेखि टाढै बस्छ। सफासुग्घरी खालको छ। 

अहिले हाम्रा छोरीहरू विदेशमा छन्। त्यसैले हाम्रा सन्तान भनेकै यिनै कुकुर हुन्। उनीहरूसँगै बोलेर खेलेर समय बिताउने गरेका छाँै। यिनीहरू भएनन् भने त हामी बुढाबुढीलाई दिन कटाउनै गाह्रो पर्छ।

 

तपाईको कमेन्ट