पार्कर दिनेश , बालुवाखानीदेखि गिनिज बुकसम्म

गोपाल दाहाल
मङ्गलबार, १० बैशाख २०७६
फिल्म ‘हँसिया’मा नायिका हेमा श्रेष्ठले गरेको फाइट र स्टन्टको खूब चर्चा भएको थियो। निर्माण पक्षले हेमाको स्टन्टको जोडदार प्रचार गरेको थियो। तर, धेरैलाई थाहा नहुन सक्छ, पर्दामा देखिएका हेमाका स्टन्टमध्ये केही अप्ठ्यारा स्टन्ट गर्ने चाहिँ दिनेश सुनार अर्थात् पार्कर दिनेश थिए।
हेमाको पहिरनमा भिलेनसँग जिम्न्यास्टिक गर्दै फाइट गरेका दिनेशले ‘हवल्दार सुन्तली’ र ‘किस्मत टू’मा शिल्पा पोखरेलको डमी बनेर स्टन्ट गरे। ‘कोइला’ लगायत धेरै फिल्ममा फाइट गरेका दिनेश खासमा सशस्त्र प्रहरीका जवान हुन् र उनको परिचय प्रहरीभन्दा बढी पार्कर हो।
जागिरका हिसाबले सशस्त्र भए पनि उनी निःशस्त्र रूपमा एक घरदेखि अर्को घरको छतमा जम्प गर्ने, भित्तामा टेकेर माथि–माथि चढ्ने, पर्खाललाई उफ्रिएर पार गर्ने कलामा पोख्त छन्।
यसरी एक ठाउँबाट अर्को ठाउँमा जाँदा बीचमा आउने अप्ठ्यारालाई सजिलै पार गर्दै अघि बढ्ने कलालाई पार्कर भनिन्छ। सन् १९०२ मा क्यारेबियन समुन्द्रको मार्टिनिक्यू टापूमा ज्वालामुखी विस्फोटका बेला स्थानीय आदिवासीले बीचका अवरोध पार गरेर आफूलाई बचाएका थिए र अरूको उद्धार गरेका थिए। आदिवासीको त्यो उद्धारकला देखेका फ्रान्सेली सैनिकहरूले त्यसलाई आफ्नो तालिममा समावेश गरे।
सन् १९९० को दशकपछि यसलाई खेल कलाका रूपमा विकास गरियो। अहिले पार्करका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गरे गरेका छन्। नेपालमा भने पार्करबारे कमैलाई जानकारी छ। त्यही थोरैले बुझेको पार्करमा दिनेश सुनार चाहिँ लामो समयदेखि सक्रिय छन्।
पार्करबाटै उनले गिनिज बुकमा नाम लेखाइसकेका छन्। गिनिज वल्र्ड रेकर्डको ‘मस्ट ट्वीस्ट ब्ल्याक फ्लिप अफ वाल इन वान मिनेट’ (यो क्याटगोरीमा भित्तामा एक खट्टाले टेकेर ३६० डिग्री बडी रोटेसन गर्नुपर्छ, त्यसो गर्दा अनुहार भित्तातिरै हुनुपर्छ) क्याटगोरीमा अस्ट्रेलियाका युवाको १५ पटकको रेकर्ड तोडेर दिनेशले एक मिनेटमा १८ पटक ब्याक फ्लिप गरेर गत अक्टोबरमा आफ्नो नाम दर्ता गराए। भन्छन्, ‘पार्करबाटै देशको नाम संसारभरि चिनाउन चाहन्छु।’
फिल्मको प्रभावले पार्कर
दिनेश पार्कर बन्दाको कथा बेग्लै छ। खोटाङको राजापानीमा जन्मिएका उनी सानैमा काठमाडौँ आए। उनका बुवा बिर्खबहादुर र आमा रिता गार्मेन्टमा काम गर्थे।
दिनेश काठमाडौँ, टीकाथलीस्थित महेन्द्र आदर्श उच्च माविमा पढ्न थाले। त्यही बेला साथीहरूसँग टोनी जाका फिल्म हेर्थे। पछि निखिल उप्रेतीका फिल्महरू पनि हेरे। तिनै फिल्मका प्रभावले दिनेश साथीहरूसँग बालुवाखानीमा खेल्दाखेल्दै स्टन्ट गर्न थाले। बालुवामा उफ्रिने, उल्टी–सुल्टी हान्न थाले।
कक्षा ७ सम्म पढ्दा उनले धेरै स्टन्ट गर्न थालिसकेका थिए। तर, त्यसबेला उनका बुवा वैदेशिक रोजगारीमा गए, आमासँगै दिनेश चाहिँ खोटाङ फर्किए। पहाडको ठाउँ खोटाङमा त्यस्ता स्टन्ट गर्नु गाह्रो र खतरापूर्ण थियो, जान्ने मान्छे पनि थिएनन्। उनले गाउँका भाइहरू गोपाल, कुमार, दिनेश, किसन लगायतलाई भेला पारेर खाल्डो खने।
त्यसभित्र पराल हाले अनि ठाउँ–ठाउँमा माटो थुपारेर साना–साना ढिस्को बनाए। अनि त्यहीँ सुरु भयो स्टन्ट। उनका भाइहरूले तीनचार दिन खेलेपछि यसमा त्यति रुचि देखाएनन् तर दिनेश निरन्तर यसैमा लागे। २०६७ सालमा खोटाङकै ज्योति माविबाट एसएलसीमा ६७ प्रतिशत अंक ल्याएर स्कुल टप बने दिनेश। राम्रो पढाइसँगै स्कुलमा जिम्न्यास्टिक देखाउनेमा उनी परिचित थिए।
नाचले दिलाएको जागिर
२०६८ सालको दशैँ–तिहार बिदाका बेला स्कुलमा भलिबल र नृत्य प्रतियोगिता भयो । सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेतका बावुआमाको स्मृतिमा भएको त्यो प्रतियोगितामा दिनेशले नृत्यमा भाग लिएका थिए । नृत्यमै पार्कर स्टन्ट देखाएपछि प्रतियोगिता हेरिरहेका बस्नेतको ध्यान खिचिएछ ।
उनले दिनेशलाई तुरुन्तै भेटेर हेडक्वार्टर बोलाए र सशस्त्रका खेलकुद इन्चार्ज डीएसपी प्रेमकुमार श्रेष्ठलाई ‘उपयुक्त विधामा स्थान दिन’ निर्देशन दिए । नेपालमा परिचित नभएको पार्करको विधा नै थिएन र अहिले पनि छैन । उनी जिम्न्यास्टिकमा मासिक तीन हजार तलब पाउने गरी छमहिने करारमा नियुक्त भए ।
सशस्त्रले उनलाई राजेश्वरमान प्रधानसँग दशरथ रंगशालामा जिम्न्यास्टिक तालिमको व्यवस्था मिलाइदियो । उनी भन्छन्, ‘जिम्न्यास्टिकको तालिमपछि एक्स्ट्रा टाइममा चाहिँ पार्करको अभ्यास गर्थें ।’ २०६९ सालदेखि भने उनी सशस्त्र प्रहरीको जवानमा भर्ती भए ।
खेलदेखि गिनिज बुकसम्म उत्कृष्ट
दैनिक छसात घण्टा अभ्यास गर्ने दिनेशले सशस्त्र प्रहरीका तर्फबाट जिम्न्यास्टिकमा प्रथम लुम्बिनी खेलकुद २०७१ मा स्वर्ण जिते, सातौँ राष्ट्रिय खेलकुद २०७३ मा एक स्वर्ण र एक रजत जिते । युट्युबका भिडियोहरू हेर्दा उनलाई आफ्नो पार्कर कला राम्रै छ र विश्वमा नयाँ रेकर्ड राख्छु भन्ने लागेको थियो तर त्यसका लागि खर्च थिएन ।
उनको गिनिज बुकमा नाम लेखाउने चाहना पूरा गर्न क्यालिबर सुजका प्रसन्न गौतमले एक लाख रुपैयाँ सहयोग गरे । सशस्त्रकै विजयकुमार रेग्मीले ड्रेस किनिदिए । त्यसपछि उनले गिनिज बुक अफ वल्र्ड रेकड्र्सका लागि प्रदर्शन गरे ।
उनको कलाको भिडियो र कागजात पठाउन गिनिजमा धेरै रेकर्ड बनाएका थानेश्वर गुरागाईंले साथ दिए । जुनमा पठाइएको भिडियो र कागजात प्रमाणित गरेर गिनिजले अक्टोबरमा प्रमाणपत्र पठाइदियो । उनी भन्छन्, ‘त्यो एकदमै खुशीको क्षण थियो मेरा लागि । मेरो परिवार, एपीएफ र सहयोगीहरूका कारण नाम लेखाउन सकेँ ।’
विश्वकै लागि नयाँ रहेको पार्करको सन् २००७ मा वल्र्ड फ्री रनिङ पार्कर फेडरेसन बन्यो । त्यसयता यसले खेलको रूप लिएको हो । फेडरेसनमा दिनेश नेपालबाट पहिलो सदस्य बने । उनको अध्यक्षतामा गत भदौमा नेपाल पार्कर एसोसिएसन पनि गठन भएको छ । आगामी जनवरी अन्तिममा वल्र्ड फ्री रनिङ पार्कर फेडरेसनले आयोजना गरेको ‘यूएसए कप’ मा सहभागी हुन उनी माघ ५ गते अमेरिका जाँदैछन् ।
जोखिमपूर्ण खेलमा पर्छ पार्कर । चोटपटक लाग्नेदेखि ज्यानै जानेसम्मका खतरा पनि उत्तिकै छन् । साउथ इन्डियन फिल्म ‘दशका दम’मा हिरोइनको डमी बनेर एक तलाबाट फ्लिप गर्दै झर्दा दिनेशको खुट्टा मर्कियो । उनले हलिउड डकुमेन्ट्रीमा पनि स्टन्ट गरे । तर, अहिले उनलाई फिल्ममा डमी बन्न त्यति रुचि छैन । भन्छन्, ‘हिरो–हिरोइनले पाँच–दश लाख पाउँछन् ।
हामी उनीहरूकै डमी बनेर खतरा मोल्दा १०–१५ हजार दिन पनि गाह्रो मान्छन् ।’ कुनै बेला निखिल उप्रेतीका स्टन्ट हेरेर प्रभावित हुने दिनेश अहिले निखिलभन्दा खतरनाक स्टन्ट गर्न सक्ने बताउँछन् । ‘तर, उहाँहरू सधँै मेरो आइडल हो । सबैको आ–आफ्नो समय हुँदोरहेछ ।’ दिनेश सुनाउँछन्, ‘आफूलाई सुहाउँदो रोल पाए फिल्ममा अभिनय पनि गर्न सक्छु ।’
फेरि गिनिजको तयारी
पार्करमा परिचय बने पनि आर्थिक अवस्थाले सोचे जस्तो गर्न नसकेको उनको भनाइ छ । पर्याप्त सामान र तालिम गर्ने स्थान नहुँदा चाहेर पनि धेरै कुरा गर्न नसकेको बताउने दिनेशलाई फेरि पनि गिनिज बुकमा ‘मस्ट ब्याक फ्लिप वाल इन ३० सेकेन्ड’मा नाम लेखाउने चाहना छ । ‘यो क्याटगोरीमा एक जना युरोपेलीको १५ पटकको रेकर्ड छ तर म १७ पटक गर्न सक्छु,’ आत्मविश्वासले भरिपूर्ण दिनेश भन्छन्, ‘म त्यसका लागि तयार छु, तर स्पोन्सर भेटेको छैन ।’
कुनै बेला परिवारले नै यस्तो खतरामा नलाग भन्थ्यो, दिनेशलाई । तर, अहिले उनको सफलतासँगै परिवार पनि खुशी छ । श्रीमती शर्मिला कार्की उनलाई प्रोत्साहन गरिरहन्छिन् । दिनेशकै प्रभावले बहिनी अस्मिता रेस्लिङमा सक्रिय छिन् । अफिसमा पनि दिनेशलाई सबैले पार्कर भनेर चिन्छन् ।
तपाईको कमेन्ट
अन्य समाचार
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७