जो रद्दीलाई कला बनाउँछन्

writer

गोपाल दाहाल

मङ्गलबार, १० बैशाख २०७६


नेपाली सेनाका सहायक रथी सुदर्शनविक्रम राणा

२०७२ सालको भूकम्पमा धरहरा ढाल्यो, धेरै घर ढले। तर, नेपालीका आशा अझै ढलेका छैनन्। मिल्काइएका थोत्रा चप्पलहरूबाट धादिङको बैरेनीस्थित नेपाली सेनाको श्री नम्बर ६ बाहिनी अड्डा परिसरमा बनाइएको धरहराको आकृति ‘टावर अफ होप’ ले यही सन्देश बोकेको छ।

नम्बर ६ बाहिनी अड्डाका बाहिनीपति नेपाली सेनाका सहायक रथी सुदर्शनविक्रम राणाले बनाएका हुन्, यो आशा स्तम्भ अर्थात् टावर अफ होप। यस्ता कलाकृति बनाउन मात्र होइन, उनी संगीतमा सक्रिय छन्। 

नियमित त्रिशुली सफाइ अभियानका क्रममा प्लास्टिकका बोतल, चप्पल, फलामका टुक्राहरू जम्मा भए। वातावरण प्रदूषणका हिसाबले तिनलाई जलाउन पनि नहुने, गाड्न पनि नहुने थियो। सुदर्शनलाई यी वस्तुबाट केही नयाँ चिज बनाउने जुक्ति फुर्‍यो। त्यसपछि बन्यो चप्पलको धरहरा ‘टावर अफ होप’, चप्पलकै तपस्वी ‘दी योगी’ र चप्पलकै गिटार।

त्यसै गरी, बिग्रिएका साइकलका पाटपुर्जाबाट ‘एन्टिलोप’, सवारी साधनका काम नलाग्ने पाट्र्सबाट चेलो बाजा बजाउँदै गरेको आकृति ‘द चेलिस्ट’, ‘मेकानिकल सोल्जर’, ‘नेपाली ड्रागन’, कुखुराको भालेपोथी आकृतिको ‘हाइब्रिड बैरेनी रुस्टर’, ‘माउन्टेनर्स’ र ‘कर्टेन अफ स्यान्डल्स’ जस्ता १४ कलाकृति बने।

यी सबै रद्दी चिजलाई उनले दुई हप्तामा कलात्मक आकृतिमा बदले। ‘फ्याँकिएका चिजको सदुपयोग पनि भयो, कलाकृति पनि बने र सबैमा पर्यावरण जोगाउनुपर्छ भन्ने सन्देश पनि जाने भयो,’ उनले भने। 

एक हातमा बन्दुक, अर्काेमा गिटार 

नेपाली सेनाका तत्कालीन लेफ्टिनेन्ट कर्णेल जनार्दनविक्रम राणा भ्वाइलिन र हार्माेनियम बजाउँथे, गीत गाउँथे। छोरा सुदर्शनमा घरको सांगीतिक वातावरणको प्रभाव पर्‍यो। मकवानपुर, भीमफेदीस्थित सुपिङ क्याम्पस (सैनिक महाविद्यालय) मा पढ्ने सुदर्शन सानैमा रेडियो नेपालको बाल कार्यक्रममा भाग लिन जान्थे। १५ वर्षको उमेरमै उनले पहिलो गीत कम्पोज गरे। 

काठमाडौँको टेकुमा २०२१ सालमा जन्मेका हुन्, सुदर्शन। उनको बाल्यकाल संगीत, नृत्य र मनोरञ्जनमा चुर्लुम्म डुबेको थियो। त्यतिबेला काठमाडौँका डबलीहरूमा टोलवासीले चाडपर्वमा भव्य कार्यक्रम गर्थे। ‘म बुबाका बाजाहरू सुटुक्क चोरेर यस्ता जात्रा, पर्वमा हुने सांगीतिक कार्यक्रममा आफ्ना मण्डलीसहित सांगीतिक प्रस्तुतिका लागि पुग्थेँ,’ उनी सम्झन्छन्। 

कलेजमा पनि साथीहरूसँग मिलेर गाउने–बजाउने कार्यक्रम हुन्थ्यो। त्यसको नेतृत्व उनैले गर्थे। सांगीतिक प्रस्तुति दिन उनीहरूको समूह हेटौँडासम्म पुग्थ्यो। 

त्यो बेला गिटार लिएर हिँड्ने, गिटारसँगै खेल्ने सुदर्शनको हातमा त्यसपछि बन्दुक पर्‍यो। नेपाली सेनामा भर्ना भएपछि बन्दुक, बारुदसँग खेल्नैपर्‍यो। ‘तर, गिटारको धुन बिर्सन सकिनँ,’ उनले स्मरण गरे, ‘जहाँ पुगे पनि गिटार लिएर पुगेँ। फुसर्दमा बजाएँ, गाएँ, नयाँ सिर्जना गर्दै गएँ।’ एउटा हातमा बन्दुक, अर्को हातमा गिटार, यसरी नै अघि बढिरह्यो उनको यात्रा।

२०६२÷०६३ सालतिर उनी इलाममा कार्यरत थिए। प्रकृतिप्रेमी उनले चियाबारी, डाँडापाखा, गाउँघरका वर्णन गरेर गीत लेखे, संगीत भरे। अनि, १० वटा गीत आफ्नो स्वरमा रेकर्ड गराए। ‘त्यसपछि इलाम नेत्रहीन संघको सहयोगार्थ ‘इलाम’ नामको एल्बमै सार्वजनिक गरियो,’ उनले भने। 

बंगलादेशको ढाकास्थित नेपाली दूतावासमा सैनिक सहचारीका रूपमा सुदर्शनले साढे तीन वर्ष बिताए। त्यो समयमा पनि उनले गीत लेख्ने, संगीत भर्ने, गाउने गरिरहे। उनले बंगाली भाषामा पनि गीतहरू लेखे, गाए। ढाकामा दुई पटक एकल साँझसहित धेरै कार्यक्रममा गायन प्रस्तुत गरेका उनले त्यहाँ बस्दा करिब सय वटाजति गीत लेखे।

तीमध्ये ५० वटालाई नेपालीसँगै बंगाली र अंग्रेजी भाषामा समेत उल्था गरेर प्रत्येक गीतको चित्र सहित २०७१ सालमा ‘ढाका’ नामक पुस्तक आफ्नो दोस्रो एकल साँझको अवसरमा ढाकामै विमोचन गरे। पुस्तकमा भएका छ वटा गीत रेकर्ड गरेर २०७२ सालमा ‘आकांक्षा’ नामक एल्बम प्रकाशित गरे। उनको शब्द, संगीत र स्वरमा अर्को एल्बम ‘अठोट’ पनि सोही समयमा बजारमा आयो। 

कामको सिलसिलामा उनी क्रोएसिया, दक्षिणी सुडान, लेबनान पनि पुगे। तर, जहाँ पुगे पनि उनको हातमा गिटार टुटेन। ‘गीत, संगीत, कला र साहित्य नै मेरा साथी हुन्,’ सुदर्शन भन्छन्, ‘यिनीहरूमार्फत समाजका लागि केही योगदान गर्न चाहन्छु।’ 

तपाईको कमेन्ट

मुख्य समाचार