फिल्म चाहिँ टप बक्सअफिसमा फ्लप

writer

दीपेन्द्र लामा

शनिबार, ०७ बैशाख २०७६


पछिल्लो समयमा कुनै पनि फिल्म चलेन भन्दै नेपालका निर्माताले निराशा व्यक्त गरिरहेका छन्। फिल्ममा लगानी डुब्नु पक्कै पनि दुःखद हो। तर, फिल्म किन चलेन ? आफूले बनाएका फिल्म कस्ता थिए ? त्यसबारे सोधीखोजी गर्ने चलन चाहिँ हामीकहाँ छैन।

वास्तवमा गतिलो फिल्म नबनेर नै हाम्रा हलमा दर्शक नआएका हुन्। राम्रो फिल्म बनाएर प्रभावकारी प्रवद्र्धन गरे दर्शकले अवश्य साथ दिनेछन्। तर, फिल्म फितलो बनाउँछन्, दर्शकलाई गाली गर्छन्। अनि कसरी उँभो लाग्छ ?

बरु, विदेशमा चाहिँ कहिलेकाहीँ राम्रा फिल्मले पनि दर्शक पाउँदैनन्। हलिउड र बलिउडमा त्यस्ता थुप्रै फिल्म छन्, जुन समीक्षक तथा बौद्धिक वर्गका नजरमा उत्कृष्ट ठहरिए तर बक्सअफिसमा असफल भए। तीमध्ये १० फिल्मको यहाँ उदाहरण दिइएको छ। 

सिटिजन केन, १९४१
संसारभरका फिल्मकर्मी, समीक्षक तथा विद्यार्थीका नजरमा अहिलेसम्मकै उत्कृष्ट फिल्ममा पर्छ, ‘सिटिजन केन’। सन् १९४१ मा रिलिज भएको फिल्मलाई अर्सन वेल्सले निर्देशन गरेका हुन्। वेल्सको यो पहिलो फिल्म हो। पहिलो फिल्मबाटै उनी दिग्गज निर्देशक कहलिए। यसको सम्पादन, संगीत, छायांकन र कथ्य संरचनाबारे फिल्मका पारखीमाझ सधैँ चर्चा हुने गर्छ।

त्यतिबेला पनि फिल्मले राम्रो समीक्षा बटुलेको थियो। तर, दर्शकलाई समीक्षकका कलमले लोभ्याउन सकेनन्। हलमा दर्शकको भीड लागेन। केही शहरमा ठीकै चले पनि यसले लगानी उठाउन सकेको थिएन। त्यो वर्ष कमाइका हिसाबले ‘सिटिजन केन’ ३० औँ नम्बरमा थियो।

कागज के फूल, १९५९

गुरु दत्तलाई कालजयी निर्देशकका रूपमा स्थापित गर्ने फिल्म ‘कागज के पूmल’ पनि हो। धेरैले यसलाई भारतको उत्कृष्ट १० फिल्मको सूचीमा राख्ने गर्छन्। सन् २००२ मा संसारकै उत्कृष्ट १ सय ६० फिल्मको सूचीमा समेत यसलाई समेटिएको थियो। 

गुरु दत्त र वाहिदा रहमानको मुख्य भूमिका रहेको फिल्मलाई निर्देशक ज्ञान मुखर्जीको जीवनबाट प्रभावित मानिन्थ्यो। तर, पछि गुरु दत्तको जीवन नै ‘कागज के पूmल’ जस्तो हुन पुगेको थियो। बक्सअफिसमा फिल्मले पैसा कमाउन सकेन। निर्मातालाई घाटा भयो। त्यसपछि गुरु दत्तले फिल्म निर्देशन गरेनन्, अभिनयमा मात्र सीमित भए।

मेरा नाम जोकर, १९७०

राज कपुरको उत्कृष्ट फिल्ममध्ये एक हो, ‘मेरा नाम जोकर’। ख्वाजा अहमद अब्बासद्वारा लिखित फिल्ममा राज कपुरकै निर्देशन र अभिनय थियो। फिल्म निर्माण गर्न छ वर्ष लगाइएको थियो। त्यसैले यसप्रति दर्शक उत्सुक थिए। 

फिल्मबाट राज कपुरले उत्कृष्ट निर्देशन विधामा फिल्मफेयर अवार्ड पनि जिते। फिल्म ४ घण्टा ४ मिनेट लामो थियो। यसलाई दुइटा मध्यान्तरसहित रिलिज गरिएको थियो। तामझाम निकै भए। तर, दर्शकले फिल्मलाई पत्याएनन्। भारतमा रिलिज भएको दुई वर्षपछि यसलाई रुसमा तीन शृंखलामा विभाजित गरी चलाइयो। त्यहाँ चाहिँ यसले मनग्गे पैसा कमायो।

रेजिङ बुल, १९८०

मार्टिन स्कोर्सिसद्वारा निर्देशित ‘रेजिङ बुल’ उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशनसहित अस्करको आठ विधामा मनोनीत भएको थियो। यसबाट रोबर्ट डे निरोले उत्कृष्ट अभिनेताको अस्कर पनि जिते। निर्देशक स्कोर्सिस र अभिनेता डे निरो दुवैको करिअरको उत्कृष्ट फिल्म हो यो।

तर, १ करोड ८० लाख डलरमा बनेको यो फिल्मले हलबाट एक करोड डलर मात्र उठाउन सक्यो। फिल्मले पैसा नकमाउँदा निर्देशक स्कोर्सिस तनावमा परेका थिए। भविष्यमा कुनै पनि लगानीकर्ताले विश्वास गर्दैनन् कि भन्ने चिन्ता उनमा पलाएको थियो।

उमराव जान, १९८१

निर्देशक मुजफ्फर अलीलाई चिनाउन अरू फिल्मको नाम लिनु पर्दैन। रेखा अभिनीत ‘अमराव जान’ सदाबहार फिल्म हो। निर्देशक अलीलाई पनि यसले अमर बनाइरहने निश्चित छ। यसैबाट उनले फिल्मफेयर अवार्डमा उत्कृष्ट निर्देशकको ट्रफी उचालेका थिए। रेखाले त नेसनल फिल्म अवार्ड नै जितिन्।
फिल्मले पैसा कमाउन चाहिँ सकेन। फिल्मका गीतहरू सदाबहार भए। फिल्मको कमाइ औसत रह्यो। लगानी उठाउन सकेन।

सिलसिला, १९८१

अमिताभ बच्चन, जया बच्चन, रेखा र सञ्जीव कुमारको अभिनय रहेको ‘सिलसिला’लाई अहिले बलिउडको राम्रै फिल्ममा गनिन्छ। यश चोपडाद्वारा निर्देशित फिल्मको ‘ये कहाँ आ गए हम’ गीत सदाबहार नै छ। ‘रंग बर्से भिगे चुनर वाली’ गीत पनि निकै चल्यो।
गीत हिट भए। स्टार कास्ट पनि भव्य थियो। निर्देशक र ब्यानर पनि नामुद थिए। फिल्मले बक्सअफिसमा भने जादु देखाएन। त्यतिबेला लगभग सात करोड भारु मात्र कारोबार ग¥यो।

अग्निपथ, १९९०

मुकुल एस आनन्दद्वारा निर्देशित ‘अग्निपथ’ अमिताभ बच्चनका कालजयी फिल्मको सूचीमा नछुट्ने नाम हो। यो फिल्मबाट अमिताभले नेसनल फिल्म अवार्ड हात पारेका थिए। यसैबाट मिथुन चक्रवर्तीले सहअभिनेता विधामा फिल्मफेयर अवार्ड पाए।

अमिताभ, मिथुन, माधुरी, निलम, डेनीजस्ता कलाकार भए पनि फिल्मले लगानी उठाउन सकेन। सन् १९९० मा रिलिज भएका फिल्ममध्ये सर्वाधिक कमाउने फिल्मको सूचीमा यो १० औँ स्थानमा परेको थियो। पछि भिडियोमा रिलिज भएपछि मात्र फिल्मले पैसा कमाउन थाल्यो।

दिल से, १९९८

‘चल छैया छैया’ गीत अहिले पनि घन्किन्छ। मणिरत्नमद्वारा निर्देशित ‘दिल से’ फिल्मको गीत हो यो। उक्त गीतकै कारण संगीतकार एआर रहमान, गीतकार गुलजार, गायक सुखविन्दर सिंह, कोरियोग्राफर फराह खान र छायांकार सन्तोष सिवनले फिल्मफेयर अवार्ड पाएका थिए।

बर्लिन फिल्म फेस्टिभलमा समेत राम्रो प्रतिक्रिया बटुलेको फिल्मले भारतमा पनि सकारात्मक समीक्षा पायो। तर, बक्सअफिसमा चाहिँ यसको कुनै प्रभाव देखिएन। बरु बेलायतमा यो राम्रै चलेको थियो।

फाइट क्लब, १९९९

ब्राड पिटको अभिनय रहेको फिल्म ‘फाइट क्लब’को प्रिमियर ५६ औँ भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गरिएको थियो। फिल्मले अधिकांश समीक्षकबाट प्रशंसा कमायो। केहीले यसमा देखाइएको हिंसाको आलोचना गरे। तैपनि फिल्मलाई नराम्रो भन्न सकेनन्।

निर्देशक डेभिड फिन्चरले फिल्मलाई फरक शैलीमा बनाएका थिए। यसको प्रवद्र्धन पनि वैकल्पिक ढंगमा गरिएको थियो। तर, फिल्मले हलमा दर्शकलाई खासै तान्न सकेन। ६ करोड ३० लाख डलरमा बनेको फिल्मले अमेरिका र क्यानडाबाट जम्मा ३ करोड ७० लाख डलर मात्र उठाउन सक्यो।

स्वदेश, २००४

‘लगान’ निर्देशन गरेर चम्किएका आशुतोष गोवारिकरले त्यसपछि ‘स्वदेश’ निर्देशन गरे। अस्कर अवार्डमा मनोनीत ‘लगान’को तीन वर्षपछि ‘स्वदेश’ रिलिज भयो। फिल्ममा शाहरूख खानको अभिनय थियो।

फिल्मले भारतमा उत्कृष्ट समीक्षा पायो। धेरैजसो समीक्षकले यसलाई चार तारा दिएर तारिफ गरे। फिल्मका गीत पनि चर्चामा थिए। उदितनारायण झाले यसैबाट गायनमा नेसनल फिल्म अवार्ड जिते।

तर, २१ करोड भारुमा निर्माण गरिएको फिल्म भारतको बक्सअफिसमा फ्लप साबित भइदियो। यसले भारतमा १५ करोड २५ लाख भारु मात्र उठाउन सक्यो। बरु विदेशमा यो ठीकै चल्यो। 

ह्युगो, २०११

मार्टिन स्कोर्सिसको पहिलो थ्रीडी ‘ह्युगो’ अस्करमा उत्कृष्ट फिल्मसहित ११ विधामा मनोनीत थियो। यसको छायांकन उत्कृष्ट छ। त्यही भएर यसले यो विधामा अस्कर पनि जित्यो। फिल्मको ट्रेलरले पनि चर्चा कमाएको थियो। धेरै समीक्षकले सन् २०११ को उत्कृष्ट फिल्म ‘ह्युगो’ नै माने।

बक्सअफिसमा भने समीक्षकको प्रभाव पर्न सकेन। १७ करोड डलरमा बनेको फिल्मले १८ करोड ५० लाख डलरको मात्र ग्रस व्यापार ग¥यो। निर्मातालाई ठूलै झट्का लाग्यो। फिल्मको नेट कमाइ १० करोड डलर हाराहारी पुगेको थियो।
 

तपाईको कमेन्ट

मुख्य समाचार