‘नयाँ वर्षमा समाजसेवा गरौँ न’

writer

सम्पूर्ण

शनिबार, ३० चैत २०७५


काठमाडौँ, मित्रपार्कस्थित गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको क्यान्टिन

काठमाडौँ, मित्रपार्कस्थित गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको क्यान्टिनमा सुधा राई, राजीव तामाङ, मञ्जु तिमल्सिना, सुस्मिता लामा, मधु तामाङ, राम तामाङ गफिँदै थिए। उनीहरू सबै स्नातक पहिलो वर्षका विद्यार्थी हुन्। 

सुधाः साथीहरू, तिमीहरूको नयाँ वर्षको प्लान के छ ? 

रामः मेरो त खासै केही छैन। तिमीहरूले के सोचेका छौ ? 

राजीवः मेरो त परिवारसँग घुम्न जाने योजना छ। 

मञ्जुः म पनि नयाँ वर्ष परिवारसँग मनाउँछु। अरू बेला परिवारलार्य समय दिन पाइन्न। कम्तीमा नयाँ वर्षको दिन त परिवारसँग बस्छु।

सुस्मिताः सबै साथी मिलेर कतै घुम्न जाने हो कि भनेर सोचिरहेकी थिएँ। तिमीहरू सबैको प्लान बनिसकेको रहेछ। 

राजीवः म परिवारसँग मुस्ताङ जाने सोचमा छु। तिमीहरू पनि त्यतै हिँड् हुन्न ? 

मञ्जुः मुस्ताङ त टाढा हुन्छ। कलेजमा बिदा पनि छैन फेरि। मुस्ताङ जान त कम्तीमा एक हप्ता छुट्याउनुपर्छ।

सुस्मिताः चन्द्रागिरी जाम न त, रमाइलो हुन्छ। एकै दिनमा फर्किइन्छ पनि। 

राजीवः चन्द्रागिरी त के जानु...गइसकेपछि अलि टाढा कतै जाऊँ न। चन्द्रागिरी त जहिल्यै गए पनि भयो।

सुधाः मुस्ताङका लागि खर्च बढी लाग्छ। घरबाट पठाउनु पनि प¥यो नि ! 

मञ्जुः सुधाको कुरा ठीक हो। घरबाट मुस्ताङ पठाउँदैनन् होला। अन्तै ठाउँ जाऊँ न। मुस्ताङ पछि जाने।

रामः साथीहरू नयाँ वर्ष भन्नेबितिकै घुम्नै जानुपर्छ र ?

मञ्जुः ह्या...राम तिमीले सुनेका छैनौ, नयाँ वर्षको दिन हामीले जे गर्छौं वर्षभरि त्यस्तै हुन्छ रे ! 

रामः एक दिन राम्रो भएर वर्षभरि राम्रो हुने भन्ने कुरा मैले सुनेको छैन। दिन राम्रो÷नराम्रो भन्ने हुँदैन। कस्तो दिनलाई राम्रो मान्ने, कस्तोलाई नराम्रो ? यो सब कुरा हामीमा भरपर्छ।

सुधाः मलाई रामको कुरा चित्त बुझ्यो। हामीले सबै दिनलाई राम्रो बनाउने प्रयास गर्नुपर्छ। एक दिन राम्रो भए अर्को दिन नराम्रो पनि हुन सक्छ। नराम्रो कुरालाई कसरी सकारात्मक रूपमा लिने भन्ने सोच्नुपर्छ। नयाँ वर्षको एक दिन राम्रो भए सबै दिन राम्रो हुन्छ भनेर बस्नु मूर्खता हो। 

मञ्जुः नयाँ वर्षको दिन जे गरियो, वर्षैभरि त्यही गरिन्छ भन्ने कुरा मैले पनि सुनेकी छु।

सुस्मिताः त्यसो भए त मञ्जु हामी नयाँ वर्षको दिन चन्द्रागिरी गयौँ भने वर्षैभरि चन्द्रागिरी पुग्छौँ। त्यसो भए नजाऊँ त्यहाँ। (सबै जना हाँस्छन्)

रामः घुम्नभन्दा पनि सबै मिलेर नयाँ वर्षमा समाजसेवा गरौँ न। 

मञ्जुः हुन्छ नि ! नयाँ वर्षमा घुम्नुभन्दा समाजसेवा गर्नु ठीक हो।

सुस्मिताः गर्न त गर्ने, तर के ? 

राजीवः तिमीले केही सोचेका छौ राम ? 

रामः सोच्न त सोचेको छु। धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालामा सहयोग गर्न जाऊँ न। 

मधुः आर्थिक सहयोग त हामी गर्न सक्दैनौँ, त्यहाँ गएर मात्र के गर्ने ? 

सुधाः श्रमदान गर्न सकिन्छ नि ! रामको कुरा ठीक छ। एक दिन भए पनि श्रमदान गरौँ। 

राजीवः हो, भोलि हामीले पनि त्यसमा सहयोग गरेका थियौँ भन्ने हुन्छ नि ! 

सुधाः राजीव, तिमी त परिवारसँग घुम्न जाने भनिरा’थ्यो, हामीसँग जान्छौ र ? 

राजीवः समाजसेवा गर्न त जानै प¥यो। परिवारसँग बरु पछि जाउँला। 

सुस्मिताः ल ल त्यसो भए सबैजना रंगशाला बनाउने ठाउँमा सहयोग गर्न जाम। नयाँ वर्षका दिन समाजसेवा गरे घरमा पनि खुशी हुन्छन्। 

सुधाः हो भन्या, देश विकासमा हामीले नगरे कसले वास्ता गर्छ। 

रामः हामी त जान्छौँ नै घरतिरका अरू साथीभाइलाई पनि लिएर आए हुन्छ। सबै जना मिलेर श्रमदान गरौँला। काम पनि हुने, रमाइलो पनि हुने। 

मञ्जुः ल ल हुन्छ।
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि