२०७५ मा कम बिके किताब

writer

युवराज भट्टराई

शनिबार, ३० चैत २०७५


काठमाडौँमा हरेक साता कुनै न कुनै पुस्तक विमोचन हुन्छ। उपत्यकाबाहिर पनि पुस्तक प्रकाशन बढेको छ। किताब प्रकाशन हुने क्रम बढे पनि बिक्रीवितरण घटेको पुस्तक व्यापारी बताउँछन्।

‘पछिल्ला वर्षको तुलनमा यस वर्ष पुस्तकको व्यापार खासै भएन,’ बुक हिल प्रकाशनका भूपेन्द्र खड्काले भने, ‘प्रकाशित पुस्तक सबै राम्रा हुँदैनन्। गतिला पुस्तक नआउँदा व्यापार राम्रो भएन।’ 

पठन संस्कृतिमा कमी र राम्रा पुस्तकको अभावका कारण बिक्रीवितरण कम भएको खड्काको अनुभव छ। बुक हिलबाट यस वर्ष प्रकाशित पुस्तकमध्ये पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ सबैभन्दा बढी बिक्री भएको खड्का बताउँछन्।

रामलाल जोशीको ‘सखी’, क्याप्टेन रामेश्वर थापाको ‘बारुदमाथि उड्दा’, गंगामाया अधिकारीको ‘न्यायको अवसान’, जंगबहादुर शाहको ‘शल्यक्रिया’, मोहन मैनालीको ‘देखेको देश’लगायत पुस्तक यस वर्ष बुक हिलबाट प्रकाशित भएका हुन्। 

अघिल्लो वर्ष प्रकाशित सरस्वती प्रतीक्षाको ‘नथिया’ र तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’ पनि राम्रो बिक्री भएको बुक हिलका खड्का बताउँछन्। ‘तुलनात्मक रूपमा अघिल्ला वर्षभन्दा पुस्तकको व्यापार घटेको छ,’ उनले भने, ‘एकातिर पुस्तकको गुणस्तरको कुरा छ, अर्काेतिर पठन संस्कृति।

जसले यस वर्ष पुस्तकको व्यापार धेरै हुन सकेन।’ नेपालीले किताब पढ्न आवश्यक नठान्ने भएकाले पनि किताब कम बिक्री भएको उनी बताउँछन्। ‘सबै कामपछि मात्रै पुस्तक सोच्ने चलन भएकाले पनि पुस्तकको व्यापार राम्रो नभएको हो,’ उनले सुनाए।

मञ्जरी प्रकाशनका कृष्ण अविरलका अनुसार पनि विगतभन्दा यस वर्ष पुस्तक निकै कम बिक्री भए। ‘जसले पनि पुस्तक लेख्ने भएर राम्रो पुस्तक आएको छैन,’ उनले भने, ‘पुस्तकको संख्या बढ्यो तर गुणस्तर घट्यो। त्यसैले व्यापार घटेको हो।’ 

फाइन प्रिन्टका अजित बराल भने आफ्नो प्रकाशनबाट बढी पुस्तक प्रकाशन नभएकाले यस वर्ष कम व्यापार भएको बताउँछन्। ‘हामीले यस वर्ष चारपाँच वटा पुस्तक मात्रै प्रकाशित ग¥यौँ,’ उनले भने, ‘कम पुस्तक प्रकाशन भएपछि व्यापार पनि कम भयो।’ प्रकाशित पुस्तकमध्ये सुविन भट्टराईको ‘प्रिय सुफी’ सबैभन्दा धेरै रुचाइएको उनी बताउँछन्।

रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठ पठन संस्कृति कम भएकाले यस वर्ष किताब कम बेचिएको बताउँछन्। ‘समय र पैसाको कमीले गर्दा मान्छेमा पठन संस्कृति घटेको जस्तो लाग्छ,’ उनले भने, ‘मान्छेले पुस्तक पढ्दै नपढेपछि किन्ने कुरै आएन। व्यापार सोझै घट्यो।’ 

‘विगतका वर्षमा मान्छेहरूले साहित्यिक पुस्तकमा पनि रुचि राख्ने गरेका थिए,’ श्रेष्ठले थपे, ‘तर, यस वर्ष भने त्यस्तो केही देखिएन। पुस्तकको संख्या वृद्धि हुँदैमा व्यापार बढी हुने होइन। गुणस्तर कायम हुन नसक्दा व्यापार खस्किएको हो।’ 

यस वर्ष कथा, कविता, उपन्यासजस्ता आख्यानको तुलनामा गैरआख्यान पुस्तक बढी बिक्री भएको पुस्तक प्रकाशक÷वितरक बताउँछन्। ‘आत्मकथा खूब रुचाइए,’ रत्न पुस्तकका श्रेष्ठले भने। तर, आत्मकथाको व्यापार क्षणिक मात्रै भएको उनी बताउँछन्।

‘चिनिएका व्यक्तिको आत्मकथा केही समयको लागि राम्रै बिक्री भयो,’ उनले सुनाए, ‘तर, त्यसले लामो समयसम्म बजार राख्न सकेको देखिएन।’ आख्यानमा आफूले ‘प्रिय सुफी’ धेरै बिक्री गरेको उनी बताउँछन्। 

मोफसलमा बढे पुस्तकप्रेमी
उपत्यकामा पुस्तक बिक्री घटे पनि काठमाडौँबाहिर किताबको व्यापार बढेको वितरकहरूको अनुभव छ। रत्न पुस्तकका श्रेष्ठका अनुसार पोखरा, बिर्तामोड, महेन्द्रनगर, नारायणगढलगायत ठाउँमा पुस्तकको व्यापार बढी भएको छ। मञ्जरीका कृष्ण अविरल पनि सो कुरालाई स्वीकार गर्छन्। ‘काठमाडौँबाहिर  पुस्तक पढ्नेको संख्या बढेको छ,’ अविरलले भने, ‘चितवनमा सबैभन्दा धेरै पुस्तक पुगेको देखिन्छ।’

नेपाली पुस्तकको तुलनामा विदेशी पुस्तकको व्यापार राम्रो भएको पुस्तक बिक्रेता बताउँछन्। भारतीय लेखक चेतन भगत तथा पाउलो कोहेलोका पुस्तकले राम्रो व्यापार गरेको व्यापारीहरूको भनाइ छ। ‘संख्याका हिसाबले केही अंग्रेजी पुस्तकको व्यापार नेपाली बजारमा राम्रो भएको छ,’ रत्न पुस्तकका श्रेष्ठले भने।  

अन्य वर्षको तुलनामा यस वर्ष पुराना पुस्तकलाई पुनः प्रकाशन गर्ने काम पनि केही प्रकाशकले गरे। चलेका लेखक÷साहित्यकारको चर्चित पुस्तकलाई पुनः प्रकाशित गरियो। प्रकाशक तथा वितरकका अनुसार प्रकाशित पुस्तकको तुलनामा दुर्गा सुवेदीको ‘विमान विद्रोह’, ब्रजेशको ‘साइड हिरो’, रामेश्वर थापाको ‘बारुदमाथि उड्दा’, युवराज नयाँघरेको ‘औँलामा अस्ट्रेलिया’, गत वर्ष मदन पुरस्कार पाएको नीलम कार्की निहारिकाको ‘योगमाया’, राजवको ‘पाई’ लगायत पुस्तक बढी बिक्री भए।

नवराज पराजुलीको कवितासंग्रह ‘सगरमाथाको गहिराइ’ पनि अन्य कवितासंग्रहको तुलनामा बढी बिक्री भएको वितरकको भनाइ छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि