दर्शकको खडेरी हल्लाको वर्षा

writer

सामीप्यराज तिमल्सेना

शुक्रबार, २९ चैत २०७५


फिल्म नचल्नु आफ्नो ठाउँमा छ। तर, फिल्मकर्मी उद्योग वा आफ्नै अवस्थाप्रति गम्भीर देखिएनन्। आफू डुबेपछि अरू पनि डुबून् भन्ने कामना गरेर बसिरहे। न कारण खोतल्ने प्रयास भयो, न गल्ती सच्याउने जमर्को।



२०७५ सालमा ९६ हाराहारी फिल्म रिलिज भए। ९४ वटा हलमा आइसके, दुइटा फिल्म आउँदो शुक्रबार रिलिज हुँदैछन्। ५२ वटा हप्ता हुने वर्षमा फिल्म रिलिजको यो संख्या बढी हो। सयवटा फिल्म बन्ने भएपछि हरेक हप्ता दुइटा फिल्म हलमा लाग्नु सामान्य हो। तर, दुःखको कुरा के हो भने गत साल कमाउने फिल्मको संख्या राम्रो थियो तर यो साल अवस्था दयनीय छ।

फिल्मको सफलता लगानी उठाउनमा मात्र सीमित हुँदैन। यसले कस्तो कथा भन्यो ? र, कलात्मक कथावाचनमा कत्तिको योगदान दियो ?त्यसको आधारमा पनि फिल्मको सफलता मापन हुन्छ। तर, यो साल न धेरै फिल्मले पैसा कमाए, न कलात्मक कथावाचनमा योगदान गरे। ‘बुलबुल’ र ‘हरि’लाई बिर्सने हो भने फिल्म उद्योगको क्यालेन्डरबाट यो साल गायब गर्दा पनि कुनै फरक पर्दैन।

फिल्म नचल्नु आफ्नो ठाउँमा छ। तर, फिल्मकर्मी उद्योग वा आफ्नै अवस्थाप्रति गम्भीर देखिएनन्। आफू डुबेपछि अरू पनि डुबून् भन्ने कामना गरेर बसिरहे। न कारण खोतल्ने प्रयास भयो, न गल्ती सच्याउने जमर्को। फिल्मले दर्शक भड्काइरहँदा उल्टै फिल्मकर्मी नयाँ–नयाँ पदवी बाँडचुडमा मग्न भए।

मेगास्टार, सुपरस्टारको ट्याग दिन फिल्मकर्मीबीच प्रतिस्पर्धा नै देखियो।सात हलका मान्छे भेला हुने गोपीकृष्ण हलमा टुप्पामा बसेर सेल्फी खिचेर हिटको डंका पिटाउने क्रम यो साल पनि रोकिएन। कथा, पटकथा, प्रस्तुतिमा होइन, संगीतप्रतिको अनावश्यक भरोसा यथावत रह्यो।

लोकगीत भए डाँडाकाँडा खोज्ने र प्रेमगीत भए समुन्द्र खोज्ने फिल्ममेकरको बानीले यो साल पनि निरन्तरता पायो। यस्ता गीतले युट्युब ट्रेन्डिङमा त स्थान बनाए तर दर्शकको मनमा स्थान बनाउन सकेनन्। त्यसैले गीत हिट त फिल्म हिट भन्ने फिल्मकर्मीले जप्दै आएको पुरानो मन्त्र पनि यो साल निकम्मा साबित भयो। 

फ्लपस्टार
राजेश हमाल, निखिल उप्रेती र विराज भट्टको युग सकिएसँगै नेपालमा स्टारडम सिस्टम अन्त्य भएको टिप्पणी हुन थालेको थियो। तर, केही समयअघि अनमोल केसी र पछि प्रदीप खड्का, सलिनमान बानियाँजस्ता कलाकारको आगमनपछि स्टार सिस्टम ब्युँतिएको धेरैको अनुमान थियो। यही अनुमानका भरमा निर्माताले यी स्टारलाई लिन महँगो रकम खर्चिंदै आएका थिए।

तर, यो साल उनीहरूका फिल्मको असफलताले उनीहरूको स्टारडम तासको घरभन्दा कमजोर साबित ग¥यो। अनमोल केसीको ‘क्याप्टेन’ले सोचेजस्तो व्यापार गरेन भने प्रदीप खड्काका ‘रोज’ र ‘लभ स्टेसन’ दुवै असफल मानिए। कमसेकम मौलिक कथामा फिल्म खेलेर अनमोलले इज्जत जोगाए तर प्रदीपको ‘लभ स्टेसन’ त दुइटा टर्किस फिल्मको हुबहु नक्कल निस्कियो। तर, पनि प्रदीपले आफ्नो गल्ती महसुस गरेनन्।

दोष पत्रकारमाथि थुपारेर चोखो बन्ने प्रयास गरे। यो साल दर्शकले नपत्याउनेमा खगेन्द्र लामिछाने पनि अग्रभागमा रहे। ‘पशुपतिप्रसाद’बाट चर्चामा आएका उनका यो साल दुई फिल्म प्रदर्शनमा आए तर दुवै फिल्म औसत रहे। न ‘डमरुको डन्डीबियो’ले उनको इज्जत जोगायो, न ‘जय भोले’ले।

‘भैरे’मा अवगाल खेपेका दयाहाङ राईलाई ‘साइँली’ले तैबिसेक राहत दियो।तर, आफैँ डुब्दो करिअर उकास्न फिल्म बनाउँदै आएका आर्यन सिग्देललाई ‘कायरा’ले पनि त्यो अभिष्ट पूरा गर्न सघाएन। महिला कलाकारतर्फ स्टार मानिने साम्राज्ञीराज्यलक्ष्मी शाहको पनि हालत यस्तै रह्यो।

न ‘कायरा’मा उनको काम राम्रो मानियो, ‘न इन्टु मिन्टु लन्डनमा’ले उनलाई ढाडस दियो। यो साल उनको ध्यान पनि फिल्मभन्दा अफेयरमा ज्यादा देखियो।यो साल बेपत्तासँग बिलाउनमा चाहिँ सौगात मल्ल अगाडि रहे। उनका केही फिल्म रिलिज पनि भए तर कसैले उनका फिल्ममा चासो दिएनन्। कर्मा शाक्यको नियति पनि यस्तै नै रह्यो।

स्वस्तिमा खड्काका लागि भने यो साल शानदार रह्यो। उनका तीन फिल्म प्रदर्शनमा आए र तीनवटै सफल भए। व्यावसायिक धारका ‘नाइँ नभन्नू ल ५’ र ‘जय भोले’ले निर्माता रुवाएनन् भने ‘बुलबुल’ले समीक्षकबाट तारिफ पायो। व्यक्तिगत रूपमा पनि ‘बुलबुल’ स्वस्तिमाको करिअरमा कोसेढुंगा बन्यो।

कमेडी रोग
देखासिकी फिल्ममेकरको रोग हो। एउटाले जे गरेर सफल भयो, त्यसलाई आँखा चिम्लेर अनुसरण गर्ने फिल्ममेकरको बानी हुन्छ। बलिउडतिर राष्ट्रभक्ति र बायोपिकमा सिनेमा बनाउने होडबाजी छ, यतातिर कमेडीमा। ‘छक्का पञ्जा’ सफल भएपछि यसैको आधा–अधकल्चो शैली समातेर फिल्म बनाउने काम नेपाली फिल्ममेकरले यो साल पनि छोड्न सकेनन्।

हाँसोप्रति निर्माता–निर्देशकको भरोसा यतिधेरै देखियो कि हरर भनिएको ‘सुनकेशरी’ले पनि तर्साउने होइन,हँसाउने काम ज्यादा ग¥यो। फेमिली ड्रामामा काम गरिरहेका सुदर्शन थापा र दीपेन्द्र के खनालले कमेडीमा हात हाले। तर, दुःखको कुरा, बाँकी धेरै फिल्ममेकरझैँ उनीहरू पनि असफल भए।

यो साल रिलिज भएका आधाभन्दा बढी फिल्ममा फिल्ममेकरले दर्शक हँसाउने कुचेष्टा गरे। यही प्रयासमा बजारमा आएका ‘कोहलपुर एक्सप्रेस’, ‘रामकहानी’, ‘चंगा चेट’, ‘चौका दाउ’, ‘गरुड पुराण’, ‘सुश्री सम्पत्ति’ आदि कुनै पनि फिल्मले चित्तबुझ्दो दर्शक पाएनन्।

पारिश्रमिकको डंका
नेपाली फिल्म बक्स अफिसमा हरेक शुक्रबार पाहा पछारिएझैँ पछारिए। तर, कलाकारको पारिश्रमिक चकित पार्नेगरी बढ्यो। गतसाल अनमोल केसीले ‘कृ’ फिल्म खेल्न २० लाख लिँदा त्यो ठूलो समाचार बनेको थियो। तर, फिल्मले एक करोड हाराहारी घाटा खाएको चर्चा थियो। तर, अनमोललाई यो फिल्मको घाटाले खास फरक पारेन।

उनलाई फिल्ममा लिन ५० लाख दिन निर्माताको ताँती लाग्यो। ‘ए मेरो हजुर ३’ उनले यस्तै कीर्तिमानी रकम लिएर खेले। ५० लाख हाराहारी नै पैसा लिएको भनिएको ‘ब्याचलर बन्टी’ भने अनमोलले खेलेनन्। ‘रोज’ले बक्स अफिसमा कत्ति पनि सुगन्ध छरेन, तर प्रदीप खड्काको पारिश्रमिक २५ लाखबाट बढेर ४० पुग्यो।

उनले रामबाबु गुरुङले निर्देशन गर्ने फिल्ममा ४० लाख पाएको चर्चा चल्यो। साम्राज्ञीराज्यलक्ष्मी शाहका यो साल प्रदर्शित दुवै फिल्म फ्लप भए तर उनको पनि पारिश्रमिक पाँच लाखबाट बढेर १५ लाख पुग्यो। उनले ‘मारुनी’मा १५ लाख र ‘रातो टीका निधारमा’ १६ लाख लिएको समाचार आयो। ‘मंगलम्’मा ठीकठाक काम गरेका पुष्प खड्काले पनि ३० लाख मागेपछि कलाकारको पारिश्रमिकले धेरैको सातो लियो।

बादलमा चाँदीको घेरा
२०७५ साल नेपाली फिल्मका लागि निराशाजनक रह्यो।हल मालिक झिंगा धपाएर बसे, दर्शक युट्युबमा फिल्म हेरेर। हुँदाहुँदा वैकल्पिक कमाइको माध्यम बनेको डायस्पोराको बजार पनि यो साल सुस्तायो। एकाध फिल्म मात्र विदेशतिर प्रदर्शन भए।

अन्तर्राष्ट्रिय फेस्टिभलतिर पनि यो साल नेपालको सहभागिता शून्य रह्यो। तर, धेरै नकारात्मक इन्डिकेटरका बीच पनि एउटै सकारात्मक कुरा छ, फिल्ममेकर मौलिक कथा भन्नमा अग्रसर देखिए। यो साल रिलिज भएका फिल्ममा आँखा लगाउने हो भने केही यस्ता विषयमा फिल्म बनाउने हिम्मत भए, जसमा सितिमिति फिल्म बनाउने कल्पना गर्न सकिन्न। जस्तो कि, यो साल डन्डीबियोमाथि फिल्म बन्यो।

गाउँमा पनि खेलिन छाडेको यो खेलमाथि फिल्म बन्नु सुखद कुरा हो। दाइजोप्रथा मधेशको कलंक हो। तर, यसलाई लिएर पर्याप्त फिल्म बनेका छैनन्।

यो साल बनेको ‘भोर’ मधेशको यही कुरीतिमा केन्द्रित थियो।वादी समुदायमाथि बनेको ‘पण्डित बाजेको लौरी’, कृषकका दुःखमाथि बनेको ‘गोपी’, वैदेशिक रोजगारीमाथि बनेको ‘कागजपत्र’ र ‘साइँली’, फुटबलमाथि बनेको ‘क्याप्टेन’, धार्मिक अतिवादमाथि बनेको ‘द म्यान फ्रम काठन्माडू’, खाग तस्करीमाथि बनेको ‘खाग’ लगायत यस्ता धेरै फिल्म यो साल प्रदर्शनमा आए, जसले फरक कथा चुनेका थिए। तर, फिल्म कथाभन्दा पनि कथालाई प्रस्तुत गर्ने बान्कीले विशिष्ट हुन्छन्।

यो मामलामा ‘बुलबुल’ र ‘हरि’ले मात्र प्रस्तुतिको त्यो बान्की समात्न सके।तर, फरक कथा भन्ने प्रयासलाई थप परिपक्व बनाउने हो भने नेपाली फिल्मले केही वर्षमै त्यो कमी पूरा गर्छन्, जुन बलिउडमा आयुष्मान खुराना र राजकुमार रावका फिल्मले पूरा गरिरहेका छन्।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि