गतिशील फुटबल

writer

गोविन्द रेग्मी

शुक्रबार, २९ चैत २०७५


नेपाली फुटबलका लागि २०७५ समग्रमा चलायमान रह्यो। अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्वसँगै घरेलु तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना र सहभागिता उल्लेख्य मात्रामा भए।

मोफसलमा गोल्डकप फुटबलको बाढी नै आयो। नेपालले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन नसके पनि फुटबलका गतिविधि वर्षभर चलायमान बन्यो। फुटबलमा बढेको गतिविधिले आगामी वर्षका लागि राम्रो संकेत गरेको छ। 

महिला फुटबलमा सफलता
नेपाली महिला फुटबल टोली दक्षिण एसियाली स्तरमा सधँै उपाधिको दाबेदार रहे पनि अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि उचाल्न सकेको छैन। फाइनलमा सधँै नेपालको तगारो भारत बन्दै आएको छ। महिला साफ च्याम्पियनसिपको पाँचौँ संस्करण नेपालले २०७५मा आयोजना गर्‍यो। विरानटगरमा भएको महिला साफमा यस पटक पनि फाइनलमा नेपाल भारतकै शिकार बन्यो। 

तर, २०७५ साल नेपाली महिला फुटबलका लागि अविस्मरणीय बनेको छ। महिला फुटबल टोलीले ओलम्पिक छनोटमा एसिया क्षेत्रको दोस्रो चरणमा स्थान बनायो। पहिलो पटक ओलम्पिक छनोटमा सहभागिता जनाएको नेपालले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्‍यो।

नेपालले सन् २०२०मा हुने टोकियो ओलम्पिकका लागि एसियाली छनोटको पहिलो चरण पार गर्न सफल भयो। नेपाल दोस्रो चरणबाट भने बाहिरिएको छ। म्यानमारमा हालै सम्पन्न नेपालले दोस्रो चरणमा समूह ‘बी’बाट प्रतिस्पर्धा गरेको थियो। 

पुरुष साफमा निराशा 
पुरुष फुटबलमा दक्षिण एसियाबाहिर जान नसकेको नेपालका लागि साफ च्याम्पियनसिप सर्वाधिक ठूलो प्रतियोगिता हो। तर, नेपालले अहिलेसम्म यो उपाधि चुम्न सकेको छैन। २०७५ सालमा बंगलादेशमा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालको यात्रा सेमिफाइनलमै रोकियो। नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

तर, सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग ३–० गोलको हार खेप्यो। विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा समेत नेपालले खासै सुधार गर्न सकेन। 

लिगको सुरुवात 

आन्तरिक विवादका कारण चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७५ सालमा पुनः सञ्चालनमा आयो। पहिलो पटक रेलिगेसनबिना (क्लबको घटुवा नहुने) लिग सञ्चालन गरिएको थियो। क्लब फुटबलमा नयाँ माहोल सिर्जना गर्न लिग सफल भयो।

‘ए’ डिभिजनका १४ क्लबको सहभागिताले मात्र होइन, बजेट र लगानीका हिसाबले पनि यस पटकको लिग विगतको भन्दा ठूलो आकारको बन्यो। प्रत्येक क्लबले खेलाडीको स्तर हेरेर मासिक २५ हजारदेखि डेढ लाख रुपैयाँसम्म खर्च गरे। एन्फाले लिगका लागि छ करोड रुपैयाँ लगानी गर्‍यो।

लिग च्याम्पियन मनाङले उपाधिसँगै ५० लाख रुपैयाँ पायो। विजेता मनाङले एएफसी कप छनोट खेल्ने अवसर पनि प्राप्त गर्‍यो। त्यस्तै, ‘बी’ र ‘सी’ डिभिजन लिग पनि पुनः सञ्चालनमा आए। लिगको सञ्चालनसँगै हराएका र घाइते भएका खेलाडीले समेत मैदानमा पुनरागमनको मौका पाए। 

रोहित र किरणको छलाङ
नेपालका खेलाडीद्वय रोहित चन्द र किरण चेम्जोङले आफ्नो व्यावसायिक खेलसँगै नेपालको शान विदेशी मैदानमा राख्न सफल भए। इन्डोनेसियाको लिग खेल्ने रोहितले यो वर्ष अहिलेसम्मकै ठूलो सफलता हात पारे। उनी खेलेको क्लबले लिगको उपाधि मात्र जितेन, रोहित उत्कृष्ट खेलाडी बन्न पनि सफल भए।

इन्डोनेसियनमाझ रोहित सेलिब्रिटी खेलाडी हुन्। उनी डिफेन्स र मिडफिल्ड दुवैमा उत्कृष्ट खेल्छन्। रोहित सार्क क्षेत्रबाट बाहिरी देशमा उपाधि जित्ने पहिलो फुटबल खेलाडी बनेका छन्। उनको सफलताले २०७५ सालमा पूरै देश खुशी भयो। यसै गरी नेपालका गोलरक्षक किरण चेम्जोङले पनि २०७५ मा विदेशी भूमिमा नेपालको शान बढाए।

माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर बनेपछि उनको चर्चा झनै चुलियो। किरणले टीसी स्पोट्र्सलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महŒवपूर्ण भूमिका खेले। उनी टीसीले यो सिजनको उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलरक्षक पनि चुनिएका थिए।

कालिनको आगमन 
स्विडिस नागरिक योहान कालिन २०७५ सालमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भए। एन्फाले मच्छिन्द्र क्लबका पूर्वप्रशिक्षकसमेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गरेको छ। उनले दुई वर्ष नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन्। कालिनको प्रशिक्षणमा वर्षको अन्त्यमा नेपालले कुवेतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलिसकेको छ। जसमा नेपालले एक खेल गोलरहित बराबरी गर्‍यो भने अर्को खेलमा १–० गोलको हार खेप्यो। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि