२०७५ मा क्रिकेटदेखि देशै खुशी

writer

दीपेन्द्र गुरुङ

शुक्रबार, २९ चैत २०७५


वर्ष २०७५ नेपाली खेलकुदमा क्रिकेटको वर्ष बन्यो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन र त्यसमा प्राप्त सफलताले यो वर्ष घरेलु खेलकुदमा क्रिकेटले अन्य खेललाई निकै पछि छोड्यो। 

२०७५, यही वर्ष हो नेपाली खेलाडीले क्रिकेट खेलका भगवान् मानिने सचिव तेन्दुल्करसम्मको व्यक्तिगत कीर्तिमान भंग गरेको पनि। नेपालले गत माघमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय र टी–ट्वेन्टी शृंखला खेल्यो। 

नेपालले यी दुवै शृंखला समान २–१ ले आफ्नो पक्षमा पारेको थियो। नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट जगत्लाई फेरि एक पटक झक्झक्याउने काम गरेको छ। नेपाललाई आफ्नो पहिलो एकदिवसीय शृंखला दिलाउने क्रममा युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले भारतीय दिग्गज ब्याट्सम्यान तेन्दुलकरको कीर्तिमान भंग गरे।

यूएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा ५५ रन प्रहार गरेका रोहित अन्तर्राष्ट्रिय आधिकारिक खेलमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। यसले नेपाली क्रिकेटका समर्थकलाई निकै खुशी दियो। शानदार प्रदर्शनले एकदिवसीय क्रिकेटतर्फ पाकिस्तानी पूर्वक्रिकेटर शाहिद अफ्रिदी र सबै खाले क्रिकेटमा तेन्दुलकरको कीर्तिमान आफ्नो नाममा बनाउन रोहित सफल भए। 

यो कीर्तिमानी प्रदर्शन गर्दा रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन थियो। त्यसअघि अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको उमेरमा एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गरेका थिए। साथै, तेन्दुलकरले १६ वर्ष २ सय १३ दिनको उमेरमा पाकिस्तानविरुद्धको टेस्ट खेलमा ५९ रन जोड्दै सबै खाले क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए। 

रोहितले एकै पटक यी दुवै दिग्गज खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाएका थिए। त्यसपछि अन्तर्राष्ट्रिय कीर्तिमान कायम गर्ने पालो थियो, अर्का युवा खेलाडी सन्दीप जोराको। उनले टी–ट्वेन्टी क्रिकेटमा डेब्यू खेलमै अर्थशतक प्रहार गर्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान कायम गरेका थिए। 

यी दुई खेलाडीको कीर्तिमानी प्रदर्शनसँगै नेपालले यूएईविरुद्धको एकदिवसीय र टी–ट्वेन्टी दुवै शृंखला आफ्नो पक्षमा पारेको थियो। जुन उपलब्धि नेपालका लागि अझ ठूलो उपलब्धि थियो। नेपालले एकदिवसीय र टी–ट्वेन्टी दुवैको शृंखला जितेको यो नै पहिलो अवसर थियो। नेपालले एकदिवसीयतर्फ यसअघि नेदरल्यान्ड्स र टी–ट्वेन्टीतर्फ हङकङ र नेदरल्यान्ड्ससँग शृंखला खेलेको थियो। यद्यपि, ती शृंखलामा सफलता मिलेको थिएन। 

व्यावसायिकतातर्फ महिला क्रिकेट

महिला क्रिकेटका लागि पनि यो वर्ष सुखद रह्यो। यो वर्ष नेपाली महिला टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो, थाइल्यान्ड टी–ट्वेन्टी स्म्यास र विश्वकप छनोट प्रतियोगिता। यी दुवै प्रतियोगितामा थाइल्यान्डसँग मात्रै पराजित हुँदा नेपाल टी–ट्वेन्टी स्म्यासको उपाधि र विश्वकपका लागि छनोट हुन असफल रह्यो। यद्यपि, अन्य टोलीविरुद्धको प्रदर्शनले नेपाली महिला क्रिकेटसँग सम्बद्धहरु उत्साहित भएका छन्। 

महिला क्रिकेटका लागि उत्साह थप्ने अर्काे काम पनि यही वर्षबाट सुरु भएको छ। नेपालमा पहिलो पटक महिला क्रिकेटको फेन्चाइज क्रिकेट प्रतियोगिता घोषणा भएका छन्। जसमध्ये यही वैशाख ७ गतेबाट विराटनगरको बैजनाथपुर मैदानमा अक्सनमा आधारित एसियाकै पहिलो महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता दाबी गरिएको वुमन्स टी–ट्वेन्टी क्रिकेट लिग सुरु हुँदै छ। 

जसका लागि खेलाडी अनुबन्धितसमेत भइसकेका छन्। पहिलो पटक नेपाली महिला खेलाडीले फ्रेन्चाइज क्रिकेटको अनुभव लिएका छन्। यसपछि क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पनि वुमन्स च्याम्पियन्स लिग नामक फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको घोषणा गरेको थियो। यसबाट नेपाली महिला क्रिकेट पनि व्यावसायिकतातर्फ अघि बढ्ने अनुमान गरिएको छ।

सन्दीपका शानदार प्रदर्शन

वर्षको अन्त्यतिर नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको व्यक्तिगत सफलताले नेपाली खेलकुदलाई केही तरंगित तुल्याउने काम गरेको छ। सन्दीप सन् २०१९ को फ्रेन्चाइज लिगमा स्पिनरमध्ये सबैभन्दा बढी विकेट लिने खेलाडीमा शीर्ष स्थानमा रहे, जसका लागि उनले पाकिस्तानी खेलाडी शाहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान र बंगलादेशका सकिब अल हसनजस्ता खेलाडीलाई पछि पारेका छन्। यस्तै, हाल दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग(आईपीएल) खेलिरहेका उनले आइतबार रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध एक विकेट लिँदै टी–ट्वेन्टी क्रिकेटमा आफ्नो ५० विकेट पूरा गरेका छन्। 

यद्यपि, नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा एक पछि अर्काे सशक्त प्रदर्शन गरिरहँदा घरेलु क्रिकेटको सर्वाेच्च निकाय नेपाल क्रिकेट संघ(क्यान)माथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले लगाएको निलम्बन फुकुवा नहुँदा खेलाडी र नेपाली क्रिकेटसँग सम्बद्धहरू निराश बनिरहेका छन्। 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि