पचहत्तरका पदचाप नयाँ

writer

सम्पूर्ण

बिहिबार, २८ चैत २०७५


डेब्युट्यान्ट हिरोइन 
 

जति बासी कथामा फिल्म बनाए पनि फिल्ममेकर हिरोइन भने नयाँ–नयाँ लिन चाहन्छन्। केही कथाका कारण र केही फिल्ममेकरका कारण यो साल पनि डेब्यू गर्ने सुन्दरीको संख्या राम्रै रह्यो। फिल्म जेसुकै होस्, २०७५ सालमा डेब्यू गर्ने हिरोइन व्यक्तिगत रूपमा भने सफल रहे। अभिनयमार्फत उनीहरूले एक हदसम्म आफ्नो डेब्यू सार्थक बनाए। रिलिज भएका फिल्मको क्रमअनुसार हामीले यहाँ डेब्युट्यान्ट अभिनेत्रीहरूको चर्चा गरेका छौँ।

सृष्टि कार्की 
अघिल्लो साल रिलिज भएको ‘ग्याङस्टर ब्लुज’मा समावेश एउटा आइटम गीतबाट सृष्टिले एक्सन–कटको अनुभव लिएकी थिइन्। तर, यो साल जेठमा प्रदर्शनमा आएको ‘अमेरिका ब्वाइज’ बाट उनले हिरोइनको विधिवत् यात्रा थालेकी थिइन्। वैदेशिक रोजगारीको पृष्ठभूमिमा बनेको फिल्ममा अर्पण थापाको जोडी भएर उनले अभिनय गरेकी थिइन्। बक्स अफिसमा खास दर्शक नपाएको फिल्ममा सृष्टिले भने राम्रो काम गरेको प्रतिक्रिया पाएकी थिइन्।

कविता गुरुङ 
आफ्नै जीवनकथामा आफैँले फिल्म खेल्ने उदाहरण दुनियाँमा कमै देख्न पाइन्छ। तर, कविता गुरुङ ती भाग्यमानीभित्र परिन्, जसको कथामा फिल्म मात्र बनेन, आफैँले अभिनय पनि गरिन्। असार अन्तिममा रिलिज भएको ‘बोबी’ यस्तै फिल्म थियो, जहाँ कथाका पात्र नै पर्दामा पनि प्रस्तुत भएका थिए। फिल्ममा कविताको अभिनयभन्दा कथाले धेरैको मन जितेको थियो।

अलिशा शर्मा
मोडल तथा डान्सर अलिशा शर्मा भारतको चर्चित टेलिभिजन सो ‘स्प्लिट्सभिल्ला’की प्रतियोगी हुन्। डान्सलाई नै केन्द्रमा राखेर बनाएको फिल्म ‘चीँ मुसी चीँ’बाट उनले डेब्यू गरेकी थिइन्। फिल्ममा उनको अभिनय त कसैले नोटिस गरेनन् तर डान्समा उनलाई सबैले रुचाए। अलिशा आजभोलि डान्सिङ म्युजिक भिडियोकी रोजाइ बन्ने गरेकी छिन्। 

शिवानी गिरी
सिक्किम स्थायी बसोबास गर्ने उमा बेबीले निर्माता तथा हिरोइनका रूपमा केही नेपाली फिल्ममा योगदान गरेकी छिन्। उनै उमाले यो साल छोरी शिवानीलाई ‘कहीँ कतै’मार्फत डेब्यू गराएकी थिइन्। तर, शिवानीले आमाको सपना साकार पार्न सकिनन्। न फिल्मको चर्चा भयो, न शिवानीको। 

सेड्रिना शर्मा
‘नाइँ नभन्नू ल’ का शृंखलाले फिल्ममेकिङमा त खास योगदान दिएका छैनन् तर यसले नयाँ कलाकार भने खूबै जन्माउने गरेको छ। बजारमा चलिरहेका वर्षा शिवाकोटी, पल शाह, आँचल शर्मा, सबै यही शृंखलाका सन्तान हुन्। पाँचौँ  शृंखलाबाट जन्मिएकी कलाकार हुन्, सेड्रिना शर्मा। उमेरले बालकलाकार भए पनि फिल्ममा उनको मुख्य भूमिका थियो र अभिनय पनि बालकलाकारको जस्तो थिएन। उनको अभिनयको सर्वत्र तारिफ भएको थियो।

कामना भुजेल
कामना भुजेलले दुई गायक निमा रुम्बा र यशकुमारको जोडीका रूपमा ‘छिरिङ’बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन्। तर, उनको पहिलो फिल्मको नियति त्यस्तै भयो, जुन यो साल रिलिज भएका अधिकांश फिल्मको भयो। 

एलिजा गौतम
‘अनुराग’बाट एलिजा गौतमले यो साल अभिनयमा फड्को मारिन्। सांगीतिक प्रेमकथामा आधारित फिल्ममा उनको अभिनयमा त धेरैले खोट लगाएनन् तर नयाँ अभिनेत्री उनले हलसम्म दर्शक तान्न भने सकिनन्। एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन्।   

कमला वली
रेखा थापाले बनाएको ‘मालिका’ले पनि उनका पूर्ववत् फिल्मजस्तो साख जोगाएन। तर, यो फिल्मको पनि एउटा योगदान भने स्मरणीय रह्यो। रेखाले ननएक्टरलाई एक्टर बनाइन्। आक्कलझुक्कल फिल्म हेर्ने १५ वर्षीय कमला वलीले फिल्ममा महŒवपूर्ण भूमिका निर्वाह गरिन्। 

आश्मा गिरी
म्युजिक भिडियो हुँदै अभिनयमा आएकी आश्मा गिरीले ‘ड्रिम गर्ल’ बाट डेब्यू गरिन्। तर, उनको पहिलो फिल्मले राम्रो व्यापार गर्न सकेन। मीठो संगीत र बैंककदेखि रारासम्मका दृश्य कैद गर्दा पनि फिल्मले दर्शक बाँध्न सकेको थिएन।

प्रियंका सिंह ठकुरी 
टिकटकबाट टिपेर हिरोइन भएकी हुन्, प्रियंका सिंह ठकुरी। निर्देशक सुवास कोइरालाले टिकटकमा नोटिस गरेर प्रियंकालाई ‘गरुड पुराण’को हिरोइन बनाएका थिए। थिएटरका एकसे एक कलाकारको उपस्थिति हुँदाहुँदै पनि फिल्मले गाली खाएको थियो। फिल्मले नै गाली खाएपछि प्रियंकाको काममा कसको ध्यान जाओस् ? उनमाथि पनि कसैको ध्यान गएन। 

शुभेच्छा खड्का
सन् २०१२ की मिस इन्टरनेसनल विजेता शुभेच्छा खड्काले एक्सनप्रधान ‘रणवीर’लाई ‘लन्चिङ भेहिकल’ रोजेकी थिइन्। तर, उनको रोजाइ सही साबित भएन। पहिलो त हिरो नसुहाएको प्रतिक्रिया पाइन्, दोस्रो एक्सनप्रधान फिल्ममा अभिनयको पनि स्कोप थिएन।  

करुणा श्रेष्ठ
करुणा श्रेष्ठले अभिनय गरेको फिल्म ‘सयकडा दश’ हलमा हेर्न त दर्शक गएनन् तर ‘दाइलाई कुरा लाइदिने’ बोलको गीतमा नाचेकी उनलाई यही गीतले चिनारी दियो। बिहे, पार्टी र भोजभतेरमा खुब बज्ने यो गीत करुणाका लागि पछिसम्म पनि चित्त बुझाउने बाटो बन्यो। उनी ‘मिस कलेज २०१२’ विजेता हुन्।

रेवती क्षत्री
सुबिन भट्टराईको धेरै बिक्री भएको पुस्तक ‘समर लभ’को चर्चित चरित्र साया बन्ने सौभाग्य पाएकी थिइन्, रेवती क्षेत्रीले। बक्स अफिसमा औसत व्यापार गरेको फिल्मबाट रेवतीले भने गाली खानुपरेको थिएन। उनको अपोजिटमा डेब्यू गरेका आशिष पियाले भने फिल्मबाट गाली खाएका थिए। रेवती मुम्बईमा मोडलिङ गर्थिन्। 

उपासना सिंह ठकुरी
१७ फागुनदेखि प्रदर्शनमा आएको ‘क्याप्टेन’ फिल्मबाट उपासनाले डेब्यू गरेकी हुन्। अनमोललाई एकोहोरो माया गर्ने युवतीको भूमिका निर्वाह गरेकी उपासनाले फिल्मबाट तारिफ पाएकी थिइन्। उनी ‘कबड्डी ३’मा अनुबन्धन भइसकेकी छिन्। 

प्रियंका एमभी
लामो समयदेखि हिरोइन बन्ने सपना बोकेकी प्रियंका एमभीको चाहना पनि २०७५ मा पूरा भयो। उपासनासँगै ‘क्याप्टेन’मा उनले पनि डेब्यू गरेकी थिइन्।  एमबीएको अध्ययन गरेकी उनले अभिनयमा औसत प्रतिक्रिया पाए पनि अवसर पाए राम्रो गर्न सक्ने छाप छोडेकी थिइन्। 

शिल्पा मास्के
इंग्ल्यान्डको राजधानी लन्डनमा बस्ने गरेकी शिल्पा मास्केले साइन गरेको पहिलो फिल्म ‘कागजपत्र’ थियो। सुटिङ पनि यसैको भएको हो। तर, पहिला प्रदर्शन भयो ‘ब्रेकअप’। तर, दुवै फिल्मले धेरै दर्शक देख्न पाएनन्। शिल्पाले थप अर्को फिल्मको सुटिङ सकाइन्, नाम थियो, ‘सानो मन’। फिल्म पाउने मामलामा त शिल्पा भाग्यमानी रहिन्, तर दर्शक कमाउने मामलामा भने अभागी ठहरिन्। 

निरिशा बस्नेत
पुराना जमानाका हिरो विश्व बस्नेतकी छोरी हुन्, निरिशा बस्नेत। फिल्म परिवारकै सदस्य निरिशाले ‘जानी नजानी’ फिल्मबाट आफ्नो पाइला टेकेकी छिन्। चैत १ बाट प्रर्दशनमा आएको ‘जानी नजानी’ले धेरै व्यापार भने गर्न सकेन। मुम्बईलाई समेत कर्मथलो बनाउँदै आएकी निरिशाले हिन्दी धारावाहिक ‘चन्द्र नन्दिनी’मा मुख्य भूमिका निर्वाह गरेकी छिन् । 

क्रिस्टिन पौडेल
सेलिब्रिटी ज्योतिषी हरिहर अधिकारीको डेब्यू फिल्म ‘शुभ लभ’ क्रिस्टिन पौडेलको पनि पहिलो फिल्म हो। तर, उनको डेब्यू प्रभावकारी भने भएन। न फिल्मले चर्चा पायो, न क्रिस्टिनले नै तारिफ पाइन्।

सुहाना थापा
नेपाली फिल्मकी सदाबहार अभिनेत्री तथा निर्देशक झरना थापाकी सुपुत्री हुन्, सुहाना थापा। उनले आमाले नै निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी छिन्। शुक्रबार उनको फिल्म आउँदै छ। 

मालिका महत
‘ए मेरो हजुर ३’ रिलिज हुने दिन नै प्रदर्शन हुने फिल्म ‘यात्रा’बाट डेब्यू गर्दै छिन् मल्लिका महत। ट्रेलरमा चित्तबुझ्दो अभिनय गरेको प्रतिक्रिया पाएकी उनले फिल्ममा पनि उस्तै प्रतिक्रिया पाए लभस्टोरी फिल्ममा रोज्जाको हिरोइन बन्ने सम्भावना छ। 

सुपुष्पा भट्ट 
शुभेच्छासँगै  ‘रणवीर’ बाट सुपुष्पा भट्टले पनि डेब्यू गरेकी थिइन्। तर, फिल्म नचलेपछि उनको अभिनयको पनि खास चर्चा भएन। बरु, उनले यो फिल्मलगत्तै अनमोल केसीसँग एउटा पेय पदार्थको विज्ञापनमा अभिनय गर्न पाइन्।  

आरोही शर्मा 
जेठमा रिलिज भएको फिल्म ‘हैरान’बाट नायिकाका रूपमा आरोही शर्माले पाइला राखिन्। तर, बक्स अफिसमा यो फिल्म पूर्ण रूपमा असफल भएपछि आरोहीको करिअर पनि चम्किन सकेन। उनको करिअरलाई ‘हैरान’ले हैरानै बनायो।

कुसुम गुरुङ 
यो वर्ष फिल्म ‘मेरी मामु’ मार्फत नायिका कुसुम गुरुङको आगमन भयो। कुसुमको सुन्दरताको चर्चा खुबै भयो। तर, फिल्मले व्यापार नगरेपछि कुसुमको करिअरले पनि उँभो लाग्ने लक्षण देखाएन। 


डेब्युट्यान्ट  हिरो

वर्ष २०७५ मा रजतपटमा हिरोइनको तुलनामा कम हिरो आए। तर, एकाधबाहेक कसैले पनि प्रभाव छाडेनन्। पूर्वतयारी नगरी फिल्म खेल्ने मात्र रहर गर्दा पर्दामा उनीहरूको उपस्थिति प्रीतिकर भएन। तर, ‘बुलबुल’बाट अभिनयमा आएका मुकुन भुसालले फरक भूमिका सही तरिकाले निर्वाह गरेर धेरैको मन जिते।  

धीरज मगर
फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ बाट उदाएका हुन्, धीरज मगर। पहिलो फिल्ममै फ्यान भेला गरेर उनले बजारका चकलेटी हिरोलाई चुनौती हुन सक्ने संकेत दिएका छन्। यो फिल्मपछि उनी आइकोर फिल्म्सको नयाँ प्रोजेक्ट ‘आई एम ट्वान्टी वान’मा अनुबन्धित भएको चर्चा छ।  

आशिष पिया
धीरजझैँ आशिष पियाको पनि विशेषता चकलेटी लुक्स नै हो। तर, गलत फिल्मबाट डेब्यू गरेपछि उनले तालीभन्दा ज्यादा गाली खाए। मंगोल लुक्सका आशिषले ‘समर लभ’मा आर्यन लुक्सको केटा भएर अभिनय गरेका थिए। तर, थोरै मेहनत गर्ने हो भने उनी अनमोल, प्रदीपको विकल्प बन्न सक्ने इन्डस्ट्रीको अनुमान छ। 

मुकुन भुसाल
कलाकारको आफ्नो नामभन्दा चरित्र हिट हुन्छ भने बुझ्नुपर्छ, कलाकार सफल भयो। मुकुन भुसालको हकमा यही कुरा लागू हुन्छ। ‘बुलबुल’मा चोपेन्द्र बनेका मुकुनलाई आजभोलि मानिसहरू त्यही नामले बोलाउँछन्। यसै वर्ष उनी भारतबाट अभिनयमा स्नातकोत्तर गरेर फर्किएका हुन्। उनले नेपालको ओस्कार कलेजबाट सिनेमामा स्नातकसम्मको अध्ययन पूरा गरेका थिए। 

हरिहर अधिकारी
अरूको भविष्य हेर्दै आएका चर्चित ज्योतिषी हरिहर अधिकारीले यो साल आफैँ आफ्नो भाग्य जाँच्न कम्मर कसे। ‘शुभ लभ’ मार्फत हिरो पनि बने। तर, अर्काको भाग्य हेर्ने उनले आफ्नै भाग्य हेर्न सकेनन्। फिल्म नराम्ररी फ्लप भयो। 

समुन्द्र पण्डित
असोज १२ बाट प्रदर्शनमा आएको फिल्म ‘अनुराग’बाट रजतपटमा भित्रिएका नायक हुन्, समुन्द्र पण्डित। फिल्ममा उनले नवनायिका एलिजा गौतमसँग जोडी बाँधेका थिए। म्युजिकल लभस्टोरी विधाको फिल्मले सफलता पाउन नसके पनि समुन्द्रको काम सबैले रुचाएका थिए। 

कबीर खड्का
वैशाख २८ बाट प्रदर्शनमा आएको फिल्म ‘लम्फू’ बाट नायक कबीर खड्काले रजतपटमा पाइला चालेका हुन। फिल्म सफल नभए पनि उनी नयाँ प्रोजेक्ट ‘तिमी र म’मा आबद्ध भएका छन्।

उमेश थापा
आफ्नै कथा, आफैँ हिरो। उमेश थापा तिनै भाग्यमानी कलाकार हुन्, जसले आफ्नै कथामा फिल्म बनाए र हिरो पनि भए। आफू र श्रीमती कविता गुरुङको संघर्षलाई समेटेर बनाइएको ‘बोबी’ मा उनले नबिझाउने अभिनय गरेका थिए। फिल्मले सोचेभन्दा बढी सफलता पाएको थियो। यो फिल्मको दोस्रो भाग पनि बन्दै छ। 

सुनील क्षत्री
भारतको नृत्य प्रतियोगिताका प्रतिस्पर्धी सुनील क्षत्री ‘चीँ मुसी चीँ’ बाट नेपाली रजटपटमा देखिएका कलाकार हुन्। फिल्म नचले पनि त्यसयता सुनील म्युजिक भिडियो मोडलिङमा खूब चलेका छन्। 

अभिषेक नेपाल
फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट नेपाली फिल्ममा प्रवेश गरेका कलाकार हुन्, अभिषेक नेपाल। फिल्ममा स्वस्तिमा खड्कासँग स्क्रिन सेयर गरेका अभिषेक हिट फिल्मका फ्लप कलाकार हुन्। फिल्म हिट हुँदा पनि उनको अभिनय कमजोर भएको इन्डस्ट्रीको टिप्पणी छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि