रंगमञ्चका लागि सुखद २०७५

writer

दिलिप रानाभाट

बिहिबार, २८ चैत २०७५


करिब दुई सय हाराहारीमा नाट्यकर्मी भिœयाएको नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवले म्यासेडोनिया, इटालीदेखि नेपालकै कर्णालीसम्मका कथा, तिनका प्रस्तुति र संस्कृति अवलोकन गर्ने मौका दिलायो।


वर्ष २०७५ नेपाली नाट्य क्षेत्रका लागि उत्साहजनक रह्यो। यो वर्ष थुप्रै नेपाली, विदेशी र विदेशी भाषाबाट नेपालीमा अनुवाद गरिएका नाटक मञ्चन भए। यसै वर्ष भएको नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको कारणले पनि नेपाली नाट्य जगत् गर्विलो बन्यो। एक हप्तामा नौ देशका ३० नाटकको मञ्चनले नाट्यकर्मीमा समयअगावै दशैँ आएको अनभूति गरायो।

करिब दुई सय हाराहारीमा नाट्यकर्मी भिœयाएको महोत्सवले म्यासेडोनिया, इटालीदेखि नेपालकै कर्णालीसम्मका कथा, तिनका प्रस्तुति र संस्कृति अवलोकन गर्ने मौका दिलायो। यो महोत्सव कोसेढुंगा किन पनि साबित भयो भने यसलाई काठमाडौँमा सक्रिय सात वटा नाट्य संस्थाले संयुक्त रूपमा आयोजना गरे।

त्यस्तै, पोखरा, विराटनगर र जनकपुरमा पनि समानान्तर रूपमा नाटक मञ्चन गरियो। त्यसले राजधानीमा मात्रै केन्द्रित रंगमञ्चीय गतिविधिलाई बाहिर पनि सक्रिय गरायो र त्यहाँका दर्शकलाई फरक संस्कृति तथा प्रकृतिका नाटक हेर्ने माहौल जुराइदियो। यसलाई नेपाली रंगमञ्च विस्तारको सुनौलो सुरुवात मान्न सकिन्छ।

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा भारतबाट ‘ब्ल्याक एन्ड ह्वाइट’, ‘आई एम नट हियर’, ‘रूप आरोप’, ‘एक मुलाकात मन्टो से’, ‘निद्राभथ्यम’, ‘द जब’, इटालीबाट ‘देसपारासिदोस ४३’, डेनमार्कबाट ‘टू बी’, म्यासेडोनियाबाट ‘प्राइभेट कन्फेन्सन’, अफगानिस्तानबाट ‘ता रहाए’ र नेपालबाट ‘पाँच’, ‘गर्भ छिटा’लाई दर्शकले रुचाए।

दीपिका अरविन्द निर्देशित ‘आई एम नट हियर’ले पुरुषवादी समाजले महिलालाई कहाँ–कहाँ के–के कुरामा अंकुश लगाएका छन्। उनीहरूको शरीर कस्तो हुनुपर्ने ? काम के गर्नुपर्ने ? यो सबै कुरा पुरुषले नै निर्णय गरिरहेका छन् र महिलालाई महिला हुन दिएका छैनन् भन्ने कटु सत्यलाई शरीर भाषाका मार्फत प्रस्तुत ग¥यो।

बक्सिङ रिङको सेटिङ बनाएको नाटकले महिलाहरू जति बेला पनि युद्धमै हुन्छन्  र रहनुपर्ने हुन्छ भन्ने कुरा प्रतीकात्मक रूपमा प्रस्तुत गरेको थियो। भिक्टर थउडम निर्देशित नाटक ‘ब्ल्याक एन्ड ह्वाइट’ले एउटा मिलेर बसेको समाजमा अदृश्य शक्तिले ल्याउने विखण्डनलाई प्रस्तुत ग¥यो।

शक्तिमा पुगेपछि जो कोही मानिस पनि तानाशाह बन्ने प्रवृत्तिलाई यसले सुन्दर ढंगले देखायो। बलिउडमा समेत आफ्नो प्रभाव छाडिसकेका आश्वत भट्टले मन्टोका केही कथा र उनको जीवनका क्षणहरूलाई मिलाएर लेखेको ‘एक मुलाकात मन्टो से’ तयार गरे। भर्खरै प्रदर्शनमा आएको नवजुद्दीन सिद्दिकी अभिनीत ‘मन्टो’ फिल्म धेरै नेपाली दर्शकले हेरेका कारण पनि यस नाटकप्रति दर्शकको विशेष रुचि रह्यो र अभिनयसमेत आफैँ गरेका आश्वतले दर्शकलाई निराश बनाएनन्। 

अफगानिस्तानमा सधैँ बम मात्रै पड्कन्छ भन्ने धारणा विश्वभर छ र नेपालमा पनि। तर, अफगानिस्तानबाट सइद इद्रिस फकरीको निर्देशनमा आएको नाटक ‘ता रेहाय’ ले त्यहाँ प्रेम पनि छ भन्ने कुरा देखाइदियो नेपाली दर्शकलाई। एक तालिबानी युवक र अर्को कुनै समुदायकी युवती बीचको प्रेमको कथा भन्छ यस नाटकले। युद्ध भएको ठाउँमा हुने त्रासदी त्यसका बीच पनि मौलाउन सक्ने प्रेम र मानवता नाटकमा प्रस्तुत गरियो।

मानवताको उच्चतम बिन्दु प्रेम हो र यसले एक अर्को समुदायमा रहेको घृणालाई कम गर्छ भन्ने मान्यता यसले बोकेको थियो। 

त्रिपुरारी शर्मा निर्देशित ‘रूप आरोप’ नाटकले पुरुषले महिला बनेर मञ्चमा अभिनय गरिरहेको ठाउँमा महिलाले पहिलो पटक मञ्च टेक्दाको कथा भन्यो। कुनै पनि नयाँ कुरा आउनको लागि पुरानो कुरा विस्थापित हुनुपर्छ भन्ने मान्यता राख्छ यसले। महिला कलाकारलाई महिलाको हाउभाउ कस्तो हुनुपर्छ भनेर पुरुषले सिकाइरहेको हुन्छ।

जबकि, ऊ आफँै महिला हुन्छे। यस्तो विरोधाभासलाई प्रस्तुत गरेको नाटकले परिवर्तनको लागि आफूले पाइरहेको भाग र शक्तिलाई छाड्नैपर्छ भन्ने कुरा देखायो।

ज्याक म्याटिनसनको निर्देशनमा बनेको पपेट नाटक ‘टू बी’ले स–साना ब्रसबाट पात्र बनाएर मानवअधिकारजस्तो गहन विषयमा रमाइलो प्रस्तुति दियो, जुन नेपाली दर्शक तथा नाट्यकर्मी दुवैका लागि भिन्न किसिमको अनुभव भयो। एन्ना डोरा डोर्नो निर्देशित नाटक ‘देसपारासिडोस ४३’ मेक्सिकोमा बेपत्ता पारिएका ४३ जनामाथि बनाइएको नाटक थियो।

यस नाटक नेपालीका लागी किन पनि विशेष रह्यो भने द्वन्द्वकालमा बेपत्ता पारिएका हाम्रा नागरिकको झल्को दियो, यसले। उस्तै किसिमको समस्या भोगेका मान्छेहरू नजिक भएझैँ भयो नेपालका लागि यो नाटक। यसको सुन्दर प्रस्तुतीकरण तथा अभिनयका कारण नाटकले दर्शकको मत जित्यो।

महोत्सवबाहेक पनि यस वर्ष नेपाली रंगमञ्चमा धेरै काम भए। यसै वर्षदेखि कथा घेराले आकांक्षा कार्कीको निर्देशनमा नाटक ‘दयालु रूख’को मञ्चनसँगै आफ्नै कौसी थिएटर सञ्चालनमा ल्यायो। त्यहाँ नियमित चौतारी नाटक (प्ले ब्याक थिएटर) प्रस्तुतिसँगै ‘पाँच’, ‘सेम टाइम नेक्स्ट इयर’, ‘मिस्टर फक्स एन्ड स्कुल ब्वाई’ तथा ‘कोरा’ आदि नाटक मञ्चन भए।

केही वर्षदेखि बन्द रहेको थिएटर मल वर्षको अन्तिममा फेस्टिभलको छेको पारेर ‘कीर्तिपुरमै रंगमञ्च’ भन्ने उद्देश्यका साथ कीर्तिपुर थिएटर खुल्यो। जसले पनि महोत्सवकै छेको पारेर मञ्चन सुरु ग¥यो।  

विराटनगर, दमक, बिर्तामोड, झोराहट, जनकपुर आदि ठाउँमा पनि नाटक मञ्चन भए। प्रायः युवा निर्देशकका नाटक धेरै मञ्चन भएको यस वर्ष ‘साथीको कथा’बाट रेनुका कार्की, ‘शकुन्तलाको औँठी’बाट सुरज मल्ल र ‘मुनामदन’बाट सविन कट्टेल नयाँ निर्देशकको रूपमा देखापरे। सुनिल पोखरेल, अनुप बराल तथा विमल सुवेदीजस्ता रंगमञ्चमा आफ्नो प्रभाव जमाइसकेका हस्ती भने यो साल मौन रहे। उनीहरूले कुनै पनि नाटक निर्देशन गरेनन्। तर, अनुप बराल भने ‘चराहरूको सम्मेलन’मार्फत वर्षौंपछि स्टेज चढे। 

‘गर्भ छिटा’, ‘जनयुद्ध जारी छ ?’, ‘जोखना’, ‘पाँच’, ‘राजेन्द्रलक्ष्मी’, ‘बाथटब’ जस्ता नाटकलाई दर्शकले मन पराए। 
बच्चा गर्भमा रहँदा नै बिहे छिनिदिने कुप्रथामाथि कथा बुनिएको ‘गर्भ छिटा’मा त्यहाँको संस्कृति रहनसहन र भाषालाई सुन्दर रूपमा प्रस्तुत गरिएको थियो। कर्णालीको सामाजिक सांस्कृतिक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गर्न सक्नु र नाटकसँगै दर्शकलाई बगाउँदै त्यही माटोमा पु¥याउन सक्दा नाटकले दर्शकको मन जित्थ्यो।

किराँत मुन्धुमको एउटा घटनालाई द्वन्द्वकालीन समयसँग जोडेर तयार गरिएको ‘जोखना’ पनि दर्शकले खूब रुचाए। किरण चाम्लिङले निर्देशन गरेको नाटकमा उनले किराँत संस्कृतिलाई नाटकको कथ्यसँग मज्जाले समाहित गराएका छन्। 

नम्रता केसी निर्देशित नृत्यनाटिका ‘राजेन्द्रलक्ष्मी’ यस वर्षको बिर्सन नसकिने नाटकमध्ये एक हो। इतिहासले खासै महŒव नदिएको एक आँटिली महिला शासक राजेन्द्रलक्ष्मीको पहिचान खोज्न उनले यस नाटकमार्फत नेपाली इतिहासको एउटा कालखण्डको पुनः भ्रमण गरिन् र सँगसँगै दर्शकलाई पनि गराइन्। सधैँ एकतर्फी पुरुषवादी सोच र शक्तिबाट मात्रै लेखिने इतिहासमा महिलालाई महŒव नदिएको यथार्थविरुद्ध कटाक्ष पनि गरिन्। 

जनयुद्धमा ज्यान परिवार केही नभनी देश र जनताका लागि लडेका लडाकुले जनयुद्ध सकिएपछि बिताइरहेको जीवनमा बुनिएको कथा हो, ‘जनयुद्ध जारी छ ?’। यसका लेखक तथा निर्देशक राज शाहले दशबर्से जनयुद्धमा परिवर्तनका लागि शोषित पीडित जनताका लागि हतियार उठाएका योद्धाले शान्ति स्थापनापछि पनि आफ्नै लागि ज्यादै दयनीय युद्ध लडिरहनुपरेको तीतो प्रसंग कोट्याउँदै सत्ता र शक्तिमा पुगेका तिनका नेतालाई प्रश्न गरेका छन्। 

प्रायः विदेशी भाषाबाट अनुवाद गरेर मात्रै नाटक भइरहेको आरोप लागिरहने नाट्य क्षेत्रमा मौलिक र विशिष्ट लेखन शैलीसहित नाटक ‘बाथटब’ लेखेर कुमार नगरकोटीले नेपाली रंगमञ्चमा अर्को एउटा आशा थपे। घिमिरे युवराजले निर्देशन गरेको उक्त नाटक अरू नाटकभन्दा फरक शैलीको रह्यो। दशकौँ पछि नीर शाह यस नाटकबाट रंगमञ्चमा फर्किए। लेखन, अभिनय र निर्देशन तिनै हिसाबले नाटकलाई दर्शकले मनपराए। 

सुदाम सीके निर्देशित नाटक ‘पाँच’मा पाँच जना कलाकारले आफ्नो शरीरमा आफूलाई खोजे। शरीरसँग प्रयोग गरे। उनीहरूको शरीरलाई त्यसरी प्रयोग गर्दा बाहिरी तŒवको कस्तो प्रभाव प¥यो ? यस्तै कुराको सूक्ष्म विश्लेषण हो नाटक, ‘पाँच’। यो नेपालमा हुनेभन्दा फरक शैली र शिल्पको नाटक हो। 

त्यस्तै, यसै वर्ष १४ जना निर्देशकलाई कार्यशालामा सहभागी गराएर उनीहरूबाटै निर्देशन तथा अभिनय गरिएको नाटक ‘खबर हराएको चिठी’ पोखरा थिएटर र मण्डला थिएटरमा मञ्चन भयो। जसले द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका आफन्तले उनीहरूलाई कुर्दा भोग्नुपरेको भावनात्मक तथा मनोवैज्ञानिक पीडालाई प्रस्तुत गर्दै राज्यलाई उनीहरूको अवस्थाबारे प्रश्न ग¥यो।

धेरैजसो अंग्रेजी नाटक मञ्चन गर्दै आएको वान वल्र्ड थिएटरले चर्चित अंग्रेजी साहित्यकार ओस्कर वाइल्डको जीवनमा आधारित नाटक ‘ग्रस इन्डिसेन्सीः द थ्री ट्रायल्स अफ ओस्कार वाइल्ड’ तथा ‘द लिटिल स्कुल’लगायत नाटक मञ्चन ग¥यो। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि