केही हुन्छ त ७६ मा ?

writer

सृजना खड्का

बिहिबार, २८ चैत २०७५


नयाँ वर्ष कतिका लागि घुमघाम गर्ने पर्व हो। कतिका लागि नयाँ ऊर्जा र उमंग थप्ने अवसर। नयाँ वर्षलाई कतिले अपूरा काम पूरा गर्ने मौकाका रूपमा लिन्छन्। कतिमा भने नयाँ वर्ष आएसँगै आशाको किरण पलाउन थाल्छ।

‘निराशाले मानिसलाई पछाडितिर धकेल्छ, आशाले जीवनमा अगाडि बढ्ने प्रेरणा दिन्छ,’ समाजशास्त्री मीना उप्रेती भन्छिन्, ‘नयाँ वर्षले मानिसमा नयाँ जोश, नयाँ जाँगर, नयाँ खुशी ल्याउँछ। हरेक नयाँ वर्ष आशा र अपेक्षासहित आउँछ।’ साल फेरिएसँगै मानिसहरू आशावादी हुन थाल्छन्। त्यसैले वैशाख १ लाई नेपालीले उत्सवका रूपमा लिन्छन्। 

नयाँ वर्षसँगै नयाँ आशा 
नयाँ वर्षमा क्यालेन्डरसँगै मानिसका आशाहरू पनि फेरिन्छन्। कतिपयका आशा थपिँदै जान्छन्। नयाँ वर्षलाई नयाँ आशासहित स्वागत गर्ने थुप्रै व्यक्ति छन्। 

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी २०७६ सालमा देश विकासको विषयलाई लिएर एकदमै आशावादी छिन्। ‘समयअनुसार केही कुरा विकास भए पनि धेरै काम गर्न बाँकी छ,’ उनले भनिन्, ‘सरकार महिलाहरू अगाडि बढ्नुपर्छ भन्छ। तर, उनीहरूलाई अगाडि बढ्न कतैबाट प्रोत्साहन गरिएको देखिँदैन।

२०७६ सालमा देशमा सरकारले महिलाका लागि केही ठोस कदम चाल्छ भन्नेमा आशावादी छु।’ उनी आउने वर्ष हातमा डिग्री लिएर भौँतारिदै हिँडेका युवाले रोजगारी पाउनेमा पनि विश्वस्त छिन्।

ट्याक्सी सेवा ‘सारथी’का सञ्चालक युवा उद्यमी रवि सिंघल नयाँ सालमा राजनीतिक दलका नेताहरूले जनतालाई दिएको आश्वासन पूरा गर्छन् भन्नेमा आशावादी छन्। ‘हामी युवाले चाहिँ आशा गरेर बस्नुभन्दा आ–आफ्ना क्षेत्रबाट देशका लागि सकेको गर्नुपर्छ,’ उनले भने, ‘सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्ने हो भने अब आउने वर्ष देशमा सुख, शान्ति र समृद्धि पक्का आउँछन्।’ 

लेखक कर्ण शाक्य आफूलाई सधैँ आशावादी मान्छन्। ‘अहिले नै यो देशमा निराशावादी हुनुपर्ने आवश्कता नै छैन,’ उनले भने, ‘विकासको गतिमा देश अगाडि बढिरहेको छ। देशमा धेरै राम्रा कुरा भएका छन्। नराम्रो कुराको भीडमा राम्रा काम हराएका मात्र हुन्।’ आउने साल देशले विकासको गति लिने उनले बताए। ‘विदेशिने युवा स्वदेशमै केही गर्छु भनेर फर्किएका छन्,’ उनले भने, ‘यस कुराले पनि मलाई आशावादी बनाएको छ।’ 

लेखक सुविन भट्टराई पनि आफूलाई निकै आशावादी मान्छन्। आउने साल देशमा केही न केही होला भन्नेमा उनी विश्वस्त छन्। ‘देशले विकासको गति समाउँछ भन्नेमा एकदमै आशावादी छु,’ उनले भने, ‘यसपालि बजेटको राम्रोसँग विनियोजन हुन्छ, पूर्वाधारहरूको विकास र संस्कृतिको संरक्षणमा सरकारले जोड दिन्छ भन्नेमा आशावादी छु।’ शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विकास होला भन्ने उनको आशा छ। 

राजनीतिकर्मी अष्टलक्ष्मी शाक्य आउने साललाई लिएर निकै आशावादी छिन्। ‘हामी ठूलो राजनीतिक परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको हौँ,’ उनले भनिन्, ‘अहिले पहिलेको जस्तो निरंकुश शासन व्यवस्था छैन।

हामी संघीयतासहितको लोकतान्त्रिक व्यवस्थामा छौँ। त्यसैले हामी सबै आशावादी हुनुपर्छ।’ चुनौती भए पनि नयाँ राज्य व्यवस्थामा आएकाले आफू निकै आशावादी भएको उनले बताइन्।

‘अब देश विकासको जिम्मा युवाको काँधमा भएकाले आशावादी छु,’ उनले भनिन्, ‘अहिलेका युवामा आत्मविश्वास छ। उनीहरू जस्तोसुकै समस्यासँग पनि जुध्दै आगाडि बढ्छन् भन्नेमा विश्वस्त छु।’ 

मेकअप आर्टिस्ट मञ्जु कार्की पाण्डे पनि आउने वर्षलाई लिएर आशावादी छिन्। ‘म अहिलेको सरकारसँग एकदमै आशावादी छु,’ उनले भनिन्, ‘विगतको वर्षभन्दा यो वर्ष केही परिवर्तन भयो। यो वर्षभन्दा आउने वर्षमा झन् सकारात्मक परिवर्तन होला भन्नेमा आशावादी छु।’

सन् २०१२ की सीएनएन हिरो पुष्पा बस्नेत आगामी वर्षमा झन् राम्रो काम गर्न सकिएला भन्नेमा आशावादी छिन्। ‘विगतमा लगातार १८ घण्टा लोडसेडिङ हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले हामी त्यसबाट मुक्त भएका छाँै। देशमा विकास–निर्माणका काम धमाधम भइरहेका छन्। यसले पनि आउने दिनमा अझै आशाका किरण थपिन्छ भन्नेमा निश्चिन्त हुन सकिन्छ।’ 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा २०७६ सालमा देश समृद्धिको बाटोमा लम्केला भन्नेमा आशावादी छन्। ‘नेताहरूले देश विकासका लागि गरेका भाषणहरू भाषणमा मात्र सीमित नहोऊन् भन्ने आशा छ,’ उनले भने, ‘शिक्षा क्षेत्रमा पनि अहिलेसम्म खासै उल्लेखनीय काम भएको छैन। विद्यार्थीले एउटै पाठ्यक्रम युगौँयुगदेखि पढ्दै आएका छन्। नयाँ सालमा शिक्षा क्षेत्रमा केही परिवर्तन हुने संकेत देखेको छु।’ 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा समृद्धिका ढोकाहरू खोल्ने सरकारको प्रतिवद्धता पूरा हुनेमा विश्वस्त छन्। ‘राजनीतिमा मेरो आजसम्मको अनुभवले आगामी वर्ष नेपालमा समृद्धिको ढोका खुल्छ भन्छ,’ उनले भने, ‘२०७६ सालको आगमनसँगै देशमा सुुशासन कायम हुनेमा विश्वस्त छु।’

आफ्नो क्षेत्र सिन्धुपाल्चोकमा पनि केही होला भन्ने उनलाई लागेको छ। ‘२०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका २०७६ सालमा खोल्ने भनिएको छ,’ उनले भने, ‘यो काम पक्कै पूरा हुनेछ। नाका खोलिसकेपछि जिल्लावासीलाई सहज हुने आशा गरेको छु।’ 

एकल महिला समूहकी संस्थापक अध्यक्ष तथा अधिकारकर्मी लिली थापालाई देश समृद्धि र विकासको बाटोतिर उन्मुख होला भन्ने लागेको छ। ‘नयाँ सालमा महिलाहरू आर्थिक हिसाबले सशक्त हुनेछन् भन्ने आश छ,’ उनले भनिन्, ‘महिलाको हकहितका लागि उठेका सवालहरूको सम्बोधन हुनेछ भन्ने लागेको छ।

देशको नीति–निर्माणमा महिलाको धेरैभन्दा धेरै पहुँच होला कि ?’ देशको उच्च ओहोदामा रहेका महिलाले महिलामैत्री नियमकानुन बनाएर कार्यान्वयन गर्नेमा पनि उनी विश्वस्त छिन्। ‘आउने सालमा महिलाले डर र त्रासको जीवनयापन गर्न नपरोस् भन्ने कामना छ,’ उनले भनिन्। 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर नयाँ सालमा आशावादी हुनका लागि तमाम कारणहरू भएको बताउँछन्। ‘राजनीतिको क्षेत्रमा देशले फड्को मार्ला भन्ने आशा गरेको छु,’ उनले भने, ‘जनता र राजनीतिक पार्टी मिलेर देशको विकासमा अझै सकारात्मक कदमहरू चालिनेछन्।

अहिले सबै दलको मिसन नै समृद्धि भएकाले देश विकाश हुने सम्भावना पर्याप्त देखेको छु।’ विगतमा भएका त्रुटिलाई सच्याएर सरकार अगाडि बढ्नेमा पनि उनी आशावादी छन्। ‘युवामा आफ्नै देशमा केही गरौँ भन्ने भावनाको विकास हुनेछ भन्नेमा पनि म पूर्ण रूपमा आशावादी छु,’ उनले भने।

आशावादी डाक्टर र कलाकार 
निःसन्तान केन्द्रकी प्रमुख प्रजनन तथा स्त्री रोग विशेषज्ञ डा. उमा श्रीवास्ताव पनि २०७६ साललाई लिएर आशावादी छिन्। ‘घरबाट बाहिर निस्किनु हुँदैन, धुवाँधुलो खानुपर्छ,’ उनले भनिन्, ‘देशमा वातावरण स्वच्छ होला, अबको सालमा धुवाँधुलो खान नपर्ला भन्ने आशा गरेकी छु।’ देशमा अवसर नदेखेर बाहिरिएका युवाहरू आउने सालमा आफ्नै देश फर्किन्छन् भन्ने आशासमेत उनलाई छ। दक्ष युवाहरू विदेशिएकोमा डा. श्रीवास्तवलाई चिन्ता छ।

‘स्वच्छ वातावरणसँगै स्वदेशमै रोजगारीको वातावरण निर्माण होला भन्ने आशामा छु,’ उनले भनिन्, ‘विदेशिएका दक्ष जनशक्ति नेपाल फर्केलान् भन्ने आश गरेकी छु।’

नेपाल आइडल पहिलो सिजनका फस्ट रनरअप गायक निशान भट्टराई नयाँ सालले जीवनमा थप खुशी ल्याउनेमा विश्वस्त छन्। ‘२०७५ भन्दा २०७६ राम्रो हुनेछ भन्नेमा ढुक्क छु,’ उनले भने, ‘मेरा केही प्रोजेक्टहरू छन्। ती सफल हुनेछन् भन्नेमा आशावादी छु। २०७६ सालमा रिलिज हुन लागेका धेरै फिल्मका गीत गाएको छु।

ती गीतले चर्चा कमाउलान् भन्ने आशा छ। अहिलेसम्म फिल्ममा मात्र गीत गाइएको छ। यो वर्ष आफ्नै सोलो एल्बम निकालिएला कि भन्ने आशा गरेको छु।’ नयाँ सालले आफ्ना लागि उन्नतिका ढोकाहरू खोल्नेमा उनी विश्वस्त छन्। उनलाई आगामी वर्ष देश समृद्धिको बाटोमा लम्कनेछ भन्नेमा पनि उत्तिकै विश्वास छ।

सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण पनि नयाँ वर्षलाई लिएर आशावादी छन्। ‘एउटा चिकित्सक भएको नाताले स्वास्थ्य क्षेत्रमा केही सुधार होला भन्ने आश छ,’ उनले भने, ‘विश्वमा छालासम्बन्धी विभिन्न मेसिनहरू बनेका छन्। ती मेसिन नेपाल भित्रिएलान् भन्ने आशा छ। नेपालमा त्यस्ता मेसिन भित्रिए भने नेपालीले लाखौँ खर्चेर विदेश गएर उपचार गराउनुपर्दैन।’ 

गायिका कुन्ती मोक्तान आफूलाई एकदमै आशावादी मान्छिन्। ‘हरेक वर्ष देशमा केही न केही नयाँ भइरहेको छ,’ उनले भनिन्, ‘पहिला बाटो मानिसले सफा गर्थे। अहिले बु्रमरले बाटो सफा गर्छ। देश विकास हुँदै छ। यसरी नै अबको वर्ष देशमा भएको जनशक्तिलाई भरपूर प्रयोग गरेर विभिन्न क्षेत्रमा छिटोभन्दा छिटा विकास हुनेछ भन्नेमा आशावादी छु।’ 

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय पनि आउने साललाई लिएर आशावादी छन्। ‘म मानसिक क्षेत्रको डाक्टर भएकाले यही क्षेत्रमा आशाका किरणहरू देखेको छु,’ उनले भने, ‘मानसिक चिकित्सा क्षेत्रमा बनेका कानुनहरू लागू भएका छैनन्। आगामी वर्ष पुराना नियम कार्यान्वयनसँगै नयाँ नियम पनि लागू होला भन्ने आशा छ।’ स्वास्थ्यसँगै शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय काम होलान् भन्ने उनलाई लागेको छ।

हास्य कलाकार सीताराम कट्टेल २०७६ साल जोश, जाँगर र उमंगको साल हुनेछ भन्नेमा आशावादी छन्। ‘यो नयाँ वर्षमा युवा साथीहरूले देश विकासमा हात र साथ बढाउनुहुनेछ भन्नेमा आशावादी छु,’ उनले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुन किसिमका साथ र सहयोग पाइरहेका छौँ, आगामी दिनमा पनि यस्तै साथ र सहयोगको आशा राखेको छु।’ बेरोजगार युवालाई स्वदेशमै रोजगारीका लागि सरकारले राम्रा कार्यक्रम ल्याउनेमा पनि उनी आशावादी भएको बताउँछन्। 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा. जगदीश अग्रवाल नयाँ सालमा बाटोघाटोको विषयलाई लिएर आशावादी छन्। ‘काठमाडौँमा जाताततै बाटो बिग्रिएको छ,’ उनले भने, ‘पानी परेको बेला बाटो हो कि पोखरी छुट्याउनै गाह्रो पर्छ। बाटोको कारण धेरै सडक दुर्घटना भएका छन्।’ देश विकासमा सरकारको प्रयास आगामी वर्षमा पनि उत्तिकै देखिनेछ भन्नेमा उनी विश्वस्त छन्। ‘सबै नेपाली सकारात्मक भएर आउने वर्षमा प्रगति गर्नेछन् भन्नेमा पनि आशावादी छुु।’

हास्य कलाकार जितु नेपाल पनि देश विकासलाई लिएर आशावादी छन्। ‘यो बहुमतको सरकार भएकाले धेरै कार्यक्रमका योजना आइरहेका छन्,’ उनले भने, ‘यसले गर्दा पनि देशले विकासको गति लिन्छ भन्नेमा आशावादी छु। म आपूm मनोरञ्जन क्षेत्रको भएकाले यो क्षेत्र आउने वर्ष झन् अगाडि बढ्नेछ भन्नेमा आशावादी छु।’

अभिनेता विपिन कार्की हरेक नयाँ वर्षलाई लिएर आशावादी हुने गरेको बताउँछन्। ‘म समृद्धि भन्ने शब्दसँग आशावादी छु,’ उनले भने, ‘देशलाई समृद्ध पार्छाैं भनेर सरकारले बोकेको सपना विपनामा परिणत हुन्छ भन्ने आशा छ।’ 

मनोचिकित्सक प्राध्यापक डा. रवि शाक्य यो साल पूरा नभएका कामहरू आउने साल पूरा हुने आशमा छन्। ‘आफू चिकत्सा क्षेत्रमा आबद्ध भएकाले नयाँ वर्ष लागेसँगै स्वास्थ्य क्षेत्रमा राम्रा काम हुनेछन् भन्नेमा विश्वस्त छुु,’ उनले भने ‘आफू डाक्टर भएको नाताले बिरामीलाई उपचार गर्ने अझै नयाँ प्रविधि नेपालमा भित्रिनेछन् भन्नेमा पनि आशावादी छु।’

मनोविद् डा. गंगा पाठक नयाँ वर्षलाई लिएर एकदमै आशावादी छिन्। ‘निराशावादी भएर त हुँदै भएन नि,’ उनले भनिन्, ‘निराशाले आफूभित्र भएको शक्ति नाश गर्छ। त्यसैले साल जति फेरिँदै जान्छ, म उति नै आशावादी बन्दै जान्छु।’ आउने वर्ष हरेक नकारात्मक कुरा सकारात्मक हिसाबले समाधान हुनेमा उनी विश्वस्त छिन्। ‘समयसँगै राम्रा र नराम्रा परिवर्तन हुन्छन्,’ उनले भनिन्, ‘राम्रा परिवर्तन भए भने खुशी हुन्छु। नराम्रा परिवर्तन भए भने पनि निराश चाहिँ हुन्न। मानिस भनेको सधैँ आशावादी हुनुपर्छ।’

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा नयाँ वर्षलाई लिएर उत्साहित र आशावादी छन्। ‘आउने वर्ष देशको पर्यटन, राजनीति, कला, साहित्य सबै क्षेत्रमा परिवर्तन होला भन्ने आशा राखेको छु,’ उनले भने। 

हास्य कलाकार कुञ्जना घिमिरे नयाँ वर्षमा युवा पुस्ताका लागि केही नयाँ योजना बन्नेमा आशावादी छिन्। ‘कला, राजनीति, खेलकुद र समाजिक क्षेत्रमा धेरै काम होस् भन्ने आशा छ,’ उनले भनिन्, ‘मुख्य गरी, कला क्षेत्रको विकासमा मैले धेरै आश गरेकी छु। पछिल्लो समयमा हामीले सुरु गरेको क्रिकेट स्टेडियमको काम सबैको सहयोग पाएर राम्रोसँग अगाडि बढ्नेछ भन्नेमा पनि आशावादी छु।’

पोषणविद् डा. अरुणा उप्रेतीलाई नयाँ पुस्तामाथि भरोसा छ। ‘युवाले बेथिति र अन्यायविरुद्ध प्रतिक्रिया जनाएको देखेर खुशी लागेको छ,’ उनले भनिन्, ‘उनीहरूले यसै गरी आगामी दिनमा पनि नराम्रा कुरालाई बाहिर ल्याएर समस्याको समाधान खोज्न सघाउँछन् भन्ने आशा छ।’

पोषणविद् भएका कारणले पोषणको विषयलाई लिएर पनि आफू निकै आशावादी भएको उनले बताइन्। ‘नयाँ वर्ष मानिसहरूले केक काटेर होइन, घरको खानेकुरा खाएर मनाउँछन् भन्नेमा आशावादी छु,’ उनले भनिन्, ‘यो वर्ष बालबालिका पत्रु खानेकुराबाट टाढा होलान् भन्ने पनि आशा छ। जंक फुडभन्दा कोदो, फापर, गहुँ, मकै, चिउरा स्वास्थ्यकर खानेकुरा हुन् भनेर मानिसले बुझ्नेछन् भन्ने आशा छ।’ 

हास्य कलाकार किरण केसी आफूलाई आशावादी मान्छे मान्छन्। ‘२०७५ सालमा जस्तै २०७६ सालमा पनि विभिन्न फिल्ममा काम गर्ने अवसर जुुर्नेछ भन्नेमा आशावादी छु,’ उनले भने, ‘देश विकासलाई लिएर पनि म आशावादी छु। सरकारको योजनाअनुरूप काम हुन्छन् भन्ने लागेको छ। प्रधानमन्त्रीले भनेको पानीजहाज र रेल आउँछन् भन्ने आशा गरेको छु।’

आउने सालमा कला क्षेत्रमा देखिएका विकृतिको समाधान हुनेमा पनि उनी विश्वस्त छन्। ‘कला क्षेत्रमा नयाँ पुस्ताका निर्देशक तथा कलाकारको आगमन होला भन्ने लागेको छ,’ उनले भने, ‘नयाँ पुस्ताले सिर्जनात्मक काम गरेर कला क्षेत्रलाई नयाँ उचाइमा पु¥याउनेछन् भन्नेमा आशावादी छु।’

गायक हेमन्त शर्मा २०७६ साललाई लिएर आशावादी छन्। शिक्षा क्षेत्रमा केही नयाँ होस् भन्ने उनको चाहना छ। ‘विद्यार्थीहरू पुरानै पाठ्यक्रम पढिरहेका छन्,’ उनले भने, ‘यो साल पाठ्यक्रम समयसान्दर्भिक भएर फेरिन्छ भन्ने आशा राखेको छु।’  

गायक स्वरूपराज आचार्य आउने वर्ष आफूले निकालेका गीतले दर्शक र स्रोताहरूको मन जित्नेमा आशावादी छन्। ‘संगीत क्षेत्रमा अझै प्रगति होला भन्ने आशा छ,’ उनले भने। 

उता, गायक दीपक वज्राचार्य पनि आफूले निकालेको गीत विगतमा जस्तै दर्शकले मन पराइदिनेमा आशावादी छन्। ‘आउने साल पनि मैले निकालेका गीतहरू हिट हुनेछन् भन्नेमा आशावादी छु,’ उनले भने, ‘बजारमा साथीभाइका पनि राम्रा–राम्रा गीत आउनेछन् भन्नेमा ढुक्क छु।’ 

त्यस्तै, गायक प्रमोद खरेल पनि संगीत क्षेत्रको विकास होला भन्नेमा आशावादी छन्। ‘सबै गायक–गायिका विभिन्न कार्यक्रम र कन्सर्टमा व्यस्त हुनेछन् भन्नेमा आशावादी छु,’ उनले भने। 

(प्रशिक्षार्थी पत्रकार मेनुका कोइराला, आशक्ति फुयाल, उपेन्द्र अर्याल, युवराज भट्टराई र निरु पाण्डेको सहयोगमा )

 


‘नेपाली बढी आशावादी छन्’

मीना उप्रेती, समाजशास्त्री

नयाँ वर्षले मानिसमा नयाँ आशा र उत्साह थप्छ। हिजोको दिन जस्तो भए पनि आउने दिन राम्ररी बितोस्, प्रगति होस् भन्ने चाहना सबैमा हुन्छ। नयाँ वर्षले मानिलाई थप आशावादी बनाउँछ। कसैलाई जागिर पाउने आश, कसैलाई प्रमोसनको आश, कसैलाई देश विकासको आश। यस्तै आशैआशमा मानिसको जीवन बितिरहेको हुन्छ।

विकसित देशका जनताका तुलनामा नेपाली बढी आशावादी छन्। किनभने, उनीहरूले सोचेजस्तो काम गर्न पाएका हुँदैनन्। जुनसुकै पदका मानिसले पनि संघर्ष गरिरहेका हुन्छन्। सोचेजस्तो भइरहेको हुँदैन। देशको परिस्थितिले पनि व्यक्तिलाई आशावादी बनाइदिन्छ। यसपालि राम्रो नभए पनि अर्को पालि राम्रो होला भन्ने आश बोकेर बसेका हुन्छन्। त्यही आशामा मानिसले आफ्नो खुशी खोजिरहेका छन्। 

हाम्रो देशमा आगामी दिनमा के हुन्छ भन्ने कुराको ग्यारेन्टी छैन। त्यसैले पनि मानिसहरू आशावादी छन्। विकसित देशहरू सिस्टममा चल्छन्। हामी सिस्टममा चल्न सकिरहेका छैनाँै। देश सिस्टममा नचलेपछि जनताहरू ‘यसो हुन्छ कि’, ‘उसो हुन्छ कि’, ‘यसले यसो गर्छु भनेको छ’, ‘उसले उसो गर्छु भनेको छ’ भन्ने आशा गरेर बस्छन्। किनभने, हाम्रोमा आश्वासन दिनेहरूको कमी छैन।

हुन त मानिस आशावादीभन्दा यथार्थवादी भएको राम्रो। तर, निराशावादी हुनुभन्दा आशावादी हुनु धेरै राम्रो हो। यसले मानिसलाई केही गर्नुपर्छ भन्ने आँट दिन्छ। आशा गर्नेले काम गर्छ। कोसिस गर्छ। प्रयास गर्छ। प्रयासले मानिसलाई मेहनती बनाउँछ। मेहनतले केही न केही उपलब्धि हात पर्छ। मेहनतले मानिसको जीवनमा फेरि आशाको किरण जगाउँछ।

आशाले मानिसमा नकारात्मकभन्दा सकारात्मक परिवर्तन ल्याउँछ। आशावादी मानिस सकारात्मक बाटोतिर लाग्छ। तर, पूर्ण रूपले आश गरेर भने बस्नु हुँदैन। आशालाई वास्तविक जीवनमा पूरा गर्नका लागि संघर्ष गर्नुपर्छ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि